• मंसिर १२ २०८१, बुधबार

‘ज्ञानेन्द्र शाही सोंचे भन्दा स्वभाविक र मायालु लाग्यो’

आश्विन ५ २०७९, बुधबार

दाङ । उभिने बित्तिकै हुरर्र उठेर कार्यकर्ताले ज्ञानेन्द्र शाहीलाई घेरे । उनलाई बिचमा राखेर पालैपालो धेरै जनाले सामूहिक तस्विर लिए । उनिप्रतिको माया मोहको यो उदाहरण जेष्ठ २९ गते घोराहीको होटल म्याजेष्टिकमा देखेँ । जहाँ उनी राप्रपाको केन्द्रीय प्रवक्ताका हैसियतले उपस्थित थिए । फाल्ने फुुर्सद नपाएको हो कि, रहरले पालेको छुस्स दाह्री जुँघा थिए । त्यसले सरलपनको परिचय दिन्थ्यो ।

अधिकांश नेताहरु आफूहरु सिक्ने भन्दा बढि सिकाउने ठान्छन् । उनीहरु बोलेको धेरैले पत्याउन छोडे । हेरेर विश्वास गर्ने भनेको ढंग हो । हाउभाउ र शरीरको व्यवस्थापन हो । लगाउने, खाने, कपाल टुपी पाल्नेदेखि हरेक कुरा सिक्नेहरुले ख्याल राख्छन् । जसले सामूहिक फोटो खिचेर साख्खिने प्रयास गर्छन् तिनले अझ नक्कल गर्न खोज्छन् । कुनै समय थियो, डा. बाबुराम भट्टराईको वार्ताकालमा लगाएको चुच्चे टोपीले व्यापकता पायो । त्यसैगरी प्रचण्डसहित बालुवाटार उत्रिँदा लगायका कपडाले महत्व राख्यो । दुवै नेताले पछाडितर्फ सेपेको बाल पनि माओवादी कार्यकर्ताको आदर्श बनेको थियो ।

त्यस्तै कपाल नपालेपछि माओवादी भन्दैनन् कि जस्तो गर्थे । जतिको त्यस्तै कपाल स्टाईल थियो, उनीहरु खुशीले फुरुक्क हुन्थे । सम्भवतः आफूलाई टाढैबाट प्रचण्ड, बाबुरामको भनुन् भन्ने तिनको चाहना हुन्थ्यो । यति बेला बालेन साहको चश्माको पनि उत्तिकै खोजी छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको ज्याकेट लगायतले चर्चा पाएका छन् । महंगो मूल्य हालेर पनि त्यस्तै पाएपछि खरिद्ने पक्षमा धेरैजना छन् । यसमा मानवीय सोँचको ठूलो अर्थ छ । अगुवा र ठूला मानिसको नक्कल गर्न चाहने ठुलो जमात छ । उनीहरुको फेसन, बोली, तरिका सिक्न चाहनेहरु धेरैजना छन् ।

अब चुनौति, उनीहरुले अरुलाई नक्कल उतार्न दिने के के कुरामा हो ? कस्तो माहौल तयार गर्ने ? कस्तो जमात बनाउने त्यसले देशका लागि भोलिका दिनमा सोँचेको जस्तै गरोस् । नेताले देखेको सपना व्यवहारमा उतार्ने कार्यकर्ता र जनताको शक्ति तयार बनोस् । आध्यात्मवादी दर्शनको विरोध र भौतिकवादी दर्शन अंगाल्ने कम्युनिष्टहरुका नाटक झन् देखिनसक्नु छन् । माक्र्सका जस्तै दाह्री पालेर कम्युनिष्ट दार्शनिक बन्ने नेताहरु धेरैजना भेटिन्छन् ।

उसो भए दाह्री र जुँघा नआउने महिलाहरु दार्शनिक बन्न सक्दैनन् त ? यति पनि चेत नभएका आफूलाई महान नेता मान्नेहरु छन् । नेताले सेपेको कपाल, पालेको दाह्री जस्तै हुँदैमा त्यही बन्न सकिन्न । ओसोले आफ्ना कृतिमा ठाउँ ठाउँमा भनेका छन् अरु जस्तै बन्ने होइन । आफू जस्तै हुने हो । आफै जस्तो भए पो परिचय हुन्छ । पहिचान बन्छ । अर्कोमा समाहित भए त सकिगयो । उही मान्छे फेरि फेरि किन चाहियो भन्ने गरी ओसोले व्याख्या गरेको भेटिन्छ । बुद्ध, गान्धी, देवकोटा बन्न खोज्ने होइन भन्ने उनको तर्क छ । तर यो धेरैले मान्दैनन् । मैले भिडियोमा देखेको ज्ञानेन्द्र अलि चर्को लाग्थ्यो । अखट्टे जस्तो महशुस हुन्थ्यो ।

काम कम, कुरा बढी गर्ने व्यक्ति हो भन्ने थियो तर मैले भेट्दा त्यस्तो पाइन । उनले कार्यकर्तासँगको अन्तरकृयामा आएका सबै जिज्ञासा टिपोट गरेको फेला पारेँ । त्यसका आधारमा जाँगरिलो नेता मानेँ । अरु को कुरा सुन्न सक्ने इमान्दार नेता पनि भन्छु । अनि हरेकको एकएक जवाफ दिएको सुनेँ । दोहोरिएको प्रश्नमा समेत प्रश्न कर्ताको नाम उच्चारण गरेको पाएँ । यसरी गरिएको व्यवहारले सम्मान महशुस गरायो ।

आफ्ना कुरा सुनिदिएको व्यक्तिलाई जसले पनि रुचाउँछ । अरुका कुरा सुन्ने मानिस प्यारो हुन्छ । सबैको आत्मिय बन्छ । उसले प्रश्नकर्ताको आत्मसम्मान गर्नु भनेको आफूले सत्कार आर्जन हो । जति धेरैलाई सत्कार गर्न सकियो त्यति उनीहरुले माया गर्छन् । त्यही परिणामले सफलता मिल्दै जाने हो ।

‘फलानोले सोध्नु भएको यो प्रश्नका बारेमा जवाफ दिइसकेकोछु भनेर व्यक्ति व्यक्ति किटान गर्नेशैली असाध्यै मन पर्यो । मैले प्राथमिकता पाएँ भन्ने गर्वानुभूति गराउन शाही सफल भए । मेरो प्रश्नको मतलवै राखेन वा मलाई वास्तै गरेन जस्ता निरासा र गुनासा कार्यक्रम हलमा रहेनन् । धेरै नेताहरुले यसरी सबैका प्रश्न र तिनका जिज्ञासालाई महत्व दिँदैनन् । यद्यपी पत्रकार सम्मेलनमासम्म केही महत्व दिन्छन् । कार्यकर्ता प्रशिक्षणमा एकहोरो उपदेश सुनाउँछन् । यदि कसैले जिज्ञासा राखिहाल्यो भनेपनि त्यो शिर्ष नेतृत्वको महत्वको विषय बन्दैन । उपाए दिन सक्ने व्यक्ति हो ।

धेरै जनाले पार्टी कमजोर भएको, संगठन ध्वस्त बनेको निरासा व्यक्त गरे । दाङमा एक सय वडा रहेछ सबैमा समिति बनाउनुस् । अझै टोल टोल पुग्नुस् । संगठन धरासायी छ भन्नुभएको छ, यसरी सुधार्नुस् । कमजोर भएको थाहा पाएपछि बलियो बन्ने उपाए पनि निकाल्न सक्नुपर्छ । नेतृत्वले सही काम गर्नुपर्यो कि त अर्कोलाई सुम्पिनु पर्यो । नयाँलाई समेटेर जाँदा अतिउत्तम हुन्छ । गर्नपनि न सक्ने पदपनि न छोड्ने ठिक भएन । यति भनि सकेपछि कार्यकर्ता पंक्तिमा उत्साह देखियो । हलबाट तालिले स्वागत गरे । युवाको जोश नदीको वहाव हो ।

यो रोकेर रोकिँदैन भनेर पुरानालाई सम्मान गर्ने नयाँलाई नेतृत्व दिने कारण पनि खुलाइदिए । हलबाट इमान्दार हुनुपर्छ, धैर्य बन्नुपर्छ, शालिन र भद्र देखिनुपर्छ भनेर पनि सुझाव दिएका थिए । मैले एक ढुंगा एक इटा हान्या छैन । मैले धेरै पटक माफ दिएको छु । कतिपयलाई मेरो बोली नै मिठो लाग्दैन । के गरुँ ?’ भन्दै स्पष्ट पारेका थिए । त्यसैबेला अलिकति भावुक पनि बने । आकाशतिर हेरे, रोष्टममा घोरिएर र पीडा लुकाउनका लागि हुनपर्छ बाल सेपे, त्यसबेला उनको अनुहार उपद्रोसित कालो निलो देखियो ।

‘म धनाढ्यको सन्तान होइन । पानी तप तप चुहिने ठाउँमा बसेर पढेको हुँ । अपराधीलाई अपराधी भन्छु । छाती खोलेर लाग्छु । चितवनमा भाला र बन्दुक हाने मैले सहेँ । सुर्खेतमा हाने, सहेँ । मदिरा सेवन जीवनमै गर्दिन । आवाज बिगारेर, भिडियो मिलाएर मदिरा सेवन गरेको भनि बदनाम गरे । अरु कुनै नेतालाई त्यो गरेर देखाउनुस् ? कोहीले सहन सक्छ ? यी हेर्नुस् घाउ । यति शालिनता देखाउन सक्छ ?’ अहँ कसैसँग यसको जवाफ थिएन ।

सबैले निरास नजरले ट्वाल्ल परेर हेरे मात्रै । कसैले स्याँफ्वाँ आज निकालेको समेत सुनिएन । सास पनि सुस्तरी फेरेको हुनुपर्छ । ‘हामिी अरुले जस्तो मान्छे मार्दैनौं । सही हिसाबमा जान्छौँ । भन्नुस् मैले कहाँनेर कसलाई गाली गरेँ । अपराधका विरुद्धमा बोल्ने हो, भ्रष्टाचारका विरुद्धमा सधै बोल्ने हो ।’ यति बोलिपछि अन्तमा पीडा भएकालाई पीडाको बारेमा थाहा हुन्छ । म केही गर्छु भनेर आएको हुँ । सिक्ने प्रयासमा छु । साथ दिनुस् भने । युवा युवती राजनीतिमा आइदिनुस् । हामी जागीर खाने हो भन्ने होइन । डिग्री मात्रै सबै होइन । देश बिग्रियो ।

राजनीति ठिक भएन भनेर टाढै बस्ने होइन भने । राम्रा मानिस राजनीतिमा आएपछि मात्रै सप्रिन्छ भनेर जवाफ दिए । उनीहरु राज सहितको राज्य चाहन्छन्, देश गणतन्त्रमा छ । उनीहरु हिन्दु राज्य स्थापनामा छन् । देश धर्मनिरपेक्ष बनेको छ । यस्तो कैयौं असहमतिहरु छन् नै । उनकै पार्टीका वरिष्ठ नेता कमल थापा राजा फर्काउन सकिन्न भन्दै बाहिरिए । चुनावी तालमेलका नाममा सबै पार्टीले सबैसँग मिलेका प्रमाण छन् । कुनै पनि पार्टीको विचारलाई दुत्कार्ने अवस्था रहेन ।

कसैका विरुद्धमा खनिने मुद्धा कसैसँग छैन । सबैका एक दुईवटा सवाल छन्, जस्ले फरक पार्टीको अस्थित्व मात्रै राख्छन् । व्यवहारमा जाँदा कसैले कसैलाई यो क्रान्तिकारी यो पश्चगामी भनेर व्यक्त्याउन सक्दैनन् । जनमतको सम्मान गर्ने हो । जुन मुद्धा स्थापित हुन्छ त्यसैलाई मानेर अघि बढ्ने हो । आफूलाई राम्रो लागेका कुरालाई स्थापित र व्यापक बनाउने प्रयत्न गर्ने हो । त्यसैले पार्टी भित्रका व्यक्तिका असल गुण लुकाउनुपर्ने अवस्था रहेन । यस अघि विभिन्न माध्यममा उनको धप्धपाउँदो चेहरा र चर्को बोली मलाई फिटिक्कै मन परेको थिएन । तर, स्वभावजन्य गुणको ओक्तो छैन । खासमा विषय वस्तु के हो भन्ने ठूलो कुरा रहेछ ।

कसैको स्वभावको चर्चा गर्नुभन्दा उसले उठाएका मुद्धाहरुमा ध्यान दिनुपर्दो रहेछ । यसो त प्रवक्ता शाही कुनै सार्वजनिक पद धारण गरेका व्यक्ति होइनन् । त्यसैले राज्यको ढुकुटीमा सिधै हात हाल्न पाएका छैनन् । उनको आय श्रोत के हो र जीवनशैली कस्तो छ ? त्यसको नजिक पुगेको छैन । उनीसँग संगत मात्रै होइन, दोहोरो बोलीचाली पनि भएको छैन । पार्टीका केन्द्रीय सदस्य मिना स्णर्कारले निम्तो गर्नुभयो । म कार्यक्रम स्थलमा पुगेँ । नजिकैबाट सुनँ । यसरी राष्टिय प्रजातनत्र पार्टीका केन्द्रीय प्रवक्ता शाहीकोे स्वभाव नजिकैबाट नियाल्दा मलाई स्वाभाविक र मायालु लाग्यो ।