सडक दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले राडर गन प्रयोगमा ल्याएको छ । सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या निकै बढ्न थालेपछि ट्राफिक प्रहरीले यस्तो कदम चालेको हो ।
राजमार्ग तथा अन्य मूल सडकहरूमा जथाभावी गाडी हुइँकाउने र दुर्घटना निम्त्याउने गर्न थालेपछि ट्राफिक प्रहरीले राडर गन प्रयोगमा ल्याउने सोच बनाएको देखिन्थ्यो । यो सोच अनसारको कार्यक्रम बनाएर ट्राफिक प्रहरी राडर गनसहित मूल सडक र राजमार्गमा देखा पर्न थालिसकेका छन् ।
यसको प्रयोगले नेपालमा सवारी साधन परिचालनमा नयाँ मापदण्डको सुरूआत गर्ने देखिएको छ । यसको प्रयोगपछि यात्रुहरूमा अनावश्यक दुर्घटनाबाट बच्ने र सुरक्षित हुने आशा पलाएको पनि देखिन्छ । स्थानीय जनता पनि यो कार्यक्रमको कार्यान्वयन पछि खुशी देखिएका छन् ।
राडर गन नहुनुको कारण गाडीको स्पिड मापन हुन नसकेको र स्पिड कन्ट्रोलमा नियमन र निगरानी गर्न नसकिएको समस्या अहिले उच्च प्रविधिको प्रयोगपछि हल हुँदै जान थालेको देखिएको छ । यसले सवारी साधनको स्पिडमा मापदण्ड निर्धारण हुन नसकेको समस्या पनि समाधान गर्ने देखिएको छ ।
राडर गन अहिले रूपन्देहीस्थित राजमार्गस्थित मूल सडकमा प्रयोगमा ल्याइएको छ । राडर गनसहित ट्राफिक प्रहरी दैनिक काममा खटिएका छन् । यसको परिणाम राम्रै आएको उनीहरूको अनुभव छ ।
राडर गनमा प्रयोग गरिएको लेजर गन मेसिनले सवारी साधनको गति मापन निकै सहज बनाएको छ । यसको प्रयोगपछि तीव्र गतिमा सवारी साधन चलाउनेहरूमाथि कारवाहीको प्रक्रिया पनि सुरू भइसक्दा नयाँ आशाले ठाउँ पाएको छ ।
हालसम्म घटेका दुर्घटनामध्ये ९० प्रतिशत सवारी दुर्घटना तीब्र गतिका कारण हुने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । तीब्र गतिका कारण हुन गइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि नयाँ प्रविधिजडित राडर गनले ट्राफिक प्रहरीलाई उत्साहित बनाएको छ ।
सुरूकै चरणमा यसले राम्रो परिणाम हात लगाएको छ । प्रविधि प्रयोगको सुरूका दिनदेखि नै यसको प्रभावकारिता देखिन थालिसकेको छ ।
अभियान सु? गर्दाको पहिलो दिनमा ३२ वटा, दोस्रो दिनमा ३८ वटा र तेस्रो दिनमा ४२ सवारी साधन कारवाहीमा परिसकेका छन् । अहिले राजमार्गमा ६० किलोमिटर प्रति घण्टाको गतिमा नबढाई सवारी हाँक्न अनुमति प्रदान गरिएको छ । सवारी चालकहरूले यसको पालनामा सतर्कता अपनाएको देखिन थालिसकेको छ ।
थालनीका क्रममा सिद्धार्थ राजमार्गको सडकमा अभियान केन्द्रित रहे पनि यसको सन्देश सबैतिर पुगिसकेको छ । यात्रुहरू तथा सवारी चालकको मनोविज्ञान पनि अब बदलिँदै जान थालेको देखिएको छ ।
मानिसले एकअर्काको आँखा छल्न खोजे पनि यो उच्च प्रविधिले टाढाबाट आइरहेका तीव्र गतिका सवारी साधनहरूमाथि निगरानी राख्न सक्छ । यसले ३ सय मिटरको दुरीनजिक आएपछि वास्तविक गति मापन गरे पनि १ सय मिटरको दुरीमा सवारी साधन आइपुग्दा नम्बर सहितको सवारी साधनको फोटो खिचेर लिइहाल्छ ।
यसबाट बचेर वा छलिएर जानसक्ने संभावना निकै कम रहेको छ । अहिले यो मापदण्ड उल्लंघन गर्नेहरूलाई सम्झाइ बुझाई छाडे पनि अबका दिनमा जरिवाना लिइने गरी सचेत बनाइएको छ । यसले एउटा राम्रो मनोविज्ञान निर्माण गर्न सहयोग गरिरहेको छ ।
नेपालमा सवारी साधन नियमन र निगरानीका लागि निकै चनाखो हुनु पर्छ । यहाँ युरो ३ मोडलका पुराना सवारी साधन चलिरहेका छन् । ती निकै पुराना र थोत्रा पनि छन् । तिनका इन्जिन कन्डिसनमा छैनन् ।
सवारी चालक अधिकांश नयाँ र सिकारू छन् । अनुभवको कमी छ । बाटा र सडकहरू कच्ची छन् । कतिपय कालोपत्रे उप्किएका छन् । पहाडी भूधरातलका कारण घुम्तीहरू अनगिन्ति छन् । बाटोघाटो चौडा र फराकिला छैनन् ।
‘लेन अनुशासन’ को कुरा निकै टाढाको कुरा छ, नेपालका लागि । मुस्किलले दोहोरो गाडी चल्ने बाटाहरू छन् । गफमा घण्टौं बिताउने तर ढिला भएपछि गाडी वेपर्वाह कुदाउने चलन व्याप्त छ । हर्न नबजाउने, गति सिमित नगर्ने, उछिनपाछिन र अनावश्यक ओभरटेक गर्ने प्रवृत्ति पनि व्यापक छ ।
राडर गनले यस्ता समस्या समाधान गर्न सहयोग पुर्याउने सबैको आशा छ ।