दसैंलाई पञ्चायत कालमा ‘वडादसैं’का नामले बढी परिचित गराइयो । यसलाई गाउँघरमा ‘ठूलो दसैं’ भन्ने चलन छ । चैत्राष्टमीमा पर्ने दसैंलाई ‘सानो दसैं’ भन्ने गरिन्छ ।
दसैं जति रमाइलो पर्वका रूपमा रहेको छ, उत्तिकै विवादित र अनुत्तरित पनि छ । यसका बारेमा धार्मिक कथन र कहावत धेरै छन् । किम्बदन्तीको त पत्रैपत्र छन् ।
तर धार्मिक तर्क र लेखन बाहेक ऐतिहासिक तथ्य कतै पनि भेटिदैन । त्यसैले पनि यसका बारेमा मतभेद निकै गहिरो छ । दसैं भारतीय महाद्वीप र त्यसमा पनि नेपाली भाषी बीचमा निकै लोकप्रिय छ ।
स्थान र पात्र एकातिर, पर्वको महत्व अर्कोतिर !
दसैं पर्वसँग जोडिएको घटना प्रायः भारत र श्रीलंकासँग सम्बन्धित छ । गाउँघरमा भनिने र तिहारमा नाचिने मारूनी नाचमा गाइने गीतमा उच्चारण हुने ‘अजुद्धे’ या अयोध्या भारतमा छ ।
रावण, कुम्भकर्ण श्रीलंकासँग जोडिएका छन् । रामलाई साथ दिने वानर किस्किन्धा पनि भारतमै छ । केवल सीता नेपालकी परेकी छिन् ।
ठूलो वा असोज महिनाको दसैं रामले रावणमाथि विजय प्राप्त गरेपछि मनाइएको भनिएको छ । यो पर्व असत्यमाथि सत्यको र आसुरीय शक्तिमाथि देवताको विजयका रूपमा मनाइएको भनिएको छ ।
तर भारत र श्रीलंकामा असोज महिनामै यो पर्व मनाइएको देखिदैन । कतै कतै रामको विजयका रूपमा मनाउँदा यसका विरूद्ध श्रीलंकामा रावणको महिमा गान गरिन्छ भनिन्छ ।
तर तथ्यमा आधारित भन्दा पनि क्रिया र प्रतिक्रियाका रूपमा गरिएको झैं देखिन्छ । त्यो भन्दा पनि आश्चर्यको कुरा त नेपाल नेपाली भाषीका माझमा मात्र दसैं कसरी स्थापित हुन पग्यो, खोजीको विषय बनेको छ ।
नेपाली जनजातिमा छैन वडा दसैं
नेपाली जनजातिमा दसैं वा वडा दसैंको महिमा त्यति साह्रो छैन । राष्ट्रिय पर्वका रूपमा मनाउने त गरेको पाइन्छ । तर मनाउने प्रक्रिया र संकेत निकै भिन्न छ ।
हिन्दूहरूले रातो टीका लगाएर विजयका रूपमा मनाउने विजया दशमी वा दसैं प्रकृतिपुजक जनजातिले सेतो टीका लगाएर मनाउँछन् । जमरा त छरेका र लगाएका हुन्छन् । तर विजय उत्सवका रूपमा मनाएको पनि देखिदैन ।
रातो टीका नलगाएर सेतो टीका लगाउनुलाई विरोध त भन्न नमिल्ला नै । तर रातो टीका अस्वीकार गरेको भन्दा अर्को अर्थ त लाग्दैन । त्यसैले यसको खोज र अनुसन्धान जरूरी छ ।
राम–रावण युद्ध र दसैं दुवै समय र घटनासंगत छैनन्
रामायणमा वर्णन भए अनुसार राम–रावण युद्ध चैत्रमा समाप्त भएको छ । रामायणमा वर्णित समयले त्यही देखाउँछ । विजय जुलुश र पर्व घटनाक्रम अनुसार चैत्रमै पर्छ । चैत्रमा लडाइँ सकिने तर असोजमा गएर विजय जुलुस मनाउने त कहीँ पनि हुँदैन ।
त्यसो भए असोजको दसैंलाई राम–रावणयुद्धसँग किन जोडियो त ? बरू चैते दसैंलाई त्यसरी जोडिदैन ! कुरो सपाट र यथार्थ छैन र देखिदैन पनि । धार्मिक कुरा र काल्पनिक मात्र हो भने त कुरा नै अर्को भइहाल्यो । यदि होइन भने यथार्थ के हो त ?
असोजमा त ऐतिहासिक घटनाक्रमलाई हे¥यौं भने भारतमा मौर्य वंशको अन्त्य गरेर सुङ वंश सुरू भएको छ । मौर्य क्षेत्रीय वंशका थिए । सुङ ब्राह्मण वंशका थिए ।
राम–रावण काल्पनिक कि यथार्थ ?
रामायण परिकल्पना मात्र हो वा साहित्य मात्र हो भने केही छैन । त्यो काल्पनिक कथा मात्र हुन सक्छ । केवल साहित्य ! राम–रावण काल्पनिक पात्र र राम–रावण युद्ध कल्पना ! रामायण एक बेजोड काल्पनिक साहित्य !
तर यो कल्पना बाहेक भारतीय उपमहाद्विपमा घटेका ऐतिहासिक घटना खोज्दै, घोत्लँदै र नियाल्दै गयौं भने असोज महिनामा ब्राह्मण सेनापति पुष्यमित्र सुङले १८५ बिसीमा तात्कालिन मगध केन्द्र रहेको मौर्य साम्राज्यका सम्राट ब्रदरथ मौर्यको हत्या गरेर आफूलाई सम्राट घोषित गरेका थिए ।
त्यसपछि सुङ वंश स्थापना भएको थियो । यसको केन्द्र वा राजधानी पाटलीपुत्र अर्थात् पटना थियो । सुङले हत्या गरेका राजा ब्रदरथ दसौं मौर्य सम्राट थिए । मौर्यहरू बौद्धमार्गी थिए भने सुङ हिन्दु थिए ।
प्रसिद्ध भारतीय विद्वान तथा यायावर राहुल सांकृत्यायनले मौर्य वंशका दशजना राजाको दश टाउका संकेत मानेर ‘दश–टाउके रावण’ भनेका र आफूलाई राम संकेतका रूपमा राख्न लगाएर रामायण ग्रथ साहित्यको रचना गर्न लगाएका भनी खुलेर टिप्पणी गरेका छन् । यो मत भारतमा अहिले बढी बहस र चर्चामा छ ।
पुष्यमित्र सुङ र वडादसैं
असोज महिनामा आफूले बौद्धमार्गी मौर्य वंशको अन्त्य गरेर हिन्दुको हातमा शासन ल्याई आफूलाई सम्राट घोषणा गरेपछि त्यही महिनाबाट ठूलो दसैं मनाउन थालिएको र रातो टीका लगाइएको भन्ने तर्कमा केही ‘ज्यान’ वा दम देखिन आउँछ ।
त्यसै बेलादेखि बौद्धमार्गीले यसको विरोध स्वरूप सेतो टीका लगाएको भन्ने आफैमा ऐतिहासिक रूपमा कम बलियो छैन । धार्मिक रूपमा पुष्टि हुन नसके पनि ऐतिहासिक तर्कका आधारमा असोजको दसैंले पुष्यमित्र सुङको वरिपरि शंकास्पद घेरो र फेरो मारिरहेको देखिन्छ ।
तथ्यपरक खोज बाँकी नै छ ।