काठमाडौं। केन्याविरूद्धको चौथो टी-२० मा नेपाल खराब ब्याटिङका कारण पराजित भएको छ। सोमबार भएको खेलमा घरेलु टिम केन्याले नेपाललाई ७ रनले पराजित गर्यो।
नेपाल पराजित भएसँगै पाँच खेलको सिरिजमा २-२ को बराबरी भएको छ। यसअघि पहिलो र तेस्रो टी(२० मा नेपाल विजयी भएको थियो। केन्याले दोस्रो टी-२० मा जित निकालेको थियो।
सोमबार घरेलु टिम केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन मात्र जोड्न सक्यो।
नेपालका ओपनरद्वय पवन सर्राफ शून्य र अर्जुन साउद ६ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल पनि ६ रनमै आउट भएपछि नेपाल सुरूमै संकटमा परेको थियो।
नेपालले चौथो ओभर चल्दै गर्दा १३ रनमा सुरवाती तीन विकेट गुमाएको थियो।
त्यसपछि दीपेन्द्रसिह ऐरी ६ रनमा आउट भए भने आरिफ शेखले २ रनभन्दा बढी जोड्न सकेनन्। सोमपाल कामी शून्यमा आउट हुँदा आदिल अन्सारीले १५ बल खेलेर ८ रन मात्र जोड्न सके।
करण केसी १८औं ओभरमा तेस्रो बलमा आउट हुँदा नेपालले आठौं विकेट गुमाएको थियो। त्यतिबेला नेपाललाई १५ बलमा २६ रन चाहिएको थियो।
अन्तिम ओभरमा नेपाललाई १२ रन चाहिएको थियो। मैदानमा रोहित पौडेल र सन्दीप लामिछाने थिए। बलिङमा राखेप पटेल थिए। पहिलो बलमा रोहितले एक रन लिए। दोस्रो बलमा सन्दीपले पनि एक लिए। त्यसपछि दुई बलमा पनि एक एक रन भयो। पाँचौ बलमा रोहित ४७ रनमा बोल्ड भए। उनले ५५ बलमा २ चौका र २ छक्का हिर्काए।
नेपाललाई सुरुमै दबाबमा राख्न केन्याका शेम एनगोचे र विराज पटेलले दुई दुई विकेट लिएका थिए। शेमले चार ओभरमा एक मेडन फ्याँक्दा ७ रन मात्र दिए। विराजले पनि चार ओभरमा १ मेडन राख्दा ७ रननै खर्चिए।
त्यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा १०१ रनमा अलआउट भयो।
केन्याका लागि ओपनर कोलिन ओबुयाले २० रन जोडे भने लुकास ओलुओचले ३३ रनको योगदान गरे। शेम एनगोचेले १३ रन जोडे।
बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। टी-२० अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले पाँच विकेट लिँदा ९ रन खर्चिए।
आदिल अन्सारीले २ विकेट लिँदा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।
६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले पाँचौ खेल भोलि खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।