काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेलगत्तै बुधवार चलचित्र विकास बोर्डमा पदभार ग्रहण गर्दै केसीले आफूलाई असफल हुन छुट नभएको दाबी गरेका छन् ।
बुधबार बिहान स्वस्तिक वाचन गर्दै वास्तुअनुसार पदभार ग्रहण गरेका केसीले उक्त कुरा प्रतिबद्धताका रूपमा व्यक्त गरेका हुन् । कार्यालयका कर्मचारीले फूल, माला र खादा लगाएर स्वागत गरेलगत्तै अभिनेता केसीले प्रफुल्ल मुद्रामा उक्त प्रतिबद्धता जाहेर गरेका थिए।
पदभार ग्रहण गर्ने सिलसिलामा नवनियुक्त अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै आफ्नो जन्म नै कलाकार हुन भएको स्वीकारोक्तिसहित कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको कुरामा जोड दिए ।
मन्तव्यका क्रममा केसीले आफू १० वर्षको उमेरदेखि नै कला क्षेत्रमा लागेको स्मरण गर्दै चलचित्र क्षेत्रमा ४० वर्ष व्यतित गरेको बताएका थिए । यस हिसाबले पनि आफूलाई असफल हुने छुट नरहेको उनको जोड छ।