• मंसिर ८ २०८१, शनिबार

चीनले नेपालसँग के चाहन्छ ?

आश्विन २ २०७९, आईतवार

चीनको राष्ट्रिय कांग्रेसका स्थायी समितिका अध्यक्ष ली सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा नेपालको ४ दिने भ्रमण गरेका छन् । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्फिङको भ्रमणपछि नेपाल आउने उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारीको रुपमा रहेका छन् । चीनका तेस्रो बरीयतामा रहेका नेता ली चाङ्शूको सोमबार भएको नेपालको भ्रमणमा आएका हुन् ।

उनले भ्रमणको अवसरमा नेपाली अधिकारीहरुसँग आफ्ना नियमित सुरक्षा चासोहरू व्यक्त गरेका छन् । चीनले नेपालको तर्फबाट ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धता प्रतिपनि चासो लिने गरेको छ । नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको भए पनि सुरक्षा संवेदनशीलता र गहन अध्ययन बिना उठाइएका सीमा विवाद जस्ता विषय चिनियाँ उच्च अधिकारीको चासोको विषय बन्ने गरेको पाइन्छ । चीनले नेपाललाई दुईवटा प्राथमिक दृष्टिबाट हेर्नेगरेको छ । एउटा, भारतविरुद्ध हुने राजनीति र दोस्रोमा नेपालले चीनको आर्थिक प्रगतिबाट लिने सहयोग र लगानीबाट लाभ उठाउन गरेको पहल कदमी कार्य ।

अहिले अवस्था फरक छ । पश्चिमा तथा अन्य राष्ट्रहरुले आफ्नो स्वार्थ अनुसार सर्त सहितका सहयोग प्रस्ताव गर्नु तथा छिमेकीको स्वीकृति लिनुपर्ने जस्ता बाध्यात्मक परिस्थितिप्रति चीनको नेपालप्रति चासो रहने गरेको पाइन्छ । चीन ‘बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना’ मार्फत् नेपाललाई सहयोग गर्न चाहन्छ भने अमेरिका मिलिनियम कर्पोरेसनमार्फत् आफ्नो उपस्थिति देखाउन चाहन्छ ।

अमेरिकाको प्रमुख उद्देश्य भनेको नेपाललाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्नु नै हुन सक्छ । तर बीआरआई परियोजना हेर्दा चीन नेपाल समृद्ध राष्ट्र भएको हेर्न चाहन्छ भन्ने हो ।

अमेरिका र चीन प्रतिस्पर्धा तिब्र बन्दै गएको अवस्थामा अमेरिकी अध्ययन अनुसार चीनलाई साइजमा राखिरहन नेपाल सामरिक तथा रणनीतिक महत्वको देशको रुपमा रहेको हुनसक्छ र अमेरिका एउटै तीरबाट दुइवटा निशाना लगाउन पनि खोजिरहेको छ । नेपालमा सधै अस्थिरता रहिरहेको अवस्थामा भारत र चीन दुवै देशलाई घाटा छ किन कि संसारले उनीहरुलाई हेर्ने आँखा छिमेकीको समृद्धि देख्न नचाहे जस्तो हुनसक्छ । त्यसैगरी नेपालमा अस्थितरता गराउन पाउँदा पश्चिमाको चीन घेर्ने रणनीति सफल बनिरहेको अवस्थामा लीको भ्रमण संसारभर चासोको रुपमा रहेको छ जसले वासिंटनमा समेत तरंग पैदा गराइदिएको छ ।

विगतका विश्व घटना क्रम हेर्दा जुन देशमा आन्तरिक अस्थिरता छ त्यहाँ पश्चिमाकै रणनीति अनुसार भएका छन् । चाहे त्यो लिविया होस् वा अफगानिस्थान । अहिले नेपालको अवस्था लिविया र अफगानस्थान नभएपनि दीर्घकालीन रुपमा नेपालको आन्तरिक मामिला तहसनहस हुँदैछ । त्यसैको लागि चीनको उच्चस्तरीय भ्रमण नेपाली राजनीतिज्ञलाई पाठ पढाउन हुन सक्छ भन्ने बुझाइ रहेको छ ।

हिजोका दिनमा वासिंटनले “नेपाल कहाँ छ, भारत भित्र हो रु” भन्ने अवस्था अहिले परिवर्तन भै एसियालाई साइजमा ल्याउने देशको रुपमा लिने गरेको छ । यसका बावजुद पछिल्लो समयमा भएका चीन र अमेरिकी अधिकारीहरुको बारम्बार हुने नेपाल भ्रमण अर्थपूणर् रुपमा रहँदै आएकोछ । नेपालले मिलेनियम च्यालेन्ज कार्पोेरेसन कम्प्याक्टलाई अनुमोदन गरेपछि अमेरिकी भ्रमण अझ बाक्लो हुँदै गएको छ । त्यसैगरी अमेरिकन फर्कन नपाउँदै चिनियाँ अधिकारीहरुको भ्रमण काउण्टरको रुपमा हेरिने गरिएको छ । नेपालले स्टेट पार्टनरसिप कार्यक्रम नामक अमेरिकी सुरक्षा कार्यक्रमबाट अलग हुन गरेको निणर्यलाई चीनको विदेश मन्त्रालयले स्वागत गर्नु अहिलेको भ्रमणसंग जोडेर पनि हेर्न सकिन्छ ।
विगतमा कुनैपनि देशको प्रथमिकतामा पर्न नसकेको नेपाल अहिले अन्तर्राष्ट्रिय भूराजनीतिक चासोको विषय बन्न पुगेको छ । क्षेत्रफलको आधारमा विश्को ४५औं देश भएर पनि दक्षिण एसियाको आर्थिक उदयीमान र क्षेत्रफलको हिसाबमा संसारका देशहरुमध्ये विश्वको तेस्रो ठूलो देश चीन र सातौं ठूलो देश भारतको बीचमा रहेर भूराजनीतिक महत्वको देश बन्न पुगेको हुनसक्छ ।

एसियाका उदयीमान विशाल देशको बीचमा रहेको भौगोलिक बनावटको कारण नेपाल पश्चिमाको समेत त्यतिकै चासोको रुपमा रहन पुगेको अनुमान लगाउन सकिन्छ । अमेरिकाले नेपाललाई आफ्नो स्वार्थको लागि कायम राखिरहेको अवस्थामा छिमेकी देशहरुको सम्भावित आर्थिक प्रभाव र विकासलाई नियन्त्रण गर्न खोजिरहेको अवस्था छ । जनु चीनले सतर्कता अपनाउन खोजिरहेको हुनसक्छ र अमेरिकी चालबाजीलाई नजिकबाट सुक्ष्म रुपमा अध्ययन गर्न भ्रमणहरु फलदायी हुनसक्छन भन्ने हुनसक्छ ।

अहिलेको लीको भ्रमण अमेरिकी चालबाजीलाई समाप्त गर्न भन्दा पनि अमेरिकी प्रभाव कम गर्नु र चीन नेपालको हितमा काम गरिरहेको छ भन्ने देखाउनु पनि रहेको हुनसक्छ । साथै चीनको नेपालको विकास प्रयासमा आफ्नो प्रभावकारी उपस्थिति कायम राख्नपनि प्रयासरत प्राणित गर्न खोजिरहेको छ ।

त्यसैगरी अमेरिकी अधिकारीहरुको नेपाल भ्रमणको समयमा तिब्बती अगुवा तथा नागरिकलाई गोप्यरुपमा भेट्नु र बारम्बार प्रधानमन्त्री लगायतका व्यक्तिसंगको भेटमा तिब्बती नागरिकको विषयले प्राथमिकता पाउनु चीनले शंकाको रुपमा लिने गरेको हुनसक्छ ।
चीनले नेपाललाई छिमेकीको रुपमा मात्रै सहयोग गर्छ भन्ने होइन । चीनले अमेरिकासँगको प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय फोरमहरूमा चीनको उपस्थितिको लागि नेपाली समर्थनको अपेक्षा लिइरहेको हुन्छ ।

त्यसैले चीनको चासो समयसँगै विकसित भएको पाइन्छ । अहिले नीतिगत दृष्टिकोण पनि परिवर्तन भएको छ, दुर्भाग्यवश । नेताहरुको काम गराइले नेपालको उत्तरतर्फको दृष्टिकोण ‘चीन कार्ड’ दृष्टिकोणबाट प्रेरित भैरहेको आभाष हुन्छ । नेपालको यस काम गराइबाट चीन सधै सशंकित हुने गरेको छ ।

नेपालले आफ्नो राजनीतिक स्वार्थको लागि एउटा देशलाई तर्साउन अर्को देशको सहारा लिने गरेको अवस्थामा चीनले आफूसँग गरेका व्यवहारहरुलाई सुक्ष्मरुपमा अध्ययन गर्ने गरेको पाइन्छ । चीनसँग नेपालले सधै टालटुले कुरा गर्ने गरेको कारण पनि चिनीयाँ अधिकारीको सजकता भ्रमण हुनसक्छ । जुन मार्चको अन्त्यमा चिनियाँ विदेशमन्त्री वाङ यी र जुलाईको मध्यमा चिनियाँ कम्युनिस्ट पार्र्टीका अन्तरराष्ट्रिय विभागका नवनियुक्त प्रमुख लिउ जियान्छाओले नेपालको भ्रमण गरिसकेका छन् ।

बेइजिङको मुख्य चासो नेपाल र तिब्बत बीचको सन् १८५६ मा भएको सन्धि पनि हुनसक्छ । जनवादी गणतन्त्र चीनले सन् १९५० मा तिब्बतको नियन्त्रण ग्रहण गर्‍यो ।

त्यसपछि तिब्बतलाई सार्वभौमिकता मान्ने विगतका सन्धिहरू खारेज गर्न आवश्यक ठानिरहेको थियो । सन् १९५५ को इन्डोनेसियाको बान्डुङ्गमा सम्पन्न भएको एसियाली अफ्रिकी सम्मेलन अघि नै नेपालसँगको बेइजिङको प्रमुख मुद्दामध्येको एउटा सन्धि खारेज भएपनि चीन नेपालसँग बारम्बार ‘एक चीन नीति’ प्रति प्रतिबद्धता चाहन्छ ।

केही नेपाली नेताहरुले गोप्य रुपमा दलाइ लामालाई भेट्ने गरेका घटना र अमेरिकी अधिकारीको नेपालको भ्रमणको समयमा समेत धार्मिक तीर्थ यात्रीको रुपमा तिब्बतीहरुलाई नेपालको बाटो भएर भारत ओहोरदोहोर गर्न सहजीकरण गरिदिनको लागि गर्ने वकालतले चीन सधै नेपालको राजनीतिसँग तर्सने गरेको छ । तल्लो तहका नेताको भ्रमण फलदायी नभएको अनुभवबाट पनि अहिले चीनको राष्ट्रिय कांग्रेसका स्थायी समितिका अध्यक्ष लीको नेपाल भ्रमण भएको हुनसक्छ ।

त्यसै गरी चीनले “प्यान्डोराज् बक्स” भन्ने गरेको एमसीसी परियोजना संसदबाटै पास भएको अवस्थामा संघीय संसदका अध्यक्षकै निमन्त्रणामा ली नेपाल आउनुले अमेरिकालाई समेत तर्साएको छ । नेपालले छिमेकी देशसँग एकलाई अर्कोप्रति प्रयोग गर्ने विगतका घटनाले गर्दा बाह्य शक्तिले भावनात्मक रुपमा खेलिरहेको चीनले नजिकबाट नियाली रहेको छ ।

हामीले भूगोल चाहेर पनि परिवर्तन गर्न सक्दैनौं भन्ने यथार्थ जान्दा जान्दै पनि बाह्य शक्तिको सामु घुँडा टेक्नु परेको छ । यदि नेपालले चीन र भारतसँग सन्तुलित व्यवहार गर्ने हो भने दुवै देशले गर्ने सहयोगले राष्ट्र समृद्ध बन्ने थियो । तर त्यसो नहुँदा र राजनीतिक दलका केही बालहठ नेताले गर्दा भारत र चीन सधै सशंकित हुने गरेका छन् ।

अहिले लिको भ्रमणको समयमा विगतमा भएका बिआरआई परियोजना को प्राथमिकतामा परेका योजना स्पष्ट रुपमा बुझाउन नसक्ने हो भने छिमेकीको समृद्ध हेर्नुको विकल्प देखिँदैन । यदि विगतमा जस्तै अहिले पनि चिनियाँ अधिकारीको भ्रमणलाई नेपालको तर्फबाट टालटुले रुपमा मात्र लिने हो भने जसले नेपाल भ्रमण गरेपनि कुनै तात्विक अर्थ देखिँदैन भन्ने बुझाइ हो ।