• मंसिर ११ २०८१, मंगलवार

हामी गरिव छैनौं, पश्चिमाहरुले हामीलाई गरिव भनेका मात्र हुन्

भाद्र १७ २०७९, शुक्रबार

जुन देशमा मानिस प्रकृतिसँग दैनिक लुकामारी खेल्दै, आफ्नो स्वस्थ परम्परा, ज्ञान, सीप प्रयोग गरेर आफ्नो जीवन निर्वाह गर्छन् ती मानिस हरु नै वास्तवमा धनी हुन् । उनीहरु गरिब कुनै हालतमा होइनन् । मानिसले सम्मानपूर्वक हाँसीखुसी तितो, मिठो, स्वस्थ्य खाएर बाँच्न नपाउने अवस्था गरिबी हो ।

प्राकृतिक र स्वच्छ हावा, कलकल हिमालको सफा पानी, प्राकृतिक अनुकूल वातावरण, सुरक्षित बास, जीवनका लागि उपयोगी आफ्नै शिक्षा, बिरामी पर्दा आवश्यक औषधोपचार, सुरक्षा, सम्मान, आपसी भाइचारा, मेलमिलाप जस्ता कुराहरू मानिसलाई चाहिने आधारभूत कुराहरू हुन् । यी सबै नेपालीहरूले पाउँदा पाउँदै पनि हामीलाई अविकसित, गरिब, कमजोर र पिछडिएको भनेर हजारौं पटक हाम्रो मानसिकतामा दोहोर्याउँदै संसारको अति गरिब देश हो भनेर हामीलाई कमजोर काम भइरहेको छ ।

वास्तवमा सकारात्मक सोचले सोच्ने हो भने हामी कदापी गरिब छैनौं । अहिले नेपालमा देखिएको, पढाइएको, घोकाइएको गरिबी पश्चिमाको चश्माबाट सोचिएको र हेरिएको गरिबी हो । गरिबी सम्बन्धी हाम्रो आफ्नै सकारात्मक परिभाषा बनाइएकै छैन । अब हामीले त्यसको परिभाषा बनाउनु अति जरूरी भैसकेको छ ।

सधैं हामीलाई गरिब छौ भनेर नेपालीमाथि गरिबको कलङ्क थोपर्ने काम पश्चिमा देशबाट उसको सोचाइले तयार पारेको औपचारिक स्कुले शिक्षाले गर्दा भएको हो । उनीहरूले आफ्नो सोचाइले यति डलर र उति डलर कमाउन नसक्ने गरिब भनेर मान्न सिकायो । नेपालका अति बिकट स्थानका हाम्रा नेपाली ग्रामीण दाजुभाई तथा दिदीबहिनीहरूले आफ्नै नङ्ग्रा खियाएर उत्पादन गरेर आफनै बारीको हरियो सागपात, आफनै बारीको अन्न, आफ्नै वस्तुभाउको दूध, दही खाने मानिसको हैसियतमा पश्चिमा देशको तथ्याङ्कमा कहिल्यै विकसित रूपमा पनि पर्न सकिँदैन ।

त्यसको फलस्वरूप त्यो ग्रामीण भेगका पौरखी नेपाली अति गरिबको कोटीमा परेका छन् । त्यस्ता नेपालीहरू लाखौं छन् । दैनिक कसले कति पैसा कमाउँछ भन्ने आधारमा मात्र कसैलाई धनी र गरिब मान्नु नकारात्मक सोचले गरिएको मिथ्या तथ्याङ्क पश्चिमा देशको विश्वविद्यालयहरूको साँघुरो सोचको परिभाषा अनुसार माटोको घरमा बस्नु गरिबीको एउटा प्रमुख सूचक हो भनेर मानिएको छ ।

जुन समुदायका मानिसहरू माटो, ढुङ्गा, रूख, नदीनाला र जङ्गल जनावर जस्ता प्रकृतिको नजिक रहन्छ, जसको जीवन स्वस्थ रहन्छ । माटोको घरमा बस्दा हुने अनेकौँ अनेक फाइदाहरूलाई बेवास्ता गर्दै पश्चिममा भएको सिमेन्टीकरण नै विकास हो भन्ने सोचाइबाट प्रेरित भएर बनाइएका यस्ता परिभाषाले नेपालीलाई गरिबको कोटीमा राख्न सहयोग पुर्याएको छ । सकारात्मक सोचले हामीले सोच्ने हो भने परम्परागत माटोको घरमा बस्ने चलन हतोत्साही गर्न र माटोको घरमा बस्नु आफैले उत्पादन गरेको प्राकृतिक चीज खाएर आफ्नै ठाउँको कलकल बग्ने पानी पिउने मानिसलाई गरिबीको कोटीमा राखिएको पाइन्छ । जसले मानिसलाई प्रकृतिकबाट टाढा र कृत्रिम हुन प्रेरित गरिरहेको छ ।

हामी पनि सकरात्मक सोच विचार नै नगरी विस्तारै पश्चिमाहरूको अन्दाधुन्द नक्कल गरेर विकासको नाममा गरिने क्रियाकलापले हामीलाई गरिब बनाउँदै लगिरहेको छ । आज नेपालका ठूला शहरहरू यसैको उदाहरणहरू हुन् । प्रकृतिबाट विमुख हुँदै कङ्क्र्रिट जङ्गलहरूमा परिणत भैरहेको छ । जहाँ स्वच्छ हावा, मानिस अनुकुल वातावरण भाइचाराको भावना केही हुँदैन । खाली पैसामा कारोबार हुन्छ । के पैसा नै विकासको सूचक हो त ?

यहाँनेर दुई वटा परिभाषालाई सकारात्मक सोचले गरिएको मान्न सकिन्छ ।

पहिलो परिभाषा :– अमत्र्य सेनले गरिबीलाई आम्दानीको आधारमा मात्र हेर्ने कुरा अस्वीकार गर्दै मान्छेले आत्मसम्मानपूर्ण ढङ्गले बाँच्न पाउने अवसर र क्षमताको अभाव भनेको गरिबी हो, भनेका छन् ।

दोस्रो परिभाषा :– दीगो विकासका पक्षधरहरूले अब प्रकृतिसँग मिलेर प्राकृतिक जीवन जिउन सक्नु नै सम्पन्नता हो, भनेका छन् ।

यी दुई परिभाषाबाट के कुरा स्पष्ट हुन्छ भने जो मानिस प्रकृतिसँग जति समीप छ, जो प्रकृतिसँग सधैँ नजिक रहन्छ, जसले आफ्नो जीवन सरल र प्राकृतिक स्रोत साधनको थोरै उपयोग र उपभोग गरेर जिउन सक्षम भयो त्यही व्यक्ति यो पृथ्वीमा सम्पन्न र धनी हो । आफ्नै वरपरको प्रकृतिसँग मिलेर बस्नु, प्रकृतिमा रहेका जीवनजन्तु, हावापानी, खोलानाला, वन पाखामा जिउनु सम्पन्नता हो भने हामी नेपाली कसरी गरिब हौं त ? त्यसैले सोच बदलौं, आजैदेखि अहिल्यै नै सकारात्मक सोचले नेपालको गरिबको परिभाषा फेर्नुछ । हामी गरिब हुँदै होइनौं । आजसम्म हाम्रा पूर्खाहरू गरिब थिएनन् ।

पश्चिमाहरूले उनीहरूको चश्माले हेर्ने सोच हाम्रो मस्तिष्कमा राखिदिएको फलस्वरूप हामी आफैँ गरिब हो भन्ने मानिसकता विकास गरे । आज हाम्रा नेतादेखि तमाम हामी गरिब हौं भन्दै मागेर खान पल्किरहेका छौं । वास्तवमा के हाम्रा पूर्खाहरूले मागी मागी विकास गरेका थिए त ? हामीले आज उनीहरूले बनाएका संरचना जिर्णोद्वारसम्म पनि गर्न सकेका छैनौं । त्यसैले सोच बदलौं ।

अब हामीले सकारात्मक सोचका साथ नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई प्राकृतिरूपमा आफ्नै गाउँबस्तीमा रहन र प्राकृतिक जीवन जिउन प्रेरित गर्नुपर्दछ । सम्पन्न त्यो हो जसले स्वच्छ हावा श्वास फेर्छ, कञ्चन पानी पिउँछ, मानव अनुकूल वातावरणमा बस्न पाएको छ, आफ्नै साँस्कृतिक विविधतामा रमाएको छ ।

आफ्ना दाइभाई, दिदीबहिनी र छरछिमेकीसँग आपसी भाइचारा र मेलमिलाप छ, जसलाई कहिल्यै कसैले र कसैको अधीनमा राखेको छैन, जहाँ पर्याप्त सुन्दर र स्वर्गसरी हिमश्रृङ्खलाहरू छन्, जो प्राकृतिसँग ज्यादै नजिक छ, जुन देशमा संयुक्त परिवारमा मानिस बसोबास गर्छन् र एक पुस्ताबाट अर्को पुस्तालाई आफ्नो ज्ञान र सिप हस्तान्तरण गर्दछन् ।

तिनै मानिस वास्तवमा संसारमा उच्चकोटीमा पर्दछन् । यिनै सकारात्मक सूचक मानेर धनी र गरिब छुट्याउनु पर्दछ । के डलरको कमाईले मात्र नेपालमा धनी र गरिब छुट्याउने हो त ? हामी कहिल्यै पनि गरिब होइनौ र हुँदैन भन्नेमा पनि आजैदेखि सकारात्मक सोच अवलम्बन गर्नु आजको आवश्यकता हो ।