• आश्विन १४ २०८१, सोमबार

काठमाडौंमा बस्ने मगर समुदायले यसरी मनाए साउने सङ्क्रान्ति (तस्वीर सहित)

श्रावण २ २०७९, सोमबार

काठमाडौं । मगर समुदायले लामो समयदेखि मनाउँदै आएको साउने सङ्क्रान्ति पर्व यसपाली काठमाडौंमा पनि मनाइएको छ । रुकुम, रोल्पा, सल्यान, म्याग्दी, बागलुङ, पर्वत लगायतका मगर बाहुल्य जिल्लाहरुमा पनि यो पर्व प्रत्यक वर्ष विशेषरुपमा मनाइँदै आइएको छ । मिठा मिठा खाने कुरा बनाएर सामुहिकरुपमा खानु, नाचगान गर्नु, लुतो फाल्नु यो पर्वका विशेषताहरु हुन् ।

यता रोजगारी तथा विभिन्न पेशाका लागि देशभरबाट काठमाडौं आएका मगर समुदायका मानिसहरुले काठमाडौंको थानकोटमा रहेको त्रिभुवन पार्कमा जम्मा भएर यसपालीको साउने सङ्क्रान्ति (सकराई, उधेली पर्व) २०७९ भव्यरुपमा मनाएका छन् ।

मगर समुदायको परम्परागत संस्कृति र चाड पर्वहरुको जर्गेना गर्ने उद्देश्यका साथ यो पर्व प्रत्येक वर्ष मनाउने गरिन्छ । खासगरी मगरबस्तीहरुमा साउने सकराई पर्व विशेष तरिकाले मनाइन्छ । थानकोटमा एक कार्यक्रमका बिच मनाइएको कार्यक्रमको उद्घाटन गरियो । आजकै दिन मगर समुदायको साँस्कृतिक बाजा मादल विधिवत रुपमा फुकाएको छ ।

साउने सकराईको दिन फुकाइएको बाजा पुष महिनाको मसान्तसम्म मात्र बजाइनेछ वा चलाइनेछ । साउने सकराईको दिनदेखि मादल बाजा फुकाउने वा बजाउन सुरु हुने र नयाँ नाच पैंस्यारु (सिङ्गारु) सरङ्या नाचको आरम्भ गर्ने चलन रहेको छ । पुष मसान्तको ठिक अर्को दिन माघे सकराईको दिन बेहुलीको पुत्ला-गुडिया बनाई जलाएर मादल बाजा बन्द गरिनुका साथै पैंसेरु, मपुरु, सरङ्या र अन्य मगर नृत्यहरुलाई यथावत राखिने मगर संस्कृतविद बमकुमारी बुढामगरले जानकारी दिइन् ।

साउने सकराई-उधेली पर्व कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वसभामुख ओनसरी घर्तीमगरले गरिन् । विगत दुई वर्षहरुमा कोरोनाको कहरले यो पर्वलाई निरन्तरता दिन पाइएको थिइन् । यस वर्ष भने यो पर्व मनाउन पाउँदा खुसी लागेको एकजना सहभागीले बताए ।

प्रमुख अतिथि घर्तीमगरले मगर समाजमा रहेको भाषा, धर्म, कला, संस्कृति, भेषभूषा संरक्षणका संरक्षक बमकुमारी बुढामगरको योगदान निकै महत्वपूर्ण रहेको भन्दै योगदानको प्रशंसा गरिन् । पूर्वसभामुख घर्तीमगरले लुतो फाल्ने पर्वले छाला सम्बन्धी रोगका साथै कोरानाका नयाँ प्रजातिहरु पनि सधैं भरिका लागि हट्ने विश्वास गरिन् ।

उनले आगामी दिनहरुमा पनि यसरी नै आफ्ना मौलिक कला, संस्कृति तथा परम्परालाई जगेर्ना गर्दै मनाउन पाउने आशा राखिन् । मगर समुदायका अगुवाहरुले आफूहरुलाई प्रकृतिपूजक बताउँदै आएका छन् । उनीहरुले जल, हावा, धर्ती, आगो जस्ता प्राकृतिक चीजसँग खेल्दै, रमाउँदै र यस्तै चीजहरुबाट उत्पादन भएका खाद्य वस्तुहरु खाने गरेकैले आफ्नो समुदाय प्रकृतिपूजक भएको उनीहरुको तर्क रहेको छ । मगर समुदायका मानिसहरु कुनै अलौकिक भगवानलाई नभई प्रकृतिलाई पूजा गर्ने र यिनको संरक्षण गर्ने गर्दै आएका छन् ।

अठार मगरात मगर प्रतिस्थान लगायत विभिन्न ११ वटा सहआयोजक संस्थाहरुद्वारा यसपालीको साउने सकराई पर्वको आयोजना गरिएको हो । सहआयोजक संस्थाहरुमा अथार मगरात कलाकार संघ, तकसेरा समाज, लुगुम्याल समाज, प्रकृतिपूजक मगर समाज काठमाडौं, भुमे समाज काठमाडौं, कोराल समाज काठमाडौं, नेपाल मगर संघ अर्घाखाँची–काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ रोल्पा–काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ बाग्लुङ, रोल्पा थबाङ्गी समाज काठमाडौं, लुगुम्याल माइती–चेली आमा समूह काठमाडौं लगायत रहेका छन् ।

उक्त कार्यक्रमको अध्यक्षता अथार मगरात मगर प्रतिष्ठानका अध्यक्ष झविन्द्र पुनमगरले गरेका थिए । कार्यक्रमका विशेष अतिथिद्वय संस्थापक अध्यक्ष तथा संरक्षक बमकुमारी बुढामगर र नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पनि साउने सकराईको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्वक्याप्टेन मानबहादुर बुढामगर पनि शुभकामना मन्तव्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव लालकुमारी रोकामगर र सचिव चिरण बाँठामगरले गरेका थिए । साथै साँस्कृतिक कार्यक्रमको सञ्चालन नन्द घर्तीमगरले गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा संरक्षक बमकुमारी बुढामगरले साउने सकराई पर्व सरकार–माओवादी बिच चलेको युद्धका कारण घोषणा गरिएको संकटकालदेखि नै काठमाडौंमा पनि मनाउँदै आएको कुरा जानकारी दिइन् । मन्तव्यका क्रममा उनले ‘मादल घन्क्यो पैजन झम्क्यो’ नामक नेपालको पश्चिमेली भागमा गाइने पुख्र्यौली गीतको टुक्का पनि गुनगुनाएकी थिइन् ।

उनले साउने सकराईको विशेष ‘माहोर टिका’ लगाउने चलनलाई सामाजिक सञ्जाल फेसबुक र टिकटकमा हेर्न चाहेको इच्छा व्यक्त गरिन् । ‘माहोर टिका’ विशेषरी घरेलु समाग्रीको प्रयोग गरी सात रंगको बनाइने साँस्कृतिक रंग हो, जसलाई यस पर्वमा विशेष रुपमा हेरिने गरिन्छ ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा नेपाल मगर संघका केन्द्रीय समितिका अध्ययक्ष ज्ञानेन्द्र पुनमगरले प्रकृतिप्रेमी र विश्वका आदिवासी जनजाति समुदाय मध्येको एक मगर समुदायको विशेष साँस्कृतिक पर्व साउने सकराई-उधेली पर्व भएको बताए ।

उनले साउने सकराईमा गरिने पितृपूजाले पनि खेती किसानीको क्षेत्रमा सफलता हासिल गर्नका लागि विशेष भूमिका खेल्ने जनविश्वास रहेको बताए ।
उनले पूर्वदेखि पश्चिमसम्मका मगर समुदायले आपसी माया र खुशीका साथै मौलिक खानाका परिकार एक आपसमा साटासाट गरि खाइने र शुभकामना प्रदान गरिने बताए । उनले यो पर्वले आपसमा जमघट हुने सुनौलो अवसर प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा वक्ताहरुद्वारा मगर समुदायका मानिसहरुमा पहिचानका केहि विविधता भएता पनि एउटै मनोविज्ञान रहेकाले एक्यवद्धता कायम गरी मगर संस्कृतिलाई जीवन्त राख्न सम्पूर्ण मगरमा अनुरोध गरियो ।

यो अवसरमा उपस्थित सम्पूर्ण मगरहरुको सु–स्वास्थ्य र दिर्घायू जीवनको पनि कामना गरियो । त्यसैगरी कार्यक्रममा सहभागी अतिथिहरुले पनि सबैमा साउने सकराईको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको निमन्त्रणा स्वीकार गरि उपराष्ट्रिपति नन्दबहादुर पुनकी जीवन संगिनी हस्तमाला पुनमगर, अथार मगरात संस्थापक सदस्य झकेन्द्र घर्तीमगर, अथार मगरातका भाषिक उपाध्ययक्ष तथा नेपाल मगर संघका केन्द्रीय समिति सदस्य जीवन रोकामगर र नेपाल मगर संघका केन्द्रीय समितिका महासचिव टेक लाम्जालीमगर लगायतका पाहुनाहरु पनि उपस्थिति थिए ।

साथै कार्यक्रममा सल्लाहकार पाहुना मानबहादुर बुढामगरको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभाका पूर्वसभामुख ओनसरी घर्तीमगरले भातृ संस्थाका नवनियुक्त पदाधिकारीहरुलाई सम्मान गरिन् । सम्मान पाउने पदाधिकारीको नामावली तालिका यसप्रकार रहेको छ ।

नेपाल मगर संघ समन्वय केन्द्रीय समितिका अध्ययक्ष होमराज खपाङ्गीमगर, नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्ययक्ष हिरुसरा रानामगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका अध्यक्ष, नेपाल मगर युवा संघ केन्द्रीय समितिका अध्ययक्ष तथा प्रतिनिधि, नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिका अध्ययक्ष दिपसागर थापामगर, नेपाल मगर भूतपूर्व प्रहरी÷सैनिक संघका अध्ययक्ष होमबहादुर थापामगर, नेपाल मगर संघ जिल्ला समिति सिन्धुपाल्चोक सम्पर्क समितिका अध्ययक्ष झलक थापामगर, नेपाल मगर संघ जिल्ला समिति ओखल्ढुङ्गा सम्पर्क समितिका अध्ययक्ष रोशन पुलामीमगर, मगर उत्थान समाज गोंगबुका अध्ययक्ष चन्द्रबहादुर थापामगर, समाजसेवी तथा मगर खेलकुद विकासका अध्ययक्ष जूनु पुनमगर, जलजला सेवा काठमाडाँैैका अध्ययक्ष, नेपाल मगर खेलकुद संघका अध्ययक्ष ।

उक्त कार्यक्रममा संस्थाको हकहितमा लामो समय काम गरेका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

रोटी–अचार प्रतियोगिता :

त्यसैगरी सो अवसरमा भएको रोटी–अचार प्रतियोगितामा पार्वती बुढामगरले प्रथम स्थान हात पार्न सफल भइन् । प्रतियोगितामा बुढामगरले ८५ अंक प्राप्त गरेकी थिइन् भने दोस्रो स्थानमा मनमाया घर्तीमगर र तेस्रो स्थान त्रिपना मगरले हात पारेका थिए । उनीहरुलाई सो अवसरमा सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा मौलिक पर्व राके सकरातीमा लुतो फाल्ने गरिन्छ, आगो पूजा, पानी पूजा, भूमी पूजा गर्ने र दमाहा बाजा बन्द गर्ने गरिन्छ भने सोही दिनदेखि मादल बाजा फुकाउने र नयाँ नाच पैंस्यारु, सिङ्गारु र सरङ्या नाचको आरम्भ गर्ने चलन रहेको छ ।

सोही अवसरमा कार्यक्रममा मगर समुदायको मौलिक नाच सरङ्या, पैंस्यारु, भुम्या, जोरा नाच, रोटी अचार प्रतियोगिता, लोकदोहोरी, लुतो फाल्ने लगायतको कार्यक्रम सम्पन्न गरिएको छ ।
साथै अठार मगरात साँस्कृतिक संघका कलाकारहरुले आफ्नो कलाहरु पनि प्रस्तुत गरेका थिए ।
साउन १ गते असारे वर्षात् र हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल र नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने जनविश्वास रहिआएको छ । यसरी मगर समुदायका मानिसहरुले यसपालीको साउने सङ्क्रान्ति मनाएका छन् ।
तस्वीर : ठगेन्द्र बुढामगर, रोमन बुढामगर ।