फरक फरक समयमा विभिन्न सभ्यताबाट प्रवेश गरी बसोबास गर्दै आएका विभिन्न जातजाति र भाषाभाषीको समष्टिगत रुप नै नेपाली समाज हो । नेपाल क्षेत्रफलको हिसाबले खासै ठूलो देश नभए पनि भौगोलिक तथा साँस्कृतिक विविधताले भरिएको पक्ष नै यसको सुन्दर पक्ष हो । तर तत्कालिन अवस्थालाई हेर्दा नेपाल बाहिर जति सुन्दर देखिन्छ तर भित्रभित्रै जर्जर, विखण्डित एवम् कुरुप भएको तथ्यलाई स्वीकार्नु पर्छ ।
अहिले विभिन्न राजनीतिक दलहरु पक्ष र विपक्ष भएर एउटा पार्टीले अर्को पार्टीलाई घोंचपेच गरी बोल्ने र सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले आफ्नो धर्म (कर्तव्य) र मर्म नबुझी कुनै पार्टीको मुखपत्र जस्तै भई दिंदा व्यक्तिको चरित्रहत्या मात्र नभई सिंगो जातजाति, धर्म, भाषा, संस्कृतिमा समेत असर पुग्न गएको छ । जस्तै : हालै मात्र सांसद नविना लामा अशुद्ध भाषा बोलेकै कारण ट्रोलको शिकार भन्न पुगिन् । यो त एउटा उदाहारण मात्र हो ।
हाम्रो समाजमा यसरी आफ्नो मातृभाषा बोल्दा व्यङ्ग्य गर्नेहरुको जमात थुप्रै भेटिन्छ । यसले गर्दा व्यक्तिगत रुपमा मात्र नभई सिंगो तामाङ जातिलाई नै असर पर्न गएको छ । नेपालमा अहिले पनि ६१ जातका आदिवासी जनजातिहरु रहेका छन् । कुनै पनि राष्ट्रमा रहेका जातजाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदायका मानिसहरुको विकासको गति एकै खालको हुँदै हरेक जातजातिको आआफ्नो भाषा रहेको हुन्छ ।
जुन जातको मानिसले सानैदेखि आफ्नो मातृभाषामा बोल्दै आएको छ, उसको भाषा आदिवासी जनजातिको भएकोले खस नेपाली भाषा (जो उसको लागि फरक हो) शुद्धसँग बोल्न नजान्दैमा उसको शैक्षिक योग्यता नपुगेको भन्न मिल्छ र ?
त्यसैले यो विषयमा न त कसैले खिसी नै गर्नुपर्छ, फरक भाषामा बोल्न नजान्दा न त ऊ अयोग्य नै मानिन्छ । फरक भाषामा बोल्ने अभ्यास गर्दै आएकोले उसले खस भाषामा बोल्न नजान्दा हिनतावोध गर्नु हुँदैन । आफ्नै भाषामा बोल्न पाउनु जसको पनि अधिकार हो ।
भाषामा अल्मलिएको संसद भवन :
हालै मात्र प्रतिनिधि सभाका सदस्य नविना लामा अशुद्ध भाषाका कारण ट्रोल बनिन् । उनले अत्यावश्यक ‘अक्सिजेनेटर’ नहुँदा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको शल्यक्रिया रोकिएपछि सरकारको ध्यानाकर्षण गराउन बोल्दा केही शब्द अशुद्ध भयो । तर संसद भवन भित्र सांसदले उठाएको गम्भीर विषयलाई भन्दा उनले बोलेको भाषाका कारण मुटुको अपरेसन गर्न भर्ना गरिएका ४५ जना विरामीलाई घर फर्काइएको विषय ओझेलमा पर्यो ।
संसद भवन भित्र सांसदले उठाइएको विषयमा ध्यान दिने होकी, उनले बोलेको भाषामा ? मानिसहरुको ध्यान लामाले बोलेको भाषामा गयो तर मुटुको शल्यक्रिया गर्न गंगालालमा भर्ना गरिएका ४५ जना विरामीलाई बिना उपचार डिस्चार्ज गरिएको गम्भीर विषयमा कसैको ध्यान तानिएन ।
भाषाकै कारण कुनैबेला कुमारी मेचे पनि ट्रोल बनेकी थिइन् । २०७६ साल भदौ ५ को प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दा मेचेले किसानले मल नपाउँदा भोग्नु परेको सास्ती बारे बोल्दा उनले माइक समाएर फुकेको र त्यसपछि विषय उठाउँदा उनको वाक्य गठन र वर्ण विन्यास लर्बरिएको थियो । उनले त्यतिखेर कृषि र किसानहरुको बारेमा कुरा उठाएकी थिइन् ।
कर्णाली प्रदेशमा मुगुकी सांसद झोवा विकले बोल्दा बैठकमा रहेका सांसदहरु हाँसेको भिडियो पनि भाइरल भएको थियो । २०७७ सालको नीति तथा कार्यक्रममा आफ्नो भनाई राख्दा उनलाई ट्रोल बनाइयो । आदिवासी जनजाति सांसदहरुले विषयवस्तु उठाउँदा भाषामा भन्दा पनि विषयवस्तु तिर ध्यान दिनुपर्दछ । अरुले बोल्दा भाषामा आउने समस्यालाई हेरेर विषयकै खिल्ली उडाउनु भन्दा सबै यो समस्याको समाधान गर्नतिर लागे राम्रो हुन्थ्यो ।
रह्यो कुरो राजनीतिमा आफ्नो राजनैतिक एजेण्डा र काम गराईमा सांसद लामा कस्ती छिन् भन्ने ? त्यो त उनको क्षेत्रका नागरिकलाई नै बढी थाहा होला । नेपाल भाषा र संस्कृतिको संगठन स्थल हो । गर्व त्यसैमा गर्नु पर्दछ । किन कि हामी सबैको छुट्टै जात, भाषा र पहिचान छ । अर्को समुदायको भाषा अशुद्ध बोल्दैमा कोही नजान्ने र कमजोर हुने होइन । आफ्नो मातृभाषा उच्चारण गर्न बानी परेकाहरुले अर्को भाषा बोल्न नजान्दैमा शैक्षिक योग्यतामा कमजोर भएको मानिंदैन ।
त्यसैले नविना लामा एउटी आदिवासी जनजातिको छोरी हुन् । उनले आफ्नो भातृभाषा बोल्दा हिनताबोध गर्नुपर्ने अवस्था छैन । राष्ट्रिय भाषा मानिएको खस भाषा बोल्दा कसैले आफूलाई ठुलो ठान्नु पनि हुँदैन । यो घटनापछि नविनाहरुले अबदेखि संसदमा बोल्दा खस भाषामा बोल्न समस्या भएका खण्डमा हरेक आदिवासी जनजातिले आफ्नो भाषामा बोल्न पाउनु पर्ने र बोलेको भाषालाई अरु भाषाका सांसदहरुले पनि बुझ्नका लागि अनुवादकहरुको व्यवस्था गराउन आवाज उठाउनु पर्दछ ।
र सबै आदिवासी जनजातिले आफ्नो भाषामा मज्जाले मातृभाषा बोल्न पाउने व्यवस्थाको निम्ति पहल गर्नु पर्दछ । संसद भवन भित्रका सांसदहरु र मिडियाकर्मीहरु अशुद्ध भाषा बोल्न बाध्य भएका सांसदको भाषाको पछि लागेर उनीहरुले उठाउन खोजेको विषयवस्तु उठानमा ध्यान दिइएन भने पीडितहरुको पीडा कस्ले सुनिदिने ?
त्यसकारण समग्रमा भन्नुपर्दा नेपाल एउटा साझा फूलबारी हो । यहाँ सबै थरीका फूलहरु छन् । यसको संरक्षण र प्रर्वद्धन गर्न राज्यले जिम्मा लिनुपर्छ । आज आफ्नै देशको भाषालाई बेवास्ता गर्दै अन्य देशबाट आएका आयतीत भाषाहरुमा बढी जोड दिंदै गइरहको अवस्था छ ।
जसले गर्दा हाम्रो देशमा बसोबास गर्ने नेपालीहरुले बोल्ने आफ्नै मौलिक भाषाहरु लोप हुँदै गइरहेका छन् । यसलाई हल गर्ने, अर्को समुदायको भाषा जबरजस्ती बोल्नुपर्ने र बोल्न नजानेमा मजाकको विषय बनाइएको विषयतर्फ राज्यको तत्काल ध्यान जान आवश्यक छ ।