शक्ति राष्ट्रहरुले गर्ने गैह्रकानूनी चलखेलको कारण नेपाली सेनालाई समेत विवादमा ल्याइँदैछ । स्थापना कालदेखि विवादमा आउनु नपर्ने राष्ट्रिय सुरक्षाको प्रमुख निकाय नेपाली सेना अहिले राष्ट्रिय राजनीतिको कारण विवादमा तानिएको हो । देशको सार्वभौम अखण्डता सुरक्षित गर्ने जिम्मा लिएको प्रमुख निकाय नेपाल सेनालाई नियोजित रुपमा विवादमा ल्याँइदैछ ।
अस्थिर मानसिकता भएका बहुलट्ठक केही राजनीतिकर्मीको व्यक्तिगत फाइदाको लहडले गर्दा अहिले सिंगो नेपाली सेनालाई विवादमा ल्याइएको छ । सुपर पावर मानिने पश्चिमाको निसानामा अहिले नेपाल नेपाली सेना पर्दै गएको छ । विभिन्न समयमा सरकारको तर्फबाट प्रयोग हुने असफल कुटनीतिले सेनालाई समस्यामा पारेको छ ।
‘राष्ट्रिय सुरक्षाको प्रमुख अंग मानिने सेनाको ध्यान अन्यत्र मोडेर विश्वमा ठूला ठूला घटना घटाउन सफल पश्चिमाले नेपालमा समेत त्यही नीति अवलम्बन गरेका छन्’ । सन् १९४७ देखि हालसम्म नेपालमा विभिन्न व्यवस्था परिवर्तन भए पनि नेपाली सेना कुनै विवादमा नमुछिएको कारण पश्चिमाको पहिलो निशानामा पर्न गएको हो ।
पाकिस्तान, अफगानिस्तान, इराक, लिविया, हाइटी जस्ता देशहरुमा समेत पश्चिमाले अहिले नेपालमा प्रयोग गरेको जस्तै कुटनीति प्रयोग गरेका थिए । उनीहरुले भित्र छिर्ने द्धारको रुपमा राजनीतिलाई लिने गरेका छन् । राजनीतिमा छिरेर त्यहाँको सेनाको व्यवस्थापन तहस नहस गरी ती राष्ट्रहरुलाई आर्थिक रुपमा सदियौं पछाडि धकेल्न सफल भएका छन् । त्यसैले उनीहरुले प्रयोग गरेर सफल भएको सुरक्षा रणनीतिलाई नेपालमा प्रयोग गर्न खोज्दैछन् ।
त्यसैले अब उनीहरुको निशाना नेपालतिर सोझिएको छ र नेपाली सेनामाथि त्यो तीरको प्रयोग गरिँदैछ । नेपाललाई निशाना बनाउनुको पहिलो कारण चीन र भारतलाई आर्थिक रुपमा संकुचन गर्नु नै हो । नेपालमा अस्थिरता ल्याइयो भने उनीहरुको आर्थिक विस्तारमा भन्दा छिमेकीमा बढी ध्यान जाने आंकलन पश्चिमाहरुको छ ।
उनीहरुले देशलाई शसस्त्र द्वन्द्वमा फसाएर २०५८ मा दरबार हत्याकाण्डले सयौं वर्षको राजसंस्था अन्त्य गराउने पहिलो खुड्किलो थियो भनेर बुझिसकेका छन् । त्यसबेला बाह्य शक्तिको आडमा रहेको एउटा शक्ति देश र जनताको लागि संघर्ष गरेको बहानामा सेनालाई राष्ट्रिय सुरक्षाप्रति दिग्भ्रमित गराइ रहेको थियो ।
जबसम्म राजनीतिमा स्वाँठ राजनीतिकर्मीहरुको हावी हुन्छ तबसम्म राष्ट्र वैदेशिक शक्तिहरुबाट खतरा मुक्त हुँदैन । तिनै स्वाँठ राजनीतिकर्मीको कारण अमेरिकी सहयोग एमसीसी सदनबाट पास गराएर अमेरिकी सेना नेपाल भित्राउने बाटो खोलेर अहिले सेनालाई विवादमा फसाउँदै छन् ।
एमसीसी पास गराउने बेलामा त्यस्तै केही राजनीतिकर्मीले यदि अमेरिकी सेना नेपाल आयो भने चारपाटा मुडेर आफूलाई खेदाउन नेपाली भेडा जनतालाई चुनौति समेत दिएका थिए ।
तर अहिले अमेरिकी स्टेट पार्टनसीप प्रोग्राम (एसपिपी) मार्फत् सेना भित्रिन लागेको भन्दै सेनालाई विवादमा तान्न खोजिएको छ ।
इतिहास साक्षी छ कि राजनीतिक अस्थिरता भएका धेरै देशहरुमा सेनाले आफ्नो हातमा शासन लिएको थियो । सेनाले शासन लिनुको पछाडि आन्तरिक कलहहरु, घरेलु राजनीतिक परिवर्तनहरू र अन्तर्राष्ट्रिय प्रभावहरूबाट राष्ट्रलाई बचाउन तथा नागरिकको सुरक्षाको लागि क्षमता र मिशनको भावनाको विस्तार भावले भएका थिए ।
तर नेपालको वर्तमान सन्दर्भमा भन्नु पर्दा अस्थिर घरेलु राजनीति, उच्च स्तरको राजनीतिक द्वन्द्व, आर्थिक संकट, कमजोर राजनीतिक दलहरूका कारण भएका विदेशी चलखेल र उनीहरुमा भएको चरम दक्षिणपन्थी भाव, क्षमताहीन संघीय राज्य संस्थाहरूको अक्षमता लुकाउन सेनालाई विवादमा तान्न खोजिएको छ ।
विदेशी राजनीतिक र सैन्य सहायता, छिमेकी देशहरूबाट हुनसक्ने सैन्य हस्तक्षेप जस्ता अन्तर्राष्ट्रिय वातावरणले भन्दा राज्य स्तरबाट हुने असमान सन्धी सम्झौताले गर्दा सेनालाई विवादमा ल्याउन खोजिएको छ । नेपालको सार्वभौमिकता, स्वाधिनता, स्वतन्त्रतामा बाह्य शक्तिद्धारा अस्थिर राजनीतिको बहानामा घुसपैठ भएको छ ।
पश्चिमा देशहरुले परमादेशबाट आएको गठबन्धन सरकारको फाइदा उठाँउदै सेनालाई विवादमा मुछ्न पाए स्वार्थ सिद्धहुने देखेर वर्तमान अवस्था सिर्जना भएको अनुमान गर्न सकिन्छ । साथै उनीहरुसँग विगतमा हुने संयुक्त सैन्य अभ्यासको समयमा नेपाली सेनामा देखिएका कमि कमजोरीको फाइदा उठाउन खोजिएको पनि हुनसक्छ । यस्ता अभ्यास संसारमा गरिन्छन् र नेपाली सेनाले विदेशी सेनासँग संयुक्त सैन्य अभ्यास गरेर राष्ट्रिय सुरक्षामा सबल होलान् भन्ने गरिएको अनुमान अहिले गलत सावित भएको छ ।
पश्चिमाहरु नेपाली सेना भित्रको सैन्य क्षमता बुझ्न र सहयोगको बाहनामा सेनालाई विवादमा फसाउन कुटिल चाल चल्नको लागि मात्र सामेल भएका थिए भन्ने अहिलेको अवस्थाले प्रष्ट्याइसकेको छ । उनिहरुले बुझेका छन् की सरकारले राष्ट्रि सुरक्षाको लागि आवश्यक सैन्य सामाग्री खरिदको लागि रकम विनियोजन गर्नु भन्दा पनि सर्प पाल्न पहुँचवालालाई रकम बाँड्न प्रेरित छन् र बजेट पनि पहुँचको आधारमा तयार गरिन्छ ।
राजनीतिमा मात्र देखिएको वैदेशिक हस्तक्षेप अहिले सेनामा पनि देखिनु भनेको नेपालको सार्वभौमिकता, स्वाधिनता तथा स्वतन्त्रता माथिको खतराको घण्टी हो । यसले दक्षिण एशियामा क्षेत्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत असर पर्नसक्छ । किनकी हामी भौगोलिक कारण आर्थिक उदीयमान शक्ति राष्ट्र चीन र भारतको बिचमा छौं ।
त्यसैले पश्चिमा राष्ट्रहरुले नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सुरक्षामा खेलवाड गर्दै आएका छन् । विगतमा सामाजिक द्वेष फैलाउन धर्म परिवर्तनमा अरबौं रकम लगानी गरेर केही हदसम्म सफल भए तर पूर्ण रुपमा सफल नभएकाले अहिले राजनीति मार्फत् सेनालाई तहस नहस पार्ने खेलमा लागिरहेका छन् ।
राष्ट्रिय सुरक्षाको अर्को निकाय प्रहरी निकाय माथि नाङ्गो नाच नाचेका विदेशी पूँजीवाद दलालका नोकरशाही राजनीतिकर्मीहरुले सेनाको व्यवस्थापन माथि पनि नाङ्गै नाच्न प्रयास गरिरहेका छन् र यसलाई सेनाले सुक्ष्म अध्ययन गरी आगामी कदम चाल्नु पर्ने देखिन्छ ।
विगतमा भारत तर्साउन पाकिस्तान पसेको अमेरिका अलकायदा उत्पादन गरेर अमेरिकामा हमला गर्न लगाई पाकिस्तानलाई नै दोषी करार गरेर तहसनहस पारिसकेपछि भारत घेर्न पुनः अफगानिस्तान पसेको थियो । अफगानिस्तानमा द्वन्द्व भइरह्यो भने भारत आर्थिक विकासमा पछि पर्छ भन्ने अमेरिकी बुझाइ भारतको लगातार मेहनतले गलत सावित गरिदियो ।
साथै ताइवानमा हस्तक्षेप गरेर चीनलाई साइजमा ल्याउने अमेरिकी चाललाई चीनले निस्तेज पारिदियो । अब, अमेरिकाले भारत र चीन दुबैलाई आर्थिक विकासमा रोक्न नेपाल मार्फत् आफ्नो भूमिका खेल्न खोजिरहेको छ ।
अहिले नेपालप्रति अमेरिकी प्राथमिकता हेर्दा इण्डोप्यासेफिक रणनीति मार्फत् अमेरिकी सेना नेपाल भित्रिन खोज्यो भन्नु गलत सावित हुनसक्छ । उसले सिधै नेपालमा सेना उतार्न एसपीपी सम्झौता गर्न दवाव दिइरहेको छ र भारतले अमेरिकाको साथ दियो छिमेकीप्रति सहानुभूति राखेन भन्नु गलत सावित भएको छ । तर, छिमेकीलाई अगागि सारेर सुक्ष्म प्रवेश गर्नु अमेरिकाको पुरानै चालबाजी हो ।
अहिले अमेरिकी चाल भारत सिद्धाउनु पनि हो किनकि अमेरिकाको कोही पनि परम मित्र हुँदैनन् भन्ने उदाहरणका लागि पाकिस्तान, लिबिया, हाइटी तथा अफगानिस्तान जस्ता देशमा अमेरिकाले खेलेको भूमिका हेर्दा सहजै अनुमान लगाउन सकिन्छ ।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले भनेजस्तै अमेरिका सुपर पावर शक्तिको रुपमा रहिरहनको लागि हदैसम्मको चालबाजी गर्न सक्छ । उसको प्रमुख उत्पादन भनेको हतियार उत्पादन नै हो । यदि संसारमा युद्ध भएन भने उसका उत्पादन निर्यात् हुँदैनन् र आम्दानी गर्न सक्दैन, त्यसैले एक अर्को राष्ट्रलाई उक्साएर द्वन्द्वमा फसाएपछि मात्र उसले व्यापार गर्नसक्ने आर्थिक विकास गर्नसक्ने भएकोले उसको चाल संधै युद्ध गराउनेमा मात्र हुन्छ । अमेरिकी चालबाजीको कारण अहिले चीनले आफ्ना सेनाको गतिविधि नेपाली सीमा नजिक बढाइरहेको गोप्य तथ्यले युद्धको प्रेरित गरिहेको भन्ने अनुमान लगाउन सकिन्छ ।
चलाखी पूर्ण कुटनीतिक प्रयोगमा शासक चनाखो भएन भने राष्ट्र दलदलमा फस्न पुग्छ । आन्तरिक रुपमा आर्थिक सम्पन्न भएन र राजनीतक संस्कार बसेन भने विदेशीले चलखेल गर्न सक्ने र अन्य देशको विरुद्ध प्रयोग गराउन सक्ने अवस्था आउन सक्छ, जुन नेपालमा हुँदैछ । असफल कूटनीति भनेको कुर्सीकै लागि गरिने असमान सन्धी सम्झौता, अलोकतान्त्रिक अभ्यास, असहिष्णुता, नातावाद, क्रिपावाद, भ्रष्टाचार, गैरकानूनी रुपमा लिइने वैदेशिक सहयोग हुन ।
त्यसैले राष्ट्रको आन्तरिक मामिलामा वैदेशिक शक्तिको हस्तक्षेपकारी भूमिका निस्तेज पारी राष्ट्रलाई सार्वभौम रुपमा बचाइ राख्न राजनीतिमा लागेकाहरुको भूमिका अहम हुने हुँदा तथा सरकारको बागडोरमा पनि त्यही राजनीतिकर्मी पुग्ने हुँदा अप्रत्यक्ष रुपमा राष्ट्रको लागि अहित हुने खालका क्रियाकलाप बन्द गरिनुपर्दछ ।
आफ्नो गल्ति ढाकछोप गर्न अहिले सेनालाई अगाडि सार्ने हो भने हिजो म्यानमार, ब्राजिलमा सेनाले शासन कब्जा गरेर राजनीतिक गतिविधिलाई बन्देज गरेको अवस्थामा के हुन्छ ? त्यो कल्पना पनि गर्न सकिन्न । त्यसैले सर्त सहितका वैदेशिक सहयोग अस्वीकार गरी राष्ट्र अक्षुण राख्न सेनालाई विवादमा पार्ने काम बन्द गरिनुपर्छ ।
साथै नेपाल सरकारले वि.सं २०७३ मा जारी गरेको सुरक्षा नीति गोप्य राख्नु भन्दापनि तदारुकताका साथ कार्यान्वयनमा ल्याइनु पर्दछ । आशा गरौं भोलिका दिनमा वैदेशिक हस्तक्षेपको कारण नेपाली सेना विवादमा नल्याइयोस् र राजनीतिमा लागेका केही व्यक्तिको व्यक्तिगत स्वार्थको लागि राष्ट्र भडखालोमा हाल्ने काम नहोस् ।