• मंसिर १७ २०८१, सोमबार

नेपाल पस्यो अफ्रिकाबाट उडेको प्यासिफिक जेटस्ट्रिम

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । अघिल्ला वर्षहरुमा जुन महिनाको १० देखि १३ तारेखका बीचमा नेपाल आइपुग्ने मनसुन यो वर्ष भने प्यासिफिक जेटस्ट्रिम चढेर सोमालियाबाट जुन महिनाको ५ तारेखदेखि नै पूर्वी नेपालबाट प्रवेश गरिसकेको छ ।

नजिकबाट नियाल्नेहरुका लागि मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्ने गरेको भान परे पनि यो मनसुनले बङ्गालको खाडी आइपुग्न त्यस अघि नै हजारौं किलोमिटर यात्रा पार गरिसकेको छ।

हाँक दिँदै २ साताको यात्रा तय :

बास्तवमा यो मनसुन भूमध्यरेखामा पर्ने पूर्वी अफ्रिकी देश सोमालियामाथि आकाशमा निरन्तर बगिरहेको जेटस्ट्रिमका कारण त्यहाँबाट भारतीय उपमाहाद्विपको बाटो हुँदै हिमाली क्षेत्रमा पश्चिमी वायुसँग टक्कराउन आइपुग्छ ।

सोमालियाबाट नेपाल आइपुग्न मनसुनलाई घटीमा दुई साताको समय लाग्छ । यसले समुद्री सतहदेखि ७ देखि १२ किलोमिटरमाथि आकाशबाट आफ्नो यात्रा तय गरेको हुन्छ ।

भूमध्यरेखालाई आधार मान्दा त्यसको नजिक उत्तरतिर वा दक्षिणतिर पृथ्वीलाई घुमेर बग्ने उपउष्णकटिबन्धीय (सबट्रपिकल) जेटस्ट्रिम वा हावाको लहरीय वेग केही सय किलोमिटरसम्म फैलिएको हुन्छ । यसको बाक्लोपन वा मोटाइ ५ किलोमिटर हुन्छ ।

यस्तो हुन्छ जेटस्ट्रिम :

भूमध्य रेखा नजिक रहने उप उष्ण तटबन्धीय जेटस्ट्रिम उत्तर र दक्षिण गरेर दुईवटा हुन्छन् । त्यस्तै ध्रवीय जेटस्ट्रिम पनि उत्तर र दक्षिण गरी दुईवटा हुन्छन् । नेपाल पृथ्वीको उत्तरी गोलार्द्धको समशितोष्ण जोनमा पर्ने हुनाले यो सोमालियामा उठेर भारतीय उपमहाद्विप भएर नेपाल आउने जेटस्ट्रिमले उठाएर ल्याउने आर्द्र वायुका कारण हुने वर्षा वा मनसुनको क्षेत्रमा पर्दछ ।

उत्तरी तथा दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर फनफनी घुम्दै र बेह्रिँदै अगाडि बढ्ने गर्दछ । यही मुस्लोलाई जेट स्ट्रिम नाम दिइन्छ। यस्तो नाम दोस्रो विश्वयुद्धका बेलामा विमान चालकहरूले दिएका हुन् ।

जेटस्ट्रिमले प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाउँछ । उपउष्णकटिबन्धीय जेटस्ट्रिमले केही लामो र ध्रुवीय जेटस्ट्रिमले केही छोटो समयमा पृथ्वीको फेरो लगाउने गर्दछ। यिनको स्वभाव र गति भने मौसमअनुसार फरक-फरक पाइन्छ ।

ध्रुवीय (पोलार) जेट स्ट्रिम उत्तरी वा दक्षिणी ध्रुवमा उत्पन्न हुने र त्यही ध्रुवकै वरिपरि घुम्ने गर्दछ । तर उपउष्णकटिबन्धीय जेटस्ट्रिम भने चिसोमा भूमध्यरेखातिर सर्दैसर्दै आउने र गर्मीमा ध्रुवतिर सर्दैसर्दै जाने प्रकृतिका हुने गर्दछ।

केरलाको बासपछि दुई हात फिँजाएर ग्वाम्लाङ्ग अङ्गालो :

हाल मनसुन लिएर नेपाल पसेको सोमाली जेटस्ट्रिम हिन्द महासागर हुँदै एक सातामा भारतको केरलामा आइपुगेको छ । त्यहाँबाट अर्को साता हिमालसम्म आइपुग्ने गरेको छ । जुन महिनाको १० तारेख अगाबै केरला आइपुग्ने गरेको छ ।

सो मनसुन केरलामा आइ पुग्दासम्म पछाडि तिर हात सेपेर तिव्र गतिमा आएको सोमाली जेटस्ट्रिम केरलाबाट हात दुईतिर फुकाएर हिमालतिर प्रवेश गर्दछ । एउटा पश्चिमी तटहुँदै अरेबियन सागरबाट माथितिर लाग्छ । यसले पश्चिम भारत र पाकिस्तानमा वर्षा गराउँछ ।

अर्को समुद्र हुँदै बङ्गालको खाडी आइपुग्छ । यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ । तर पनि बङ्गालको खाडी हुँदै आएको मनसुन सजिलै नेपाल पस्न सक्दैन ।

पश्चिमी वायु र मनसुनी वायुबीच उत्कर्ष

यसका लागि नेपालमा उत्तरबाट आउने पश्चिमी वायुले बाटो खाली गरिदिएर ‘वाकओभर’ दिनुपर्छ । नेपालमा हिउँदका ६ महिना पश्चिमी वायुको दबदबा रहने गरेको हुन्छ ।

पश्चिमी वायुले बाटो नदिएमा मनसुनको केही गति चल्दैन । मनसुन केरलामा डेरा जमाएर बस्न थाल्छ, अप्रिल र मे महिनामा मनसुनी वायुले नेपाल छाड्छ ।

पश्चिमी वायु माथि र मनसुनी वायु तल :

मनसुनी वायु र पश्चिमी वायु दुवै फरक विशेषताका हुन्छन् । पश्चिमी वायु सुख्खा हुन्छ र माथिबाट आउँछ । मनसुनी वायु आर्द्र हुन्छ र तलबाट आउँछ । यसमा जलवाष्पको भार निकै बढी हुन्छ, हाटबाट बोकेर ल्याएको नुनको भारीजस्तो !

फेरि, यो पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनु पर्छ । नत्र पश्चिमी वायुले जितिहाल्छ । तर सौभाग्य के हुन्छ भने गर्मी सुरू भएसँगै सबट्रपिकल जेटस्ट्रिम उत्तरी ध्रुवतिर सर्दै जान थाल्ने भएकाले चर्को घामका कारण तिब्बती पठारको हावा तात्छ र धेरै माथि पुग्छ । यति बेला नेपाली आकाशमा हावाको चाप न्युन हुन जान्छ ।

यही बेलामा नेपाली आकाशमाथि हावाको चाप कम र खुकुलो भएको मौका पारेर पुर्वतिरबाट मनसुनी वायु बङ्गाल हुँदै खाडीबाट उकालो लाग्छ । तर अग्लो हिमालले छेक्ने भएकाले भूमरी पर्दै नेपालको पश्चिमतिर लाग्छ, झरररर पानी पार्दै ।

वर्खा याममा हुने यो लडाइँमा मनसुन जति बलियो भयो र पश्चिमी वायु जति कमजोर भयो नेपाललाई उति नै फाइदा हुन्छ । तर ख्याल गर्नुपर्छ कि हिउँदमा पश्चिमी वायु आएन भने हिउँदे बाली हुँदैन नि ।

मनसुनी वायु हिउँदमा आउँदैन । त्यसैले नेपालको वायु अवसरवादी हुनु पर्छ । हिउँदमा पश्चिमी वायुतिर लाग्ने र बर्खामा मनसुनी वायुलाई साथ र सहयोग गर्ने ।

मौसमविदको भाषामा ‘एल निनो’ र ‘ला निना’ :

प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वभरिको मौसम बदलिने गर्छ । महासागरको सतहको पानी औसतभन्दा चिसो वा तातो हुने प्रक्रियालाई ‘ला निना’ र ‘एल निनो’ भनिन्छ ।

यो स्पेनिस भाषा हो । ला निना भनेको ‘सानी केटी’ हो । लालिनो हुँदा प्रशान्त महासागरको पानी औसतभन्दा चिसो हुन्छ । त्यस्तै एल निनो भनेको ‘सानो केटो’ हो । एल निनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ ।

मनसुनी वर्षाका लागि प्रशान्त महासागरको एशियातिरको भाग ला निना वा चिसो भएको राम्रो हुन्छ । किनकि यो चिसोले एल निनोबाट आएको जल वास्पयुक्त तातो वायुलाई मनसुनी वर्षामा परिणत गर्न सहयोग गर्छ । -एजेन्सीको सहयोगमा