काठमाडौं । यसपाली सदाको भन्दा बढी वर्षा हुने हुनाले २० लाखभन्दा बढी मानिस विपदजन्य जोखिमबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । यो वर्ष देश बाढी, पहिरोलगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमान गरिसकेको छ । तर यसको रक्षा र सेवा तथा राहतका लागि सरकारले केही पनि मूर्त कार्यक्रम अघि सारेको छैन ।
जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ । यो अनुमानमा सदाको भन्दा १६० देखि १७० प्रतिशत वर्षा हुने भनिएको छ । अघिल्ला वर्षहरुमा भन्दा ५० देखि ७० प्रतिशत पानी बढी पर्ने भनिएको हुनाले बाढी, पहिरो र डुवानबाट अत्यधिक क्षति हुने देखिएको छ ।
यसका लागि जोखिम न्यूनीकरणका पूर्वतयारीका कार्यक्रम अघि सारिनु जरुरी छ । राहत, उद्धार तथा पुनस्र्थापनाका लागि समन्वयात्मक प्रतिकार्यका योजना पनि समयमै बनाइनु जरुरी छ । अघिल्लो वर्षमा बेमौसमी वर्षा र बाढी पहिरोका कारण १८ लाख भन्दा बढी मानिस प्रभावित भएका थिए ।
पोहर साल बढीबाट ६३ र पहिरोबाट १८२ सहित ४९० को मृत्यु भयो । बाढीबाट ३४ र पहिरोबाट ३३ सहित ७० जना बेपत्ता हुन गएका थिए । यो सङ्ख्या त्यस वर्ष अनुमान गरिएभन्दा बढी थियो । तर यो वर्ष पहिले नै बढी जोखिम हुने अनुमान र आँकलन गरिसकिएको छ ।
यसपालीको अनुमानमा पोहरको भन्दा विपद् बढी हुने देखिएको छ । मौसम विज्ञान विभागको तथ्याङ्कका आधारमा यसपाली प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी वर्षा हुने अनुमान गरिएको छ ।
त्यसपछि गण्डकी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशमा बढी हुने देखिएको छ । समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुन सक्ने देखिएको छ ।
देशमा जहिले पनि पूर्वतयारी, आवश्यक स्रोतसाधन र जनशक्ति तथा समन्वयको अभावले विपद्जन्य घटनाबाट ठूलो क्षति बेहोर्दै आएको छ । कुनै पनि वर्ष प्रभावकारी विपद् व्यवस्थापन हुन सकिरहेको छैन ।