नेपालमा अन्तर्राष्ट्रिय शक्तिहरुको राजनीतिक गेममा ‘चेन्ज’ भएसँगै २७ वर्ष अघि छाडेको अरुण तेस्रोपछि विश्व बैंकले माथिल्लो अरुणमा लगानी गर्न तयार भएको छ ।
विश्व वैंकले दिएको हरियो वत्तिको संकेतसँगै सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकताका साथ अघि बढाउने भएको हो । सरकारले यो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा परिभाषित गरेको छ ।
गेम चेञ्जरको अर्थ हो, यो नेपालमा निर्माण हुने तयारीमा रहेका जलविद्युत्मध्ये हालसम्मकै सबैभन्दा ठूलो हो । जनताको जलविद्युत् कार्यक्रमका रुपमा अघि सारिएको यो आयोजनाको विद्युत् उत्पादन क्षमता चार अङ्क बराबर रहेको छ ।
यसको कूल क्षमता १ हजार ६१ मेगावाट बराबर रहेको छ । विज्ञहरुको भनाइ अनुसार यदि यो जलविद्युत् उत्पादनमा विकसित प्रविधिको प्रयोग गर्न सकिने हो भने यसमा थप १ हजार १०० मेगावाट बढी उत्पादन हुने छ ।
आजभन्दा २७ वर्ष पहिले नेपालको जलविद्युत् उत्पादन लगानीबाट विश्व वैंकले हात झिकेपछि गेम चेन्जर भनिने ठूला आयोजनाहरुले गति लिन सकिरहेका छैनन् । कुरा जतिसुकै ठूला ठूला गरे पनि र जनसहभागिताका आश्वासन दिए पनि कार्यान्वयनमा आउन सकिरहेका छैनन् ।
अहिले गेम चेन्जरको रुपमा बहुप्रचारित यो आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर तथा विश्व बैंक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको पनि लगानी लगाउने कोणबाट छलफल चलिरहेको देखिन्छ ।
नेपालको राजनीतिक प्रणाली अनुसारको संरचनाललाई पनि ध्यान दिने देखिएको छ । यसमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने भनिएको छ ।
वर्षायाममा पूर्णक्षमतामा चलाउन सकिने भए पनि हिउँद यामका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने यो आयोजनाको अनुमानित लागत करिब २ खर्ब २४ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको छ ।
कूल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणले सोच बनाइरहेको छ । यो आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने देखिन्छ ।
प्राधिकरणले माथिल्लो अरुणकै अङ्ग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।
अरुण तेस्रो जलविद्युत् आयोजनाबाट हात झिकेर फर्केको विश्व बैंकले २७ वर्षपछि त्यस नदी करिडोरमा लगानीका लागि चासो व्यक्त गर्नु आफैँमा नेपालका लागि महत्वपूर्ण विषय भएको विज्ञ तथा जानकारहरुको भनाइ छ ।