• मंसिर १२ २०८१, बुधबार

बाध्यताको पर्दाभित्र परदेशी जीवन

श्रावण १९ २०७९, बिहीबार

कामको व्यस्तता र थकानको बीचबाट समयको सदुपयोग गर्दै परदेशी जीवनका अनेकौं कुनाकाप्चामा रहेका तरंगहरुलाई बाहिर निकाल्न खोज्छु तर थाकेको ज्यान र मनले पटक्कै साथ दिन सकेन । तर केही त कोर्छु भन्दै बस्छु तर अहँ, फुर्दै फुर्दैन ।

धन कमाउने रहरमा विदेशिएको लामो समय भएपछि त लेख्ने कलम पनि सुस्ताएझैं र दिमाग पनि खाली खाली बन्दै जाने रहेछ । एकान्तमा एकोहोरिएर लेख्न खोज्छु तर पनि लेख्न कताबाट सुरु गरौं, जरो टुप्पो केही पत्तो लाग्दैन ।

केही लेख्नु आफैमा अफ्ठ्यारो काम हो । तर लेखौं भने जति पनि अनुभव र सामग्रीहरु छन् । सायद धेरै विषयहरु भएर होकी केको बारेमा लेखौं, कताबाट लेखौं भइरहन्छ ।

नेपाली महिलाहरु जो विदेशमा रोजगारीका लागि गएका छन् । उनीहरुको पीडा लेख्दा पनि ठिकै होला भनेर पनि सोचें । तर पीडा मात्रै कति ओकल्नु भनेर रोकिएँ । आजसम्म जति पीडा पोखेपनि सरकारले सुन्ने भए पो त ! सुन्न त सुन्छ होला तर सुनेको नसुन्यै गरिदिन्छ । किन कि सरकारलाई परदेशीको पीडा सुन्दा भन्दा नसुन्दा फाइदा छ ।

विदेशीको पीडा सुनेर उनीहरुलाई उद्धार गर्दा र स्वदेशमै रोजगारीको उपाय निकाल्नेतिर लाग्दा सरकारलाई रेमिट्यान्समा घाटा पर्दै जान्छ । कतिबेला नेपालमा कारखाना खोल्नु, कति बेरोजगारलाई रोजगारी दिनु, त्यो भन्दा विदेशतिरै पठाइदियो, कमाउँछन्, खान्छन् घर खर्च धान्छन् र सरकारलाई रेमिट्यान्स पनि पठाउँछन्, टन्टै साफ !

फेरि होइन, हामीले नलेखेर कस्ले लेख्ने त ? भनेर आफूलाई तयार बनाएँ । उता आफू विदेश आएपछि घरमा आइपर्ने विभिन्न समस्याले गाँजिएका पुरुषहरुका पनि त पीडाहरु उस्तै छन् ।
आजभोली नेपालमा धेरै मानिसहरु मरिरहेका समाचारहरु आइरहन्छन् ।

ती दुःखद समाचारहरुले मनमा तनाब दिइरहन्छन् । हुन त यस्ता समाचारहरु हिजो पनि आउँथे । आज पनि आएका छन् र सायद भोली पनि आइरहनेछन् । तर मानिस उमेर पुगेर मर्नु र अकालमै मर्नुमा धेरै भिन्नता छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका परिवारमा आज निकै ठूलो समस्या आइरहेका समाचार विभिन्न अनलाइन तथा सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

विद्युतीय सञ्चारमाध्यमका कारण आज संसारको जुनसुकै कुनामा भएका घटना भएपनि छिट्टै प्रशारणमा आइहाल्छन् । खासगरि युटुब मिडियामा त्यस्ता घटनाहरुलाई अलि बढी महत्व दिइएको पाइन्छ । खै किन हो थाहा छैन ! युटुबेहरुले डलर कमाउन यस्तो गर्छन् भन्ने आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ ।

दुई दिन अघि मात्र काठमाडौंमा घटेको हत्याको घटनाले मानिसहरुको मन खिन्न बनाएको छ । तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा भएको सो घटनामा श्रीमानले पहिले श्रीमतीको हत्या गरि लगत्तै छोराछोरीको पनि हत्या गरि आफूले समेत आत्महत्या गरेको घटना सुन्दा निकै मन अमिलो भयो । सोचें, ओहो…..मानिस कसरी आफ्नै सन्तानको हत्या गर्नसक्छ ?

अनलाईन समाचारहरुमा आए अनुसार झण्डै ११ वर्ष विदेशमा बसेर पैसा कमाएर काठमाडौंमा घर बनाएका श्रीमान दिनेश पाण्डे र उनकी श्रीमतीबीच ४, ५ वर्षदेखि खट्पट पर्दै आएको थियो रे । दिनेश विदेशबाट आएपछि पनि उनकी श्रीमतीको मोबाइलमा आइरहने केही मानिसहरुको सन्देशले उनलाई झस्काइरहथ्यो रे ।

आफू विदेशमा भएको बेला श्रीमती अर्कैसित सल्केको शंकाले उनीहरुका बिचमा जलेको लंका भइसकेको रहेछ । अर्कैसित सल्केको थाहा पाएपछि उनीहरुका बीचमा सम्बन्ध विच्छेद गर्ने कुरा पनि चलेको भन्ने आयो । तर श्रीमतीले सम्बन्ध विच्छेद गर्न नमानेपछि उनीहरुका बीचमा तनाब निकै बढेको बुझ्न सकिन्छ ।

समाचारहरुमा जनाइए अनुसार श्रीमती अर्कैसित सल्केको, आफूले कमाएको सम्पति हिनामिना भएको र विवादकै बीचमा श्रीमती बेलायत जान लागेकोले सायद यस्तो घटना भएको भनिन्छ । तर श्रीमतीसितको विवादमा उनले कलिला छोराछोरीलाई कसरी हत्या गर्न सके ? र आफूले पनि आत्महत्या गरे ? त्यो पनि चक्कु प्रहार गरेर । प्रश्नको जवाफ कसैसित होला र ?

कुरो फेरि पनि परदेश र घरदेशकै आयो । नेपालीलाई धेरै पीडा दिएको विषय यो पनि एउटा हो ।
बाध्यतावस विदेसिनु पर्दा घर तथा परदेशमा भएका श्रीमान वा श्रीमतीसँग लामो समयसम्मको भौतिक विछोडका कारणले मनमा पलाउने अनेकौं तर्क बितर्कहरुले घर गर्दा आपसमा आशंकाहरु पलाउँछन् ।

श्रीमान वा श्रीमती जो विदेशमा भएको भएपनि आपसमा दैनिकजसो फोन सम्पर्क भइरहने, विभिन्न विषयमा मनमा उत्पन्न हुने विषयहरुमा छलफल गरि मन माझ्ने गर्नुपर्छ । इन्टरनेटको जमानामा दैनिकजसो नै कुराकानी गर्न सकिन्छ । २० वर्ष अघि जस्तो चिठी लेखेर पठाउँदा चिठी पुग्नै महिना दिन लाग्ने जमाना होइन आजको । यो प्रविधिको जमाना हो ।

घरायसी समस्या हल गर्नका लागि फोनबाटै भएपनि छलफल गर्दा समस्या हल गर्ने तरिका पनि पत्ता लाग्नसक्छ र आपसी मायाममता बाँडिन्छ र मन हल्का हुन्छ । घरायसी समस्या छलफलबाट हल गर्दा र बाँकी मानवीयताका आधारमा चाहिने आवश्यकता त पछि भेट भएपछि पूरा भइहाल्छ नी ! भन्ने सोंच आउँछ ।

नेपालमा हुने हरेक घटनाहरुले विदेशमा रहेका नेपालीहरुलाई छुने गर्दछ । नेपाल सरकारले अस्ति मात्र नागरिकता विधेयक पास गरेर नेपालमा बस्दै आएका विदेशीहरुलाई नेपाली सरहकै नागरिकता दिने निर्णय भयो रे भन्ने समाचारले पनि विदेशमा रहेका नेपालीको ध्यान तान्यो ।

नागरिकता नपाएका सक्कली नेपालीहरुलाई नागरिकता दिने कुरा सबैलाई मान्य नै हुन्छ तर नेपालमा जन्मेकै आधारमा र ४६ सालपछि अंगीकृत नागरिकता पाएका भारतीयका सन्तानलाई नेपाली वंशजको नागरिकता दिँदा केही वर्षपछि हामी खास नेपाली अल्पमतमा पर्ने र पछि नेपालमा आएका विदेशीहरु बहुमतमा परेर नेपालको अर्थतन्त्र र भूगोल नै कब्जामा जानसक्ने कुरामा सरकार सचेत नभएको हो की थाहा पाएर पनि वास्ता नगरेर बसेको हो ? भन्नेमा पनि प्रश्न उठेका छन् ।

यो सँगै अर्को प्रश्न पनि उठेको छ । नेपाली युवाहरुलाई नेपालमै रोजगारी नदिएर काम गर्न विदेश पठाएर आफ्नो देश युवा विहीन बनाउने तर विदेशीलाई सजिलै नेपाली नागरिकता दिएर नेपाललाई विदेशी नागरिकमय बनाउने र केही समयपछि देशकै अस्तित्व समाप्त पारिदिने विदेशी दाउमा नेपाल सरकार किन टेको बनेको हो बुझ्न सकिएन ।

यी र यस्ता विषयमा विदेशमा रहेका आजका युवाहरुमा मनमा पलाइरहने प्रश्नहरु हुन् । यी प्रश्नहरुलाई सरकारले सुन्ने, हेर्ने र समाधान दिने दिशातिर भन्दा पनि समस्यामा पर्दा हालेर छोप्ने कोसिस भइरहेको भान हुन्छ ।

बाध्यताको पर्दाभित्र लुकेको परदेशी जीवनले स्वदेशमा हुने र भएका यस्ता विभिन्न समस्याहरु मज्जाले देख्न सकिन्छ तर कामको लागि विदेशी सहरहरुमा भौंतारिएका हामीले यस्ता समस्याहरु समाधान गर्न सक्ने कुरा भएन । तर नेपालमा सजिलैसित विदेशीलाई हुलेर नेपालीलाई परदेश धकेल्ने षडयन्त्र पनि बुझिएको छ र त विभिन्न पार्टीहरुले आन्दोलन पनि गरिरहेका छन् । तर पनि सरकार कानमा तल हालेर बसेको छ ।

त्यसकारण यी र यस्ता समस्याहरुको पोको बोकेर दौडिरहेको सरकारलाई हामी विदेशमा बसेर काम गरेर रेमिट्यान्स पठाइ तिम्रो सरकार चलाइदिएका नेपाली परदेशी युवाहरुको तर्फबाट रचनात्मक सुझाव दिइरहेका छौं र खबरदारी पनि गरिरहने छौं । हाल : दक्षिण कोरिया ।