किन चीनलाई उक्साउँदैछ अमेरिका ?
अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकाएर फर्किएको १२ दिनपछि अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा गएको छ । यसले अमेरिकाको चीनप्रति ‘एग्रेसिभ डिप्लोमेसी’ लाई प्रष्ट पारेको छ । उता अमेरिकासँग सकभर ‘सफ्ट डिप्लोमेसी’को चाहना राखिरहेको चीन पनि अमेरिकी चालअनुसार ‘टिट फोर ट्याट’ को नीति अवलम्बन गर्दै अघि बढिरहेको छ ।
अमेरिकी सभामुख पेलोसीको भ्रमण लगत्तै भएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलको ताइवान भ्रमणले चीन–अमेरिका बीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ । उसो त न्यान्सीको भ्रमणलगत्तै चीनले ताइवान वरिपरि आक्रामक सैन्य अभ्यास गरेको थियो । न्यान्सीको ताइवान भ्रमणले चीनको ‘एक चीन नीति’ लागु गर्नमा उल्टै थप भूमिका बढाएर लैजानु पर्ने वातावरण सिर्जना गराएको छ ।
युक्रेनको घाउ, ताइवानमा दाउँ
अमेरिकी सिनेटकी सभामुख न्यान्सीको भ्रमण लगत्तै म्यासाचुसेट्सका सिनेटर मार्की नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलको भ्रमणले युक्रेनको घाउमा मल्हम लगाउन ताइवानमा दाउँ खेलिरहेको देखिन्छ । हातमा ठूलो घाउ आउँदा मुखमा चिच्याहट स्वभाविकै हो । अमेरिकी नेतृत्वको सैन्य संगठन नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन ‘नेटो’ मा आवद्धता जनाइसकेको युक्रेनलाई निकै उक्साए पनि रूसी सेनाले हमला गरेपछि युक्रेनी सेनालाई साथ दिन अमेरिकी वा नेटो सेना युक्रेन आउन सकेनन् ।
सुरूमा अमेरिकी रणनीतिमा बदलाव पो हो कि भनेजस्तो सबैमा परे पनि पछि अमेरिका युक्रेनमा ओर्लन सक्ने असक्षमता प्रकट गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र नेटो राष्ट्रहरूको निकै चर्को आलोचना गरेका थिए । अहिले जेलेन्स्कीकै गालीगलौजको स्तरमा विश्व जगतले अमेरिकालाई सरापिरहेको छ । यसका साथै, विश्व जगतमा अमेरिकाको शक्ति र प्रभाव क्षिण हुँदै गएको आँकलन पनि सार्वजनिक हुँदै गएको छ ।
अमेरिकी शक्ति क्षिण हुँदै गएको मनोविज्ञान विश्व जनमानसमा बलियो हुँदै जान थालेपछि अमेरिकाले ‘युक्रेन इस्यु’ लाई अर्को चक्माका रूपमा विश्व जगतसामु ल्याउन प्रयत्न गरिरहेको देखिन्छ । त्यो अमेरिकी चक्माको पहिलो छनौटमा परेको छ, ताइवान ! त्यसैले अमेरिकालाई दुखिरहेको युक्रेनको घाउले मल्हमपट्टी गर्न ताइवानमा दाउँ खेल्ने अवस्थामा पुर्याएको छ ।
अगाडि देखिँदा रूस, पछाडि चाइनाको ‘पुश’
युक्रेन युद्धमा अमेरिकाले चीनको भूमिकामा ‘डबल रोल’ रहेको देखिरहेको छ । यो साचो पनि हो । युक्रेन युद्धमा रूस एक्लो छैन । त्यसको पछाडि चीन छ । तर चीन प्रत्यक्ष रूपमा युद्धमा सहभागी छैन । चीनले आर्थिक, भौतिक तथा सैन्य सहयोग पनि गरेको छैन रूसलाई । तर नैतिक समर्थन भने रहेको छ । त्यसैले पनि अमेरिकाका लागि युक्रेन युद्धमा ‘अगाडि देखिँदा रूस, पछाडि चाइनाको पुश’ हुन गएको छ ।
यो युद्धमा चिनियाँ ‘ब्याकिङ’लाई हटाउन अमेरिकाले ताइवानमा होहल्ला मच्चाइरहेको छ । ताकि चीन ताइवान मामलामा केन्द्रित हुन जाओस् र रूस एक्लिएको बेलामा अमेरिकाले युक्रेन मामला हल गर्न पाओस् । यही अमेरिकी नियतले ताइवान तनावको केन्द्र बन्न थालेको छ ।
सिंहको बथान (नेटो) ले एशियामा ‘एक्ल्याएर सिकार गर्ने’ दाउँ खेल्दै
अमेरिकाले नेटोलाई सिंहको बथान झैं विकास गरेर विश्वभर सिकार गर्ने सिकारी बनाउन चाहेको हो । तर सिंहको बथानमा रहेका सहायक सिंह वा युरोपीय देशहरू ‘बूढो युरोप’ को रूपमा देखा परेकाले नेटोरूपी सिंहको बथान सिथिल अवस्थामा छ । बरू यसको तुलनामा एशियाली देशहरूको नयाँ एकता सापेक्ष बलियो हुँदै गइरहेको देखिन्छ ।
विश्व अतिमहाशक्ति र विश्व शक्तिका रूपमा उदाउँदै गरेका एशियाली देशहरूको एकतामा भाँजो पार्ने, विभाजन ल्याउने र एक्ल्याउने दाउँमा अमेरिका लागिपरेको छ । सिंहको बथान भए पनि उनीहरूले कुनै पनि आफ्नो सिकारलाई उनीहरूको साथ र बगालमा रहेको बेला आक्रमण गर्न सक्दैनन् । त्यसैले सकभर एक्लाउने र विछुट्याउने प्रयत्न गरिरहन्छन् ।
अमेरिका पनि अहिले रूस र चीनको एकता भाँड्ने र बिछुट्याउने नीति लिएर ताइवानमा दौड धूप गरिरहेको छ । ताइवानको मामला र झमेलामा चीनलाई फसाउन सफल भएमा रूस युक्रेन मामलामा एक्लो पर्छ र चीन ताइवान मामलामा एक्लो पर्छ भन्ने सोच अमेरिकाको रहेको देखिन्छ ।
नलडेरै युद्ध जित्ने चिनियाँ रणनीति
अमेरिका दुई डरलाग्दा महासंकटका कारण ‘बाध्यात्मक युद्ध’ लड्न चाहिरहेको छ । एउटा हो, यसले आफ्नो सेना र जनता पाल्न विश्वमा कतै न कतैबाट धनरासी, साधनस्रोत र आय आर्जनका गोरखधन्दा गर्नै पर्छ । अमेरिकी अर्थतन्त्र आफैमा ‘युद्ध अर्थतन्त्र’ हो । यस अतिरिक्त विश्व सुरक्षा, क्षेत्रीय सुरक्षा, व्यापार, लगानी, विश्वव्यापी आपूर्ति, जलवायु परिवर्तन, अनुदान सहयोग, ऋण अनुदान र पारस्परिक हित जस्ता कुरा पनि साथमा लिएर जाने गरिरहेको छ ।
अमेरिकी अर्थतन्त्र खोक्रो हुँदै गइरहेको छ । यसले आउँदा दिनमा आफ्नो अजंगको आर्थिक शरीर धान्न गाह्रो छ । तर तुलनात्मक रूपमा चीनले भने विश्वमा अकल्पनीय आर्थिक विकास गर्दै अघि बढिरहेको छ । चीनको द्रुततर आर्थिक विकासका कारण पनि अमेरिका पछि धकेलिँदै गइरहेको छ । त्यसैले चीनलाई कतै न कतै फसाउने रणनीतिमा अमेरिका लागिपरिरहेको देखिन्छ ।
उता चीन भने अमेरिका र उसका युरोपीय अलाइहरूसँग नलडिकन युद्ध जित्न सकिने रणनीतिमा देखिन्छ । तर युद्ध लड्नै पर्दैन भन्ने नहुन पनि सक्छ । युद्ध हुन सक्छ । तर युद्ध भएमा हुनसक्ने भयाबह क्षति प्रथम र द्वितीय विश्व युद्धको परिणामलाई हेरे पर्याप्त हुन्छ ।