• मंसिर १२ २०८१, बुधबार

मागिखाने होइन, काम गरिखान सिकाउने शिक्षा लागु गरौं !

असार २ २०७९, बिहीबार

हाम्रो शिक्षा गरिखाने भन्दा पनि मागिखाने जनशक्ति उत्पादन गर्नेतिर लक्षित भएको गुनासो सत्यताको नजिक छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो तर त्यस्तो भइरहेको देखिँदैन ।

रोजगारका लागि भौंतारिने भन्दा पनि रोजगार सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षा जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्दछ ।

तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिका कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवाहरूको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ ।
साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि बरदान साबित हुन सक्छ । अहिले पनि झन्डै ५० लाखको हाराहारीमा वैदेशिक रोजगारीमा भएका युवाहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भैसकेको छ ।

वैदेशिक रोजगारमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य बृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।

नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताको लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय आर्जनमा समेत बृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । रोजगारको लागि भौंतारिने भन्दा पनि रोजगार दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको स्वरोजगारमुखी शिक्षा नीति हुनु पर्दछ ।

प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट करीब ५ लाख परीक्षार्थी उत्तीणर् भएका हुन्छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राको लागि मुख्यतया प्राविधिक र साधारण शिक्षामध्ये छनौट गर्नु पर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन अनुसन्धान तह सम्मको लागि साधारण शिक्षा रोज्नु स्वभाविकै हो ।

आफ्नो योग्यता क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्दछ ।

एसइई पार गरेका परीक्षार्थीको लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ ।

एसइई परीक्षा उत्तीणर् टिएसइई र डिप्लोमा गरी करीब ४५ हजार भन्दा बढीले सिटिइभिटी अन्तरगत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्था मार्फत् प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ ।

सिटिइभिटी अन्तरतगतका ३ सय ३१ संस्थाहरूबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरेको छ । त्यस्तै २ सय ८० सम्बन्धन प्राप्त निजी संस्थाहरूले पनि विभिन्न प्राविधिक कोर्सहरू संचालन गरिए तापनि पर्याप्त देखिएको छैन ।

हाम्रोजस्तो भौगोलिक विकटता र सामाजिक आर्थिक विभिन्नता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताका लागि सरकारले विशेष ध्यान दिन विलम्ब भैसकेको छ । विगत वर्षहरूमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा चित्रित भएका थिए ।

तर पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकुल सकारात्मक नीति राज्यले लिएको पाइन्छ । दिनप्रति दिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि विदेशिनु देशका लागि कदापि शुभ संकेत होइन ।

रोजगारीका लागि नेपाली युवाहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धित विनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिंएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अङ्गाल्न हिच्किचाउँदै हजारांै, लाखौं रूपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा  जोखिमपूर्ण वातावरणमा होमिइरहेका छन् ।

तरकारी, फलफूल खेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ?

त्यो भन्दा तल्लो स्तरको काम गर्न मुङ्गलान नै पस्नु पर्ने किन ? यस्तो मनोविज्ञानलाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटिई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ ।

यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ?
हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन । शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाईन्छ ।

गुणस्तर प्राप्ताङ्कको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमाबुबाको अर्थ नबुझने तर ड्याड र ममको संस्कारमा हुर्कने, दुध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करूवा दाँते आदिको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र पाएका छन् ।

तर अल्प व्यवहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्वन गरिनु पर्दछ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।

माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ ।
कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ । हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नु पर्ने देखिन्छ ।

किनकि एक सय  पूर्णाङ्क सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीणर् हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्दछ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

कतिपय विषयमा  पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उतीणर् भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न ।

त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, उर्जाशील सफल नागरिक बनाउने खालको व्यवहारिक पौरखी शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ ।

पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनु पर्दछ ।
पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै, उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ ।

राज्यले तोकेको पाठ्यक्रमको अतिरिक्त तिव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनु पर्दछ । जसले विद्यार्थीलाई भविष्यमा स्वरोजगार भै बाँँच्न प्रेरित गर्न सकोस् ।