• मंसिर ११ २०८१, मंगलवार

किन बसे अर्जुनको रथमा हनुमान ?

श्रावण १० २०७९, मंगलवार

अन्जनेय नन्दन श्री बजरङ्गबली पवन पुत्र हनुमानको विषयमा गोस्वामी श्री तुलसीदासले हनुमान चालीसामा ‘चारो जुग परताप तुम्हारा’ भनी प्रशंसा गर्नु भएको पाइन्छ ।

यसै विषयमा विचार गरी हेरौं कि हनुमान सत्य, त्रेता, द्वापर र कली युगमा कहाँ कहाँ कहिले कहिले कुन कुन स्वरूपमा अवतरित हुनु भएको थियो ?

अन्जनी गर्भ सम्भूतो वायु पुत्रो महाबल ।
कुमारो वृहमाचरिश्य हनुमन्ताय नमो नमः ।।

सत्ययुगमा हनुमान प्रसँग :

 

सर्व प्रथम सत्ययुगको चर्चा गरौं । यस युगमा पवनपुत्र हनुमान भगवान शंकरको स्वरूपमा अवस्थित रहनु भएको थियो ।

त्यसैले त हनुमानलाई रूद्रावतार शिव स्वरूप भनिएको हो । गोस्वामी श्री तुलसीदासले हनुमान चालीसामा नै ‘शंकर सुवन केसरी नन्दन’ भनी संबोधन गर्नु भएको छ ।

यतिमात्र होइन, जब जब भगवान शंकरले पार्वतीलाई रामको कथा सुनाउनु हुन्थ्यो, तब तब हनुमानको चरित्रको प्रसंग आउँदा भोलेनाथ शंकर स्वयं सावधान भई मनलाई पनि सम्मोहित गरेर हनुमानको चरित्र सुनाउनु हुन्थ्यो । त्यसको एक झलक यस्तो पाइन्छ :

सावधाना पुनि मनकर शंकर ।
लागे कहन कथा अति सुन्दर ।।

यस चौथाइको यो प्रसंग लंका दहनको हो । लंका दहन गरी सकेपछि हनुमानले प्रभू श्री राधवेन्द्रको चरण वन्दना गर्नु हुन्छ ।
प्रभूले हनुमानलाई हृदयमा लगाउनु हुन्छ । तब शंकर भोलेनाथ कति प्रसन्न हुनु हुन्छ त्यसको एक झलक यस चौथाइमा देखिन्छ ।

त्रेतामा हनुमान प्रसँग :

ऋष्यमूक पर्वतको मैदानमा पहिलो पटक राम र लक्ष्मणसँग हनुमानको भेट हुन्छ ।
प्रभू रामले आफ्नो परिचय दिने बित्तिकै हनुमान जब प्रभु रामको पावन पाउमा पर्नु हुन्छ, तब भोलेनाथ शंकरले गिरिजालाई बताइहाल्नु हुन्छ कि :

प्रभू पहिचान गहेउ पहि चरना ।
से सुख उभा जाहिं नहिं वरना ।।

यस प्रकार आफ्नो स्वरूपको वर्णन भोलेनाथ शंकरले पार्वतीसँग गर्नु हुन्छ । अतः यो प्रमाणित हुन्छ कि श्री हनुमान सत्ययुगमा शिव रूपमा रहनु हुन्छ ।

त्रेतायुगमा त पवन पुत्र हनुमान श्री रामको छाया झैं बन्नु हुन्छ । उहाँ विना रामायणको सम्पूर्ण चरित्र नै पूर्ण हुँदैन ।

श्री राम, भरत, सीता, सुग्रीव, विभीषण आदि र सम्पूर्ण कपिमण्डल कोही पनि हनुमानको ऋणबाट मुक्त हुन सक्दैन । यस प्रकार त्रेता युगमा त हुनुमान साक्षात रूपमा रहनु भएको थियो ।

द्वापरमा हनुमान प्रसँग :

 

द्वापर युगमा हुनमान अर्जुनको रथमा विराजमान रहनु भएको थियो । यस सम्बन्धमा एक रोचक एवं रमाइलो प्रसंग रहेको छ । एक पटक कुनै तीर्थाटन अर्थात यात्रामा अकस्मात अर्जुनको भेट हनुमानसँग हुन पुग्छ ।

भनिन्छ कि भक्तजनहरूमा एक भक्तको भेट जब अर्को भक्तसँग हुन्छ तब त्यहाँ निश्चय नै भागवत चर्चा प्रारम्भ भै हाल्छ ।

त्यसैबेला हनुमानसँग अर्जुनबाट सोधनी भयो– ‘राम र रावणको युद्धको समयमा त तपाईं हुनुहुन्थ्यो नि …?’ तब हुनमानले जवाफमा भन्नु भयो– ‘म त्यतिबेला केवल उपस्थित मात्र थिएन, युद्ध पनि गरिरहेको थिएँ ।’

तब अर्जुनले भन्नुभयो, ‘तपाईंको स्वामी मर्यादा पुरूषोत्तम श्रीराम श्रेष्ठ धनुषधारी हुनु हुन्थ्यो, फेरि उहाँलाई समुद्र पार जानलाई ढुंगाको पुल बनाउन किन आवश्यकता प¥यो ? यदि म त्यहाँ भैदिएको भए समुद्रमा वाणको पुल बनाउँथें, जसबाट तपाईंका पूरा बानर सेना पार गर्थे ।’

हनुमानले भन्नुभयो, असंभव ! ‘वाणको पुल त्यहाँ कुनै काम लाग्दैनथ्यो, हाम्रा यदि एकजना मात्र बाँनर चढ्दा वाणको पुल छिन्न भिन्न हुन जान्थ्यो ।’

अर्जुनले भन्नुभयो, ‘होइन, हेर्नुस् यो अगाडि सरोवर छ, म त्यस सरोवरमा वाणको पुल बनाइदिन्छु, तपाईं त्यसमा चढेर सरोवर पार गर्न सक्नु हुनेछ । यदि तपाईं हिँडेर पुल भाँचिएमा म अग्निमा प्रवेश गर्नेछु । यदि पुल भाँचिएन भने तपाईं अग्निमा प्रवशेश गर्नुपर्ने छ ?’

हनुमानले पनि अर्जुनको यो सर्त स्वीकार गर्नु भयो । तब अर्जुनले आफ्नो प्रचण्ड वाणद्वारा पुल तयार गरिदिनु भयो । जबसम्म पुल बनेर तयार भएको थिएन, तब सम्म त हनुमान आफ्नो लघु रूपमा सानो रूपमा रहे ।

तर पुल बनिसकेपछि हनुमानले आफ्नो रूप पनि त्यसै समयका जस्तै बनाई दिए । अर्थात ठूलो बनाइदिए । जसरी तुलसीदासजीले राम चरित मानसमा वर्णन गर्नु भएको छ– ‘कनक भूदराकार शरीर । समय भयंकर अति बल वीरा ।।’

श्री रामको स्मरण गर्दै हनुमानले त्यस वाणको पुलमा चढेर पहिलो कदम राख्ने वित्तिकै पुल साराका सारा डगमगाउन थाल्यो, दोस्रो पाउ राख्ने वित्तिकै पुल चरमरायो तर पुल भाँचिएन तर तेस्रो पाउ राख्ने वित्तिकै पूरा पुल ध्वस्त भएर सरोवरमैं डुब्यो ।

तब हनुमान नजिकै अर्जुनसँग भने कि अग्नि तयार पार । अग्नि प्रज्वलित पारियो, जसै अर्जुन अग्निमा होमिनका लागि हाम फाल्न तयार भए, त्यहाँ लीला पुरूषोत्तम श्री कृष्ण प्रकट हुनु भयो र भन्नु भयो– ‘पख, पख … !’

तब अर्जुन र हनुमानले श्री कृष्णलाई प्रणाम गरे । श्री कृष्णले सोध्नु भयो–‘यहाँ कुन कुरामा विवाद भएको हो ?’ तब अर्जुनले सारा वृतान्त बताउँदै भन्नु भयो– ‘यो सबै मेरै इच्छाले भएको हो ।’

यति कुरा श्री कृष्णलाई बताइसकेपछि अर्जुनले क्षमा माग्दै भन्नु भयो– ‘म त ठूलै अपराधी भएँ, प्रभू ! मेरो यो अपराध कसरी हटाउँ ?’ तब दयालु श्री कृष्णले यो सबै मेरै इच्छाबाट भएको हो मन खिन्न नपार्नु ।

मेरो आज्ञा छ कि हनुमानले अर्जुनको रथ र ध्वजामा स्थान ग्रहण गर्नुहोस् । यसैले द्वापर युगमा हनुमान अर्जुनको रथको ध्वजामा रहनु भएको थियो । यो त भयो द्वापरको प्रसंग ।

कलीयुगमा हनुमान प्रसँग :

यत्रयत्र रघुनाथ कीर्तन तत्र कृत मस्तकान्जलिम् ।
वाष्य वरि परिपूर्ण लोचन मारूति नमत राक्षसान्तकम् ।।

कलियुगमा जहाँजहाँ भगवान श्री रामको कथा कीर्तन हुन्छ, त्यहाँ त्यहाँ हनुमान गुप्त रूपमा विराजमान रहनु हुन्छ । हनुमान कलियुगमा गन्धमादन पर्वतमा निवास गर्नु हुन्छ । यो कुरा श्रीमद्भागवद्मा वर्णन गरिएको छ ।