• मंसिर ११ २०८१, मंगलवार

अहिँसा र शान्ति हाम्रो मूल नारा सन्दर्भ: अहिँसा दिवस

आश्विन १७ २०७९, सोमबार

अक्टोबर २ अर्थात् असौज १६ गते, विश्व अहिँसा दिवस हाम्रो वरिपरि आइपुगेको छ । दसैँको पूर्व सन्ध्या सबैभन्दा बढी पशु, पन्छीे काटमार हुने पर्वसंगै देखिएको यो दिवसले हामीलाई गिज्याइ पनि रहेको छ । काटमार नगर्नु मात्र अहिँसा भने हैन, मनको हिँसा झन् कडा खालको हुन्छ । संसारले कहाली लाग्दो प्रथम र दोस्रो विश्व युद्धलाई बिर्सेको छैन । दोस्रो महायुद्धपछि स्थापना भएको संयुक्त राष्टृ संघ पछि पनि अशान्तिका काला बादलहरु फाटपूmट देखिएकै हुन् ।

हिरोसिमा र नागासाकीको कहालीलाग्दो अबस्था, सेप्टेम्बर ११ को अमेरिकी ट्वीन टावरको आक्रमण, हाम्रै देशको पनि १० वर्षे जन युद्ध, चीन ताइवानको खिचातानी, युक्रेन रसिया युद्धले संसारलाई पारेको पीडा बिर्सने खालको छँदैछैन । हामी चेली निर्मला, विगतको रुकुमको नरसंहार र संखुवासभाको सामूहिक हत्याले हामीलाई के सन्देश दिएको छ ।

यी त अप्राकृतिक भए, प्राकृतिक पनि कम छैन, दैवी प्रकोप, महामारी, कैयन दूर्घटना र दैनिक २० जवानको हिसाबमा आत्महत्या, कोरोना र डिँगो पनि हामीले मूक दर्शक भइ सहेका छौँ । मूलतः तनमा कान्ति र मनमा शान्ति सबै युगको अपरिहार्यता हो भने अहिले हामीले भनौँ संसारले चाहेको द्रुत विकासको पहिलो आवश्यकता अहिँसा र शान्ति नै हो ।

क्रान्तिले युग परिवर्तन खोज्नु भूल हुनेछ अब र त हाम्रा वैदिक ऋषि महर्षिहरुले अनेकानेक खोज र अनुसन्धान गरेर विश्व शान्तिको पहल गरे । पूर्वी संस्कारमै हुर्केका बुद्ध यहीँ अवतरित भए । धर्मको स्थापनाका लागि युग युगमा म पृथ्वीमा अवतरित हुनेछु भनी स्वयं ईश्वरले गीतामा भनेको छ । सबैप्रति ईश्वरीय भाव जागेर एकले अर्कोलाई सम्मान, इज्जत देओस् र सबै प्राणीले सजिलै बाँच्न पाऊन् भनेर ईश्वरले अहँ सर्वेषु भूतेषु भनेको छ, भागवतमा ।

यसको अर्थ हुन्छ म सबै प्राणीमा अदृश्य रुपमा रहेको छु । पूर्वीय यो मूल्य र मान्यता आज संसारले खोजेको छ र त जर्मनी लगायत विकसित देशहरुले पूर्वी धर्म संस्कृतिको धरोहर वेद र यसको स्रोत खोज्दैछ । विद्धान् म्याक्स मूलरले पूर्वीय दर्शनलाई विज्ञान भनेका छन् । विद्धान् विल्सनले भने, प्रजातन्त्रका लागि पनि यो संसारलाई सुरक्षित राख्नु पर्छ । विद्धान् रस्किनले भनेः कुनै व्यक्तिको प्रथम परीक्षा भनेको उसको नम्रता नै हो ।

महात्मा गान्धी शान्तिका पुजारी थिए, अहिँसा आन्दोलनबाटै भारत स्वतन्त्र भयो । गान्धीले भनेका थिए खराब मान्छेलाई सुधार्ने मुख्य औषधि प्रेम र स्नेह नै हो । अल्बर्ट आइन्टाइनले भने ईश्वर भ्रष्ट हुन सक्ला तर ईष्र्यालु कहिल्यै हुन्न । विद्धान् वाइरनको भनाइ छ जसले आप्mनो देशलाई माया गर्न सक्दैन उसले कसैलाई पनि माया गर्दैन । प्रसिद्ध विद्धान् गेटेको भनाइ छ राजा या रँक होस्, जसले घरमा शान्ति पाउँछ उही सुखी हो ।

बाइबलको पनि भनाइ छ तिम्रो शरिर नै पवित्र आत्माको मन्दिर हो । हाम्रा ऋषि महर्षिहरुले द्यौः शािन्त, पृथ्वी शान्तिः,आपः शान्ति:, अन्तरिक्षः शान्तिः,औषधयः शान्तिः अर्थात् भूमि, पानी, माटो, अन्तरिक्ष, आकाश, खगोल, भूगोल, वायुमण्डल, बनस्पति सम्पूर्ण चराचर जगत् नै शान्तिको प्रार्थना गरे । बसुधैव कुटुम्बकम् अर्थात् सम्पूर्ण बसुधा भनौँ पृथ्वी नै कुटुम्ब हो भने, त्यति मात्रै नभएर ब्रह्माण्डैव कुटुम्बकम् भने आज त्यसैलाई ग्लोबल भिलेज् भन्छौँ हामी अर्थात् विश्व एक गाउँ ।

ब्रह्माण्डभित्र समस्त शान्ति नभई यो सन्देशले सार्थकता पाउँदैन । हिँसाले हिँसा नै जन्माउने हो र अहिँसाले अहिँसा नै । एउटा नीति छ जो संग जे छ अरुलाई उसले दिने पनि त्यही नै हो । अहिँसाको मार्गले नै संसार जित्न सकिन्छ र समृद्धि पनि । अरुलाई दिनुको नाम नै देउता अर्थात् देवता हो, आफैमा लुटी खानेलाई दानव भनिन्छ ।

क्रोध गर्दा मानिसको आठ प्रतिशत ऊर्जा शक्ति नष्ट हुन्छ, क्रोधपछि आउने आवेगबाट शरिरको १६ प्रतिशत शक्ति नष्ट हुन्छ भने त्यसैबाट जन्मने तनावका कारण मानिसको ३२ प्रतिशत शक्ति नष्ट हुन्छ, यस अर्थमा जोड्दा ५६ प्रतिशत अर्थात् हामीसंग भएको शत प्रतिशत शक्तिमध्ये आधाभन्दा बढी शक्ति बिना कारण आफैमा नष्ट भइरहन्छ, अनि बाँकी शक्तिले हाम्रो न्यूनतम आबश्यकता नै पूरा हुन्न, ठूलो समृद्धि त परको विषय भयो ।

संसारको ४ दिशा मध्ये पश्चिममा ऋग्वेद, यजुर्वेदको खोजी जर्मन, अमेरिकामा हुँदैछ । पूर्वमा जापान, सिंगापुरमा यी मंत्रहरु विहानै घन्कन थालेका छन् । पूर्वीय सम्यताको खोजी गरेर पश्चिमाहरु विज्ञानको चुलीसम्म पुगे । इन्धन र यन्त्र विना नै पूर्वीय चिन्तनको पुष्पक विमान आफैं उदाहरण छ । वेदको रोचक पक्ष वास्तुकलाको परिचय नेपालका अरनिकोले चीनमा गराएका सुनौला पक्षहरु हाम्रा इतिहास वताउँछन् ।

वेदका खानि वेदव्यासको तपस्थली व्यास गुफा हामै्र तनहुँमा छ, देवघाट यहीँ छ । पशुपतिमा वेदका ऋचाहरु संसार भर घन्काउने शिवजी हुनुहुन्छ । आर्यावर्त क्षेत्र स्वर्गीय यज्ञ भूमि हो । गोकर्णमा रावण आएको, गौरीघाटमा सम्पूर्ण इन्द्र आदि देवताहरुले तप गरेको र यो पूरै योग भूमि हो । स्कन्द पुराण, शिव पुराण, देवी भागवत, नेपाल माहात्म्य आदि ग्रन्थहरुले नेपालको परिचय वेदको शुरुस्थलको रुपमा दिएको छ । नेपालकै वुद्धले संसारमा अहिंसाको दीप प्रज्वलन गराए ।

लुम्विनी क्षेत्रलाई संसारले हेरेको छ । यहाँको कलाकारिता, शिल्पी, यहाँका वनस्पति, जडीवुटीहरु विदेशीहरुका लागि खोजको विषय रहेको छ । नजीकको तीर्थ हेलाँ भनेझैँ आफ्नो श्रीसंपत्ति प्रति हामीलाई ठूलो चासो छैन ।

भएका प्राचीन ग्रन्थ एवं आफ्नो मौलिकतालाई हामी विर्सदै छौँ । शताब्दीयौंको संरक्षण गरेर सिंगापुरमा एसियन सिभिलाइजेसन म्युजियमले सारा एसियामा भएका सम्यतालाई उजागर गरिरहेको छ । अहिले हामीलाई वेदमा विश्वास छैन । हिड्ंदैछ, पाइला मेटिदैछ, हुँदैछ यस्तै । समयमै यस तर्फ विचार नगरे हाम्रै मौलिकपन भविष्यमा बाँकी रहन्न ।

आजको युग भौतिक युग भए पनि भक्तिवाटमात्र शक्ति प्राप्त हुन्छ । शुक्ल यजुर्वेदले यही वताउँछ । यसमा रहेका कर्मकाण्ड, ज्ञानकाण्ड, उपासना काण्डमा जपका विधि, ध्यान पद्धति, यज्ञ र पूजा संस्कार वारे उजागर गरिएको छ भने ज्ञानकाण्डले हामीलाई आत्मा साक्षात्कार गरी स्वको खोजी आफैंले गरी जीवले जगत्वाट जगदीश्वर पाउँने विषयमा व्यापक चिन्तन गरेको छ ।

हाम्रो सर्वोपरि चाहना भनेको धर्म, अर्थ, काम र मोक्ष हो सत्कर्मबाट धनार्जन गर्नु पर्छ । उपासना काण्डलेचांहिँ आत्मा, ईश्वर अनि मायाद्वारा सिर्जित र संचालित विश्वको अनुसन्धान गर्ने कार्यमा जोड दिएको छ । सवै विषय वस्तुहरुको गन्तव्य एउँटै हो, जीवले लक्ष्य प्राप्ति गर्ने उपायहरु धेरै हुन सक्छन् । यात्रा अलग भए पनि साधनाका विविध यात्रा मार्फत् साध्य प्राप्त गर्नु अन्तिम लक्ष्य हो, साध्य हो सवैको । साध्य प्राप्तिको क्रममा शुक्ल यजुर्वेद निकै अगाडि छ । यजुर्वेदले जीवनमा आइ पर्ने समेत समस्याहरुको निराकरणका उपाय वताएको छ ।

वायु प्रदुषण, ध्वनि प्रदुषण नगरी संसारलाई शान्त, सुखी वनाउन पर्यायवरणको चासो देखाएको छ । भूमि, आकाश, पाताल र समस्त वायुमण्डल शुद्ध हुनु पर्ने संकेत गरेको छ । आज सम्म चलन चल्तीमा आएका शास्त्रमध्ये वेद नै प्राचीन हो र अर्वाचीन समेत ! देवता र पितृ मान्नु हाम्रो परंपरा हो । सृष्टि, स्थिति र प्रलय निरन्तर चलि रहने प्रक्रिया हो ।

ती प्रक्रियाका पात्रहरु मात्रै हौं हामी ! हिजो ईश्वर थियो हामी थिएनौं ! आज ईश्वर छ, हामी छौं, भोलि हामी रहन्नौँ तर ईश्वर सदैव रहन्छ । मानव मस्तिष्कको श्रोत भन्नु ईश्वर हो । ईश्वर प्रदत्त मानव मस्तिष्कको उपज भन्नु विज्ञान हो ।

सही र सदुपयोग गर्दा विज्ञान वेदमणि हुन सक्छ, पारसमणि हुन सक्छ । जैन, सिख, हिन्दु, क्रिस्चियन, मुस्लीम, वौद्ध जे सम्प्रदाय भने पनि पहिले हामी मनुका सन्तति मानव हौं, मनुष्य हौंँ । मानव धर्मको पहिचान भएन भने सम्प्रदाय विशेषमा रुमल्लिएर मात्र ईश्वर पाइने होइन । फलाम मय जगत्लाई पारसमणिको रुपमा प्रयोग गर्न सक्नु मानव हित अनुकूल छ । संसार नरमाइलो छैन, वुझाइ मात्र फरक हो । सूर्य, गणेश, शिव, विष्णु, देवी शक्ति संसारकै हुन् ।

वेद अमूल्य धन हा, पैत्रिक संपत्ति हो, संरक्षण चाहेको छ ।केवल हाम्रो भूमिवाट वस् यत्ति मात्रै हो कारण यो भूमि तपो भूमि हो, योग भूमि हो, अन्य भूमि कर्म भूमि, भोग भूमि मात्र पनि हुन सक्छ । सामवेदको विशालता शव्दले सिमांकन गर्न सकिन्न । पूर्वार्चिक र उत्तरार्चिक गरी यो दुई खण्डमा विभाजित छ । अथर्ववेदका ३ संहिता अर्षि, आचार्य र विधि प्रयोगमा छ ।

अर्षि संहिताले वेद मंत्रको शुद्धताले सिद्धि प्राप्त हुने कुरामा जोड दिएको छ भने आचार्य संहिताले विभिन्न मानव संस्कारका वारे वर्णन गरेको छ । त्यस्तै विधि प्रयोग संहिताले कुनै कार्य, जप, पाठ, पूजा गर्दा संकल्प गरेर गरे मात्र सिद्धि फल प्राप्ति हुने कुरामा जोड दिएको छ । अथर्ववेदले वित्तीय व्यवस्था, कृषि,उद्योग तथा गोधन, पशुधन, सम्पूर्ण आर्थिक समृद्धिको पूर्वाधार तयार गर्नु पर्ने बारे चासो दिएको छ ।