साबिक ‘टर्की’को देशको नाम अब परिवर्तन भएर ‘तुर्किये/तुर्किया’ भएको छ । तत्कालीन ‘टर्की’ले संयुक्त राष्ट्र संघमा आफ्नोतर्फबाट औपचारिक रूपमा पत्र लेखेरै आफ्नो देशको नाम फेरेर ‘टर्की’को सट्टा ‘तुर्किय/तुर्किया’ राखेको भनी जानकारी दिएको भनी अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन् ।
सोही समाचार स्रोतहरूलाई उल्लेख गर्दै नेपालका विभिन्न सञ्चारमाध्यमहरूले पनि समाचार लेखेका छन्, ‘टर्की’को देशको नाम परिवर्तन भएर ‘तुर्किये/तुर्किया’ भएको छ भनेर । के भनिन्छ भने, हिजो अस्तिसम्म टर्की भनेर चिनिने देश सन् १९२३ सम्म विभिन्न देशको उप निवेशको रूपमा रहेको थियो ।
यसरी हिजो अस्तिसम्मको ‘टर्की’ भन्ने देशको नाम अब परिवर्तन भएर ‘तुर्किये/तुर्किया’ भएको भन्ने सन्दर्भमा भन्नु पर्दा एक भाषाले अर्काे भाषालाई अतिक्रमित गर्ने वा अपभ्रंषित गर्ने क्रम टर्की भन्ने देशका लागि मात्रै नभएर विश्वभरिमा नै हो ।
विश्वका देश, राजधानी, खोलानाला, पहाड, हिमाल, खोँच, मैदान, वस्ती आदिको नाममाको सन्दर्भमा पनि तीब्ररूपले अतिक्रमित भएको वा अपभ्रंशित भएको थियो । सायद यो क्रम चीरकालसम्म चलिरहने छ ।
कुरो टर्कीको मात्रै होइन, हामै्र देश नेपालका अधिकांश स्थानका स्थानीय नामहरू द्रुत गतिमा बाह्य नामहरूले अतिक्रमण गरेको देखिन्छ, अपभ्रंषित भएको देखिन्छ । त्यसमा पनि विषेशतः हिन्दु देवीदेउताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरूको नामलगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरिरहेको देखिन्छ, नेपालका स्थान नामहरू ।
जस्तो उदाहरणका लागि भन्नु पर्दा मेची अञ्चलको इलाम जिल्लामा रहेको अन्तुडाँडा नै लिऊँ । अन्तु डाँडाको नाम तत्कालीन युवराज दीपेन्द्रको नाममा ‘दीपेन्द्र शिखर’ बनाइएको छ । त्यस्तै तेह्रथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभ्रंषित भएर ‘म्याङलुङ’ हुन गएको छ ।
तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिँवा खोला भनिन्छ), झरनाको नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र हैन मेयङ लुङ बजारभित्रै पर्ने ‘तुम्भुङला’ गाउँ तम्फुला भएको छ ।
तेह्रथुम जिल्लाकै ‘सुम्दोवा’ गाउँ ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ । त्यस्तै संखुवासभा जिल्लाको ‘तुम्लुङटार’ अपभ्रंषित भएर ‘तुम्लिङटार’ भएको छ । स्मरणीय छ तुम्लिङटार विश्वकै होँचो उपत्यका हो ।
स्मरणयीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने हालसम्म जस्ताको तस्तै ‘कुलुङ’ कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरूमध्येका किराती आदिवासी हुन् ।
यता सोलुखुम्बु जिल्लाको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरू भने, क्रमशः सोताङ र शिवटार/कृष्णटार भएको छ । त्यसो त धनकुटाको ‘भेडेटार’ पनि बेलायती युवराज चाल्र्सको नाममा ‘चार्ल्स भ्यु प्वाइन्ट’ भएको छ/थियो ।
खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरू, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका/रहिआएका स्थानीय नामहरू नेपालीकरण–खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् ।
यस्ता धेरै उदाहरणहरू रहे तापनि, यो पंक्तिकारले थाहा पाउँदासम्म पोखरा नजिकको ‘ह्याङजा’ अहिले ‘हेम्जा’ भएको छ भने पोखराकै ‘पाताले छाँगो’ ‘डेविज फल्स’ भइसकेको छ । भनिन्छ, डेवी नामक स्वीस तरूनी (विदेशी महिला) उक्त छागाँबाट खसेर वेपत्ता भएपछि/मरेपछि ‘पाताले छाँगो’ ‘डेविज फल्स’ भएको हो ।
यसरी अतिक्रमित र अपभ्रंषित भएका नेपालका स्थान नामहरूका सम्बन्धमा भन्नु पर्दा नेपालका हिमालहरू पनि अछुतो रहन सकेको छैनन् । नेपाली हिमालहरूको नाम पनि खुबै अतिक्रमणमा परेका छन् ।
त्यस्ता केही हिमालहरूको नाम तल उल्लेख गरिएको छ । १. सेवालुङ (कञ्चनजङ्घा), २. फक्ताङलुङ (जान्नु–कुम्भकर्ण), ३. सेसेलुङ (मकालु), ४. चोमोलुङमा (सगरमाथा/एभरेष्ट), ५. आम्पा मारे (गौरीशङ्कर), ६. ख्वाप्स्लाङ–कार्पो (गणेश हिमाल), ७. उर्कीमा (बाडेन पावेल), ८. जाक्सम्बा (पासाङल्हामु चुली) ९. धाम्पुस (थापा पिक) १०. झोङ–री (पिसाङ पिक), ११. प्याङगेन पुथाङ (मनास्लु), १२. ङादी चुली (डाक्टर हर्क चुली) आदि ।
यसरी जर्वजस्त र सर–सल्लाहले स्थान नामहरू प्रिवर्तित, अतिक्रमित र अपभ्रंषित हुँदै गएका छन भने नयाँ नाम राख्ने क्रममा धेरै ठाउँमा विवाद र होर्डिङ बोर्ड फालाफाल भएका उदारणहरू पनि प्रशस्तै भेटिन्छ ।
जस्तो कि, तत्कालीन ललितपुर उपमहानगरपालिका–१४ (हाल महानगरपालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले सुरूमा ‘किरात चोक’ नामाकरण गरियो । तर, पछि उमनपा समेतको मिलेमतोमा स्थानीय रैथानेहरूले ‘शिव चोक’ बनाएरै छाडे ।
यसरी राज्य र राज्य पक्षका अनुदारवादी रूझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै सम्झे, बुझे । तर, किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति भनी चिनाउने र, लगभग ८–१० हजार वर्षको इतिहास बोकेको शब्द हो भन्ने बुझ्न सकेनन् ।
त्यो बेला ‘किरात चोक’ नाम राख्न चाहनेहरूले पनि स्थानीय (पुराना वासी) हरूलाई ‘किरात’ शब्दले केवल नेपालका एक जात वा जाति मात्रै नजनाएर, इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति, आदि पनि जनाउँ/चिनाउँछ । त्यसैले हामी सबैले ‘किरात’ नाम स्वीकारौं भनी सम्झाउन, बुझाउन सकेनन् ।
त्यसो त ‘टर्की’ ‘तुर्किये’ भएको मात्रै होइन, बर्मा भन्ने देश ‘म्यामाँ–म्यानमार’ भैसकेको छ । इरानको पूरानो नाम ‘पर्सिया’ हो । उता थाइल्यान्डलाई ‘सियाम/स्याम’ भनिन्थ्यो । त्यस्तै इराकको पूरानो नाम ग्रीसको पुरानो नाम ‘युनान’ हो ।
युगोस्लाभिया टुक्रिएर बनेको ‘म्यासोडेनिया’ पनि ‘नर्थ म्यासोडेनिया’ भएको । अफ्रिका महादेशमा पर्ने स्वाजिल्यान्डको नाम ‘एस्वातिनी भएको छ । अफ्रिका महादेशकै जिम्मबावेलाई पहिले ‘रोडेसिया’ भनिन्थ्यो ।
युरोपकै नेदरल्यान्डको पुरानो नाम ‘हल्यान्ड’ हो । यसरी विदेशीहरूले आफ्नो भाषामा राखेको/राखिदिएको भारतको केही सहरहरूको नामहरू पनि यहाँ उल्लेख गरिएको छ । जस्तो, भारतको बम्बइ सहर हाल ‘मुम्बई’ भएको छ ।
त्यस्तै मद्रास सहर ‘चेन्नाइ’ भएको छ । कलकत्ता सहर ‘कोलकाता’ भएको छ । बर्माको राजधानीको पूरानो नाम रंगुन पनि ‘याँगु–यांगुन’ भएको छ । म्यानमारको राजधानी यांगुनबाट अन्यत्र (‘न्ये पी ते/न्य पी त’) मा सरिसकेको छ ।
नेपालमा पनि चर्को रूपमा जातजाति र भाषाभाषीको कुरा गर्नेेहरूले यसबारेमा पनि पहल कदमी लिने हो कि ? खासमा संघीयताको मर्मअनुरूप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा र ह्यात्रुङलाई हात्तिलेङे भन्नु उपयुक्त होला ।
त्यसैगरी, तुम्लिङटारलाई तुम्लुङटार, कञ्चनजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ भनी पुनः नामाकरण गर्ने कि ? त्यतिमात्रै होइन, नेपालभरि आदिवासी जनजातिका मातृभाषामा रहेका/रहिआएका स्थान नामहरू पुनः स्थापित गराउन किन पहल नगर्ने ?
त्यसो त काठमाडौं उपत्यका लगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नामहरू ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा रहेका छन् भनी स्व. धनबज्र बज्राचार्यद्वारा लिखित ‘लिच्छवीकालीन अभिलेख’ नामक किताबमा पाइन्छ ।