हामी जीवनभरि गुरुको खोजी गर्छौं तर गुरु भने पाएका हुन्नौं र त जीवन सधैँ उराठ लाग्दो बन्छ । पूर्वीय दर्शनमा व्यासजयन्ती एवम् गुरुपूर्णिमाको विशेष महत्व छ तर हामी गुरुलाई वर्षभरिमा एक दिन मात्र सम्झन्छौँ । गुरुस्मरण, गुरुचिन्तन, गुरुपरम्पराको दिन आषाढ शुक्ल पूर्णिमालाई व्यासजयन्ती एवम् गुरुपूर्णिमाका रुपमा मनाउने हाम्रो परम्परा आदिमकालदेखि नै सुरु भएको हो ।
अज्ञानतालाई हटाई ज्ञानको द्वीप प्रज्वलन गर्ने गुरुलाई सद्गुरुको रुपमा हेर्ने हाम्रो चलन रहेको छ । गुरुलाई सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवका रुपमा पनि प्रार्थना गरिन्छ । गु अक्षरले अन्धकार र रु अक्षरले उज्यालोतिर भन्ने बुझिन्छ ।
गुरुबिना ज्ञान संभव छैन । भक्तिको उदय, ज्ञान र विज्ञानको प्रयोग, सदुपयोग समेतका लागि गुरु पथप्रदर्शक हुन् । मानवको पहिलो गुरु आफ्नै आमा हुन् । कर्म गुरु बाबु हुन् । दीक्षागुरु, शिक्षा गुरुहरु धेरै हुन सक्छन् । मानव शरीर स्थुल, सूक्ष्म र कारण तीन प्रकारको ज्ञान दाता र कारण शरीरभित्र रहेको परमात्मा तत्वको बोध पनि गुरुबाटै हुनेगर्छ ।
अक्षर चिनाउने गुरु, मन्त्रदाता वोधक गुरु, धर्म अधर्मको बोध गराउने वाचक गुरु, मोहन, सम्मोहन विद्या दिलाउने विशिष्टगुरु, जीवनमा वैराग्यको उदय गराउने विहित गुरु, मुक्ति दिलाउने कारणाख्य गुरु, सम्पूर्ण सन्देह हटाई जन्म मृत्युको भय दूर गराउने सद्गुरु स्वयम् शिवस्वरुप हुन् भनी धर्म शास्त्रहरुले उद्बोधन गरेका छन् ।
वर्ष भरिका षड् ऋतु आफै गुरु हुन् । वेदको रुप वसन्त ऋतु ब्राह्मण गुरु हो, जसमा सिर्जना हुन्छ, गृष्म ऋतु क्षत्रीय गुरु हो, जसमा पालना हुन्छ, वर्षा ऋतुले स्वच्छता र पवित्रता दिन्छ भने वसन्तमा गरिएका यज्ञादि कर्मले श्रीवृद्धि हुन्छ । गृष्मका कर्मले सन्तान, पशु, धनको श्रीवृद्धि हुन्छ । शरद ऋतु वैश्य गुरु हो जतिबेला रसादि, द्रव्य, मणि, सुवर्ण, फलाम आदि प्रप्ति हुन्छ । जात जाति वर्ण व्यवस्था कामको सोपान हो । एकै व्यक्ति ब्राह्मण, क्षत्री, वैश्य, शुद्र सबै हुन्छ । नित्य पढाउने गुरु हो, वेद पढाउने, उपनयन गराउने उपाध्याय हो । वैदिक शिक्षा र मन्त्र दाता, व्याख्याता आचार्य हो ।
१० उपाध्यायभन्दा एक आमा ठूलो, १०० आचार्यभन्दा पिता ठूलो, पिताभन्दा माता ठूली, र ज्ञान दाता गुरु सबैभन्दा ठूला हुन् । सद्गुरुबाट शिक्षित, दीक्षित व्यक्तिले अँग हीन कुरुप, धन हीन, विद्याहीन, वृद्ध, अशक्त कसैलाई कुनै आक्षेप लाउँदैन, लगाए उसको पाप आफूलाई सर्छ र आफ्नो पुण्य उसलाई सर्छ । अतः जहिले पनि हामीले वेदलाई विक्री गर्नु हुन्न, नैतिकतालाई छोड्नु हुन्न, देवनिन्दा गर्नु हुन्न । संस्कारलाई जीवन्त राख्नु पर्छ, यसले इहलोक र परलोक दुबै सपार्छ ।
पूर्वी समुद्रदेखि पश्चिम समुद्र सम्मको भूभाग सबै र हिमालयदेखि विन्ध्याचलसम्मको भूभागलाई आर्यावर्तक्षेत्र भनिन्छ, जुन ठाउँमा कृष्णसार मृगले विचरण गर्छ त्यसक्षेत्रमा यज्ञ अनुष्ठानहरु भइ रहनु पर्छ । धर्मको मूल जरा भनेको वेद नै हो, त्यसका अन्य हागा बिँगा भनेका धर्म शास्त्रहरु हुन्, लोकाचार पनि रहन्छन् त्यसमा । वैशाख शुक्ल तृतीया, कार्तिक शुक्ल नवमी, भाद्रकृष्ण त्रयोदशी, माघे औँशी, सूर्य, चन्द्र ग्रहण, उत्तरायण, दक्षिणायन आरम्भको दिन तिल मिश्रित पानीको तर्पण, श्राद्ध गर्दा १ हजार वर्षसम्म लगातार श्राद्ध गरिएको फल मिल्छ ।
विद्या पनि नपढ्ने, दैनिक सुखमा मात्र रुमल्लिने, यम लोकको दुःखलाई केही होइन भन्नेलाई वेदले पनि चोख्याउन सक्दैन । यस्ता व्यक्तिहरुबाट संस्कार, रीति, स्थिति मेटिन्छ, समाजमा अनैतिक कुकर्मले टाउको उठाउँछ, छोरी चेलीहरुको अस्मिता बाँकी रहन्न । मानिसहरुले सन्यासी, यज्ञ, गाई, महासागर, तप गर्ने व्यक्ति देख्नासाथ नै आपूm पवित्रताको महसूस गर्न सक्छ । गाई, बस्त्र, शय्या, स्त्री धेरैलाई बाँड्ने बस्तु होइनन् ।
मानव शरीरमा रहेका साँढे तीन करोड नसा, नाडी एवम् रौंहरु, तीन प्रमुख ईडा, पिंगला र सुषुम्ना नाडीको बोध र तिनबाट जीवनको समाधि र परमतत्वको ज्ञानसमेत गुरुबाटै प्राप्त हुन्छ । शिक्षा गुरुअन्तर्गत शास्त्रीय ज्ञान अनेकौं शास्त्रहरु, व्याकरण, ज्योतिष, साहित्य, कला, खगोल, भूगोलदेखि राजनीति, समाजशास्त्र, अर्थशास्त्रको बोध र उपयोग अनि विज्ञानको सही उपयोग गराउने ज्ञानगम्य दीप प्रकाश गर्ने गुरु नै हुन् । गुरुपरम्परा जीवन र जगत्को उषा कालदेखि नै शुरु भएको हो ।
प्रणवमन्त्र ॐ बाट ब्रह्मज्ञान शिबजीवाट विष्णुलाई, विष्णुले ब्रह्मालाई, ब्रह्माले सनकादिलाई, सनकादिहरुबाट वशिष्ठ, दक्ष, नारद आदिलाई, नारदबाट व्यासलाई, व्यासबाट सुतजीलाई, सुतजीबाट विभिन्न शास्त्रहरु मार्फत् सम्पूर्ण संसारभर फैलिएको हो । आपूmलाई प्राप्त गुरु शिक्षा एवम् सद् ज्ञानबाट व्यासजीले वेदलाई सरलीकृत एवं विभाजन गरे ।
भगवान्को स्वरुप व्यासजीलाई वेदव्यास भनिन थालियो । मानव जीवनका रुपमा उदय भएका परमेश्वर श्रीरामका गुरु वशिष्ठ, विश्वामित्र, श्रीकृष्णका गुरु सान्दिपिनी, राजा यदुका दत्तात्रेय, भक्त प्रह्लादका नारद, भक्त उद्धवका वृहस्पति एवम् श्रीकृष्ण, राजर्षि जनकका ९ वाल योगेश्वर, लक्ष्मणका रामचन्द्र, पार्वतीका श्रीशिब, देवहुतीका कपिलदेव आदि सद्गुरु भएका कुरा धर्मशास्त्रहरुले पुष्टि गरेका छन् ।
भनिन्छ, गुरु देवस्वरुप हुन्, आशीष वा श्राप दुवैको क्षमता गुरुसँग हुन्छ । गुरुले अर्थोपार्जन मात्र होइन जीवन नै दिन्छन् । जीवनलाई जीवन्त बनाइदिन्छन् । भोग शिक्षाभन्दा योगशिक्षा दिएर जीवनलाई जगत् र जगदीश्वर दुवैतर्फ संयोग गराउने काम गुरुको हो । गुरु र गोविन्दमा फरक छैन, गोविन्दसम्म पुर्याउने काम गुरुले गर्छन् ।
गुरु तारक हुन्, गुरुले कल्मषहरु हटाउँछन्, मनको मैलोलाई धोएर राग र द्वेषरुपी वासनाबाट टाढा राख्छन् । गुरुमा समर्पित व्यक्तिले भव रोगको ओषधि प्राप्त गर्न सक्छ । मन्त्र द्रष्टा गुरुसँग परमेश्वरसम्म पुर्याउने सामथ्र्य हुन्छ । परमेश्वर प्राप्तिको पुलको रुपमा काम गर्ने गुरुबाट चिन्ता, भय, क्रोध, आवेग, तनाव, ईष्र्या दूर हुन्छन् ।
शंकराचार्यले भनेका छन् गुरुको स्मरण टाढैबाट गर्दा पनि वचनरुपी आलोकद्धारा शिष्यको अन्तरह्रदय प्रकाशित हुन्छ, प्रज्वलित हुन्छ । विद्वान्हरुको मत छ गुरु पारषमणि हुन् जसको स्पर्शले फलाम सुन भएझैं शिष्य शुद्ध हुन्छ । गोपिनीहरुमा भएको समर्पण भावले जगतगुरु श्रीकृष्णबाट आफ्नो अभिलाषा पूरा गरे ।
गोपिभाव कुनै स्त्रीभाव नभएर वेदको उपासना काण्ड भनौँ मन्त्रहरु नै हुन् । सशरीर सार्थक जीवन प्राप्त ऋषि, मुनिहरु नै हुन् । कौटिल्यको बिचारमा सेवाभाव, समर्पणभाव, ग्रहण गर्ने स्वभाव, तीव्र उत्सुकता, छलफलको बानी, जिज्ञासु र सबै विषयमा सावधानी अपनाउने व्यक्तिबाट गुरु खुशी हुन्छन् र सफलताको, सिद्धिको आशीर्वाद दिन्छन् ।
‘तस्मै श्रीगुरवे नमः’ भनेर शास्त्रहरुमा जताततै चर्चा भएको छ । अन्धकारबाट उज्यालोतर्फ, अज्ञानताबाट ज्ञानतर्फ, शंकाबाट सन्देह भेदनतर्फ डोर्याउने गुरुको स्मरण जहिले पनि गर्नु पर्ने हुन्छ र पनि व्यास जयन्तीका दिन गुरुव्यासको स्मरण सँगसँगै आआफ्ना गुरुहरुलाई ढोगभेट गर्ने चलन सबैतिर देखिन्छ । दक्षिणामूर्ति गुरुदेखि सर्वत्र गुरु स्मरण गर्ने चलन छ । सबै पुराणको निचोड उपकार नै पुण्य हो, उपकार नै धन हो भन्ने वेदव्यास लोककल्याणमा लाग्न निर्देश गर्छन् सबै मानवजातिलाई ।
व्यक्तिमा जव अध्यात्मको भोग जाग्दछ, जव विभिन्न हन्डर र ठक्कर लाग्छ अनिमात्र गुरु खोज्ने परम्मरा अनिमात्र अध्यात्मचिन्तनको भोग जाग्ने बानीभन्दा पनि जीवन सार्थक पार्न जीवनको उषाकालदेखि गुरुको खोजी आवश्यक हुन्छ । जवानीमा गुरुको झन् बढी आवश्यकता पर्छ । गुरु निःस्वार्थी, कोमल हिर्दयको, दोष रहित, कामना रहित, श्रोत्रीय ब्रह्मनिष्ठ , सम्पूर्ण जिज्ञासा समाधान गर्न सक्ने, परमसुखी, शान्त र निश्चल हुनु पर्ने कुरा शास्त्रहरुमा वर्णित छ ।
साथै गुरु त्रिकालदर्शी, भविष्यबेत्ता, सर्वज्ञ हुन जरुरी छ । हेर्दा देव समान, शंका निवारक, नजिक पर्ना साथ दिव्य चेतना जागृत गराउन सक्ने जितेन्द्रीय ज्ञानको अजस्र श्रोत भण्डार भएको हुन जरुरी छ । भनिन्छ, दिव्य परमेश्वरको चिन्तनले सद्गुरुको दर्शन हुन्छ, प्राप्ति हुन्छ । साच्चै भन्नुपर्दा सद्गुरु महासागर नै हुन्, शिष्यचाहिँ वर्षा कालको नदी हो । गुरुरुपी डुंगा चढेर भवसागर रुपी समुद्र पार गर्न सक्ने शिष्यमा पनि सद्गुणरुपी सारा योग्यताहरु हुन जरुरी छ ।
सम्पूर्ण धर्मशास्त्र, वेद, उपनिषद, वेदान्तको सार मानव सुख नै हो । तर सुख केवल स्थुल शरीरले चाहने विषय हो । स्थुल शरीर भित्र रहने सूक्ष्म शरीर (मन) ले चाहने विषय भनेको शान्ति हो । सूक्ष्म शरीरभित्र रहेको अदृश्य, अस्पृश्य अर्को शरीर छ त्यो हो कारण शरीर, आत्मा । आत्माले चाहने आनन्द हो । त्यसैले भोग सुखदेखि मन सुख, शान्तिसम्म र मनको शन्तिदेखि आत्माको आनन्द र आनन्दपछिको परमानन्द परमेश्वर प्राप्ति सम्मको ज्ञान र मार्गहरु देखाउने, सिकाउने गुरु स्वयम् परमात्मा स्वरुप नै हुन् ।
मानिसको शरीर प्राप्ति भनेको परमात्मा प्राप्तिको सुमार्ग हो । ज्ञान, कर्म, भक्तिको संयोगले मानव जीवन सार्थक पार्न गुरु शरण, चरण, ग्रहण गर्नै पर्ने हुन्छ । भोगले सांसारिक शोक पैदा हुन्छ । योगले भवरोग, भवबन्धनबाट छुट्टी मिल्छ । यी साधनाहरुको मार्ग प्रसस्त गर्ने काम पनि गुरुबाटै संभव छ ।