हिजो आज दूर्घटनाहरुबाट मानव जीवन धेरै खेर गएको छ । दूर्घटना प्राकृतिक र मानव निर्मित नै छन् । धुम्रपानले पनि धेरैको ज्यान लिने गरेको छ । दूर्घटना जस्तो तुरुन्तै नरसंहार गदैन धुम्रपान भनौँ सूर्ती र सूर्ति जन्य पदार्थले । यसले त विस्तारै शरीरका अंगहरुलाई शिथिल पार्छ । मुटु, फोक्सो, मस्तिष्क र धेरै अन्य अंगहरु यसका आक्रमणका निसानाहरु हुन् । पूर्वीय दर्शनले चुरोट, खैनी वा सूर्ती, मदिरा अनि गाँजा सेवनलाई दूव्र्यसनको रुपमा लिएको छ । दूव्र्यसनीको शरीर शुद्ध हुन्न र तिनको लक्ष पनि पूरा हुन्न भनेको छ, धर्म, संस्कृति र संस्कारले ।
पहिले दूव्यर्सनीहरु बहुतै कम हुन्थे, हिजो आज महिलाहरुमा पनि यसको सेवन बढेको छ । किशोर, किशोरीको संख्या पनि बढेको छ यसको सेवनमा । सूर्ती र सूर्तीजन्य पदार्थले सेवन गर्नेलाई मात्र आघात गर्दैन बरु नजिकको साथी वा भनौँ समग्र वातावरण, पर्यावरणलाई नै यसले खुल्ला चुनौती दिन्छ र त विश्व स्वास्थ्य संगठनको यस वर्षको धूम्रपान रहित दिवसको मूल नारा ‘सूर्तीको वातावरणलाई चुनौती’ रहेको थियो । वात भनेको हावा र आवरणको अर्थ हुन्छ त्यसको ढकनी भनौँ ढाकेको बाहिरी भाग ।
हरेक वर्ष वातावरण संरक्षणका हेतु संसारमा जून ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाइन्छ भने विश्व धूमपान रहित दिवस भने मे ३१ अर्थात् जेठ १७ गते मनाइन्छ । संसारमा दिवसहरु धेरै मनाइन्छन् तर दिवसले सार्थकता भने पाएको छैन र त धूमपानकै कारण विश्वमा बर्षेनी मृतकको संख्या ७७ लाख बढी छ ।
धुम्रपान नगरौँ, यो खराव छ भनिन्छ, हरेक विज्ञापनमा । चुरोट लगायत अन्य विषयका खोलका बट्टाहरुमा लेखिएको हुन्छ, तर न सेवन घटेको छ, यसबाट आउने राजस्व त घट्ने कुरै भएन । सरकारले यसैबाट ठूलो कर उठाएको हुन्छ । सूर्ती सेवन, गुट्खा, खैनी, चुरोटले मुखको क्यान्सर समेत हुन्छ, मुख गनाउने त छँदैछ, स्वास्थ्य सेवालाई यो खुल्ला चुनौती नै हो तर पनि न सरकारको आँखा खुलेको छ न सेवन गर्नेहरुको नै ।
भनिन्छ, सूर्तीमा थोरै होइन ७ हजार प्रकारका हानिकारक रासायनिक पदार्थ भेटिन्छन् । सूर्तीले वरिपरिको वातावरण र जीवजन्तुलाई पार्ने प्रभावको आँकलन नै गर्न सकिन्न । यो घातक धेरै छ, यसको धूवाँले पार्ने असर झन् बढी छ । संसारमा झण्डै ८ अर्ब मानिसहरु छन्, सबैले यसको प्रयोग त गर्दैनन् तर बर्षेनी ६० खर्ब खिल्ली चुरोट उत्पादन हुन्छ र खेर फालिएको छैन । मानिसले यसलाई सोखको रुपमा हेरेको छ तर आप्mनो पूरै कोठा वा परिवेश एस्ट्रे बनाएको थाहा छैन, चुरोट जल्छ, मान्छे पनि जलिरहेको छ, स्लो पोइजनको रुपमा ।
विश्वको तथ्यांक छ कि, १५ वर्ष माथिका उमेरका व्यक्तिहरु १ अर्ब १० करोड मानिसले नित्य सूर्ती सेवन गर्ने गर्छन् । एक सर्वेक्षणले बताएको छ, नेपालमा ३८ लाख व्यक्तिहरुले सूर्ती सेवन गर्छन् र धूवाँ सहितको सूर्ती सेवन गर्नेहरु त २८ लाख बढी छन् । सूर्ती खेती, बिरुवा हुर्काउँदा, बाली भित्र्याउँदा, प्रशोधन गर्दा, विक्री वितरण लगायत हरेक पाइलाहरुमा यसको नकारात्मक प्रभाव छोडिरहेको हुन्छ ।
सिधा आँखाले नदेखिने हुँदा मानिसले यसतर्फ ध्यानै दिँदैन । चुरोटको खोल त्यसको बट्टा पनि हानिकारक हुन्छ, ठूटा फालिएको ठाउँको माटो परिक्षण गरी हेरियो भने चुरोटमा पाइने घातक रसायन हाइड्रोकार्वन भेटिन्छ । प्राय मानिसहरुले यसलाई खुल्ला स्थानमा, कुनाकानी, शौलालय, रेष्टरुमहरुमा छोडेका हुन्छन् । सडक पेटीमा त कति हामीले देखेका छौँ, त्यसलाई हावाले उडाएर अन्यत्र लग्ने, अन्त्यमा ढल, पानीका स्थलहरुमा जाने गर्छ ।
कतिपय पानीको मुहानमा पुग्दा आम सर्वसाधारणले त्यसको नजानिँदो प्रयोग गरिरहेको हुन्छ भने एक बट्टा चुरोटलाई माछाहरु भएको पानी पोखरीमा एक दिन राखियो भने यसबाट पानीमा घुलेको रसायनले ४ दिनमा पोखरीका आधा माछा मरिसकेको हुन्छ । सूर्तीमा भएका साइनाइड, मर्करी जस्ता रसायनका कारण ।
चुरोटको खोल बनाउन रुखविरुवा वनस्पतिको आवश्यक पर्छ, त्यसले पर्यावरण संरक्षण गर्दैन, चुरोटको खिल्लीमा चिसोको ओस नलाग्न प्लाष्टिक जस्तै नगल्ने पदार्थको प्रयोग गरिएको हुन्छ, जसले पनि मानव स्वास्थ्यलाई हानी गराउँछ । खोलको पोलिमर, सेलुलोज एसिटेट जस्ता घातक वस्तुहरु त्यसमा हुन्छन् । बट्टाहरु पानी वा माटोमा राख्दा, जलाउँदा त्यसको असर गम्भीर रुपमा जीवजन्तु समग्र वातावरण मात्रै होइन इकोसिष्टममै प्रभाव पर्छ ।
विषादी प्रयोग नगरे तिहुँन, तरकारी, फलफूल, अनाज केही बचाउन नसकिने अबवस्था छ अहिले । माटो अम्लीय भई उब्जनीमा कमी भएको छ । त्यसका लागि फर्टिलाइजर प्रयोग गर्दा समस्त वातावरणमै असर परेको मानव स्वास्थ्य थप जोखिममा परे जस्तै सूर्ती खेतीबाट मानव स्वास्थ्य कडा जोखिममा छ अहिले । कडा विषादी प्रयोग नगरे सूर्ती नै उत्पादन हुन्न ।
सूर्ती खेतीगर्न, हुर्काउन, जोगाउन मिथाइल ब्रोभाइड, एल्टिक्राब जस्ता कैयन विषादीको प्रयोग गरिन्छ । संसारमा ५३ लाख हेक्टर जमिनमा सूर्ती खेती गरिन्छ, यति बाली तयार गर्न २२ अर्ब टन पानीको खपत हुने गरेको छ । यसबाट संसारमा ३ करोड २४ लाख मेट्रिक टन सूर्ती उत्पादन हुन्छ । सूर्ती खेती गरिएको जमिनको माटो रुखा हुन्छ, अन्य उत्पादनमा सहयोगी नहुन सक्छ ।
गाँजा खेती पनि खुल्ला छ अहिले संसारका धेरै देशमा, हामीकहाँ लागु औषधका रुपमा हेरिएको छ । लुकिछिपी यहाँ पनि गाँजा खेती हुने गरेको छ तर यसलाई ओषधीय गुणमा प्रयोग गर्ने गरी गाँजा खेती, व्यापार, ओसार पसार खुल्ला हुनुपर्छ । र यसबाट देश धनी हुन्छ भनी केही माननीयहरु नै खुलेर लागेका छन्, लबिङ गरिरहेका छन् ।
यहाँ धान, मकै, गहूँ, तोरी, भटमास, उखु, कोदो, मास, मसुरो लगायत कृषिका उब्जनी बा वनौषधि, जडिबुटी छोडेर खुलेर गाँजा खेतीको अभियानमा लाग्न लागेको देखिन्छ, विदेशीहरुको नक्कल गरेर । उनीहरुसँग नियमन गर्ने संयन्त्र बलियो छ, हामीकहाँ प्रशासन यन्त्र नै शिथिल छ र दलीयकरण भएको छ । दलको इशारा नबुझी कसैले कामै गर्दैन । सूर्र्तीलाई अन्य बालीको भन्दा ६ गुणा बढी पोटासियम चाहिन्छ । सूर्ती खेती गरिने जमिनमा अन्न बाली लगाउने हो भने २ करोड संसारका मानिसलाई १ वर्ष खान पुग्छ ।
अहिले संसारले भोकमरीको संकट भोग्दैछ, सुडान लगायत अन्य देशहर त्यसका उदाहरण हुन् । रुस युक्रेनको झगडाले संसार खाद्यान्न, तेलहन, दलहनमा जटिल समस्या भोग्दैछ अहिले । हामी खाद्यान्न आयातमा छौँ, गहूँ र चिनीको निकासीमा भारतले रोक लगाएको छ, कतै चामल रोक लगायो भने वा मूल्य बढाइदियो भने हाम्रो अबस्था के हुन्छ ?
सूर्ती प्रशोधन गर्दा, चुरोट, खैनी बनाउँदा अत्यधिक कार्वन डाइअक्साइड उत्सर्जन गर्नु पर्ने हुन्छ, जति धेरै कार्वन उत्सर्जन गरियो त्यति नै वातावरण असन्तुलित हुँदै जान्छ । हिजोआजको जलवायु परिवर्तनको समस्या त्यतिकै आएको होइन, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टिले मानव जीवन र समग्र कृषि प्रणालीमा गम्भीर असर परेको छ ।
विश्वमा जति कार्वन उत्सर्जन भएको छ सूर्तीजन्य उद्योगहरुबाट, ९० प्रतिशत यस्ता उद्योगहरु अविकसित देशमै छन्, विकसितभन्दा अल्पविकसित, अविकसित देशबाट कार्वन डाइअक्साइडको आयतन यहिँ धेरै छ । एक मान्छेले चुरोट खाई उडाएको धूवाँको कार्वन डाइअक्साइड न्यून गरी अक्सिजन पूर्ति गर्न लगातार १० वर्षसम्म १३२ वटा रुख बोट विरुवा रोप्नुपर्ने हुन्छ ।
दलहरुको मिलिभगतमा २४ लाख रुख कटान गर्दै हावादारी एयरपोर्ट निजगढमा बनाउन पाइएन भनेर रोइलो गर्ने हाम्रो समाजमा कसले रुख रोप्ने ? भएका वृक्ष, हरियाली मेटाउँदै डोजरे विकास, माटो छोप्ने विकास गर्न लागिरहेको अवस्थामा दिगो विकासको अवधारणालाई कसले अनुमान गर्ने, आफै खाउँँ, आफै लाऊँ अरुको के मतलव, भोलिको पुस्ता जता गए जाओस् भन्ने सिद्धान्त लागु भएको छ अहिले, पेट्रोलियम पदार्थ त्यो पनि अधिक मूल्यको आयात गरेर जीवन निरस बनाइएको छ ।
उर्वर जमिन, जल, जंगल, जडिबुटीको सदुपयोग भएको छैन यहाँ, उर्वर खेतीलाई बिर्सेर कंक्रीटको भ्यूटावरमा छौँ हामी, रुख मेटाउँदै बाटो, पिच, गाउँबस्ती उजाड, खाद्यान्नको उत्पादनमा कमी धेरै छन्, पछिल्ला दशकहरुको हाम्रो कथित प्रगति र विकासको अवधारण । प्रकृतिलाई बिर्सिएकोले नै कोरोनाले फणा उठाएको हो । घातक अन्य रोगहरु, नयाँ किसिमका भाइरसहरु देखा परेका छन् ।
जलमा जलचर बस्न नसक्ने भएका छन् । धर्ती दोहन गरी जमिनमुनिको पानीको संकट निम्त्याइएको छ । शहरमा हरियाली छैन, फोहोरको डुंगुर छ, धारामा पानी छैन । वातावरणको असहजतालाई महसूस गरेर नै यो वर्षको धुम्रपान रहितको दिवसलाई वातावरणसँग जोडेको हुनुपर्दछ ।