• मंसिर ११ २०८१, मंगलवार

जनै पूर्णिमा, क्वाँटी र रक्षाबन्धन

श्रावण २७ २०७९, शुक्रबार

यस वर्षको संस्कृत दिवस एवम् जनैपूर्णिमा पर्व यही श्रावण २७ गते परेको छ । तागाधारीहरुले यसदिन विशेष मन्त्रण गरिएको जनै लाउने गर्छन् ।

जनै धारण गर्ने मन्त्र :
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तुतेजः हो ।

चान्द्रमानअनुसार श्रावणशुक्लपूर्णिमालाई जनै पूर्णिमा अर्थात् श्रावणीपूर्णिमा भनिन्छ । पूर्वीयदर्शनका यजुर्वेदीहरुका लागि यो वर्षभरिको महान् पर्व हो । मानव शरीरमा शुद्ध र स्वाध्याय गरिनै रहनुपर्ने  हुँदा यसदिनलाई शरीर शुद्धि र विशेष स्वाध्याय गर्ने दिनका रुपमा पनि मानिन्छ । विशेष स्नान गरी यज्ञोपवीत अर्थात् जनै वा ब्रह्मसूत्र धारण गर्ने दिन वा उपाकर्म गर्ने दिनको रुपमा पनि यसदिनलाई मानिन्छ ।

यजुर्वेदीहरुका लागि वेदको अध्ययन आरम्भ गर्नेदिन, श्रवण नक्षत्रयुक्त भएकाले यसलाई श्रावणी भन्ने गरिएको हो । सामवेदीहरु भाद्र शुक्लपूर्णिमामा र अथर्ववेदीहरुले श्रावण या भाद्र पूर्णिमाका दिन उपाक्रम गर्ने गर्छन् । तागाधारीहरुले यसदिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गर्छन् । सप्तऋषिहरुको पूजा गरी वेदमन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित नयाँ जनै प्रयोग गरी पुरानो जनैलाई झिक्ने गर्छन् ।

सबैजसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्ने गर्छन् । जनै प्रयोग गर्नुअघि विधि विधानले जनैलाई संस्कार गरिसकेको हुनुपर्छ । चूडाकर्म, व्रतवन्ध आदि कर्म भैसकेका लागि यसदिन जनैलाई नविकरण गर्नेदिन सम्झी नयाँ मन्त्रिएको जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाऊ भनी प्रार्थना गरी फुकालिन्छ । प्रजापति देवता सँगसँगै यज्ञोपवीत ‘जनै’ को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा अत्यन्त पवित्र प्रजापतिरुपका जनैले मेरो शरीर बनाई ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकवचको रुपमा रहन भगवदीय प्रार्थना समेत गरी जनै लगाउने गरिन्छ ।

विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कृति, बुद्धि, धर्म वृद्धिको साथै आयु र आरोग्य समेत प्राप्त हुन्छ । ‘शतं सम्बत्सरं जीवेत्’ भन्ने वैदिक चिन्तन मानिसको पूर्ण आयु १०० वर्षको र ९६ सूत, ९ गुणा र ३ डोरा र त्यसमा प्रयोग भएका ग्रन्थीहरुले मानिसको जीवन पूर्णायूको संकेत गर्छ । व्रतवन्धादी संस्कार गर्दा केही जीवन समय व्यतित भैसकेको भएपनि झण्डै बाँकी ९६ वर्ष, ९६ सुत बाँकी जीवनको पूर्णता र प्रत्येक वर्षको उपाक्रमले यसको नविकरण र शुद्धिकरणको संकेत गर्छ ।

शरीरमा भएका ९ द्वारबाटै अन्त्यमा प्राण विसर्जन भई इहलीला समाप्त हुने हुँदा मुख्य ९ द्वार युक्त शरीरको भरणपोषणको अनि रक्षाको संकेत ९ गुण जनैले दिन्छ । अर्काे कुरा जनैमा भएका ३ डोराले जन्मदै ३ ऋण बोकेर आउने र ती तीन ऋण देवऋण, पितृऋण, ऋषिऋण जीवनमा गरिने पुण्यकर्मले तिर्दै जाने संकेत पनि यसबाट प्राप्त हुन्छ ।

सदैव देव उपासनाबाट देवऋण, तपद्वारा ऋषिऋण र असल संस्कारबाट असल सन्तान उत्पादन र संस्कारले तदनुकूल व्यवहार गर्नु पितृऋण चुक्ता गर्ने उपायहरु हुन् । जनैमा भएका ५ ग्रन्थीले भने मानव जीवनले गर्नुपर्ने ५ मुख्य कर्मको संकेत गर्छ ।

सदैव स्वाध्यायमा रहने, होमादि कार्यबाट देवता लगायत सम्पूर्ण जीवात्मालाई आहुतिमार्फत् खुसी गराउने, गृहस्थ धर्म निर्वाहका लागि अतिथी सत्कार गर्ने, सदैव जल तर्पण आदिले पितृयज्ञ गर्ने, सदैव प्राणीहरुलाई जल, अन्न दिएर भूतयज्ञ गर्ने यी ५ प्रमुख यज्ञहरु मानिसले दिनदिनै गर्नुपर्ने हुन्छ ।

सक्नेले यी कार्य सधैँ गर्छन् नसक्नेले जनै पूर्णिमाका दिन यज्ञोपवीत संस्कार गर्दा तिनबाट हुन नसकेका दोषमुक्तिका लागि सम्पूर्ण ब्रह्माण्डमा रहेका स्थावरदेखि जीवात्माप्रति श्रद्धाभाव व्यक्त गर्दै महासंकल्पका साथ उपाक्रम कर्म गर्छन् ।

ब्रह्माण्ड भित्रका सम्पूर्ण लोकालोक अतल, वितल, सुतल, भूतल, रसातल, तलातल, पातालदेखि धर्तीमा रहेका सम्पूर्ण नदी, जलाशय, सागर, महासागर र अन्तरिक्षका भूत, पिशाच, प्रेतगणदेखि आकाशसम्मका ब्रह्मलोक, विष्णुलोक, शिवलोकसम्म र सृष्टिदेखि आजपर्यन्त रहेका, आफू सम्बन्धित तमाम वायुमण्डल र समस्त भूगोल, खगोल, आकाशीय पिण्डहरुलाई समेत स्मरण गरी तृप्त पार्ने प्रयास गरी  आफूबाट आशा गरिएका समस्त जीव, जीवात्मालाई वर्षभरि नै तुष्टि, पुष्टि गर्न नसकेकोमा क्षमाप्रार्थी हुँदै प्रायश्चित गर्दै जलादि तर्पण दान गरी नयाँ जनै लगाउने क्रममा ब्रह्माण्डीय पिण्डको सम्पूर्ण सकारात्मक ऊर्जा आफ्नो शरीरमा संरक्षित होस् भन्ने कामना, प्रार्थना गर्दै स्नान र पूजाका लागि यसदिन छुट्टै आफैले वा ब्राह्मणद्वारा महासंकल्प गरी गराई जानेर वा अन्जानमा यसअघि भएका सम्पूर्ण कर्मदोष पाप, प्रदूषण, कुकर्मलाई सकेसम्म स्मरण गरी सम्पूर्ण दोषादिबाट टाढा राख भनी परमेश्वरप्रति विशेष प्रार्थना गर्नुपर्ने वैदिक विधान रहेको छ ।

यसअर्थमा यसदिनको स्नान, जनै अभिमन्त्रण कार्य झण्डै ४ घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पितृहरुका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ भने देवताहरुका लागि जनै सव्यबाट तर्पण गरिन्छ । वर्षभरि भएका कुकर्म, झूठो बोली, अभक्षण, खराब साक्षी, गम्यागम्य दोषदेखि आफ्ना सम्पूर्ण कुरीति, कुसंस्कार, कुप्रवृति र तिनका प्रभावबाट मुक्त राखि नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दैछु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ ।

रक्षाबन्धनको धागो भने देवी इन्द्रायणीमार्फत् देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु वृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरु पराजित भई देवताहरु सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरुप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो ।

यस्तो सुरक्षा कवचको तयारी श्रावणशुक्ल चतुदर्शीका दिन भएको र मन्त्रसहित इन्द्रका हातमा बाँधिएको समय पूर्णिमाको दिन परेकाले पनि यस पूर्णिमालाई लागि रक्षाकबच्को रुपमा लिन थालिएको हो । हाम्रो देशमा यसदिन शिवमन्दिरहरुमा विशेष पर्वमेला लाग्ने गर्छ । पशुपति, गोसाइँकुण्ड, कुम्भेश्वर आदि विशेष स्थानहरुमा बिहानैदेखि स्नान गर्ने, यज्ञोपवीत धारण गर्नेहरुको विशेष चहलपहल नै हुन्छ, ।

जनैमा रहेका ९ तन्तुमा ॐ कार, अग्नि, सोम, पितृ, प्रजापति, यम, विश्वेदेव आदिको आह्वाहन गरिन्छ भने जनै ग्रन्थीमा ॐ कै प्रतीक ब्रह्मा, विष्णु, शिव तीन शक्ति र गायत्रीसहित आह्वाहन गरी ब्रह्मसूत्र ब्रह्मतेजको रुपमा सब्यपारी धारण गरिन्छ । यसरी धारण गरिएको जनै आवश्यकता अनुसार पितृकार्यमा अपसव्य गरेर पितृ कार्य गरिन्छ भने देवकार्य लगायत अरु जुनसुकै बेलामा पनि जनै सव्य नै हुन्छ ।

सब्य भन्नाले देब्रे काँधमा अड्याएर दायाँतिर काखीमुनि फर्काएर लगाउनु हो भने दायाँ काँधमा अड्याएर देब्रे काखीमुनि पारिनु अपसब्य हो । शौच गर्दा पनि जनैलाई पवित्र राख्न कानमा अड्काउने गरिन्छ । आशौच–जन्म, मृत्यु पछि ग्रहण–चन्द्र, सूर्य पछि, प्रत्येक चार महिनापछि नववर्ष, विशेष देवपितृ कार्यमा नयाँ जनै लगाउनु पर्ने हुन्छ । जनैपूर्णिमाका दिन खासगरी ९ थरिका गेडागुडीहरु मिलाएर क्वाँटी खाने चलन छ ।

स्वास्थ्यवर्धक विशेष खाना मास, मुंग, बोडी, सिमी, गहत, राज्मा, चना, भटमास, केराउ आदि पोषकतत्व एकैठाउँमा मिसाई भिजाई टुसा उमारी तयार पारेको क्वाँटीलाई विशेष मरमसलासहित खानाले शरीरमा तेज र पुष्टि बढ्ने हुँदा यसदिन विशेष क्वाँटी खाने चलन चलेको हो ।

कृषिप्रधान मुलुक हाम्रा लागि विशेषगरी वर्षायाममा खेतबारीमा रुझीभिजी किसानी कार्य गर्नुपर्ने हुँदा यस ऋतुभरि र नजिकै अर्काे शारदीय चिसो ऋतु सुरु हुनेहुँदा स्वास्थ्यरक्षा गरी शारीरिक तन्दुरुस्तीका लागि तयार रहने सन्देश समेत दिएको हुन्छ ।