महाभारतमा एकजना ऋषि थिए, दुर्वासा ! उनको टुपीदेखि पैतलासम्म रिस, झोंक र आवेश भरिपूर्ण थियो । जे कुरा माग्यो, दिनै पर्ने, उनको एक क्षण पनि पर्खने बानी थिएन । ढिलो भयो कि श्राप दिइहाल्ने !
हाम्रो पृथ्वीमा पनि दुर्वासा स्थल छ, त्यसलाई अंग्रेजीमा ‘रोरिङ फोर्टिज’ नामले चिनिन्छ । नेपालीमा भने त्यसको नाम ‘गर्जने चालिसे’ राखिएको छ । वास्तवमा यो निकै रौद्र र ज्यानलिने खालकै छ ।
यो स्थान भूमध्य रेखादेखि दक्षिणमा पर्छ अर्थात्, पृथ्वीको दक्षिणी गोलाद्र्धमा । भूमध्य रेखालाई ० डिग्री अक्षांश मानेर त्योदेखि ४० र ५० डिग्री अक्षांशको बीचमा पर्छ, गर्जने चालिसे । यो भनेको समुद्रको मध्य भाग हो ।
यहाँ जमिनको उपस्थिति छैन । समुद्र नै समुद्र छ । पानीको सतहमात्र भएकाले यहाँ बहने हावालाई केही कुराले पनि छेक्दैन । हावा निकै वेगमा बहने गर्छ ।
हावा यति वेगमा बहन्छ कि यो क्षेत्रमा मेघ गर्जने, चट्याङ पर्ने र पहाड भन्दा अग्ला उच्च ज्वारभाटा उठ्ने र बस्ने गर्दछन् । साहसिक यात्राका लागि यो अक्षांश छनौट गरिएको छ । यहाँ अहिलेसम्म हजारौं मानिसको ज्यान गइसकेको छ ।
भूमध्यरेखीय क्षेत्रमा सूर्यको प्रत्यक्ष तापका कारण पानी तातिन जान्छ । त्यहाँ पानीको मात्रा कम हुन थाल्छ । उता दक्षिणी गोलार्द्धमा चिसोपनाका कारण पानीको मात्रा अत्यधिक रहन्छ । तरल पदार्थको अग्लो भागबाट होचो भागतिर बहने स्वभाव हुन्छ ।
त्यसैले पनि पानीको यो भाग दक्षिणी गोलार्द्धबाट हुर्रिएर भूमध्यरेखीय क्षेत्रमा प्रवेश गर्न निकै जोडबल लगाउँछ । अर्कोतिर यसै बेलामा सूर्यको तापका कारण पानी तातिदा त्यसमाथिको वायु पनि निकै तातिएर वायुको चाप असाध्यै न्युन हुन पुगेको हुन्छ ।
दक्षिणी गोलार्द्धमा रहेको चीसो वायुमण्डलीय चाप भूमध्य रेखीय क्षेत्रमा रहेको न्युन चापमाथि भारी हुन बेगिएर आउँछ । ठीक यसै बेलामा पृथ्वीको पूर्वदेखि पश्चिमतिर घुमिरहने दैनिक परिक्रमणले यसलाई अस्वाभाविक गति दिन पुग्छ । वा, जोडसँग धकेलिदिन्छ ।
यस्तो अवस्थामा त्यहाँ बहने हावालाई रोक्न छेक्नका लागि कुनै पनि भूगोल वा पहाडको उपस्थिति हुँदैन । छैन पनि, सबैतिर समुद्र नै समुद्र छ । यसले गर्दा उच्च ज्वार चल्न थाल्छन् । चट्याङ पर्छ । वायु गर्जेको गर्ज्यै गर्छ ।
यसलाई गर्जने चालिसे भनिन्छ, किनकि यो ४० र ५० डिग्रिको अक्षांशभित्र पर्छ । मूलतः ४० वा ‘फोर्टी डिग्री’को अक्षांश बढि प्रभावित हुने हुनाले यसलाई ‘रोरिङ फोर्टिज’ भनिएको हो । यहाँ चल्ने उच्चज्वार र वायुको बहाव पश्चिमदेखि पूर्वतिर हुन्छ ।
यसमा मूलतः ३ वटा तथ्यहरूले काम गरेका छन् : १. प्रत्यक्ष सूर्यको तापका कारण भूमध्य रेखीय क्षेत्रमा हावा तातिनु, २. पृथ्वीले पश्चिमदेखि पूर्वतिर परिक्रमण गर्नु र ३. हावाको बहावलाई रोक्ने जमिनको भागको उपस्थिति नहनु ।
तास्मानिया, मध्य तथा दक्षिणी न्युजिलण्ड र दक्षिणी अमेरिकी केप टाउन यो क्षेत्रमा परे पनि यी भौगोलिक उपस्थितिले गर्जने चालिसेमा कुनै असर पर्दैन । यहाँ वायुको वेग २०० किलोमिटर प्रतिघण्टा रहेको हुन्छ ।