नेपाल कृषि प्रधान देश हो । यो देशको प्रमुख अन्नबालीहरुमा धान प्रमुख रहेको छ । पहाड तथा तराईमा वर्षायाममा अधिकांश भागमा धानखेती गरिन्छ । धानको वैज्ञानिक नाम ओरिजा सेटिभा हो l वैदिक साहित्य तथा पुरातात्विक उत्खननमा धानबाली नै प्राचीन बालीको रुपमा देखिन्छ l कतै कतै चैते धान पनि लगाउने गरिन्छ । उन्नत जात तथा उन्नत प्रविधि प्रयोग गरियो भने झण्डै दुई गुणासम्म पनि उत्पादन बृद्धि गर्न सकिने कुरा एक अध्ययनले देखाएको छ ।
नेपालको मुख्य खानाको रूपमा चामललाई लिएको पाइन्छ । धानको उत्पत्ति भएको र खेती गर्न चीनबाट शुरु भएको मानिएता पनि नेपालमा रहेका नेवार समुदायको विशेष चाड पर्वहरु धानसंग सम्बन्धित भएको कारणले कतै धानको खेती नेपालमा जंगली धानबाट बिस्तारै अन्य भागहरूमा सर्दै गएको त होइन ? भन्ने शंका पनि लाग्दछ l धानको अस्तित्व करीब पाँच हजार वर्ष देखि ७ हजार वर्ष ईसापूर्वतिर रहेको मानिन्छ ।
धान विश्वका ६० प्रतिशत मानिसको प्रमुख खाद्यबाली हो । नेपालका दुई छिमेकी मुलुक चीन र भारतले विश्वमा उत्पादन हुने करीब ७५ प्रतिशत धान उत्पादन गर्छन् । एकताका नेपाल पनि धान निर्यात गर्ने राष्ट्रको रूपमा रहेको थियो । वास्तवमा विश्वका ६० प्रतिशत मानिसको मुख्य खाद्यबाली धान हो । एसियाका झण्डै नब्बे प्रतिशत मानिसको खानाको मुख्य आधार नै धान हो ।
उपत्यकावासीहरू किरात र नेपारहरूले खेतमा धान रोप्न जानेका थिएनन् वा रोप्न चाहँदैनथे । ई.पू.४९६ तिर कोशलराज विडुडभले कपिलबस्तु, कोलीय राज्यहरू ध्वस्त पारेर शाक्यहरूलाई कत्लेआम गरेपछि केही शाक्यहरु, काठमाडौँ उपत्यकासम्म पनि शरण लिन आए । त्यस्तै मगधराज अजात शत्रु (ई.पू.४9१–५४9ले लिच्छवि गणराज्य, मल्ल गणराज्यहरूमाथि कब्जा जमाएपछि उनीहरूमध्ये कैयन लिच्छविहरु पनि उपत्यकामा आइपुगे ।
ती शाक्यहरु, लिच्छविहरु शरणार्थीको रुपमा यहीँ बसाई सर्दै उपत्यकामा आइपुगे । ती शाक्यहरु लिच्छविहरु शरणार्थीको रूपमा यहीँ बसोबास गरेपछि यहाँ खेत खनेर धान रोप्ने गरेका हुन् । त्यसताका उपत्यकावासी भने पृथ्वीमातालाई हतियारले खनेर घाउ पार्न हुँदैन, अनिष्ट हुन्छ भन्ने दृढ विश्वास गर्दथे । त्यसैले पृथ्वीमाता अर्थात् जमिन खनेर धान रोप्नु त परै जवास, जमिनमाथि कोदाली चलाउनसम्म पनि हिचकिचाउँथे ।
यसैताका बलबल नाउँ भएका एकजना भकभके लठेब्रेले यसो भने, ‘म परिवार नभएको एक्लो मान्छे हुँ l म सर्वप्रथम जमिन खनेर धान रोप्छु । अनिष्ट, खराबी जे जे हुनुपर्ने जति मलाई नै हुन्छ, होस् । मर्नुपरे पनि म मर्छु, म मरेर अरु कसैलाई मर्का पर्दैन । म कति पनि डराउन्न, जस्तोसुकै दुःख कष्ट भोग्न पनि म तयार छु । म मरे पनि मरोस् ।’
अनि उनले कोदालीले जमिन खनेर धान रोपे । काठमाडौं उपत्यकामा प्राचीन निवासीहरूले धान रोपेको यो पहिलो घटना थियो । उनलाई कुनै ग्रहदशा, अनिष्ट केही पनि भएन । बरु उनको खेत यथासमयमा हरियो भरियो भयो । धानका बालाहरू लहलहाए । त्यसै बेलादेखि प्राचीन निवासीहरुले पनि उपत्यकामा नहिच्किचाइकन धान फलाउन थाले । यसरी बलबल लठेब्रे उपत्यकामा ध्यान रोपाइँका अगुवा बने । (छिर्का–मिर्का) भुवनलाल प्रधान, पेज ३०१ र ३०२, २०७८ द्वितीय संकरण) ।
बलबल लठेब्रेले रोपेको धान फल्यो । यो धान सर्वप्रथम कुखुराको भालेलाई ख्वाए । त्यो धान खाए पछि पनि कुखुराको भाले स्वस्थ्य नै देखियो । सो खेतलाई कालान्तरमा भालेलाई धान ख्वाएको खेत भनिन थाल्यो ।
बिस्तारै त्यसको अपभ्रंश भई भाले खेत अथवा नेवारीमा ‘ग्वं:ग बुँ ‘ भनियो । यसरी हाल टोखा न.पा. भित्र पर्ने गोंगबु भन्ने स्थानको नामाकरण भएको हो । प्राचीन समयमा कुनै कुनैले गोंगबुमा कालोमाटो झिक्ने र सो माटोलाई खेतबारीमा मलको रूपमा प्रयोग गर्दथे । यसरी माटो निकाल्दा निकाल्दै खाल्डोबाट भाले कराएको सुनियो । यसरी भाले कराएको हुनाले उक्त खेतलाई भाले खेत नामाकरण भई गोंगबु रहन गएको भन्ने भनाई छ ।
जे होस् ! यो स्थानको नामाकरण कालोमाटो निकाल्दा होस् या धान रोप्दा भएको घटना होस् कृषि कार्यबाट नै नामाकरण भएको हो । उहीले काठमाडौंको गल्कोपाखादेखि साङ्लासम्मको विशाल फाँटलाई समग्र रूपमा गोंगबु भनिन्थ्यो । यसै फाँटमा ल्हासाबाट काभ्रेको बनेपा–नालाको बाटो भएर मञ्जुश्री आएका थिए ।
गोंगबु–गलपाः भनिने स्थानमा दुई वटा बाघलाई काँधमा हलोको जुवा राखेर बुढो किसानको भेषमा मञ्जुश्रीले खेत जोतेका थिए । नेवारी भाषामा हलो जोत्नुलाई ‘सा वायेगु’ भनिन्छ । ‘सा’ भनेको गाई वा गोरु र वायेगु भनेको जोत्नु हो । मञ्जुश्रीले खेत जोतेको हुनाले उक्त स्थानको नाम सा वायेगु बन्यो । उक्त स्थान नजिकैको खोलाको नाम सामाखुशी (खोला) बनेको भन्ने भनाईहरु छन् ।
यो क्षेत्र भारतको वाराणसीस्थित विक्रमशील विहारका बौद्धगुरु धर्मश्री र गुरू मञ्जुश्रीको भेट भएको स्थान पनि हो । पछि मञ्जुश्रीले आफ्नो चाहनामा धर्मश्री मित्रको वाराणसीस्थित विहारको नाउँबाट थं बहिलमा विक्रमशील महाविहार नामाकरण गरेको विहारको निर्माण गरे । जुन आजको दिनसम्म पनि देख्न सकिन्छ ।
यस पौराणिक कथनहरू अनुसार काठमाडौं उपत्यकामा धान खेती गोंगबुबाट शुरुवात भएको देखिन्छ भने जनावर प्रयोग गरी खेत जोतेको पनि यसै भूमिमा देखिन्छ । स्मरणीय कुरा यो छ की नेवार समुदायमा गोरुलाई प्रयोग गरेर खेत जोत्ने काम गरेको देखिँदैन । गोरुलाई भगवान शिवको वाहनको रूपमा लिएको हुनाले पनि यसो नगरेको देखिन्छ ।
अर्को कुरा कुनै स्थानमा गोरु जोत्न नै निषेध गरेको देखिन्छ । काभ्रेको पनौती र नाला क्षेत्रमा गोरू, ढिकी (खुट्टाले चलाउने) प्रयोग, गर्नु हुँदैन भन्ने मान्यता छ । किनकि उक्त स्थानहरू मुनी एउटै ढुंगामा बनेकोले माटोमा जोड गर्यो भने ढुंगा फुटेर भूकम्प जान्छ भन्ने जनविश्वास रहेकोले गोरु जोत्ने र ढिकी कुट्ने कार्य गरिँदैन ।
टोखा–९, गोंगबु, काठमाडौँ ।