• मंसिर १२ २०८१, बुधबार

पर्यटन मन्त्रालयमा मन्त्रीहरु नै पर्यटक बन्दै गएपछि !

असार १५ २०७९, बुधबार

काठमाडौं । नेपालको पर्यटन मन्त्रालयमा मन्त्रीहरु नै पर्यटकका रुपमा भित्रने र बाहिरिने गर्दै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्रीहरुको सङ्ख्या नै १० वर्षमा १६ जना पुगेपछि यो मन्त्रालयमा मन्त्री नै पर्यटकका रुपमा आउने र जाने गरिरहेका छन् ।

छोटो समयमात्र मन्त्रालयमा बस्ने भएकाले पनि मन्त्रीहरु पर्यटकजस्तै हुन गएका हुन् । मन्त्रीहरुले छोटो समय मन्त्रालयमा बस्ने, हेर्ने र फर्कने गरेका छन् । अर्कोतिर सङ्ख्याका हिसाबले पनि १० वर्षमा १६ जना आउने जाने भनेको पर्यटककै सङ्ख्याजस्तो हो ।

मन्त्री श्रेष्ठ स्वयम् पर्यटक :

समयावधि र मन्त्रीको सङ्ख्यालाई हिसाब गर्ने हो भने एक वर्षमा सरदर डेढजना मन्त्री मन्त्रालयमा प्रवेश गर्ने र निस्कने गर्दछन् । हालै मात्र पर्यटनमन्त्री बनेका जीवनराम श्रेष्ठ १० वर्षमा १६ औं पर्यटनमन्त्री हुन् ।

सोमबार पदभार ग्रहण गरेलगत्तै आफू चुनावसम्मका लागि पर्यटनमन्त्री भएकाले ‘धेरै समय नभएको’ उनको स्विकारोक्ति छ । तर पनि उनले आशा दिलाउन भने छाडेनन् । उनले भनेका छन्, ‘विगतमा आफूले जिम्मेवारी पाएका ठाउँमा सम्झनलायक काम गरेकाले अहिले पनि त्यस्तै प्रयास गर्नेछु ।’

आगामी कात्तिक वा मङ्सीरसम्म सम्पन्न गरिसक्नु पर्ने संघीय प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनसम्मका लागि मन्त्री बनाइएका श्रेष्ठ मन्त्रालयमा भीभीआईपी पर्यटकजस्तै बनेका छन् । समयाभावका कारण उनीसँग पर्यटन र उड्डयन क्षेत्र सुधारका गतिला एजेण्डा पनि छैनन् ।

‘६ महिनामै ९० अङ्क ल्याएर’ बाहिरिए मन्त्री आले :

मन्त्री श्रेष्ठको आगमनसँगै पर्यटनमन्त्री प्रेम आले पर्यटन मन्त्रालयबाट बाहिएका थिए । उनको चर्को स्वभावका कारण कर्मचारी प्रशासन पनि अत्तालिन थालेको थियो ।

६ महिनाको कार्यकालपछिको बहिर्गमनमा उनले ‘९० अङ्क ल्याएर’ सफलता हासिल गरेको घोषणा गरेका छन् । कतिपय कर्मचारीहरुले ‘उनको बहिर्गमन जरुरी भइसकेको’ निष्कर्ष पनि निकालेका थिए । उनको बेलगाम बोली÷व्यवहारले पनि यस्तो महसुस गराएको थियो ।

१० वर्षमा १६ मन्त्रीको देशाटन :

पर्यटन मन्त्रालयमा पर्यटक झैं भित्रिएका मन्त्रीहरुले बढीमा १७ महिना र घटीमा एक महिनाभन्दा पनि कम कार्यकाल बिताएका छन् । २०६९ जेठमा पर्यटनमन्त्री बनेका माओवादीका नेता पोष्टबहादुर बोगटीले एक वर्ष कार्यकाल पनि पूरा गरेनन् ।

उनीपछि संविधानसभाको दोस्रो चुनावका लागि चुनावी मन्त्री मण्डलमा रामकुमार श्रेष्ठले १ चैत २०६९मा पर्यटन मन्त्रीको जिम्मेवारी पाए । त्यसको १० महिना नबित्दै १२ माघ २०७० मा एमाले नेता भीम आचार्य भित्रिए । मन्त्री आचार्यलाई ६ महिनापछि २९ भदौ २०७१ मा दीपकचन्द्र आमत्यले बहिर्गमनमा पारे ।

मन्त्री अमात्यलाई एक वर्ष नपुग्दै कृपासुर शेर्पाले ८ जेठ २०७२ मा विस्थापित गरे । शेर्पा पनि पाँच महिने कार्यकाल नसक्दै १९ कात्तिक २०७२ मा आनन्दप्रसाद पोखरेलका पूर्ववर्ती बन्न पुगे । पोखरेल पनि ९ महिनापछि १८ साउन २०७३ मा नेपाली कांग्रेसका जीवनबहादुर शाहीद्वारा पूर्व बनाइए । त्यस लगत्तै २६ फागुन २०७३ मा शाहीको ठाउँमा राप्रपाका दिलनाथ गिरी आइपुगे ।

त्यसपछि समय झन् घट्दै गयो । मन्त्री गिरीलाई २ महिनापछि २५ वैशाख २०७४मा कांग्रेसका जितेन्द्र नारायण देवले पूर्व बनाए । मन्त्री देवले पनि पूरा एक महिना काम गर्न पाएनन् । तत्कालीन प्रम शेरबहादुर देउवाले ३ फागुन २०७४ सम्म त्यसको जिम्मेवारी आफै लिए ।

दुईतिहाइको सरकारमा प्रधानमन्त्री नै पर्यटक !

संघीय संविधानअन्तर्गत बनेको पहिलो दुईतिहाइ बहुमतको साढे ३ वर्षको सरकारमा पनि ४ जना पर्यटन मन्त्री बन्न पुगे । यस अवधिमा प्रम ओलीले करिब ६ महिना आफैंले पर्यटन मन्त्रालय चलाए ।

दुईतिहाइको सरकार हुँदा २ चैत्र २०७४मा रवीन्द्र अधिकारी पर्यटनमन्त्री थिए । २०७५ फागुनमा हेलिकप्टर दुर्घटनामा उनको निधन हुन गएपछि प्रम ओली आफैंले चलाएका थिए ।

त्यसपछि योगेश भट्टराई १५ साउन २०७६ मा पर्यटनमन्त्री नियुक्त भए । त्यसपछि ५ पुस २०७७ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि भट्टराईले राजीनामा गर्दा स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल १० पुस २०७७ मा पर्यटन बनाइए । ढकाललाई हटाएर ३१ वैशाख २०७८ मा फेरि प्रम ओलीले २० जेठ २०७८सम्म जिम्मेवारी जारी राखे ।

२१ जेठमा लोकतान्त्रिक समाजवादी पार्टीका उमाशंकर अरगरियालाई पर्यटन मन्त्री बनाइयो । सर्वाेच्च अदालतले चुनाव घोषणा पछिको मन्त्रीमण्डल ‘अवैध ठहर’ गरेपछि ८ असार २०७८ मा अरगरियाको स्थान लिलानाथ श्रेष्ठले लिन पुगे ।

लहरो तानिदै जाँदा थपिएका पर्यटक मन्त्री ! :

ओली सरकार बहिर्गमन र शेरबहादुर देउवा सरकारको आगमनपछि लिलानाथ श्रेष्ठले २९ असार २०७८ मा मन्त्रालय छोडे । तीन महिनासम्म प्रम देउवाले नै पर्यटन मन्त्रालयको जिम्मा लिए । देउवा सरकार आएपछिको समयमा बलबहादुर महत, ईन्द्रबहादुर बानियाँ र धनबहादुर बुढा क्रमशः पर्यटन मन्त्री बने ।

यसपछि २२ असोज २०७८मा आएर प्रेम आले पर्यटन मन्त्री बन्न पुगे । १२ असारमा उनले मन्त्रालय छाडेपछि जीवनराम श्रेष्ठ पर्यटन मन्त्री बन्न पुगेका हुन् ।