जब राजनीतिलाई व्यापार बनाइन्छ, त्यस देशमा नेताका भेषमा व्यापारीको रजगज रहन्छ । व्यापारीहरूले जब राजनीतिलाई आफ्नो व्यापार गर्ने थलो बनाउँछन्, व्यापारीको व्यापार त फस्टाउँछ तर देश भने सधैं डुब्छ, अनि घाटामा जान्छ ।
नेपालको राजनीतिमा विगतदेखि यही संस्कार फस्टाउँदै आएको छ । यो सत्यतालाई अब कसैले पनि ढाकछोप गर्नु जरूरी छैन । गर्न खोज्ने मानिस देशद्रोही हो, यसो भन्दा फरक पर्दैन ।
योग्यता र क्षमता विहीन मानिसले राजनीतिको नाममा गर्ने राज्यदोहन, सत्तादोहन र पददोहन हो । जे जे भने पनि अन्ततोगत्वा आफू मोटाउने अनि देशलाई सुकाउँदै यतास्थितिमा धकेल्ने बाटो हो यो ।
जुन दुस्कर्म बिगत देखी हुँदै आएको छ , यही नेर राजनीतिका नाममा हुने व्यापार यती फस्टायो कि राजनिती नै बदनाम हुनपुग्यो ।
राजनीति र समाजसेवा एक सिक्काका दुई पाटा हुन् । यी दुई जुन क्षेत्रमा लागे पनि उस्तै–उस्तै काम हुन् भनिन्छ । राज्यको नीतिभित्र रहेर राजपाठमा अहम् भूमिका निर्वाह गर्नु राजनीति हो ।
देश र समाजको अगुवाइ गर्नु, नेतृत्व प्रदान गर्नु र बृहत्तर राष्ट्रिय र मानव हितमा समर्पण रहनुको नै राजनीति हो । कतिपय समृद्ध देशका राजनीति गर्न इच्छुक व्यक्तिहरू थप सामाजिक प्रतिष्ठा आर्जन गर्न राजनीतिमा होमिन्छन् ।
उनीहरू जनता र देशको वृहत्तर हितमा लागि पर्छन् । आफू र परिवारभन्दा माथि उठेर मानव जाति र प्रकृति संरक्षणमा समेत अहम् भूमिका निर्वाह गर्छन् ।
तर नेपालको कथा भने बेग्लै छ, यहाँ कमाउन, रमाउन, धमाउन, आफू बन्न, राजनीतिमार्फत् व्यक्तिगत स्वार्थ पूरा गर्न मानिस विभिन्न झुण्डहरूको सहारा लिएर राजनीतिमा होमिन्छन् ।
विकसित चेत राजनीतिमा लागेपछि मात्र देश र समाजमा रूपान्तरण आउँछ । देशले राजनीतिक अगुवा पाउँछ । समाजले प्रतिष्ठित व्यक्तिको नेतृत्व पाउँछ ।
त्यस्ता व्यक्तिले देश र जनताविरूद्ध गद्दारी गर्दैनन् । त्यस्ता नेता र नेतृत्व सिंगो देश र जनताले गौरव गर्न लायकका हुन्छन् । राजनीति त्यही कारण सर्वस्वीकार्य, प्रतिष्ठित र मान्य हुन्छ । नेता देश र समाजलाई समग्र नेतृत्व प्रदान गर्ने आकर्षणको केन्द्र विन्दु हुनुपर्छ ।
तेस्रो विश्व जहाँका नागरिक गरिबी, अभाव, पछौटेपन, अशिक्षाबाट ग्रस्त छन्, त्यहाँको राजनीति व्यापारीकरण हुँदै गएको छ । त्यो राजनीतिको धर्म, मर्म र मान्यतासम्मत छैन । अवश्य पनि छैन ।
तेस्रो विश्व खासगरी नेपालजस्ता देशहरूमा राजनीतिको अर्थ विशिष्ट रोजगार हुन पुगेको छ । असफलहरूका लागि वैकल्पिक रोजगार पनि । असफलहरूको आकर्षणस्थल र ब्याकव्यांचरको अखडा बन्न थालेको छ । यही जमातले क्रमशः नेपाली राजनीतिमा कब्जा जमाउँदै गएको छ ।
समाजका सम्पूर्ण क्षेत्रलाई शासन र अगुवाइ गर्ने नै राजनीतिले हो । जब राजनीतिमा अयोग्य मानिसहरूले कब्जा जमाउँछन्, हालत अहिलेको नेपालको जस्तो हुन्छ ।
देशले आफूभित्र राजनीतिका नाममा हुर्किरहेको अक्षमता र व्यापारीकरण पछिल्लो समयमा चुनौतीका रूपमा बोध गरिरहेको छ । देशको सीमाभित्र बसोबास गर्ने जनताले बोध गरिरहेका छन् ।
संसार अहिले एकले अर्कोलाई निल्ने होडमा छ । यसको सामना नेपालले कसरी गर्ला ? विश्व प्रतिस्पर्धामा देशले कसरी आफ्नोपन बचाउन सक्ला ? कतै हाम्रो भविष्य अन्धार हुने त होइन !
यहाँ आजका नयाँ पुस्ताका युवा राजनीतिमा आउने चाहना कमै गर्छन् । हिजोदेखिको राजनीतिक संस्कार वा पद्धतिको निरन्तरता नै युवाप्रति राजनीतिक आकर्षण र झुकाव कम हुनु देखिएको छ ।
यसको सिधा अर्थ हो, राजनीतिप्रति नेपाली समाजको बुझाइ पनि त्यति सकारात्मक छैन । अस्तित्वमा रहेका राजनीतिक दलको क्रियाकलाप यसको मूल कारण हो ।
राजनीतिक संरक्षणमा मौलाएको गुन्डागर्दी, भ्रष्टाचार, ठेकेदारी, सरूवा, बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षणजस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिप्रति दिनप्रतिदिन वितृष्णातिर धकेलिरहेको छ ।
वस्तुस्थिति हेर्दा देशको जग नै हल्लिएको छ । उद्योग कलाकारखाना बेचिएको छ । धरासायी बनाइएको छ । असमान सन्धि अनि सम्झौता गरेर देशको अस्तित्वमाथि संकट थोपरिएको छ ।
लाखौं विदेशिएका स्वदेशीहरूको खुन पसिनाले राज्य सन्चालकमा मात लागेको छ । यिनका असक्षमता र निकम्मापन असैह्य हुँदै गएका छन् । यो आजको सत्य हो ।
परिणामस्वरूप देश निर्माणका खम्बा युवा र शिक्षित वर्ग आज राजनीतिक चासो र उपस्थितिमा इच्छुक छैनन् । यसको फाइदा उठाउँदै अयोग्य, अशिक्षित र नेतृत्व क्षमता नभएका व्यक्तिहरू राजनीति तानिइरहेका छन् ।
हिजोकै पुराना ‘वाद’बाट ग्रसित बूढा नेताबाट आजका पार्टीहरू चलेका छन् । यसैका कारण बदलिएको नेपाली समाज र यसको आवश्यकतालाई सम्बोधन गर्न उनीहरू असक्षम छन् ।
समस्या हामीसँगै छ । अरूलाई औंला उठाउन सजिलो मान्ने हाम्रो मानसिकतामा सबैभन्दा पहिले सुधार आउनु आवश्यक छ । हामी सुध्रनु जरूरी छ ।
आफ्नो भूमिका के र कस्तो रहने भन्नेसम्म पनि नसोच्ने अनि राजनीतिले देश बिगा¥यो भनेर भन्नु जायज हुँदैन । कस्तो ब्यक्तिलाई देश सुम्पिदै छौं, यो विचार गर्नु पर्दैन र ?
कस्तो दललाई मत दिँदैछु, हेक्का राख्नु पर्दैन ? ठूलो कुरा गरेर काममा सिन्को नभाच्नेबाट के पाउँछन् देश र जनताले ? यो विचार गर्नु पर्दैन ? यस्ता प्रश्न अब आँफैले आँफैलाई सोधौ, अनि बुझौं ।
पुराना पुस्ताबाट नयाँ पुस्ताले राजनीतिलाई कमाउने थलोको रूपमा बुझे भने अबको भविष्य के होला ? त्यसो भए त नयाँ पुस्ताबाट पनि अपेक्षा नगर्दा नै बेस होला ।
कारण एक त युवा पुस्ताले राजनीति, देश अनि भविष्यलाई फरक पाटोमा बुझ्ने हैसियत राख्नु पर्छ । यदि राजनीतिमा लागियो भने र आफू बन्नु र आफूलाई बनाउनु मात्र हो भन्ने बुझियो भने देशमा कस्तो बिडम्बना आउला ?
तसर्थ राजनीति सेवा हो, देशलाई बनाउने माध्यम हो भनेर जबसम्म चेतनाको स्तर साच्चै बन्न सक्दैन, तबसम्म राजनीति सुध्रिदैन । अनि राजनीतिक व्यापार पनि रोकिदैन ।
यो अवस्था अनि व्यवस्थाको सुरूआत हामी आफै युवाहरू उठेर, देश, गाउँ, सडक सडकमा आवाज बुलन्द नगरेसम्म सम्भव पनि छैन । पुरानै संस्कार अनि विचारधाराका राजनीतिक सोचको उपज अब देश विकास हुन हुन सक्दैन ।
आम जनतालाई ब्युँझाउने बेला भएको छ । राजनीतिमा व्यापारीहरूको रजगजलाई बन्द गर्न ठूलै आँट गर्नु पर्ने भएको छ । आउनुहोस्, हामी युवा एकजुट हुनै पर्छ ।
देशलाई लुटेराहरूको, राजनीतिको आडमा हुने देशको मोलमोलाइ, कित्ताकाट गर्ने र देशको अस्मिता बेच्नेहरू विरूद्ध अब उत्रनै पर्छ । यो स्वाधीन नेपालका लागि जरूरी छ ।