चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघले नियमितजसो स्थानीय मानिसमाथि आक्रमण गर्ने गरिरहेको छ । बाघको हमलामा परी धेरैले ज्यान गुमाएका छन् र यो क्रम निरन्तर बढ्ने देखिएको छ ।
बाघले किन हमला गरिरहेको छ, यसबारेमा बाघको सिकार हुन गएका र अक्रमणमा परी घाइते हुन पुगेका निर्दोष स्थानीयहरुले थाह पाउन सकिरहेका छैनन् ।
हालैका दिनमा चितवन राष्ट्रिय निकुन्जमा बाघको सङ्ख्या सोचेभन्दा निकै वृद्धि भएर गएको छ । बाघको संख्यामा वृद्धि हुँदै गएपछि वयस्क बाघले आफ्नो छुट्टै वासस्थान बनाउँछ ।
आफू एक्लै रहने गरी २४ सै घण्टा सुरक्षा पहरा दिएर एक वयस्क बाघले निस्चित इलाका भित्र एकल वासस्थान निर्माण गर्दछ । माउ तथा भाले बाघहरुले निकुञ्जभित्र आआफ्ना स्थायी वासस्थान बनाएर क्षेत्र कब्जा गरिसकेकाले नयाँ बाघहरु निकुन्जको मध्यवर्ती क्षेत्रमा विस्तार हुन पुगेका छन् ।
बाघको संख्यामा आएको वृद्धिसँगै यिनीहरुका लागि चाहिने आहारामा पनि कमी आउन सक्ने देखिन्छ । यसले बाघहरुलाई रिसाहा बनाएको हुन्छ । अर्को कुरा नयाँ वासस्थानको खोजीमा हुँदा यिनले असुरक्षाको महसुस गरिरहेका हुन सक्छन् ।
मानिसको नियमित आवत/जावत, रुखपातको काटानी/फँडानी, गाइवस्तुको चरिचरन, घाँसपातको कटानी र छिप्ने/लुक्ने ओतपातको अभाव आदि कारणले बाघ रिसाएको हुन सक्छ ।
त्यसैले पनि हुन सक्छ निकुन्जको मध्यवर्ती तथा बस्ती नजिकका इलाकामा वितेका ११ महिनामा १४ स्थानीय मानिसको बाघको आक्रमणबाट ज्यान गइसकेको छ । यो संख्या गत वर्ष बाघको आक्रमणबाट ज्यान गुमाउन पुगेका ४ जनाको तुलनामा निकै बढी हो ।
बाघले गाईबाख्रा चराउन गएका, निउरो टिप्न गएका, हात्ती चराउन गएका र घाँसदाउराका लागि मध्यवर्ती क्षेत्रमा प्रवेश गरेकाहरु माथि नै आक्रमण गर्ने गरेको छ । सत्य कुरा के हो भने बाघले मानिसमाथि विना कारण आक्रमण गर्दैन ।
बाघले आफूलाई मानिसको उपस्थितिबाट हरदम एक निस्चित दुरी कायम गरिराखेको हुन्छ । मानिससँग आपसी दुरी कायम गरेर बस्ने बाघले मानिससँग लडेर जोखिम मोल्न चाहदैन । यो जङ्गलको राजा बाघको स्वभाव हो ।
बाघले आफ्नो निस्चित इलाका छोड्दैन । अरु बाघकोे इलाकामा छोटो समयका लागि द्रुत गतिमा प्रवेश गरे पनि क्षणभर आफ्नो इलाकामा फर्किइसकेको हुन्छ ।
सिकार गर्ने, खाना लुकाउने, डमरु हुर्काउने, २४ घण्टा र चारै प्रहर सतर्क रहेर आफ्नो इलाका सुरक्षित राख्ने काममा बाघले कुनै कन्जुस्याइँ र अल्छी पनि गर्दैन । तर आफ्नो इलाकामा अरुको प्रवेश पनि सहन गर्न सक्दैन ।
निकै चतुर र आक्रामक स्वभावको बाघ आफ्नो इलाकामा प्रवेश गरेका जीव जन्तु वा मानिसलाई आक्रमण गरिछाड्ने स्वभावको हुन्छ । बाघ जत्तिको आक्रमक हुन्छ, उत्तिकै सतर्क पनि हुन्छ ।
तर जंगलमा गाईवस्तु चराउन, घाँसपात काट्न, निउरो खोज्न वा अन्य काम विशेषले पसेका मानिस बाघको निजी इलाकाभित्र प्रवेश गरेको छु भन्ने पत्तो पाउँदैनन् । उता बाघले मानिसको आफ्नो इलाकाभित्र आगमन एक हाँक वा चुनौतीका रुपमा लिइरहेको हुन्छ ।
यसै बेला मानिस बाघको बासस्थान नजिक पुग्दा आक्रमणमा पर्ने गर्दछन् । सुरक्षाका लागि निर्धारण गरेको सीमा इलाकामा प्रवेश गरेका कोही पनि उसको आक्रमणबाट बच्न सक्दैनन् । यो आक्रमण मानिसको सिकार गर्ने उद्देश्यले भन्दा पनि उसको सुरक्षासँग जोडिएको हुन्छ ।
बाघ आफैमा लोप हुँदै गएको प्राणी हो । यसले गर्दा पनि बाघ आफ्नो रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छ । एक्लै रमाउने, पोथी बाघ बाहेक प्रायः एक्लो जीवन विताउने, निस्चित क्षेत्रफललाई आफ्नो राज्य बनाउने, सीमा निर्धारण गर्ने र जुनसुकै मूल्यमा पनि आफ्नो ज्यान जोगाउन तयार रहने आक्रामक स्वभावका कारण बाघको बासस्थान बाघको राज्य नै मानिन्छ ।
कहिलेकाँहीँ बूढो भएको, घाइते बनाइएको, बच्चासहितको, भोकाएको, लखेटिएको, थाकेको र जम्काभेट भएको बाघले मानिसमाथि आक्रमण गर्ने गर्दछ ।
यी कुराको ख्याल गरे मात्र बाघको आक्रमणबाट बच्न सकिन्छ । तर निकुञ्जले यस्ता जनचेतनाका कार्यक्रम अघि बढाएको देखिदैन ।