(कुनै समयमा महिलाले पढ्नु हुँदैन अर्काको घर जाने जात हो भनेर शिक्षा मात्र होइन हरेक क्षेत्रमा महिलामाथि अंकुश लगाउने गरिन्थ्यो । तर ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं नेपाल प्रहरीका पूर्व डिआईजी पार्वती थापामगरलाई यस्ता कुराले छेकबार गर्न सकेनन् । समाजले महिलामाथि राख्ने संकुचन सोंचहरु होउन वा घरको कामदेखि कृषि क्षेत्रमा आवद्ध भई झाडी नै पन्छाएर काम किन गर्न नपरोस् उच्च मनोबल, दृढ विश्वास र लगनशीलताका साथ आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्न सक्यो भने पक्कै पनि सफलता पाइन्छ भन्ने कुरा प्रमाणित गरेर देखाउन सफल भएकी छिन् नेपाल प्रहरीको नेपालकै पहिलो महिला डिआईजी पार्वती थापामगर । आज समाजमा उनको नाम नसुन्ने सायद कम नै होलान् । समाज र राष्ट्र विकासमा महिला र पुरुषको समान सहभागिता हुनुपर्छ भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै अघि बढेकी पूर्वडिआजी थापामगर जागिरे जिन्दगी पछि पनि चुप लागेर बसिनन् । हालै मात्र उनले एउटा संस्था खोलेकी छिन् । समाज र राष्ट्रका लागि योगदान दिने र आफ्नो समुदायको भाषा, धर्म संस्कृति, परम्परा र पहिचानलाई जोगाउनका लागि भखरै खुलेको सो संस्थाको नाम ‘मगर भेजा समाज नेपाल’ हो । यसैबीच उनले किन सो संस्था खोलिन त ? भनेर गोलखबर डटकमका संवाददाता दीपा आलेले उनलाई सोधेकी छिन् । प्रस्तु त सोही कुराकानीको सम्पादित अंश : सम्पादक) ।
आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?
भर्खरै मात्र हामीले मगर भेजा समाज नेपाल नामक संस्था खोलेका छौं । सोही संस्थाको गतिविधिमा म लगायत हाम्रा कार्यसमितिका सहकर्मीहरु व्यस्त छौं ।
मगर भेजा समाज नेपाल किन गठन गर्नु भयो ? यसको उद्धेश्य के हो ?
विशेष गरि म लामो समय नेपाल प्रहरीमा आवद्ध भई देश र समाजको सेवा गरें । म मा समाज र देशका लागि केही गरौं भन्ने इच्छा, चाहना र सोंच छ । नेपाल प्रहरीबाट सेवानिवृत्त जीवनको बाँकी समयलाई सदुपयोग गर्नका लागि यो संस्था गठन गरेका हौं । किन कि सामाजिक कार्य गर्नका लागि एउटा न एउटा संस्थाको आवश्यकता पर्छ । एकजनाले गर्न नसकेको काम एकता हुन सक्यो भने सामूहिक रुपमा फत्ते पार्न सकिन्छ । त्यसैले पनि म लगायत हाम्रो समुदायका वुद्धिजीवि व्यक्तित्वहरुको छलफल पछि हामीले यो संस्था
गठन गर्न सफल भयौं ।
मगर भेजाको वास्तविक अर्थ के हो ? के यो राजनीतिक पार्टीमा आवद्ध छ ?
मगर भेजा समाज विशुद्ध सामाजिक संस्था हो । यसले आफ्नो भाषा, धर्म, संस्कृति तथा पहिचानलाई जोगाई राख्न ठूलो भूमिका खेल्दछ । रह्यो भेजाको वास्तविक अर्थको कुरा, यो मगर समुदायको शब्दकोषबाट लिइएको शब्द हो ।
कुनै पनि सामाजिक लक्ष्य प्राप्त गर्ने उद्देश्यले गठन गरिएको संस्थालाई भेजा भनिन्छ । भेजाले मगर समुदायमा धार्मिक, कृषि, आर्थिक, सामुदायिक एकता र मनोरञ्जन जस्ता कार्यहरुलाई व्यवस्थापन, सञ्चालन र नियन्त्रण गर्छ । जसलाई पुनर्ताजकी दिनका लागि पनि हामीले आफ्नै मगर भाषाबाट ‘भेजा’ शब्द लिएका हौं । जसको औचित्य भनेको मगर समुदायको लागि मात्र नभई आम नेपाली समाजकै लागि यसले काम गर्दै अघि बढ्छ ।
मगर भेजा नै गठन गर्नको आवश्यकता किन आयो ? किन कि समाज सेवाका लागि त मगर समुदायका नाममा थुप्रै संस्थाहरु खुलेका छन् ?
विशेष गरी हामीले आफ्नो पहिचान र अस्तित्व जोगाउनु पर्छ भन्ने मान्यता राख्दै आएका छौं । यो हाम्रो अधिकार पनि हो तर जातीय संस्थाले आफ्नो पहिचान जोगाउन लाग्नुको साटो त्यही जातीय संस्थालाई सिंडी बनाएर राजनीतिक पार्टीमा पुगेका छन् तर आफ्नो अस्तित्व र पहिचानलाई ओझेलमा पारिरहेका छन् ।
एउटा सामाजिक संस्याको उद्देश्यमा रहेर काम गर्नुको साटो जातीय संस्थालाई प्रयोग गरेर फोहोरी राजनीतिक खेलेको देखिन्छ, जसले गर्दा पनि हामीले अरु भन्दा अलि फरक तरिकाले काम गर्नका लागि मगर भेजा समाज गठन गर्नु परेको हो । ताकि हाम्रा पूर्खाले मान्दै आएका परम्परा, संस्कृति र संस्कारलाई जोगाउन र राष्ट्रको हितका लागि यो संस्थाले काम गरोस् । हामीले यो संस्था गठन गरेपछि धेरै शुभचिन्तकहरुले सकारात्मक रुपमा चासो पनि दिएका छन् । यसको उद्धेश्य पूरा गर्नका लागि हामी कार्यसमितिमा छलफल गरि अगामी कार्ययोजना तथा संगठन विस्तारका लागि अघि बढ्ने छौं ।
भेजा समाजले खासमा के काम गर्दछ ?
भेजा समाज गठन हुनुको अर्को प्रमुख कारण भनेको आर्थिक पक्ष बलियो बनाउनु पनि हो । घर बलियो नहुँदासम्म समाज बलियो नहुने भएकोले यही समाजको मातहतमा रहेर सामाजिक, आर्थिक, साँस्कृतिक, कृषि, मनोरञ्जन लगायतका पक्षलाई बलियो बनाउँदै अफ्ठ्यारोमा परेका समुदायलाई सहयोग गर्दै अघि बढ्नका लागि भेजा समाजले काम गर्नेछ ।
तपाईं नेपालकै पहिलो महिला पूर्वडिआईजी, तपाईको शब्दमा भन्नुपर्दा नेपालमा महिलाको अवस्था कस्तो पाउनुहुन्छ ?
देशमा गणतन्त्र आएपछि महिलाको अवस्थामा धेरै नै परिवर्तन भएको छ । अहिले महिलाहरु राज्यको हरेक तह र तप्कामा पुग्न सफल भएका छन् । अझ नेपाल प्रहरीमै हेर्ने हो भने हिजो हामीले जग बसालेका कारण आज ४ जना महिला डिआईजी बन्न सफल भएका छन् ।
हिजो हामीले यो पदसम्म आइपुग्दा धेरै नै संघर्ष गर्नु परेको थियो । आज हाम्रो संघर्ष र योगदानले हामी मुनिका बहिनीहरुलाई सजिलो भएको छ । त्यसैगरी राजनीतिक पक्षमा पनि विगतमा महिलाहरुलाई प्रमुख तहमा पुग्न निकै गाह्रो थियो । गणतन्त्र आएपछि महिलाहरु त्यो उच्च स्थानमा पुग्न सफल भएका छन्, यसलाई सकारात्मक रुपमा लिनुपर्छ । स्वयम् महिलाहरु पदमा पुग्न महिला भएको नाताले मात्र होइन हरेक पक्षमा सक्षम भएर अघि बढ्न सक्ने हुनुपर्छ । त्यसका लागि पहिलो बलियो पक्ष भनेको शिक्षामा जोड दिनुपर्छ । शिक्षाको सहयोगले नै महिलाहरु राज्यको हरेक क्षेत्रमा पुग्न मद्दत गर्दछ ।
भेजाको भावी रणनीति तथा कार्ययोजना के छ ? आम नेपालीलाई के भन्न चाहनुहुन्छ ?
भर्खरै गठित हाम्रो संस्था देशैभर छिट्टै नै शाखा गठन गर्ने तयारीमा छ । जिल्ला जिल्लाबाट साथीहरुले फोन गरि हामीसँग सहकार्य तथा सल्लाह सुझाव दिनु भएको पनि छ । सबैको सल्लाह सुझावलाई शिरोधार्य गर्दै आगामी दिनहरुमा आवश्यकता अनुसार भेजाको समितिहरु गठन गर्ने रणनीति छ । साथै आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न आर्थिक सम्बन्धी कार्यक्रमहरु ल्याउने योजना पनि तय गरको छौं । त्यसको साथै विभिन्न क्षेत्रमा अफ्ठ्यारोमा परेका समुदायलाई हामीले सक्ने सहयोग गर्दै कसरी ती समुदायलाई आर्थिक रुपमा सक्षम बनाउन सक्छौं ? कसरी उनीहरुलाई आत्मनिर्भर बनाउन सक्छौं ? त्यसबारेमा पनि कार्य योजना ल्याउने तयारीमा छौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
कतिपयलाई लाग्न सक्छ पार्वती थापामगरले फेरि जातीय संस्था खोली भनेर, तर हामीले एउटा जातीय संस्था खोलेपनि सबैको हितका लागि काम गर्ने उद्देश्यले यो संस्था गठन खोलेका हौं । हामी राज्यसँग सहकार्य तथा सहयोग गर्ने हिसाबले काम गर्न चाहन्छौं । जबसम्म व्यक्ति र घर परिवार सक्षम र योग्य हुँदैन तबसम्म हामीले चाहेर पनि समाज र राष्ट्रको विकास र उन्नती गर्न सक्दैनौं । त्यसैले पनि हामी मगर भेजा समाज नेपालद्वारा हामी सबैसँग सहकार्य गर्दै समाज र देशको हितका लागि केही टेवा दिन अघि बढ्ने छौं ।
राज्यको पनि हामीलाई साथ र सहयोग चाहिन्छ । अहिलेलाई यति नै भन्न चाहन्छु । मगर भेजा समाज नेपालको काम कर्तव्य रजिम्मेवारी कार्ययोजना, भावी रणनीति तथा यसको आवश्यकता लगायतका बारेमा सबैका सामु पुर्याउने मौका दिनु भयो त्यसका लागि मेरो व्यक्तिगत तर्फबाट तथा मगर भेजा समाज नेपालको तर्फदेखि तपाईं र गोलखबर डटकमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आउँदा दिनहरु पनि सञ्चार क्षेत्रको साथ र सहयोगको अपेक्षा पनि गर्दछु ।