• मंसिर ११ २०८१, मंगलवार

राजनीतिपछि फोहरमाथि फोहरी खेल सुरू

जेष्ठ २५ २०७९, बुधबार

राजनीति निकै नै फोहरी खेल भयो भनी चर्चा र वितृष्णा सार्वजनिक भइरहेका बेला काठमाडौं महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका तथा कतिपय गाउँपालिका र वडास्तरमा पनि स्वतन्त्र उम्मेदवारहरूले विजय हासिल गरे ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले भारी मतान्तरका साथ सत्ता गठबन्धन र प्रतिपक्षीलाई पछाडि पारेर जनप्रतिनिधिको जिम्मेवारी लिए । सपथमा उनको पहिलो प्रण नै काठमाडौं उपत्यकाको फोहरको उचित व्यवस्थापन गर्ने मुद्दामा रह्यो ।

विजयसँगै उनी दलका नोताहरूको निवास पुगे । नेताहरूको गुहार मागे, फोहर व्यवस्थापनका लागि । ढिलो गरी सहरी विकास मन्त्रालयमा स्थानीय जनताका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति गरियो ।

काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने सहमति मंगलवार मात्र भयो । तर विडम्वना ! बुधबार स्थानीयले अवरोध खडा गरेर फोहरी राजनीतिको प्रभाव फोहर व्यवस्थापनमा जस्ताको तस्तै रहेको अभिव्यक्ति दिए ।

त्यति मात्र होइन, उल्टै स्थानीयको अवरोधमाथि प्रहरीले थुप्रै राउण्ड अश्रुग्यास प्रहार ग¥यो । बालेनको छवीमाथि धुँवा फैलाइयो । ‘स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन’ अश्रुग्यास हान्नु परेको भनिए पनि ‘बन्दुकले स्वतन्त्र राजनीतिक निशाना’ हान्न थालेको विश्लेषकहरूको मत रहेको छ ।

यो अश्रुग्यासको बन्दुक काठमाडौंको फोहोर उठ्ने भएपछि उपत्यकाबासीमा छाएको खुशीको भाव सञ्चारसँगसँगै पड्किएको छ । फोहोर थुप्रदा हैजाजस्तो महामारी उत्पन्न हुन सक्ने त्रासमा बाँचेका काठमाडौंवासी अब सोचेभन्दा बढी आशंकित हुन थालेका छन् ।

किनकि काठमाडौंमा फोहर उठ्ने र उता बन्चरेडाँडाका स्थानीय जनतासँग गरिएका सहमति अनुसारका काम कार्यान्वयन गर्ने कुरा एकसाथ लैजाने भनिरहँदा संघीय सरकार तथा महानगर जनप्रतिनिधि र बन्चरेडाँडाका जनप्रतिनिधिको बीचमा भएको सहमति कार्यान्वयनका बेला अश्रुग्यासको कुहिरोले दिशा अन्धकार बनाउन थालेको छ ।

काठमाडौंमा थुप्रने फोहर अनि बन्चरे डाँडामा विसर्जन गरिने फोहरले निस्कासन गर्ने दुर्गन्धले दुवै ठाउँका स्थानीय जनताको स्वास्थ्य र त्यहाँको वातावरणलाई गम्भीर असर पार्ने कसैको दुई मत छैन ।

तर यस पटकको सहमतिमा पहिले गरिने फोहर बिसर्जनको प्रक्रिया र अहिलेको प्रक्रियामा धेरै भिन्नता देखिएको छ । डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर बाक्लो माटोले फोहर पुरिने र यसले दुर्गन्ध तथा विषाणु मानव बस्तीमा प्रत्यक्ष रूपमा पुग्न नदिन सहयोग गर्ने छ ।

यसका साथै, साउन १ देखि लागु हुने गरी कुहिने र नकुहिने खालका फोहोरको वर्गीकरणसहित नकुहिने फोहरमात्र डम्पिङ साइटमा लैजाने र कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउने भनिएको छ ।

यस अतिरिक्त शिक्षा, स्वास्थ्य, रोजगार, स्वास्थ्य बिमालगायतका कुरामा गरिएको सहमतिले स्थानीय जनतामा भरपुर आशा र विश्वास पैदा भएको पनि भनिएको छ । तर आखिर विरोध प्रदर्शन किन ? अश्रुग्यास प्रहार किन ?

कतै राजनीतिको फोहरी खेलमाथि विकल्प देखिन थाल्दा फोहरमाथि नै फोहरी खेल सुरू गरिन थालिएको त होइन ? स्थानीय जनताको जनस्वास्थ्य निकै गम्भीर कुरा हो, तर फोहरमाथिको राजनीति त्यो भन्दा पनि गम्भीर कुरा हो !

राजनीतिक दलहरूले नदेखे झैं गर्न मिल्दैन बन्चरेडाँडावासीको विरोध ! के अबको ६ महिनापछि गरिने संघीय तथा प्रादेशिक निर्वाचनपछि मात्र उठ्ने हो काठमाडौंको फोहर ?