• मंसिर १४ २०८१, शुक्रबार

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशकबीच बजेटबारे भलाकुसारी

असार ५ २०७९, आईतवार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बीच आइतवार शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए ।

अर्थमन्त्री शर्माले ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको’ स्मरण गर्दै ‘विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोग’ का लागि धन्यवाद ज्ञापन गरेका थिए ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको छ ।

विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न आफूहरु प्रयत्नरत रहेको उल्लेख गर्दै मन्त्री शर्माले ‘आर्थिक वर्ष २०७९/८० को बजेट मूलत: आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको’ बताएका थिए ।

शर्माले भर्खर प्रस्तुत गरेको बजेटका ‘माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा’ उल्लेख गरिएको दाबी गरेका छन् ।

भेटवार्ताको अवसरमा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले नेपालको बजेट बारे पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । पान्जेस्तुका अनुसार ‘बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएको छ ।’

उनले नेपाल जस्तो देशको ‘विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको’ बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्‍याउन लालायित रहेको बताएका छन् ।