• मंसिर १२ २०८१, बुधबार

बलात्कार मुद्दामा हदम्यादका कुरा !

जेष्ठ २९ २०७९, आईतवार

बालिका तथा किशोरीहरूमाथि बलात्कार र यौन शोषणको घटनाहरू एकपछि अर्को आइरहँदा नेपाली समाज भित्रको यथार्थता पनि चित्रित हुने गरेको छ । कुनै पनि बलात्कारको घटनामा सजिलै बलात्कारीलाई सजाय हुन सकिरहेको अवस्था छैन ।

धेरै जसोे घटनामा बलात्कारीलाई भन्दा पनि बढि केरकार तथा आशङ्का पीडितमाथि गरिन्छ । सामाजिक संस्थामा करीब १३ वर्षभन्दा लामो समय काम गर्दाको अनुभवमा मैले आफैले तीन दर्जनभन्दा बढि यौन दुव्र्यवहार तथा बलात्कारको घटनाहरू प्रत्यक्ष रूपमा हेर्दा कहिले पनि सजिलो अनुभव गरिन ।

कुनै न कुनै बहानामा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजमा आफूलाई ठालु मान्नेहरू बलात्कारीका पक्षमा उभिने गर्दछन् । प्रहरी प्रशासन पनि जति सक्दो मिलाउने पक्षमा नै रहेको देखिन्छ ।

समाजले नै कहिलेकाहिँ बलात्कारीलाई सजाय दिलाउनुको साटो साना बालिकाहरूलाई नै ती बलात्कारीसँगै बिवाह गरिदिएको घटनाहरू पनि छन् । प्रहरी कार्यलयभित्र जब निवेदन लेखिन्छ अनि छलफलमा बसौं भनेर एक हुल ठालुहरू बालिकाको इज्जतको कुरा निकालेर गुपचुप मिलाउन दबाब दिइरहेका हुन्छन् ।

करीब चार वर्ष अघि एउटा सामुहिक बलात्कारको घटना सुनसरीको इटहरी प्रहरी कार्यालयमा आएको थियो । जब हामीले घटनाबारे पक्का हो भन्ने खबर सुन्यौं अनि प्रहरी कार्यलय गयौं । हामी पुग्नु अगावै राजनीतिक दलका स्थानीय नेताहरू पुगेर सार्वजनिक झगडाको विषय बनाएर मिलाएर पठाउन लागेका रहेछन् ।

हामीले ती महिलालाई ब्यक्तिगत रुपमा भेटेर कुराकानी गर्दा उनको शरीरभरि निलडाम, चोट अनि कपडा सबै च्यातिएको प्लाष्टिकको झोलामा बोकेर हिँडेकी रहिछन् । दबाब दिएपछि पूरै झगडा नै भएर मात्र मुद्दा दर्ता भो तर पनि ती बलात्कारीहरूमध्ये एकजना मात्र पक्राउ परे ।

पुरूषप्रधान सोच समाज, प्रशासन, राजनीतिक दलभित्र व्याप्त छ । यौन दुव्र्यवहारको मुद्दालाई संवेदनशील भएर हेरेको देखिँदैन । कानुन जति छ, त्यो पनि लागु हुन सकिरहेको छैन ।

त्यसैको परिणाम नै समाजमा बारम्बार डरलाग्दा यौन शोषण, बलात्कार र हत्याका घटनाहरू बढिरहेका छन् । बलात्कारपछि हत्याका घटनामा निर्मला पन्त र भागरथी भट्टजस्ता कति किशोरी बालिकाहरूको हत्यारालाई अझैसम्म पक्राउ गर्न नसकेका घटनाहरू छन् ।

भर्खरै केही दिन यता टिकटक मार्फत् सुस्मिता नामकी एक युवतीले आफू भिडियो मार्फत् सार्वजनिक भएरै १६ वर्षकी हुँदा ८ वर्ष अघि बलात्कारमा परेको घटना जब पोष्ट गरिन् । यो घटनाले सुन्दरी प्रतियोगिताभित्रको कुरूप क्रियाकलापलाई छर्लङ्गै बाहिर ल्यायो ।

भिडियो सार्वजनिक भए लगतै देशभरबाट उनको पक्षमा आवाज उठेपछि अनि सञ्चार माध्यमहरूले पनि उनको आवाजलाई अझ सशक्त बनाएपछि आरोपित मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सन् २०१४ मा भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी उनलाई आयोजक रहेका मनोज पाण्डेले कार्यक्रम छ भनेर होटलमा बोलाएर झुक्याएर जबरजस्ती करणी गरेका थिए ।

त्यसपछि त्यहि खिचेको फोटो, भिडियो देखाएर छ महिनासम्म लगातार यौन शोषण गरेका थिए । उनी खुलेको केही दिनपछि सुनसरी इटहरी निवासी अर्की युवती रेजिनाले फेसबुक मार्फत् आफू ७ वर्ष अघि विद्यालयको होस्टलमा रहँदा प्रिन्सिपलबाटै बलात्कृत भएको घटना सार्वजनिक गरेकी छिन् ।

आफू कक्षा ९ मा ब्लुमिङ लोटस इङ्लिस सेकेण्डरी स्कुलमा पढ्दा विक्रम सम्बत २०७२-२०७३ तिर होस्टलमा रहँदा छातीमा समस्या आएको थियो । प्रिन्सिपल राज खड्काले उनलाई उपचार गर्न अस्पताल लैजाने भनि आफूसँगै लगेर बाटोमा खाना खाने बहानामा होटलमा लगेर जर्सी च्यातेर पहिलो पटक बलात्कार गरेको उनले बताएकी छिन् ।

त्यसपछि एसईई परीक्षासम्म लगातर दुई वर्ष यौन शोषण गरेका थिए । जब उनी होस्टल बाहिर आइन् परिवारलाई घटना सुनाएपछि किटानी जाहेरी पनि दिएका थिए । तर उनलाई पक्राउ गरिएन । बरू जो जतिले थाहा पाए तिनीहरूले उनलाई नै ठीक नभएको भनेर उनकै चरित्रमाथि हिलो छ्याप्ने कार्य गरेका थिए ।

त्यसैले पनि उनी तनावमा थिइन् तर जब सुस्मिताको पक्षमा जनमत देशभर खडा भयो । त्यसपछि उनले पनि सार्वजनिक हुने हिम्मत जुटाइन् । उनको पक्षमा पनि जब दबाब सृजना भयो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टिमले आरोपित राज खड्कालाई काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

यस अघि गायिका किशोरी समिक्षा अधिकारीको घटनामा दोषी ठहर गरी नायक पल शाहलाई पक्राउ गरी मुद्दा चलिरहेको अवस्था छ । केही घटनाहरू बाहिर आए देशभर घटनामा दबाब प्रतिक्रियाहरू पनि आए, दोषीलाई कारवाहीका लागि समातिएको पनि छ ।

कैयौं यस्ता घटनाहरू छन् जो बाहिर आउन सकेका छैनन् । सुस्मिताको घटनामा पनि उनले माल्भिका सुब्बालाई समेत सहयोग मागेकी रहिछन् तर उनले समेत त्यो समयमा बेवास्ता गरेको देखियो ।

उनले केहि आँट पक्कै गरेको देखिन्छ किन कि ६ महिना पछि आरोपितकै अफिसमा गएर हाकाहाकी कुरा गरेर सबै भिडियो, फोटो डिलिट गर्न लगाएको उनले बताएकी छिन् ।
त्यो आँटमा सुस्मिताले पूरै घटना नसुनाए पनि माल्भिकाले प्रत्यक्ष वा अप्रत्यक्ष साथ दिन सकेको भए सायद त्यो बेलै अपराधी पक्राउ पर्ने थियो ।

उनले आफू केहि समस्यामै भए पनि मिस नेपाल भइसकेर सञ्चार माध्यम लगायत विभिन्न कार्यक्रममा अग्रस्थानमै रहेकी थिइन् । महिलाको पक्षमा काम गर्ने संस्थाहरू सम्म समन्वय गरी दिएको भए पनि हुने थियो । यस घटनाले हामी जो कोहिलाई पनि ठुलो पाठ सिकाएको छ ।

तत्काल सार्वजनिक भएको दुईवटै बलात्कारको घटनामा पुरानो भएको हिसाबले हदम्यादको कुरा उठेको छ । जबरजस्ती करणीको घटनामा ३५ दिनभित्र अदालतमा मुद्दा चलाइ सक्नुपर्ने कानुनी प्रावधानलाई बढाएर एक वर्षको अवधि बनाए पनि तत्काल सार्वजनिक भएका बलात्कारका घटनाहरूलाई हेर्दा हदम्याद तोकिदा पीडितले न्याय नपाउने र बलात्कारीले उन्मुक्ति पाउने देखिन्छ ।

त्यसैले पनि बलात्कारको घटनामा समयसीमा वा हदम्याद तोकिन नहुने र हदम्यादको कानुनी प्रावधान संसोधन हुनु पर्ने माग सडकदेखि संसदसम्म उठिरहेको छ । मानवअधिकारकर्मी मोहना अन्सारी भन्नुहुन्छ ‘हदम्याद बाधक छ, यसले न्यायिक प्रक्रियालाई जटिल बनाएको छ । कानुन नबुझेकाहरूलाई त यसले झनै असर पार्छ ।’

नेपालको सामाजिक परिवेशमा बलात्कार तथा यौन हिंसाको मुद्दामा हदम्याद हटाइनु नै उपयुक्त देखिन्छ । नेपालको पछिल्लो तथ्याङ्क हेर्दा महिला हिंसा तथा बलात्कारको घटनाहरू बढिरहेको देखिन्छ । प्रहरीको तथ्याङ्कले विगत पाँच वर्षभित्र नेपालमा ८ हजार भन्दा बढि बलात्कार र ३१ सय भन्दा बढि बलात्कार प्रयासका घटना भएको देखाउँछ ।

नेपाल प्रहरी मुख्यालयको तथ्याङ्कले देशभरि दैनिक ६ जना बलात्कारको सिकार हुने गरेको देखाएको छ । बलात्कारीहरूले बालिकाहरूलाई बढि निशाना बनाएकोे देखिन्छ ।

अपराध संहिताको दफा २१९ ले कसैले मञ्जुरी नलिई वा मञ्जुरी लिएर भए पनि १८ बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे बलात्कार गरेको ठहरिन्छ ।

कानुनले पनि छुन नसकेका असङ्ख्य घटनाहरू समाजमा लुकेर बसेका छन् । जति कानुन छ त्यो पनि राम्ररी लागु हुन सकिरहेको छैन । ‘गरीबलाई ऐन ठालुलाई चैन’ भने झैं हरेक साना घटनादेखि बलात्कार जस्तो जघन्य अपराधका घटनामा अपराधीहरू छुटेका थुप्रै घटनाहरू छन् ।
सबैभन्दा बढि प्रहरी प्रशासनलाई नै संवेदनशील, सचेत र सक्रिय बनाउनु पर्ने देखिन्छ । प्रहरी र सरकारी वकिलले यदि कुनै पनि दबाबमा नआइकन काम गर्न सकेको खण्डमा अपराधीहरू पक्कै उम्कन पाउने थिएनन् र पीडितले न्याय पाउन सक्ने वातावरण बन्नेछ ।

यौन दुव्र्यवहारका घटनाहरूमा कमी ल्याउनका लागि विद्यालयमा साना बालबालिकादेखि किशोर किशोरीहरू र अभिभावकलाई समेत यौन दुव्र्यवहारको परिभाषा, कानुनी प्रावधान र बच्न अपनाउनु पर्ने उपायहरू र यदि घटना घटेमा कहाँ कसरी उजुरी दिन सकिन्छ भन्ने सम्मको जानकारी गराउनु पर्ने देखिन्छ ।

चिने जानेकैबाट बढि यौन शोषण हुने गरेको हुँदा जो कोहीलाई विश्वास गरी आफ्ना बालबालिकाहरू छोड्न नहुने पाठ यसले सिकाएको छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउनका साथै सबै कुरा आदानप्रदान गर्न सक्ने वातावरण पनि बनाउनु पर्दछ ।

आफूमाथि भएको हिंसामा चुप लाग्नु हुँदैन भन्ने सचेतना भर्न सक्ने ब्यवहारिक शिक्षाको पनि आवश्यकता देखिन्छ । कानुनी राज्यको प्रतिभूति दिलउन निर्वाचित राजनीतिक दलका प्रतिनिधिहरूले पनि यौन हिंसा विरूद्ध ऐक्यबद्धता जनाएर ठोस कदम चाल्न सक्नु पर्दछ ।