• मंसिर ११ २०८१, मंगलवार

बाँधबन्धन होइन, जनतामा एजेन्डा लिएर जाऊ

भाद्र १८ २०७९, शनिबार

प्रतिनिधिसभा निर्वाचनको माहोल केही तातिदै गर्दा राजनीतिक दलका नेताहरू गाउँ पस्न थालेका छन् । उनीहरूको आशय भोटरको शिकार गर्नु हो । यसको अर्थ हो, जसरी पनि भोट झार्नु ।

गाउँ अहिले महंगीको मारमा छ । शिक्षा, स्वास्थ्य र बेरोजगारीको तनावमा छ । दैनिक जीवन गुजारा निकै महंगो बनेको छ ।
तर यसै बेलामा पर्व आएका छन् । तिज त जसोतसो गइ नैसक्यो । दसैं र तिहार बाँकी छन् । लगत्तै छठ पनि आइरहेको छ ।

तर यिनी रमाइला राष्ट्रिय पर्वका अघिअघि महंगी, बेरोजगारी र कालाबजारी लागिरहेको छ । जनताले हेर्न खोज्दा पनि महंगी र काला बजारी छर्लङ्ग देखिन्छन् ।

यिनका डरलाग्दा कायाको पछाडि बामपुड्के अवस्थामा देखिने चाड पर्वको नामोनिसान पनि देखिदैन । तर पनि जनता पर्खाइमा छन् ।
यो पर्खाइ निर्वाचनको हो । निर्वाचनमा नेताहरूले जनताका यिनै सुखदुःखको निवारण गर्ने विचार र एजेण्डा लिएर आउने छन् ।

तर दुर्भाग्य ! नेताहरू विना एजेण्डा निर्वाचनमा भोट माग्दै गाउँ पस्न थालिसकेका छन् ।

उनीहरूसँग विचार पनि छैन । एजेण्डा पनि छैन । केवल मत माग्नु छ । त्यो पनि गठबन्धन र बाहुबलको सहारामा । जनताका बीचमा सुख दुःखका कुरा छैनन् ।

बरू कुरा छन्, हामीले गठबन्धन गरेका छौं, त्यसैले जित्छौं । सरकारमा रहेका पनि र सरकार बाहिरप्रतिपक्षमा रहेका पनि यही कुरा गरिरहेका छन् ।

सबैको दाउँछ, चास्नीमा झिंगा फसाउने । जनताले नेतालाई विचार र एजेण्डामा प्रस्तुत भएको हेर्न चाहन्छन् । तर नेता भने चास्नीको सहारा लिन व्यग्र भएर लागिपरेका छन् ।

सबैको दावा छ, हामी हात्ती जत्रो गठबन्धन बनाउन सफल छौं, हामी विजयी हुन्छौं । तर भोट दिने र त्यही भोटको गणना भएर जित्ने भनी आँखा तरेर हेरिरहेका जनता अवाक हुन्छन् ।

नेताले पहिल्यै जीतको घोषणा गरिसकेका हुन्छन् । जनताले कसलाई भोट दिने निर्णय नै गरिसकेका हुँदैनन् । तर मञ्चमा नेताहरूले आआफ्ना जित घोषणा गरिरहेका देखिन्छन् ।

यस्तो छ, निर्वाचन अगावै विजय र पराजयको पूर्व निर्धारित खेल ! जहाँ जनता औपचारिकताका लागि मात्र भोट हाल्न जान्छन् । किनकि भोट विचार र एजेण्डाले निर्धारण गरिरहेको छैन, बरू गठबन्धन र पैसाले !

राजनीतिको खेलसँगै राजनीति पनि सकिदै जान थालेको छ । राजनीति किनबेचको विषय बनिसकेको छ । यो त विचार र एजेण्डाको विषय हो ।
त्यसैले विचार र एजेण्डा लिएर जनताका बीचमा जाऊ !