• मंसिर ११ २०८१, मंगलवार

ज्येष्ठ राजनीतिज्ञको सत्तास्वार्थ र देशको दशा

आश्विन ९ २०७९, आईतवार

नेपालमा ज्येष्ठ राजनीतिज्ञ सत्ताको चाकाचुली खेलिरहेका छन् । आफै बल लगाउने शारीरिक र मानसिक हैसियत भरपर्दो अवस्थामा छैन । त्यसैले सत्ताको चाकाचुली नै उनीहरूका लागि निर्विकल्प खेल बनिरहेको छ ।

एक पटक सत्तापक्ष, अर्को पटक प्रतिपक्ष । अझ त्यसमा पनि सत्तापक्षभित्रै फरक मतको प्रतिपक्ष ! चलिरहँदा सत्तापक्ष र प्रतिपक्षको बीचमा चाकाचुली, नभए सत्तापक्षभित्रै चाकाचुली !

घाम ताप्ने दिन त कटाउनु छ, गरिखाने दिन त्यसै गए ! ‘बालो जोवन खेलेरै गयो, बैंस जोवन मायालाई भइगयो, नरोऊ मायालु !’ दिन पनि छैनन् । सपना पनि रहेनन् ।

नेपाली काँग्रेसको ‘प्रजातान्त्रिक समाजवाद’ कता हरायो, थाहपत्तो छैन । त्यो न त लागू हुन सक्यो, न त ‘खारेज’ नै भएको थाह पाइयो । अहिले गुमनाम छ ।

एमालेको ‘बहुदलीय जनवाद’ देशमा समाजवाद निर्माण गर्ने कोलाहलको गर्भमा हराउन पुगेको छ । बयानरमा यदा कदा उठाए पनि एमालेका नरहरूमा यसको गन्धसमेत छैन ।

माओवादीको ‘नौलो जनवाद’ पुरानो हुनै पाएन । गर्भको गर्भै ‘एक्काइसौं शताब्दीको जनवाद’ बनेर नेपाली काँग्रेसले २००७ सालमा छाडेको ‘संविधानसभाको निर्वाचन’को थाङ्नामा त्यसै सुत्यो, मुत्यो, हरायो ।

ज्येष्ठ राजनीतिज्ञहरुको सकारात्मकता भनेको अनुभव, सिप, योग्यता र क्षमता हो । सारमा खोजिने भनेको अभिभावकत्व हो । ज्येष्ठ नागरिक व्यवस्थापनका हिसाबले पहिलो श्रेणीमा स्वीट्जरल्याण्ड आउँछ ।

त्यसै गरी दोस्रो र तेस्रो हुने श्रेय नर्र्बे र जर्मनीलाई जान्छ । नेपाल शायद १७औं वा १८औं स्थानमा आउँछ । आमज्येष्ठ नागरिक ६८ वर्ष पुगेपछि बृद्धभत्ता पाउने भएका छन् ।

ज्येष्ठ राजनीतिज्ञहरूको भने चालीमाली भिन्दै छ । उनीहरू कहिल्यै बूढो नहुने भएकाले युवाहरूले निराशामा जीवन बिताउँदैछन् । उनीहरूका लागि ज्येष्ठ हुन र ज्येष्ठताको जिम्मेवारी बहन गर्न संयुक्त राष्ट्र संघसम्बन्धी महासन्धि, घोषणापत्र, प्रतिबद्धता, ज्येष्ठ नागरिकसम्बन्धी घोषणापत्र, महासन्धिहरु केही कसैले काम गरिरहेका छैनन् ।

नेपालमा ६० वर्ष उमेर माथिकालाई ज्येष्ठ नागरिकको रुपमा हेर्ने गरिएको छ । यो संख्या २५ लाख माथि रहेको छ । यो पुस्ता क्रियाशील जीवनबाट क्रमशः कम क्रियाशीलतातिर जाादै गरेको छ ।

तर विडम्बना ! नेपाली राजनीतिमा यही पुस्ता सत्तामा चाकाचुली खेलेर बसिरहेको छ । देशको सत्तासञ्चाकमा वृद्ध, अशक्त, रोगी, असहाय रहँदा देश सुखी र समृद्ध दुवै हुन सक्दैन । विकसित देशहरूमा यो पुस्ता फाउन्डेशन, ट्रस्ट र अन्य जनसहयोगी संस्था चलाएर जनताको सेवामा समर्पित हुने गरेका छन् ।

तर नेपालमा यो पुस्ता सत्तामा चाकाचुली खेलिरहेकाले देश र देशको प्रगति युवा पुस्ताको काँधमा आउन सकिरहेको छैन । पुस्तान्तरण पनि छैन । बरू नवीन पुस्ता खाडीलगायतका देशमा भासिदै विलिन हुँदै गइरहेको छ ।