स्थानीय तहको संस्थागत संचरना अहिले केही परिवर्तन भएको छ । परम्परागत एवम् संकुचित मानसिकताका व्यक्तिको ठाउँमा नवीन कार्यशैली अपनाउने युवा जनशक्तिले जिम्मेवारी सम्हाल्ने अवसर पाएको छ ।
स्थानीय सरकारको विगतकै चरण अनुगमन मूल्यांकन गर्ने युवाहरू नै अहिले जनताको रोजाइमा परेका छन् । जनताको आधारभूत आवश्यकता र जीवनस्तरका बारेमा युवाहरू जानकार पनि छन् ।
उनीहरूमा विकृति र विसंगति हटाई सुधार ल्याउने कार्ययोजना पनि नभएको होइन । आमनागरिक पनि परम्परागत प्रवृत्तिका व्यक्तिबाट सन्तुष्ट नरहेको, उनीहरूको पवृत्तिमा सुधार नआएको, स्वेच्छाचारी कार्यले भ्रष्टाचारलाई बढावा दिएको, विकास निर्माणको नाममा सार्वजनिक बजेट दोहन गरेको, सेवा होइन राजनीतिलाई आर्जनको पेसा बनाउने व्यक्तिको निरासाजनक कार्यबाट आजित भैसकेका थिए ।
अधिकांशतः नेताकै चाकडीद्वारा स्थानीय तहमा पुर्याइए । यस्ता रैथाने व्यक्ति विस्थापित गरी नयाँ जागरूक, दक्ष, योग्य र इमानदार व्यक्ति स्थानीय सरकारमा ल्याउने जनइच्छा केही पूरा भएको छ ।
अहिलेको युवा जनशक्तिले सकारात्मक कार्य गर्छ भन्ने जनविश्वास छ । परिवर्तनकामी शक्तिकै रूपमा चिनिएको युवा जनशक्तिले जनभावना अनुसारै प्रभावकारी कार्य गरी देखाए उनीहरूको राजनैतिक भविष्य नै सुनिश्चित बन्छ भन्ने कुरा सबै जनप्रतिनिधिले बुझ्न जरूरी छ ।
युवा नेतृत्वको यो कार्यकाल उनीहरूको राजनैतिक भविष्यकै कसी पनि हो । पदासिन भएपछि जनतालाई वास्ता नगर्ने व्यक्तिहरू अझै हावी छन् । स्थानीय सरकार कुनै दल वा समूह विशेषको होइन, सिंगो समाज र जनताको हो भन्ने कुरा स्थानीय सरकारले अनुभूति गराउन सक्नुपर्दछ ।
स्थानीय तहमा अहिले ४०÷४५ वर्षसम्मकै प्रतिनिधिको बाहुल्यता छ । अहिलेकै कार्यशैलीले उनीहरूको राजनीतिक भविष्य निर्धारण गर्दछ भन्ने कुरालाई उनीहरूले संवेदनशील ठान्नुपर्दछ ।
स्थानीय तहले चाहेमा आफ्नो क्षेत्रको बाटो, घाटो, खानेपानी, माध्यमिक तहसम्मको शिक्षा, आधारभूत स्वास्थ्य सेवा, ढल कल्वर्ट, सन्नीसर्पन, नहर सिँचाइ, उन्नत कृषि, हाटबजार र फोहर व्यवस्थापन, व्यवस्थित बसोबास जस्ता जनसरोकारका अत्यावश्यक सेवा सुविधामा सुधार ल्याउन सक्छ ।
मठमन्दिर, पाटीपौवा, धर्मशाला, पुलपुलेसा संरक्षण एवम् निर्माण गरी जनतालाई प्रत्यक्ष लाभ पुर्याउन सक्छ ।
बेरोजगार युवालाई रोजगारीतर्फ अभिप्रेरित गराउन सीपमूलक तालिम दिलाइ दक्ष जनशक्ति उत्पादन गरी रोजगारी दिलाउन सक्छ । सकारात्मक कार्यले जनता रिझाए बजेट अभावमा सम्पन्न हुन नसकेको कार्यमा जनसहयोग र जनश्रमदान स्वतः जुट्छ ।
विपन्न नागरिकको जीवनस्तर उकास्न पर्ती तथा ऐलानी जग्गामा व्यवस्थित तरकारी खेती, आधुनिक कृषि, चौपाय पालन, दैनिक उपभोग्य सामान उत्पादन, लघु उद्योग, होजियरीतर्फ बेरोजगारलाई रोजगारी दिलाई आत्मनिर्भर गराउन सक्छ । यसैगरी स्थनीय सरकारले अर्धन्यायिक अधिकार प्राप्त गरेको छ ।
घरेलु हिंसा, गाउँटोलको झैझगडा, साँध सँधियार र सन्नी सर्पनबीचको समस्या, कुटपिट र अभद्र व्यवहार, गुण्डागर्दी र वेश्यावृत्ति, लागू औषध र मद्यपान र दुव्र्यसन जस्ता सामाजिक विकृति अधिकांश पालिकामा समस्याकै रूपमा रहेका छन् ।
उपमेयर वा उपाध्यक्षलाई यसबारेमा समन्वय गर्ने भूमिका प्रदान गरिएको छ । यस्ता विकृतिलाई अधिकांशले सामान्य ठान्छन् । सामान्य ठानेर वास्ता नगर्दा यस्तै विकृति चुनौतीपूर्ण मात्र होइन जघन्य अपराधमै परिणत हुन पुग्छन् । यसप्रति स्थानीय तह सधैँ संवेदनशील बन्नपर्दछ ।
‘श्रीमान् श्रीमतीकै झगडालाई परालको आगो केही बेरमै निभ्छ’ भन्ने ठानिन्छ । तर यही वैमनस्य हत्यामा परिणत हुनसक्छ । कुलतमा फसेको व्यक्तिलाई समयमै सजग नगराए उसको जीवनै बरबाद हुन्छ भन्नेतर्फ हामी सधैँ सचेत बन्नुपर्दछ ।
सामान्य ठानिने यस्ता घटना को कसको कारण, कसरी सिर्जित भयो ? भन्ने कुराका जानकार पनि स्थानीय व्यक्ति र छरछिमेकी नै हुन्छन् । पक्ष विपक्ष र घटना थाहा पाउने सबैलाई झिकाई घटनाको पृष्ठभूमि, यथार्थता र भावी परिणामका बारेमा तत्कालै विश्लेषण गरी समझदारी कायम गराउने न्यायाधीश भनेकै पालिकाको उपमेयर वा उपाध्यक्ष नै हुन् ।
दैनिक रूपमा स्थानीय तहमा आउने यस्ता समस्यालाई तत्कालै छानबिन गरी निराकरण गरिदिने हो भने अपराधको रूपमा परिणत हुन पाउँदैन । स्थानीय निकायले शान्तिसुरक्षार्थ अपनाउनुपर्ने यो अत्यन्त महत्वपूर्ण भूमिका हो ।
सेवाग्राहीलाई चुस्त र दुरूस्त सेवा प्रवाह गर्नु स्थानीय निकायको प्रमुख दायित्व हो । सामान्य काम कार्यमै ढिलाइ गर्ने, झुल्याइरहने, लिने खाने नगरी काम नगर्ने, आस्था र नाता सम्बन्धकै आधारमा कार्यमा विभेद गर्ने, स्वार्थमा सम्झौता गर्ने, कार्य गरेबापत प्रतिफलकै आशा राख्ने जस्तो नैतिकताहीन कार्य स्थानीय सरकारको कुनै पनि सदस्यबाट हुनु हुँदैन ।
स्थानीय प्रतिनिधिले सर्वप्रथम त भ्रष्ट मानसिकता त्याग्नुपर्दछ । सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउन सकारात्मक सोचका साथ कार्य गर्नु पर्दछ । जनप्रतिनिधि सबैले उच्च आदर्शताको नमुना प्रस्तुत गर्नु पर्दछ शिष्ट व्यवहार र मृदुभाषी बनी जनसेवामा जुट्नुपर्दछ ।
कार्यगत एकता अक्षुण्ण गराई सामूहिक दायित्व प्रति संवेदनशील बन्नुपर्दछ । नवनिर्वाचित जनप्रतिनिधिले यसप्रति ध्यान पुर्याई कार्य गर्ने हो भने देशबाट राजनैतिक विकृति क्रमशः अन्त्य हुँदै जान्छ ।