• मंसिर ११ २०८१, मंगलवार

प्याराग्लाइडिङ विस्थापन कि व्यवस्थापन !

असार ३२ २०७९, शनिबार

काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सकिइसक्दा त्यहाँ २५ वर्षदेखि निरन्तर सञ्चालनमा आएको प्याराग्लाइडिङ व्यवसाय बिस्थापन गर्ने कि व्यवस्थापन गर्ने भन्ने प्रश्नले गम्भीर परिस्थिति सिर्जना गरेको छ ।

यो प्रश्न सिङ्गो पोखरेली पर्यटन व्यवसाय, त्यहाँको आथिर्क उन्नति र रोजगारीसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । यो प्रश्न सिंगो पोखरेली जनताको भाग्य, भविष्य र विकास निर्माणसँग जोडिन आइपुगेको छ ।

सराङकोट प्याराग्लाइडिङ :

विगत २५ वर्षदेखि पोखरेली ब्राण्डका रूपमा स्थापित प्याराग्लाइडिङ अब बिस्थापनको अवस्थामा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सराङकोटबाट प्यारा ग्लाइडिङ हटाउन निर्देशन दिइसकेको छ ।

यसले पोखरेली व्यवसायी तथा स्थानीय जनताका माझमा अन्यौला सिर्जना गरिदिएको छ । विगत २५ वर्षदेखि सञ्चालित रमणीय उडान अब पोखरेली पर्यटन विस्मृतिको गर्भमा धकेलिँदै छ ।

प्याराग्लाइडिङ मार्फत् सुन्दर फेवातालमाथि आकाशमा कावा खाँदै उड्ने दिनको अन्त्य हुँदै छ । प्याराग्लाइडिङबाट आकाशमा उडिरहँदा माछापुछ्रेको लोभलाग्दो दृश्य चुमुचुमु लाग्ने रहर अब रहरका रूपमा सदाका लागि अन्त्य हुन जाँदै छ ।

पोखराको आफ्नै विशिष्ट अनुभूतिका रूपमा ग्रहण गरिने प्याराग्लाइडिङ उडानको रमणीय सादृशता अबका दिनमा विदेशी पर्यटकका लागि तस्वीरमा मात्र कैद भएर रहने छ ।

पोखरेली पर्यटकीय विशिष्टता :

पोखरा आफैमा पर्यटकीय नगरी हो । यस नगरीको पछिल्लो परिचयका रूपमा प्याराग्लाइडिङ एक अभिन्न विशिष्टता बनेर आएको थियो । सानो, साँगुरो तथा सुन्दर उपत्यका प्याराग्लाइडिङका कारण रङ्गीन र आकर्षक बन्दै आएको थियो ।

फेवातालसहितका अन्य तालतलैया, पोखराको लज्जावती सेती नदी, पाताले छाँगो, चमेरे गुफा तथा साना नदीनाला र थुम्काहरू यसका प्राकृतिक तथा भौगोलिक विशिष्टता हुन्, माछापुछ्रे हिमाल त यसको सौन्दर्यको माथका रूपमा रहेको छ ।

यस्तो सुन्दरी अप्सराझैं काउकुती लाग्दो अवस्थामा रहेको प्याराग्लाइडिङसहितको आकर्षक पर्यटकीय नगरी पोखराले अब प्याराग्लाइडिङ हटाएपछिका दिनमा आफ्नो करिस्मामयी आकर्षणलाई निरन्तरता संभव होला ? यसको अनुभूति आगामी दिनमा अझै खट्किने छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल :

अनुपम भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक संगतिपूर्ण प्रवाहका रूपमा आफ्नै विशिष्टतामा फक्रदै र परिपक्वता हासिल गर्दै गएको पर्यटकीय नगरी पोखरामा अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

यो खुशीको कुरा पनि हो । तर यसले पोखरेली पर्यटकीय विशिष्टतामा एक नयाँ मोड पनि एकसाथ ल्याएको छ । त्यो हो, प्याराग्लाइडिङ र अन्तर्राष्ट्रिय हवाइ उडान एकसाथ सञ्चालन गर्न सकिने भएनन् । एकले अर्कालाई विपस्थापन गर्न पुग्ने भए ।

परिणामतः पोखरेली ब्राण्डका रूपमा स्थापित सराङकोटस्थित प्यारा ग्लाइडिङ अब अन्तर्राष्ट्रिय हवाइ उडानमा पर्न जाने व्यवधानका कारण हटाइने निस्चित भइसकेको छ । यसले प्याराग्लाइडिङ विस्थापन कि व्यवस्थापन भन्ने जटिल प्रश्न उठाइदिएको छ ।

अन्य सौन्दर्य पनि हट्दै :

प्याराग्लाइडिङ हटेसँगै पोखरेली आकाशमा चम्किइरहेका अल्ट्रालाइट पनि पोखराका आकाशमा देखिने छैनन् । ती पनि प्यारा ग्लाइडिङसँगै सती जाने छन् । प्याराग्लाइडिङ विस्थापन होइन, व्यवस्थापन गरौं भन्ने पोखरेलीहरूको आशय छ ।

त्यसैले पनि पोखरा उपत्यकाभित्रै प्याराग्लाइडिङका लागि उपयुक्त ठाउँहरूको खोजी भइरहेको छ । संभावित ठाउँहरुमा डिकीडाँडा, लाचोक, घाचोक र भेंडाबारीमाथि व्यवसायीका वैकल्पिक नजर पनि परिरहेका छन् ।

संभाव्यताको अध्ययन अघि बढिरहेको पनि छ । यदि त्यो संभावनााको अवसर पोखरा उपत्यकाले उपलब्ध गराउन सकेन भने प्याराग्लाइडिङ पोखरा बाहिर जाने निस्चित छ । यसका लागि पोखरा नजिक रहेका तनहुँको बनदीपुर र स्याङ्जाको स्वरेकमा संभाव्यता अध्ययनको खोजी भइरहेको छ ।

तर पनि विदेशी तथा स्वदेशी पर्यटकका लागि पोखरा आउने जाने तथा प्याराग्लाइडिङका लागि पोखरा बाहिर जाने र आउने समय अनि पैसा आजको आजको मितव्ययिताले धान्ला ?

लगानी र रोजगारीको प्रश्न ? :

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा पोखराबाट प्याराग्लाइडिङसहितको करीब डेढ अर्ब रूपैयाँ लगानीको व्यवसाय विस्थापित हुन जाने छ । पोखराको आकाशबाटै टाढा रहने गरी प्याराग्लाइडिङको व्यवस्थापन गरिने भनिएकाले पोखरेली जनतामा निराशा छाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलले ल्याएको उत्साह प्याराग्लाइडिङ विस्थापनले चिन्तामा परिणत गरिदिएको छ । यसभन्दा अघि परापूर्व कालदेखि चलिआएको पोखरालाई विश्वमा चिनाउने पदमार्ग मोटरेबल रोडले विस्थापित गरिदिएको थियो । यो अहिले विस्मृतिको गर्भमा पुगिसकेको छ ।

रोजगारीमा समस्या :

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु हुन थालेको हो । यसले सन् २००० देखि व्यावसायिक सेवा दिन थालेको हो ।
पोखरा प्याराग्लाइडिङमा हाल ६० कम्पनी कार्यरत छन् । यी सबैको डेढ अर्ब रूपैयाँ लगानीमा छ ।

अहिले दुई हजार मानिसले त्यहाँ रोजगारी पाएका छन् । हाल व्यवसायसँग सम्बद्ध ३७५ जना पाइलट छन् । प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीनवटा, अल्ट्रालाइट कम्पनी चारवटा र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।

विशिष्टतामा बनेन विकासे सोच :

पोखराको भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक अनि मनोवैज्ञानिक विशिष्टताका आधारमा विकास निर्माण र समृद्धिका नीति तथा योजनाहरू बन्न सकेनन् । यसले पोखरामा उल्झनहरू पैदा गरिराख्ने वातावरण निर्माण गरेको छ ।

पुराना पदमार्गहरु मोटरेबल रोडहरूले सिध्याए जसरी अहिले अन्तर्राष्ट्रिय विमानस्थलले प्याराग्लाइडिङ व्यवसाय हटाउने भएको छ । तथापि प्याराग्लाइडिङको विस्थापन होइन, व्यवस्थापनको खोजी भइरहेको प्रति आशावादी भने हुनै पर्छ । यसको विकल्प पनि छैन ।