आजभोली शहर र गाउँमा समेत तीजको रमझम छाइसकेको छ । खासगरी अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरुमा तीजमा यस्ता तीजका रमाइला नाच तथा खानपिन गरेका क्षणहरुका तस्वीरहरु तथा भिडियोहरु पनि देख्न पाइन्छ । नेपालमा कुनै पनि चाडपर्व आउनु भन्दा एकहप्ता जति अघिबाट नै रमाइलो गर्न सुरु गर्ने चलन धेरै पहिलेदेखिको हो ।
अनलाइन, फेसबुक, टिकटक जस्ता माध्यमहरुको तरिकाले आजका मानिसहरुले आफ्ना कुनै पनि रमाइला वा बिर्सन नसकिने क्षणहरुलाई तस्वीर तथा भिडियो बनाएर राख्न सकिने भएको छ । हामी जस्ता लामो समयदेखि विदेशी पराई भूमिमा रहेका नेपाली युवायुवतीहरुका लागि पनि आजको सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमको उत्पतिले धेरै नै सुविधा दिएको छ । संसारभरी जो मानिस जुन देशमा बसेको भएपनि सूचना र प्रविधिको विकासको कारणले परदेशबाट घरमा सन्देश उठाउन निकै नै सजिलो भएको छ ।
ठूलठूला साहित्यकार र इतिहासकारहरुले नेपालमा मनाइने गरेका विभिन्न चाडहरुका परिभाषाहरु दिएका भएपनि तीजको आफ्नै इतिहास र मान्यता होला । परापूर्व कालदेखि पूर्खाहरुले जे, जसरी र जुन उद्धेश्यका लागि तीज पर्वको आविष्कार गरेको भएपनि आजको तीजको पक्ष भनेको आफन्त र दिदीबहिनीहरु भेट भएर आपसमा मिठो खाएर रमाइलो गर्नु नै रहेको पाइन्छ ।
आजको नेपाल तथा सारा संसारकै अवस्था कतै युद्ध, कतै बाढी पहिरोले धनजनको क्षति त कतै कोरोना जस्ता महामारीले दैनिकजसो नै मानिस तथा प्राणीहरुको मृत्यु भइरहेको यो समयमा मानिसहरुमा एकखालको नरमाइलो क्षणको अनुभूती भइरहेको बेला हामी कसरी रमाइलो गरेर नाच्न सक्छौं र ? तर पनि पूर्खाले मनाउँदै आएका परम्पराहरुलाई यति छिट्टै बिर्सन पनि त सकिँदैन । जे जस्तो भएपनि र मर्नेहरु मरेर गएपनि मानिसलाई संघर्ष गरेर जिउन र समाजमा रहेर आफ्नो परिचय देखाउन पर्ने भएको छ ।
रोजगारीको खोजी गर्दै भौंतारिनु पर्ने नेपालीहरुको बाध्यताले गर्दा पनि आज नेपालमा मनाइने चाडपर्वहरु लोप हुँदै गएका छन् । गाउँमा रहँदा तीज, दशैं, तिहार, माघी भूमे र छठ जस्ता नेपाली मौलिकता बोकेका सयौं नेपाली चाडहरु आज लोप हुँदै गएका छन् । नेपालीहरु रोजगारीका लागि विश्वभर फैलिएर रहेकोले र डिजिटल मिडियाको विकासका कारणले पनि आज नेपालमा नेपाली चाड मात्रै मनाइएको छैन । आज नेपालमा विदेशी तरिकाले जन्मदिन मनाइन्छ ।
जहाँ हजारौं खर्च गरिन्छ । हुँदाहुँदा नेपाली चाडहरु मनाउन छोड्दै जाने तर विदेशी चाडहरुलाई धेरै खर्च गरेर मनाउँदै जाने चलन बढ्दै गएको छ । यतिसम्म कि पाटीप्यालेसमा गएर लाखौं खर्च गरेर चाड मनाउँदा गर्व गर्ने नेपालीहरुमा बानी पर्न थालेको छ । जुन कुरा नेपाली संस्कारको हितमा छैन ।
नेपाली समाजमा परापूर्व कालदेखि मनाइँदै आएका चाडहरु धेरै खर्चिला छैनन् । सानोतिनो खर्चबाट पनि चाडहरु मनाउने नेपालीको बानी थियो तर आजभोली शक्ति र प्रतिष्ठा देखाउनका लागि अनावश्यक खर्च गर्ने चलन चलेको छ । नेपाली चाडहरु आफैले उत्पादन गरेका खानेकुरा खाएर पनि मनाउन सकिन्छ । तीजको बेला भएकोले पनि यो वर्षाको मौसममा बारी तथा खेतहरुमा फलेका तरकारी तथा फलफूलहरु नै खाएर र खुवाएर पनि तीज मनाउन सकिन्छ ।
अर्को कुरा तीज पर्व नेपाली समाजमा मनोरञ्जनको माध्यम पनि हो । अब यसलाई सकारात्मक चेतना जगाउने माध्यम रुपमा विकास गर्न पनि जरुरी भएको छ । धेरै वर्षअघि तीजमा महिलाहरुले, खासगरी बुहारी र छोरीचेलीहरुले आफ्ना दुःख र पीडाहरु पोख्ने मौकाको रुपमा लिइने गरिन्थ्यो ।
पछि राजनीतिक, सामाजिक रुपमा अलि चेतना बढ्दै गएपछि तीजमा गाइने गीत तथा लयहरुलाई राजनीतिक जागरण फैलाउनका लागि प्रयोग गर्ने चलन आयो । पञ्चायती व्यवस्था विरुद्ध, जनयुद्ध र जनआन्दोलनताका पनि गीतकै माध्यमबाट जनतामा चेतना जगाउने कामहरु भए । हुँदाहुँदा आज त दोहोरी गीतका माध्यमबाट विभिन्न व्यङ्ग्य तथा सांगितीक साँझहरु गर्ने गरिन थालेको छ । यसलाई सकारात्मक पाटोको रुपमा लिनु पर्दछ ।
यता यस्तै गीत तथा संगीतहरुमा विकृतिहरु पनि आएकाछन् । विस्तारै नेपाली पन बिर्सिंदै जानु र नेपाली संगीतमा विदेशी संगीत मिसाएर विरुप बनाइएका पनि उदाहरणहरु छन् । नेपाली गीतहरुमा र्याप तथा पपगीतरु मिसाइएका गीतहरु नै तिनका उदाहरणहरु हुन् । मैले विदेशी संगीतलाई विरोध गर्न खोजेको होइन तर आफ्नो संगीतलाई अर्काकोमा लगेर मिसाएर विरुप पार्दा नेपाली संगीत क्षेत्रलाई भएको फाइदा के हो ? यसमा फाइदा भन्दा बढी बेफाइदा छ ।
आफ्नो पन लोप हुनु नै यसका बेफाइदा हो । त्यसैगरी आजका तीजका गीतहरुमा अपशब्द जस्ता लाग्ने शब्दहरु राखेर गाइएको पनि प्रसस्तै पाइन्छन् । गीत भनेको साहित्य भएकोले यसको माध्यमबाट घुमाउरो तरिकाले आफूले भन्न खोजेको कुरालाई व्यक्त गर्नु यसको विशेषता भएपनि आजका लोकदोहोरी गीतरुमा छाडा शब्दहरु पनि प्रयोग भएका गुनासाहरु सुन्नमा आउँछन् । यिनीहरु पनि विकृतिहरु नै हुन् ।
तीजका गीतहरुलाई पनि यसरी नै विकृतिको सिकार हुनबाट कसरी जोगाउने भन्ने चिन्ता छ । आजको मानिस जति स्वतन्त्र भएको छ उति नै छाडा पनि भएको छ । मानिसलाई बढी स्वतन्त्रता भएपछि मातिन्छ भन्थे साँच्चै रहेछ । अनुशासनबिनाको स्वतन्त्रता मानिसको हितमा हुँदैन । त्यसैले आज पनि तीजको रमाइलोमा रमाइरहेका सबै नेपालीहरुमा यो कुराको जागरण आउन जरुरी छ ।
अन्तमा, जे जस्तो पीडा र समस्याहरु भएका भएपनि नजिकै आइरहेको तीजको अवसरमा देश तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजूभाईहरुमा हरितालिका तीजको अवसरमा परदेशी भूमीबाट भएपनि शुभकामना व्यक्त गर्न चाहन्छु । हुन त तीज पर्व कसरी र कहिलेदेखि मनाउन थालियो भन्ने बारेमा धेरैका धेरै भनाईहरु रहेका छन् ।
कुनै बेला हिमालय पर्वतमा शिव र पार्वतीका बिचमा भएको प्रेमलाई लिएर पनि यसको उत्पति भएको भन्नेहरु पनि छन् । शिव र पार्वतीको प्रेमको प्रसंगको बारेमा नै धेरै ठूला ग्रन्थहरु लेखिएका छन् । पार्वतीले शिवलाई पति पाउँ भनी वर्त बसेको अर्थमा पनि यसलाई व्याख्या गरेको पाइन्छ । सन्दर्भ जे भएको भएपनि नेपाली समाजमा यो पर्वले दिदीबहिनीहरु माइतमा गएर मिठो खाएर रमाइलो गर्दै आएकोलाई पनि स्वीकार्न पर्दछ ।
आफन्त भेट भएर रमाइलो गर्नुलाई नरमाइलो अर्थमा लिनु हुँदैन । बरु तीज र तीज जस्ता चाडहरुलाई नेपालीको आर्थिक तथा सामाजिक अवस्था अनुसार कसरी मनाउने र यसलाई धेरै खर्च गर्ने नभई सकेको खर्च गर्ने र बरु रमाइलो र बिर्सन नसकिने चाडको क्षणको रुपमा कसरी विकास गर्ने ? भन्नेतिर सबैले सोंच्नु आवश्यक र जरुरी भइसकेको छ ।