• आश्विन १४ २०८१, सोमबार

मगर भेजा समाजद्वारा वरिष्ठ अधिवक्ता र एसएसपी लगायत अन्य व्यक्तिहरू सम्मानित

भाद्र ४ २०७९, शनिबार

काठमाडौं । मगर भेजा समाज नेपालद्वारा वरिष्ठ अधिवक्ता गौरबहादुर आले मगर, एसएसपीद्वय ओम राना मगर र सरोज राना मगर लगायत अन्य व्यक्तिहरू सम्मानित भएका छन् । आज (शनिबार) काठमाडौंमा उक्त समाजद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् ।

त्यस्तै म्याग्दी मगर समाजका अध्यक्ष दिलकुमारी रामजाली रोका मगर, निवर्तमान अध्यक्ष टंकबहादुर बुढाथोकी मगरलाई पनि सम्मान गरिएको मगर भेजा समाजले जनाएको छ । त्यस्तै सरकारी उच्च पदस्थ कर्मचारी, कानुन व्यवसायीहरूलाई पनि सम्मान गरेको उक्त समाजका उपाध्यक्ष खिम थापा मगरले बताए ।

थापाले कार्यक्रममा बोल्दै आर्थिक वर्ष २०७९/८० मा पदोन्नति भएका वरिष्ठ अधिवक्ता आले मगर र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)द्वय राना मगर लगायतका अन्य विशिष्ट व्यक्तिहरूलाई पनि सम्मान गरेको बताए । आले र द्वय रानाले सरकारी निकायमा मगर समुदायको प्रतिनिधित्व गर्दै आएकोमा उपाध्यक्ष थापाले खुलेर प्रशंसा गरे ।

वरिष्ठ अधिवक्ता गौबहादुर आलेले मगर समुदायका व्यक्तिहरू पनि कानुनी क्षेत्रमा सक्रिय भएर लाग्नु पर्नेमा जोडदिए । उनले समयक्रमसँगै हाम्रो (मगर) समुदायले पनि कानुनी व्यवसायलाई अंगाल्दै आएको बताए । आलेले कानुनको श्रेष्ठता बुझ्न मगर समुदायलाई अग्रसर हुन आग्रह गरे । यस क्षेत्रमा संलग्न हुने जो–कोहीलाई आफूले सहयोग गर्न कन्जुस्याइँ नगर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक ओम रानामगरले समाजमा भइरहेका अपराधिक कार्यलाई रोकथाम गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने बताए । उनले देश तथा समाजलाई शान्तिपूर्ण बतावरणमा ल्याउन प्रहरी हरदम लागि पर्ने बताए ।

अर्का प्रहरी वरिष्ठ उपरीक्षक (प्राविधिक) तर्फका सरोज रानामगरले स्वास्थ्य समस्यामा केही अफ्ठयारो परेमा आफूले सक्दो सहयोग गर्ने बताए । मगर समुदाय लगायत आम नेपाली जनताको स्वास्थ्यमा समस्या देखिए नेपाल प्रहरी सहयोगमा दत्तचित्त हुने बताए ।

उपाध्यक्ष खिम थापामगरले यस समाजले आगामी दिनमा उद्यमीहरूको लागि भेजा वित्तिय साक्षरता परीक्षण, महिला तथा बालबालिकालाई कानुनी प्रशिक्षण, लागूऔषधविरुद्ध अभियान चलाउने कार्यक्रम तय गरेको बताए ।

कार्यक्रमको विशेष अतिथि जेष्ठ नागरिक दिलकुमारी बगाले मगरले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन भेजा समाजकी महासचिव तारादेवी थापा मगरले गरिन् । स्वागत मन्तब्य योशोधा पुन थापा मगरले गरेकी थिइन् । कार्यक्रममा भेजाका आजीवन सदस्यहरूलाई पमाणपत्र वितरण गरिएको थियो भने नयाँ सदस्यहरुलाई स्वागत गरिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको पनि उल्लेख्य सहभागिता थियो । भेजा समाजलाई साथ र सहयोग गर्ने संघ–संस्थाहरूका प्रतिनिधिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।