• मंसिर ११ २०८१, मंगलवार

कुसे औंसी अर्थात् पिताको स्नेह

भाद्र ११ २०७९, शनिबार

सदैव सुकर्मको, सत्कर्मको शिक्षा दिने जन्म दाता पिताको विशेष स्मरण गर्ने दिन । यसपालि यही भाद्र ११ गते शनिबार परेको छ भने औँसी मध्याह्नव्यापी श्राद्ध गर्ने दिन भने अघिल्लो दिन १० गते नै पेरेको छ ।

हामी पूर्वीय संस्कारमा हुर्केका नेपालीहरु पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह नै हो भन्छौँ । शास्त्रले पनि त्यही बताएको छ हामीलाई ।

पूर्वीय धर्म, दर्शन अनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्षको औँसी । कुसे औंसीलाई पिताको सम्मान र स्मरण गर्ने दिनको रुपमा लिइन्छ । पितृ देवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिएको छ ।

जन्मदिने आमा हुन्, कर्म बाटो देखाउने बुबा र शिक्षादीक्षा दिने गुरु यी सबैको स्थान उच्च छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनी शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । त्यसैले पिता आफैमा एक महत्वपूर्ण तीर्थ पनि हुन् ।

पुन्नाम नरकात् त्रायते इति पुत्रः भनिएको छ शास्त्रमा भनौँ पुँ नामक नरकबाट उद्धार गर्ने हुनाले छोरोलाई पुत्र भनिएको हो, लालन पालन गरेर वा पिण्ड पानी दिएर या मृत्युपछि बाबा आमालाई सागरसम्म लग्दा  आफ्नै काँधमा बोकेर आमा बाबुको शवलाई बोकेर घाटसम्म लग्दा प्रत्येक पाइलामा एक अश्वमेध यज्ञ बराबरको फल पाइने कुरा पनि शास्त्रमा वर्णित छ ।

आद्य गुरु शंकराचार्यले भन्नु भएको छ, कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति अर्थात् वंशमा सन्तान खराब आउन सक्छन् तर कुपिता वा कुमाता कहिल्यै हुन्नन् । माया र पानी तलतिर बग्छ । माथितिर फर्काउन थप ऊर्जा खर्चिनु पर्छ भने झैं हिजोआज माता पिताप्रतिको स्नेह कम भएको आभास हुँदैछ ।

सन्ततिले संसार जित्न सक्दैनन्, तर पिता मातालाई सजिलै जित्न सक्छन् । समयको खेल फरक छ स्नेह र मायाका खानि पिता माता बरु  आफू हारेर सन्ततिको विजय हेर्न मन पराउँछन् र त घरजग्गा बेचेर विदेश पठाइरहेका छन्, गरिखालान् तिनले प्रगति गर्लान् भनेर ।
पिताको स्थान हरेक दिन नै उच्च रहन्छ । तथापि विशेष दिनको रुपमा कुसे औंसीलाई बाबुको मुख हेर्ने भन्ने हाम्रो चलन छ ।

जीवित बाबुलाई उनलाई मनपरेको खाना, वस्त्र, उपहार दिएर खुशी पारी आशीर्वाद लिने गरिन्छ भने मरेका बाबुका नाममा तीर्थ गएर स्नान, दान, तर्पण, पिण्ड आदि श्राद्ध गरेमा बाबुका नाममा तीर्थ गएर, स्नान दान गरेर, तर्पण, पिण्ड आदि श्राद्ध गरेर पितृहरुबाट आध्यात्मिक स्नेह, आशीर्वाद लिने चलन छ ।

काठमाडौंको पूर्वाेत्तर गोकर्ण क्षेत्रमा यस दिन मरेका पिताको दर्शन पाइन्छ भन्ने मान्यता छ । यहाँ यस दिन स्नान, दान गर्ने श्राद्ध, पिण्डदान दिने, तर्पण, सिदा दान गर्नाले पितृहरुले परम गति प्राप्त गर्छन् भनी धर्म शास्त्रहरुले किटानी गरेका छन् ।
यसदिन तीर्थयात्रुहरुको यहाँ ठूलै भीड लाग्ने गर्छ । यहाँ जान नसक्नेहरुले  आफ्ना पिताको नाममा घरमा, घाटमा नजिकको तीर्थ क्षेत्र, गौशाला, सार्वजनिक स्थल, उद्यान आदि क्षेत्रमा बसेर श्राद्ध आदि कार्य गर्ने गराउने चलन छ ।

विगत २ वर्ष हामीलाई भीड भाड गर्न नहुने कोरोना रोगले आक्रान्त पारेको थियो, यसपालि पनि यसको ताडना छँदैछ, होस् गर्नै पर्नेछ ।

उहिले धेरै पहिले बाबु छोराको कटाक्ष भएछ र बाबुको मृत्युपछि शोकमा रहेको छोरो गोकर्णमा जाँदा मरेका आप्mना बाबुलाई त्यहाँ भेटेको र बाबुलाई स्मरण गर्ने दिनको रुपमा लिइने गरिएको परम्पराले आजसम्म पनि गोकर्ण क्षेत्रले निरन्तरता पाएकै छ ।

हामीकहाँ धेरै तीर्थक्षेत्रहरु छन् सबैतिर एकैपल्ट पुग्न सम्भव देखिन्न । गोकर्णमा विष्णुपादुका वा बाग्मती किनारामा बसी श्राद्ध पिण्डदान गर्ने गरिन्छ । गोकर्ण भन्दा अलि पर पूर्वपट्टी उत्तरगया क्षेत्र छ, बागमती उत्तरतिर बगेको त्यो क्षेत्र पिण्डदानको लागि अझ महत्वपूर्ण स्थान रहेको छ ।

भनिन्छ, गोकर्ण श्राद्धपछि मात्रै अन्यत्रका तीर्थ श्राद्धका बाटाहरु खुल्ने गर्छन् । त्यसो त हाम्रा धेरै अन्य क्षेत्रहरु पनि छन् । रसुवाको गोसाईंकुण्ड क्षेत्र, रसुवाकै बेत्रावती, नुवाकोटको त्रिशूली, सुनसरीको विष्णुपादुका वाराहक्षेत्र, पिण्डेश्वर आदि, आदि, नवलपरासीको त्रिवेणीधाम, चितवनको देवघाट, मुस्ताङको कागबेनी, मुक्तिक्षेत्र, गुल्मीको रुरु, रेसुङ्गा, काठमाडौंकै आर्यघाट, टेकु एवम् थुप्रै यस्ता क्षेत्रहरु छन् जहाँसम्म पुग्नाले मात्रै पनि देव, पितृहरु प्रसन्न रहन्छन् ।

मानसिक यात्राले पनि मन शुद्धि हुन्छ, आध्यात्मिक शान्ति प्राप्त हुन्छ, नविन ऊर्जा प्राप्त हुन्छ र यस्ता कार्यहरुबाट पितृ ऋणहरु चुक्ता  हुँदै जान्छन् पनि ।

मरेका बाबुलाई काँधमा राखेर घाट लग्दा पाइला पाइलामा एक एक तीर्थको उपासना गरेको फल मिल्ने गर्छ, श्रवणकुमार चरित्र नसुन्ने नेपाली सायदै होलान् यहाँ ।

बाबुको काजकिरिया गर्दा वा जीवित बाबुको लालनपालन गर्दा व्यक्तिलाई अदम्य साहस प्राप्त हुने गर्छ र उसले जीवनमा ठूलै कष्टबाट पनि सजिलै अवतरण गर्न सक्छ भनी शास्त्रहरुले पुष्टि गरेका छन् ।

शास्त्रीय कुरालाई आधार मान्दै जीवनका दिनचर्याहरु पूरा गर्दै जाँदा धर्म संस्कृति पनि बच्छ र कूल परम्परा पनि जीवित हुन्छ । मौलिक धर्मको सम्मान पनि हुन्छ । धर्म, संस्कृति, संस्कार बिनाको समाज जरा बिनाको रुख  झैं हुन्छ । हावा हुण्डरी आउँदा त्यस रुखलाई ढालिदिन सक्छ । संस्कृति रुपी मूल जरो भएको विशाल रुखलाई भने सानातिना हावाहुण्डरीले केही गर्न सक्दैनन् । त्यसैले संस्कृति राष्टृको प्राण नै हो भनिएको छ, अर्काको लहैलहैमा लाग्नु हुन्न ।

पितृ औंसीको अर्काे महत्वपूर्ण पक्ष हो कुस ग्रहण ! कुसको स्पर्श, दर्शन आदी । यसैदिन घरघरमा नयाँ कुस राख्नाले पितृहरु प्रसन्न रहन्छन् । कुस एउटा असल वनस्पति हो यसका वरिपरि ब्रह्मा, विष्णु र महेश तीन देवताले बास गर्ने गर्छन् । कुस अति नै चोखो वनस्पति हो । यो तुलसी झैं  महत्वपूर्ण छ । कुनै पनि कार्यमा कुस आवश्यकता पर्छ ।

जन्मदेखि मृत्यु सबै संस्कारमा कुुस नभई हुँदैन । गाई, गीता, गायत्री झैं  कुसको उच्च स्थान रहेको छ । तिल कुस र जौ कुनै पनि कार्य गर्नुअघि प्रतिज्ञा संकल्पलाई पनि आवश्यक हुन्छ । पितृकार्यमा कुुस अनिवार्य नै छ ।

असल गुरु पुरोहितहरुबाट कुस लिने कार्य यसै दिन गरिन्छ । भाद्रकृष्ण औंसीलाई कुशच्छेदनको औंसी भनिए पनि त्रयोदशीदेखि नै कुशच्छेदन कार्य गरिने चलन देखिन्छ र एकाविहानैदेखि ब्राह्मणहरुले यजमानहरुको घरघरमा कुुस पुर्याउने काम गर्ने गर्छन् । कुश ग्रहण गर्ने मन्त्र यस प्रकार छ ।

विरिन्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः । नुद सर्वाणि पापानि दर्भ स्वस्ति करो भव ।। अर्थात् ब्रह्माजीसँगै उत्पन्न भएको वनस्पति कुशले मेरा सबै पाप पखालिदेऊ र सबैको कल्याण गर भन्दै पूर्वोत्तर फर्केर कुश ग्रहण गर्नु पर्छ ।

विवाहित छोरीबेटीहरुका लागि कुसे औंसी झन् बढी महत्वपूर्णको दिन हुन जान्छ । आँसु बगाउँदै बाबुले कन्यादान दिई विवाहपछि छोरीलाई अर्काको घर पठाउने गर्छन् र छोरीहरुले तिनै आँसुको ऋण तिर्न स्नेहको साँवा, व्याज उपहार लिएर कुसे औँसीमा माइती आउने गर्छन् । हिजो आजको संस्कार संस्कृति केही फरक हुने गरेको देखिन्छ ।

अन्यथा यसदिन बाबुले आप्mना सन्ततिबाट धेरै प्यारको आकांक्षा गरेको हुन्छ । टाढा रहेका छोरा छोरीहरु विदेशिएका सन्ततिहरुले अघिपछि स्नेह, प्यार दिन नसके पनि पितृ सम्मान गर्र्ने दिन कुसे औंसीका दिन वर्षभरिको मान सम्मान दिन सकून, यही प्रेरणा रहोस् सबैलाई ।

के छोरा के छोरी सबै बराबरी भन्ने मान्यता अनुरुप र सन्तति स्नेहको सदाबहार, बाबुप्रति श्रद्धा अर्पण गर्ने चाड कुसे औंसी पर्वले सबैको, सबैप्रतिको सम्मान रहोस् र खासगरी तीजको उल्लास यसैबेलादेखि आरम्भ हुन्छ, जव माइतीमा बाबुलाई भेटिन्छ, दाजु भाइहरुले प्यारका साथ दिदी, बहिनीहरुलाई तीजको निम्तो दिन्छन्, दर खान आउनू भन्दै, शिव पार्वतीको प्रसंग हरितालिका व्रत बस्नू भन्दै, अरुन्धती सहित सप्तर्षिहरुको पूजा ऋषि पन्चमीको कथा सुन्नू भन्दै ।