• मंसिर ११ २०८१, मंगलवार

मरिचमानसिंह, विदेशी हस्तक्षेप र आजका शासक

भाद्र १९ २०७९, आईतवार

काठमाडौं । सल्यानमा जन्मिएका मरिचमानसिंह श्रेष्ठ आफ्नो राजनीतिक जीवनकालमा ‘हार्डलाइनर’ पञ्चको रुपमा चिनिन्थे । उनी सन् १९८६ देखि १९९० सम्म चार वर्ष नेपालको प्रधानमन्त्री बने । छिमेकी राष्ट्र भारतको असहयोगको बाबजुद पनि उनी प्रधानमन्त्री बने । भारतीय इशारामा चल्न नमान्दा उनको कार्यकाल कष्टकर बन्न पुग्यो ।

सिंहको प्रधानमन्त्री कालमा देशले लामो समयसम्मको भारतीय नाकाबन्दी खेप्नु परेको थियो । जुन विषयले आज पनि उत्तिकै चर्चामा छ । भारतले नेपाललाई झुकाएर आफ्नो इसारामा नचाउन खोज्ने तर तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र राजदरबार भने भारतका सामु नझुकेका कारण नेपालको तत्कालीन सरकारलाई अप्ठ्यारोमा पार्नका लागि भारतले आर्थिक नाकाबन्दी लगायो । बोरु तत्कालीन प्रधानमन्त्री सिंह भारतसँग झुकेनन् सत्ताबाट हटे ।

भारतका सामु प्रधानमन्त्री सिंह नझुक्दा उनको राजनीतिक यात्रा त असहज भयो तर उनको देशभक्ति भाव झनझन् जनमानसका चुलिँदै गयो । नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई अझ माथि उठाइदियो ।

२०४६ सालमा भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दी समक्ष नझुकेका र भारतले पठाएका गोप्य दस्तावेजमा अपारदर्शी रुपले हस्ताक्षर गर्न नमानेका कारण उनको राजनीतिक जीवनलाई समाप्त पार्ने काम गरियो । त्यसबेला मरिचमानले लिएको राष्ट्रिय अडान नेपाली राष्ट्रवादको मानक बनेको छ । उनले देशको राष्ट्रिय स्वाभिमान जोगाउन खेलेको भूमिको चर्को मूल्य तिर्नुपर्यो ।

आजका गणतन्त्रवादी नेताले हिजोका शासकहरुलाई ‘सामन्त’ भनेर गाली गर्ने गरेको भएपनि सामन्त नै भएपनि सामन्ती शासकहरुमा पनि देश जोगाउने सामन्ती राष्ट्रवाद त हुँदोरहेछ नी भन्ने सन्देश दिइरहेको छ ।

राजाहरुलाई सामन्ती भनेर गाली गरेर त्यही प्रचारका आडमा सत्तामा पुगेका आजका गणतन्त्रवादी नेताहरुले गरेको देशघाती कामलाई कसरी राम्रो हो भनेर समर्थन गर्न सकिन्छ र ? त्यतिबेला मरिचमानको देशभक्ति भावलाई अपमान गर्न दलहरु र भारतीयहरु कम्मर कसेर लागे । ०६२–०६३ को राजनीतिक परिवर्तन पछि मरिचमानलाई अपहेलना गर्न जति तरिका निकालियो त्यति नै तरिका भारतलाई खुशी पार्न निकालियो ।

मरिचमानलाई अपमान गर्नु पर्ने कुनै कारण थिएन । नेपालका दलहरु भारतीय हस्तक्षेपका कट्टर विरोधी मरिचमानलाई अस्तित्वविहीन पार्दा भारत खुसी हुने भ्रममा थिए । उनका पञ्चायतकालीन साथीहरु कुनै न कुनै दलको पुच्छर समातेर भारतको दलाली गर्न लागे तर मरिचमान बरु एक्लिए तर भारतको गुलामी गरेनन् ।

मरिचमानलाई जीवनभर त अपमान गरियो गरियो तर मरेपछि पनि उनको देशभक्त भावको छविसँग डराउनेहरुले अपमान गर्न छोडेनन् । हालका नेपालमा दलहरुले पूर्वप्रधामन्त्रीले पाउने सेवासुविधा खोसिदिएका मरिचमानको अन्तिम श्रद्धाञ्जलीमा राजकीय सम्मान नदिएर भारतलाई खुशी पार्ने अर्को मौका छोपे ।

मरिचमानको अपमान नेपालका दलहरुको हैसियतले मात्र भएको छैन बरु दिल्ली अर्थात् ‘र’को आदेशमा नै उनको अपमान भएको थियो भन्नेहरु पनि नेपालमा प्रशस्तै छन् । भारतसँग राष्ट्रियताको टकराव गर्नेहरुको अवस्था यस्तै हुन्छ भन्ने सन्देश दिनका लागि मरिचमानमाथि भारत लागिपर्यो ।

मरिचमान अहिले हाम्रा माझ छैनन् तर उनको राष्ट्रवादी भाव र आवश्यकता झनझन् खोजिन थालेको छ । मरिचमान राष्ट्रप्रति कति संवेदनशील थिए भन्ने कुरा भारतीय नाकाबन्दीप्रति उनी रत्तिभर अत्तालिएका थिएनन् भन्ने अनेक दृष्टान्तहरु त्यो समयलाई भोग्नेहरुसँग छन् ।

मरिचमान सिंह जनजाति नेवार समुदायबाट पहिलो प्रधानमन्त्री बन्न पुगे । उनलाई राजनीति गर्न त्यति सजिलो थिएन । हक्कि र निडर मरिचमान बरु राजनीतिबाट अलग्ग बसे तर देश बेचेनन् ।

नाकाबन्दीको जड

विसं २०४५ ताका भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । उक्त समयमा नेपालले चीनसँग केही एन्टी एयरक्राफ्ट बन्दुक किन्न चाहेको थियो तर भारतलाई यो मन पर्ने कुरै भएन । तैपनि किन्ने निर्णय भयो । अनि लगाइयो पारवाहन सन्धि नवीकरण नभएको नाममा नाकाबन्दी । भारतले केहि वर्षअघि भुटानमा त्यहाँका नेताले चिनियाँ नेताहरुलाई भेटेपछि चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि अनुदान फेरि लागू गरेको घटनालाई उदाहरणका रुपमा हेर्न सकिन्छ । पारवहन सन्धि जनआन्दोलनपछि बहुदलवादीहरुको सरकार बनेलगत्तै भएको थियो ।

आजको नेपाल सन्दर्भ

आज नेपालमा नागरिकता वितरण गर्ने काम ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालीलाई नागरिकता वितरण गर्दा त्यसमा विदेशीहरुले पनि नागरिकता पाउने र भोली नेपालीहरु अल्पमतमा पर्नसक्ने समस्याका कारण यस्तो अवस्था आएको हो ।

हिजो जन्मको आधारमा विदेशीलाई दिइएका नागरितावालाहरुले अहिले अंगीकृत नागरिकता पाउँदा र हिजो दिइएका अंगीकृत नागरिकतावालालाई आज वंशजको नागरिकता दिँदा भोली खास नेपालीहरु अल्पमतमा परेर उनीहरुका अस्तित्व नै समाप्त हुने अवस्था आउने कुरालाई नकार्न सकिने अवस्था छैन । यस्तो अवस्थामा आज मरिचमान जस्ता शासक भएको भए के यो कुरामा सहमत हुनेथिए होला ? वा यस्तो देशघाती विधेयकलाई संसदबाट पास गर्नका लागि पेस गर्थे होला ? पक्कै पनि गर्दैन्थे भन्न सकिन्छ ।

त्यस्तै ताजा विषयको रुपमा रहेको एमसीसी र एसपीपीको पनि सन्दर्भ यस्तै हो । भारतको दादागिरी सहन नसकेर चीनसित एन्टी एयरक्राफ्ट किन्ने तत्कालीन राजा वीरेन्द्र र प्रम मरिचमान सिंहको निर्णय के आज उनीहरु जिउँदै भएको भए आजको एमसीसी, एसपीपी र देशघाती नागरिकता विधेयकको समर्थन गर्थे होला ? पक्कै पनि गर्दैन्थे भन्न सकिन्छ ।

आज वीरेन्द्र र मरिचमानहरु यो धर्तीमा छैनन् तर पनि उनको देशभक्ति विचारबाट प्रेरित छोराछोरीहरुले आजका शासकहरुले गरेका देशघाती कदमहरुको विरोध गरिरहेका छन् । तर निर्णय पनि संसदबाटै गरिने प्रणाली रहेका कारण देशभक्त नेपालीले खाली विरोध जनाउने स्तरसम्म मात्रै काम भएको छ र शासकहरु निर्लज्ज तरिकाले देशघात गरिरहेका छन् ।

छिमेकी चीन विरुद्ध लक्षित रहेको र नेपाली स्रोत कब्जा गर्ने उद्धेश्यले जबरजस्ती लागू गरिएको एमसीसी र एसपीपी तथा विदेशीलाई नेपालमा हुलेर नेपालको अस्तित्व नै समाप्त पार्ने नागरिकता विधेयक नेपाली नेताहरुले नै सत्ता टिकाउनका लागि माग गरेर ल्याएको स्पष्ट बुझ्न सकिन्छ । यस्तो काम गर्ने आजका नेपाली शासकहरुले देशको अस्तित्व जोगाउलान् र हामीले प्रगती गरौंला भनेर सोच्ने अवस्था रहेको छैन ।