काठमाडौं । विश्वव्यापी रुपमा बढ्दै गइरहेको तापक्रमलाई सन्तुलनमा राख्ने उद्धेश्यले आज काठमाडौंमा एक कार्यक्रमका बीच वृक्षारोपण गरिएको छ ।
लायन्स क्लब ई.३२५जे अन्तरगत काठमाडौंका क्लवहरुको सहभागितामा बालाजु–विष्णुमति करिडोरको करिव एक किलोमिटर क्षेत्रमा वृक्षारोपण गरिएको डिबी आलेले जानकारी दिए ।
लायन्स र लियो समूहका गरि करिव २५० जनाको सहभागितामा तयार पारिएका खाल्डाहरु र ह्युमपाइपमा तयार पारिएका स्थानमा गरि करिव २२० वटा विरुवा रोपिएको छ ।
वृक्षारोपण कार्यक्रमको समन्वयात्मक भूमिकामा रहेका हरी फुयाँलका अनुसार अघिल्लो वर्ष कलंकीमा लगाइएका विरुवा हुर्किरहेका र आगामी वर्ष पनि काठमाडौं र ललितपुरको सिमानामा अवस्थित युन पार्कमा पनि यसैगरि वृक्षारोपण कार्यक्रम गरिनेछ ।
वृक्षारोपण पछि आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालयका प्रमुख बद्रिकुमार कार्कीले तापक्रम बढेर वातावरण असन्तुलन भइरहेका बेला गरिएको यस्तो खाले वृक्षारोपणले वातावरण सन्तुलनमा निकै महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।
साथै उनले विरुवा रोप्ने कार्यलाई सबै मिलेर निरन्तरता दिनुपर्नेमा पनि जोड दिए । कार्यक्रमको संयोजन शिवराम फुयाँलले गरेका थिए भने कार्यक्रमको सहसंयोजन बीना श्रेष्ठले गरेकी थिइन् ।
आज संसार भर पृथ्वीको अत्यधिक दोहनका कारण वातावरण असन्तुलित हुन गई केही स्थानमा खडेरी पर्ने, कतै अति वर्षा हुने तथा कतै अत्यधिक खडेरी भई मानिस तथा जीवजन्तुहरुको मृत्यु समेत हुने घटनाहरु भइरहेका छन् ।
वातावरण संरक्षणका लागि अति विकसित भनिएका देशहरुले पहल गर्नु पर्ने माग आज संसारभर उठिरहेका छन् । विकासका नाममा हुने अत्यधिक शहरीकरणका कारण पृथ्वी तात्दै गइ वातावरणमा खराव असर देखा पर्न थालेकाले त्यस्ता कृयापलापहरु कम गर्ने काममा विकसित देशहरुले पहल लिनु पर्ने भएको हो ।