• आश्विन १४ २०८१, सोमबार

हिन्दु नारीहरुले भगवान शिवको पुजाआराधना गरेर तीज पर्व मनाए

भाद्र १४ २०७९, मंगलवार

काठमाडौं । हरितालिका अर्थात तीज पर्वको अवसरमा देशभर हिन्दु नारीहरुले भगवान शिवको पुजाआराधना गरेर हर्षोल्लासका साथ मनाएका छन् । मंगलबार पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा ब्रतालु तथा भक्तालुहरुले शिव भगवानको पुजाआराधाना गरी तीज मनाएका हुन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा तिज मनाउने चलन छ । मंगलबार तीजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको बाक्यो भीड थियो । हरितालिका तीजको अवसरमा पूजा, आराधनाकालागि पशुपतिनाथमा पनि भक्तालु एवं व्रतालु महिलाहरुको घुइँचो बाग्लो थियो ।

मंगलबार पशुपतिनाथमा विशेषगरी ब्रतालु महिलाहरुले रातो सारी र गरगहनाले सजिएर पशुपतिनाथको दर्शनकालागि लाइनमा बसेका थिए । मन्दिर आसपासमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको दृश्यहरु देख्न सकिन्छ । अन्य वर्षहरुको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरु बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौं कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५÷२० मिनेटमा नै दर्शन गर्न सकिएको भन्दै खुशी प्रकट गरेका थिए ।

चाडपर्वमा समन्वय गर्न र भूमिका निर्वाह गर्ने जस्तै नेतृत्वदायी भुूमिका खेल्ने पशुपति क्षेत्र विकास कोष भएतापनि यस संस्थासंग सरोकार राख्ने आमासंचार मिडिया, मामाजिक संघसंस्थाहारु स्यमसेवक संस्था, स्वास्थ्य संस्था संचालन गर्ने अस्पताल, स्वास्थ्य शिविर, सुरक्षा निकाय नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना आदिको समन्वयमा हुने भएकाले यो चाडपर्व सफल हुुनुमा सबैको उत्तिकै भूमिका रहेको र जस सबैमा जाने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए । आगमी दिनमा आउने चाडपर्वमा पनि साथ र सहयोगकोलागि पशुपति क्षेत्र विकास कोषले सदैब अपेक्षा राख्ने बताए ।

तीजको ब्रत बस्नाले आफ्नो सन्तान, श्रीमानको आयु बृद्धि हुनुका साथै आँटेका काम सबै पूरा हुने आशाका साथै शिव र पार्वतीको जोडी झैँ अटल र अमर रहोस् भन्ने अपेक्षाका साथ तीजको ब्रत बस्ने पशुपति क्षेत्र विकास कोषका पुजारी अचुत दाहालले बताए । हरितालिकमा तीजका लागि आएका भक्तजनलाई पूर्णपात्रो, गौंदान, सिदाह गर्न मद्धत गर्ने बताए ।

तीजको दिन महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तिज मनाउने चलन छ ।

सोमवार दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । मंगलबार तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ ।

हरितालिका अर्थात तिजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले तीजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् । तीजमा देशभरका शिवालयहरुमा महिला भक्तालुहरुले भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाएका छन् ।