नेपाली समाजमा रमाइलो कहावत छ, ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने कसले ?’ प्रसँग हो, बिरालोले मनपरि मुसा मार्ने र विनास निम्त्याउने गर्न थालेपछि मुसाहरुको सम्मेलनबाट ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने’ निर्णय कार्यान्वयनको । बिरालोको घाँटीमा घण्टी बाँधिएपछि मुसा मार्न आउँदा घण्टी बज्ने र आफूहरु सतर्क हुन पाउने मुसाहरुको आशा थियो ।
तर बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने भन्ने समस्या मुसाहरुमा आइपर्यो । घण्टी बाँध्न जाँदा बिरालोले खाइहाल्ने भएकाले कोही पनि बिरालोको घाँटीमा घण्टी बाँध्न जान तयार भएनन् । यसले गर्दा बिरालोको राज अकण्टक बन्दै गयो ।
मुसा–बिरालाको यो कथा हालको नेपाली राजनीतिमा मुसाहरुको निर्णय कार्यान्वयनसँगै व्यवहारमा अभिव्यक्त भइसकेको छ । अर्थात् ढाडे बिरालारूपी राजनीतिक दलहरुको घाँटीमा घण्टी बाँध्ने प्रक्रिया स्थानीय निर्वाचनबाट सुरु भइसकेको छ । त्यो पनि जब्बर रुपमा काठमाडौं महानगरपालिकाको निर्वाचन परिणामसँगै !
दलहरुको गठबन्धनरुपी सिण्डिकेटको घाँटीमा घण्टी बाँधिएसँगै दलीय ख्वाव र प्रभाव आफैमा कमजोर र निष्प्रभावी बन्दै गइरहेको छ । नीति, नैतिकता, विधि, विधान र व्यवस्थाका कुरा उठ्न थालेका छन् । सिण्डिकेटको सट्टा दलीय प्रतिस्पर्धाका कुरा अगाडि आएका छन् ।
दलहरु आफूले अकण्टक राज गर्ने कुत्सित मनसायका कारण खडा गर्न पुगेका गठबन्धनरुपी सिण्डिकेट स्वतन्त्र उम्मेदवारहरुद्वारा निस्फल तुल्याइएका छन् ।
यसको अर्थ यो हुन गएको छ कि नेपाली जनता विचारसहितको दल र दलीय प्रतिस्पर्धामा विश्वास राख्छन् । तर हात्ती र भैंसीरुपी दलीय सिण्डिकेट अस्वीकार गर्छन् । हाल स्वतन्त्र उम्मेदवारहरुको विजयले दलीय व्यवस्था, प्रणाली र पद्धति जनताका लागि स्वीकार्य भएको तर दलीय दादागिरी अस्वीकार्य रहेको जनमत जाहेर भएको स्पष्ट संकेत भइसकेको छ ।
स्वतन्त्र उम्मेदवारहरुको विजय, तिनका काम कारवाहीको पक्षमा निरन्तर जनमत, दलहरुको अव्यक्त व्यवधानविरुद्ध चर्को आवाज र प्रादेशिक तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको चासो र उम्मेदवारीको घोषणाले ठूला राजनीतिक दलरुपी बिरालाको घाँटीमा बाँधिएको घण्टी निरन्तर बजाइरहेको छ ।
अबका दिनमा सहजै र मनपरी रुपमा मुसा मारिहाल्ने अवस्था रहने देखिन्न । दल र तिनका सिण्डिकेटका घाँटीमा बाँधिएको घण्टी अबको ५ वर्षसम्म निरन्तर बाँधिइरहने छ । घण्टी बाँधिने प्रक्रियाले स्थानीय सरकारहुँदै प्रादेशिक र प्रतिनिधिसभासम्म निरन्तरता पाउने देखिन्छ ।
दलहरु स्वयम् दलीय प्रतिस्पर्धामा जान डराउने र अझैं पनि दलीय सिण्डिकेटरुपी गठबन्धन बनाउन थाल्ने हो भने प्रतिनिधिसभामा उनीहरुले घाँटीमा ठूलो घण्टी बजाउँदै उपस्थित हुनु पर्ने छ । एउटै पनि घण्टीको आवाजले बिरालारुपी दलहरुको संसदभित्रको आवाजमाथि आधिपत्य कायम गर्ने देखिन्छ ।
यसो हुन नदिने हो भने दलहरु सिण्डिकेट बनाएर संसद कब्जा गर्ने र दादागिरी देखाउने अप्रजातान्त्रिक पद्धतिको खिलाफमा जान सक्नु पर्छ । त्यो भनेको दलीय विचार र भावना अनुसार स्वच्छ दलीय प्रतिस्पर्धामा उत्रन सक्नु पर्छ ।
के राजनीतिक दलहरुले संविधानतः व्यवस्था भए अनुसारको दलीय मान्यता अंगीकार गरेर प्रजातान्त्रिक सोच र प्रक्रिया अवलम्बन गर्ने हैसियत राख्लान् ? हेर्न बाँकी छ ।