सरकारले के दियो भनेर बिलौना गर्नुभन्दा पनि हामीसँग रहेको क्षमताले प्राप्त उपलब्धिको उपयोग गर्न के प्रयत्न गरियो भन्ने कुरामा सबै युवाले सोच्नुपर्ने बेला आएको छ । विश्वको कुनै पनि परिवर्तन युवाकै क्रियाशीलता र सहभागिताबाट भएका देखिन्छ । यसको प्रत्यक्ष उधाहरणका रूपमा छिमेकी देश भारतमा रहेको आमआदमी पार्टीलाई लिन सकिन्छ ।
जसले दलीय स्वेच्छाचारिताविरुद्ध धावा बोलिरहेको छ । वास्तवमा वर्तमान समाजको मनोविज्ञान राजनीतिक सामाजिक पुँजीजस्ता तत्वलाई प्रभावकारी रूपमा परिचालन गर्न युवाको सक्रियता आवश्यक छ । युवाको मर्म युवाले नै बुझ्न र पगेल्न सक्छन् भन्ने मानिन्छ । तर, आज यिनै युवाशक्ति सबैभन्दा निराश र प्रताडित रहेको छ । कोरा शिक्षा आर्जन गरी प्राप्त गरेको सर्टिफिकेट सिरानी हालेर राजनीतिक दाउपेचको सिकार हुनुपरेको छ । ती युवाले आप्mनो सहभागिता र बलिदानीमा आएको लोकतान्त्रिक गणतन्त्र संघात्मक शासन प्रणालीको माध्यमबाट युगान्तकारी परिवर्तन हुने आशा राखेका थिए । तर, त्यस्तो अनुभूति यी युवाले गर्न सकेका छैनन् वा हुन सकेन ।
हाम्रो विगत २०६२/६३ जनआन्दोलनको मुख्य नारा नै राजनीतिमा समान सहभागिता र समावेशिता रहेको थियो तर नेपाली राजनीतिले सबैभन्दा ठूलो धोका युवा वर्गलाई नै दिएको पाइन्छ । किनकि, आन्दोलन र क्रान्ति गर्ने बेला युवा अनि आन्दोलन सफल भएपछि अपरिपक्व आलोकाँचो भनी पन्छ्याइन्छ र मूल धारको राजनीतिमा विश्वास गरिँदैन ।
वास्तवमा परिपक्व भन्ने कुरा उमेरले मात्र निर्धारण गर्ने विषय होइन, परिपक्वता आउने अवस्था त चेतना र अभ्यासमा भर पर्ने कुरा हुन् । युवा उमेरले निर्धारण गर्ने कुरा होइन । त्यसमाथि युवा परिभाषाको सन्दर्भमा देशपिच्छे फरकफरक पाइन्छ । नेपालमा राष्ट्रिय युवा नीति २०६६ मा १६—४० वर्ष उमेर समूहलाई युवा भनिने उल्लेख छ ।
युवा विकासका लागि २०६६ सालमा पहिलोपटक र २०७२ सालमा परिमार्जित राष्ट्रिय युवा नीति जारी गरिएको थियो । यसलाई प्रभावकारी रूपले लागू गर्ने उद्देश्यले २०७२ सालमा युवा परिषद्ले युथ भिजन २०२५ अर्थात् दस वर्षे रणनीतिक योजना जारी गरेको थियो ।
यो दस्तावेज २०७२/६/१९ गते नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित गरिएको थियो । यसरी, नेपालमा पहिलोपटक युवा विकासका लागि सरकारीस्तरबाट तयार भएको यो युथ भिजन ठोस कार्ययोजनासहितको दस्तावेजका रूपमा रहेको देखिन्छ ।
यसलाई संघ, प्रदेश र स्थानीय तह गरी तिनै तहमा प्रभावकारी रूपमा परिचालन गर्नकै लागि युवा परिषद् गठन गरिएको थियो र सोअनुसार माधव ढुंगेलको युवा परिषद्को कार्यकालमा केही काम भएका पनि छन् । तर, त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नपाउँदै एमाले सरकार नै गिराइयो र कार्यान्वयन हुन सकेन । अब मंसिर ४ गते हुँदै गरेको आवधिक निर्वाचनमा असल काम गर्नेलाई आफ्नो मतदान गरी युवामैत्री सरकार बनाउनसक्नु पर्छ ।
सत्ता स्वार्थप्रेरित राजनीतिलाई लोककल्याणकारी राजनीतिमा रूपान्तरण गर्न सक्नु पर्छ । यसो गर्न सक्यौँ भने मात्र हामी नयाँ आर्थिकसमृद्धिमा पदार्पण गर्न सक्छौं । अहिले, राजनीतिमा लागेका युवाले देवत्व ग्रहण गरेबापत पाइने चिल्लो हात र भविष्यको नेता बन्ने आशामा रहेको राजनीति वास्तवमा विकासविरोधी बन्न पुगेको छ ।
नेपालमा पनि युवाले देश समाजको पुनर्निर्माण, ग्रामीण र सहरी युवाबीचको खाडल मेटाउने र हिंसा विमुख गराउन योजना ल्याउने भ्रष्टाचारमाथि शून्य सहनशीलता, नागरिकका अधिकार र कर्तव्यबीचको सन्तुलन अनि युवाको चुनौती वीरता, साहसका अवसरलाई विशेष ध्यान दिन सक्नुपर्छ । युवाले आफूलाई लाग्ने गरेको आलाकाँचाको आरोपलाई गलत साबित गरी दिन सक्नुपर्छ ।
यसका लागि ज्येष्ठ नागरिकका अमूल्य अनुभवलाई ग्रहण गरी त्यसमा आप्mना जाँगरजोस मिसाई बन्ने असल कार्ययोजनामार्फत सुन्दर देश निर्माणको थालनी गर्न सक्नुुपर्छ । देशमा थाती रहेका जलसम्पदा, खनिज सम्पदाको उत्खनन र विकास गरी उत्पादन एवं रोजगार सिर्जना गरी रोजगारी दिन सक्नुपर्छ ।
यसका लागि मानव संसाधन (जनशक्ति)को विकासमा ध्यान दिन सक्नुपर्छ । यसरी, राजनीतिक व्यवस्थाले युवालाई राजनीतिदेखि प्रशासनसम्म, समाजदेखि विज्ञानसम्म, खेलकुददेखि व्यवसायसम्म सजिलै योगदान दिनसक्ने बनाउनु पर्छ । यसैका लागि हामीले राजनीतिमा युवाको सक्रिय नेतृत्वको
विषयलाई व्यापक छलफलमा ल्याउनु पर्छ ।
हामीले के बुझ्न जरुरी छ भने राजनीतिले मात्रै राष्ट्रनिर्माण हुँदैन, राष्ट्रनिर्माणका लागि जाँगरिला हातको आवश्यकता पर्छ । यही सत्य तथ्यलाई बुझेर नै संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निर्णयले अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो । यो निर्णयले युवाको सामाजिक पक्षमा जोड दिए पनि पछिल्लो समय यो दिवस राजनीतिक पक्षसँग जोड्न थालिएको छ । अझ भन्ने हो भने युवा दिवसको स्थापना युवा आन्दोलनको सफलतासँग गासिएको छ ।
वास्तवमा यस दिवसलाई युवाका मुद्दालाई स्थापित गराउने र युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउने हिसाबले
लिइन्छ । युवा नेतृत्वलाई स्थापित गर्नकै लागि राष्ट्रिय युवा नीति, राष्ट्रिय युवापरिषद् ऐन, युथ भिजन २०२५ सहित कार्यान्वयनमा रहेको छ । सरकारले के दियो भनेर बिलौना गर्नुभन्दा पनि हामीसँग रहेको क्षमताले प्राप्त उपलब्धिको उपयोग गर्न के प्रयत्न गरियो भन्ने कुरामा सबै युवाले सोच्नुपर्ने बेला आएको छ ।
अहिले पाँच वर्षमा मात्रै आउने समयलाई ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण पाएका छौं । सबैले सोच्ने बेला आएको छ । दुःखद् कुरा समय उड्छ, अर्काे सुखद् कुरा त्यो उड्ने समयरूपी जहाजको पाइलट तपाईं, हामी बन्न पाएका छौं । अब भन्नुहोस्, त्यो जहाज कहाँ, कसरी पु–याउने हाम्रै हातमा छ ।