• आश्विन १२ २०८१, शनिबार

एमसीसीपछि नेपाललाई सैन्य रणनीतिमा लैजान अमेरिकाले किन गर्दैछ ताकेता ?

जेष्ठ ३० २०७९, सोमबार

काठमाडौं । अमेरिकाले नेपाललाई सैन्य रणनीतिक योजनामा ल्याउनका लागि प्रयास जारी राखेको छ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) संसदबाट पारित भएपछि पछिल्लो समय अमेरिकाले नेपाललाई सैन्य रणनीतिक ल्याउन खोजेको हो ।

अमेरिकाले नेपाल मात्रै होइन श्रीलंकालाई पनि सो रणनीतिमा ल्याउन खोजेको थियो तर, श्रीलंकाको राजनीतिक उथलपुथलका कारण पछि हटिसकेको छ । पाँच वर्षअघिदेखि नेपाललाई अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । अहिले पुन अमेरिकाले सैन्य समझदारी पत्रमा हस्ताक्षर गर्न जोड गरिरहेको छ । यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चाल्र्स ए फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार देउवा अमेरिकी प्रस्तावमा सहमत भइसकेका छन् तर नेपाली सेनले भने थप छलफल जरुरी रहेको बताएको छ ।

यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो कार्यकार्यबारे नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । त्यतिबेला अमेरिकाले नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक रुपमै आफ्नो प्रस्ताव राखेको छ ।

अमेरिकी सेनाको प्रस्तावअनुसार नेपाली सेना र अमेरिकी सेनाको ‘युनाइटेड स्टेट्स नेसनल गार्ड’ बीच दैवीप्रकोप रोकथाम र नियन्त्रणमा केन्द्रित भई सहकार्य हुनेछ । अमेरिकी सेनाको युटा नेसनल गार्डसँग नेपाली सेनाले विपद् नियन्त्रण र रोकथामबारे सहकार्य गर्नेछ । उक्त कार्यक्रम अन्तर्गत दुवै देशका सेनाबीच भ्रमण आदानप्रदान र सैन्य अभ्यास समेत हुनेछन् । अमेरिकाले हालसम्म १ सय देशका सेनासँग सहकार्य गरिसकेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेपाल र अमेरिकाबीचका कूटनीतिक छलफल र बैठकहरूमा वासिङ्टनले बारम्बार स्टेट पार्टनरसिप प्रोग्राममा नेपाली सेनाको सहभागिताबारे प्रतिबद्धता माग गर्दै आएको थियो । यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चाल्र्स ए फ्लिनले प्रधानमन्त्री देउवालाई भेटेपछि उनी विश्वस्त भएका छन् ।

फ्लिन सैन्य सम्झौताको लागि वातावरण बनाउन नेपाल आएका हुन् । उनी फर्केपछि प्रधानमन्त्री देउवा र प्रधासेनापति शर्मा पेन्टागन प्रस्थान गर्दैछन् । अमेरिका भ्रमणको पूर्वसन्ध्यामा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले संसदमा प्रश्न गरिरहेका छन् । तर, सांसदहरुको जवाफ प्रधानमन्त्री देउवाले दिएका छैनन् ।