• मंसिर ११ २०८१, मंगलवार

आज नागपञ्चमी-नागको पूजा किन गरिन्छ ?

श्रावण १७ २०७९, मंगलवार

यसपालिको नागपञ्चम पर्व यसै श्रावण १७ गते आज परेको छ । पूर्वीयदर्शन धेरै फराकिलो छ । विज्ञानको स्रोत मानवदेखि सूक्ष्मभन्दा सूक्ष्म जीवात्माहरुको समेत पूजा गर्दै आफ्नो धर्म, संस्कृति र कलाको मौलिक संरक्षण गर्नु पूर्वीय चिन्तनको व्यापकता हो ।

यसले न केवल परम्परा धान्ने किन्तु जीवनपर्यन्त र त्यसपछिका दिनसम्म उज्यालो र सार्थक बनाउने प्रयास समेत गरेको छ । श्रावणको आरम्भदेखि नै सुरु हुने चाड पर्वमध्ये अहिले हामी नागपञ्चमी विशेषमा आइपुगेका छौंँ । श्रावण शुक्ल पञ्चमीको दिन घर, घर वरिपरिको, परिवेश र समग्र वातावरण पवित्र पार्ने क्रममा नागको पूजा गर्ने विशेष पर्व नै नागपञ्चमी हो ।

नागको स्तुति : आस्तिकस्य मुनेर्मातजगदानन्दकारिणि । एह्येहि मनसे देवि नागमातर्नमोकस्तु ते ।।

नागपञ्चमीका दिन नागको विशेष चित्र लेखेर दही, दूध, लाबा समेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने गरिन्छ । हरेक देवदेवीहरुको मूर्ति, चित्रहरुबाट जीवनका लागि आवश्यक नव ऊर्जा प्राप्त हुन्छ । देव, देवी, मठ, मन्दिर, प्रवेश, पूजा, दर्शन चिन्तन मनन गर्नुको मूल उद्देश्य सकारात्मक सोच नै हो ।

सकारात्मक सोच हुनु नै रोगका विकार हट्नु हुन् । अहिले हामीलाई कोरोनाले फेरि तर्साउला भन्ने डर छ । भनिन्छ, मनको त्रास भन्नु कोरोना हो आत्मविश्वास भन्नु त्यसको खोप हो कारण यसअघि देखा परेका विश्वव्यापी महामारीका रुपमा देखा परेका रोगमध्ये कोरोनाबाट मृत्युको प्रतिशत धेरै कम थियो ।

धरै जनसंख्या भएका देशमा धेरेको मृत्यु एकैपटक भएकाले हरेक मनमा त्रास बढेको हो । हरेक मूर्ति, चित्र आदिबाट सकारात्मक र नकारात्मक दुवै ऊर्जा प्रवाह भैरहन्छ । सदैव सकारात्मक ऊर्जा प्राप्तिका लागि मठ, मन्दिर, मूर्ति चित्रको अवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ ।

पूर्वीय दर्शनले यस बारेमा उद्बोधन गर्दै नागको शिर भाद्र, आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसीर, पुस, माघमा नागको शिर दक्षिणतिर हुन्छ । त्यस्तै फागुन, चैत्र, वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने जेष्ठ, आषाढ, श्रावणमा नागको शिर उत्तर दिशातर्फ हुन्छ ।

नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ । उच्च र घरानीया भनिएकाहरुलाई घरमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेका देखिन्छन् भने धार्मिक र असहायहरुलाई घरको सुरक्षा दिने काम तुलसीले, यसको मोठले, तिलले, कुशले, गाईले, नागले, देवताले, पितृहरुले सुरक्षा दिइरहेका हुन्छन् ।

शारिरीक सुरक्षाभन्दा भावनात्मक सुरक्षा बलियो हुन्छ । र त घरका मूल ढोका, भित्ताहरुमा कलश, गणेश, सूर्य, हनुमान, कुमार आदिका मूर्ति, चित्र एवम् स्वस्तिक, ॐ आदि राख्ने गरिन्छ । ओमकार परिवारका व्यक्तिहरु, साधकहरुले यसको प्रतिक झण्डा राख्ने गरेको पाइन्छ घरका छानाहरुमा ।

समग्र भूमण्डललाई शेषनागले धारण गरेको कथन पनि पूर्वीय दर्शन, शास्त्रहरुमा स्पष्ट उल्लेख छ । पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ ।  आफ्ना  वरिपरि नागको सरेस भइरहने र बेला बखत पूजा गर्नाले अग्नि भय, प्रकोप, चट्याङ्ग, विद्युतीय विस्फोटक आदिको समस्या  हुँदैन । सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरुको राजा भनिन्छ । जहाँ नागहरु हुन्नन् त्यहाँ पानी हुँदैन ।

पानी बिना कुनै जीवात्मा बाँच्तैन । घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ किनकि नाग खुसी भए लक्ष्मी (धन) को वर्षा हुन्छ भनिन्छ । सुख, समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नु पर्ने हुन्छ । कृषि प्रधान मुलुक हाम्रा गाउँ बस्तीहरुमा धान रोपाइँ गर्दा पनि नागको पूजा गर्ने चलन अद्यावधि
छँदैछ ।

हिन्दु परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ । पाञ्चायन देवता मध्ये शिवको गलामा नाग, विष्णुको शैयामा नाग, गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ ।

त्रेतायुगीन रामका भाई लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापर युगीन उनै कृष्णका दाजु बलराम शेष नागका प्रतीक नै हुन् ।

भगवान् श्रीकृष्णले बाल्यकालमा कालीय नागको दमन गरेकाले जीवनको उषाकाल वा किशोर अवस्थामै विषतूल्य प्रदूषणलाई हटाइ सक्नुपर्ने संकेत प्राप्त हुन्छ भने सत्ययुगको समुद्र मथनको प्रसंगले शेषनागको घाँटीमा रहेको हलाहल विष ओकेली सकेपछि मात्र अमृत प्राप्त हुने कथानक भेटिन्छ ।

यसको लाक्षणिक संकेत के हो भने द्वन्द र युद्ध पछि निश्चय नै शान्त वातावरण हुनु पर्छ भन्ने पनि हो । आजको युगमा ठूला विश्व युद्धपछि शान्तिको संकेत राष्ट्र संघको जन्म यसको थप उदाहरण हो ।

शेषसायी विष्णु सर्पमाथि सुतेर पनि शान्त र आनन्दित छन् अर्थात् समाजमा राग, द्वेष हुन्छ तथापि मानिसले विषम परिस्थितिमा पनि शान्त र आनन्दित हुनुपर्छ भन्ने संकेत हो । बुद्धको मुकुटमा सर्पका आकृति चिह्न देखिनुको संकेत पनि वरिपरि परिवेश अशान्त र विषालु भए पनि  आफू सौम्य र शान्त बन्नुपर्छ भन्ने हो ।

ॐकार परिवार भित्रका जैन तीर्थङ्करहरुका शिरमा पनि सूर्य आकारका मुकुटहरु हुन्छन् । पानीका देवता मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला शोभित छ । काठमाडौंको टौदहस्थित कर्काेटक नागदहको पानी कटाएर काठमाडौं उपत्यकामा बस्ती बसाल्ने वीर र धार्मिक व्यक्तिहरुको इतिहास हाम्रै सामु छ ।

नागपञ्चमीका दिन टौदहमा नागदह मेला लाग्छ र त्यहाँ नागको विशेष पूजा हुन्छ । काठमाडौंको सुन्धारा नागस्थान, कमलपोखरी, नागपोखरीमा नागको विशेष पूजा गरिन्छ । पशुपति मन्दिर परिसरमा वासुकी मन्दिर छुट्टै रहेको छ भने शिवजीका घाँटीमा सर्पको हारले नै शोभा दिएको देखिन्छ ।

कपासको प्यूरी, गाईको गोबर, दूध, तिल दूबो, लाबा नाग पूजामा अनिवार्य हुन्छ । नाग पन्छाउँदा केराको पातमा चामलको पिठोले नाग जोडीको आकृति बनाउने, दूबोले जिभ्रो, तिलले आँखा बनाएर विधिपूर्वक पूजा गरेर जलाशयमा सेलाउने गरिन्छ भने काल सर्पको विधि गर्दा राहु सहित ग्रहको पूजा, नाग स्तुति, नाग सहस्रनाम पाठ गर्ने चलन छ ।

नागका विभिन्न विशेष नामहरु छन्–अनन्त, बासुकी, शेष, पट्टनाभ, कम्बल, धृतराष्ट्र, शङ्खपाल, तक्षक, कालीय आदि ! प्रत्येक दिन मानवले यी नागका नाम स्मरण गर्यो भने जीवनमा कहिल्यै सर्पको भय हुँदैन । सर्पहरु विषालु पनि हुन्छन् । तपस्वी ऋषिका श्रापले द्वापरयुगमा तक्षक नागले डसेर चक्रवर्ती सम्राट परिच्छितलाई देहान्त गरायो ।

हिजोआज हाम्रो मुलुकमा पनि प्राय तराई क्षेत्रमा सर्पदंश हुने गरेको देखिन्छ । कतिपय व्यक्तिले ज्यान पनि गुमाएका छन् । यसतर्फ भने हामी सतर्क रहनुपर्छ । नाग खुसी हुँदा संरक्षण दिन्छन् । रिसाउँदा घरै पल्टाउन पनि सक्छन् त्यसैले हरेक घरको जग हाल्दा घर सर्दा नागको विशेष स्थान छुट्टयाई पूजा गर्ने चलन रहेको छ ।

नागको पूजा गर्दा चामलको पिठोको मूर्तिस्वरुप नागदम्पती बनाउने, गाईको दूध, कपासको प्यूरी, तिल, लावा, चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् । नागको पूजा गर्ने चलन वैदिककालदेखि नै सुरु भएको हो ।