• मंसिर ११ २०८१, मंगलवार

युक्रेन युद्ध : तेस्रो विश्वयुद्धको ‘इनिङ’ कि ‘भेन्टिलेसन’ ?

जेष्ठ १७ २०७९, मंगलवार

रुस–युक्रेन युद्ध सोचिएको भन्दा निकै लम्बिन थालेको छ । यो युद्ध लम्बिनु वा लम्ब्याइनुका पछाडि विश्व महाशक्तिहरुको युद्ध रणनीतिले काम गरिरहेको प्रष्ट छ ।

वास्तवमा युक्रेन युद्ध भनेको रुस–अमेरिका बीचको अघोषित युद्ध हो । यी दुई देशहरुको पक्षधरतालाई हिसाब गर्ने हो भने अमेरिकासँग सम्पूर्ण नेटोआवद्ध देशहरु र रसियासँग चीनसहित पूर्व वार्साका देशहरु बीचको रणनीतिक खिचातानी हो युक्रेन युद्ध ।

हेर्दा युद्धमै अभिव्यक्त भए पनि युक्रेन युद्धलाई अमेरिकासहितको शक्तिले अझै लम्ब्याउने र कुटनीतिक पृष्ठभूमि निर्माण गर्दै वास्तविक युद्धका लागि तयारीको चरणका रुपमा अघि बढाइरहेको छ ।

उता रसियासहितको शक्तिले युक्रेन युद्धको दृश्य तयार पारेर अमेरिकासहितको नेटो शक्तिलाई तेस्रो विश्व युद्धका लागि आमन्त्रण गरिरहेको छ । अमेरिकी दाउँपेच र रसियन चालका कारण युक्रेन युद्ध अन्त्य नभई लम्बिनु पर्ने बाध्यात्मक अवस्थामा छ ।

अमेरिका र यसका सहयोगी शक्तिहरु तेस्रो विश्व युद्ध नलडिकन विश्व शक्तिका रुपमा रहिरहन सक्दैनन् । लडाइँ लडेर नजिती अतिमहाशक्तिका रुपमा टिकिराख्न अमेरिकाका लागि संभव पनि छैन ।

तर समस्या वर्तमान विश्व अन्तरविरोधका कारण कुन महादेशमा लडाइँ लड्ने भन्नेमा आएर अड्किएको छ । अमेरिका लगायतका महाशक्तिहरु एशियामा तेस्रो विश्वयुद्ध लड्न चाहन्छन् । किनकि विश्व युद्धले निम्त्याउने क्षति र महामारीका साथै दीर्घकालीन आर्थिक–सामाजिक अवनतिका बारेमा उनीहरुले पहिलो र दोस्रो विश्व युद्धबाट निकै भोगेका र गम्भीर पाठ सिकिसकेका छन् ।

त्यो महाविनाशको ‘कुरुक्षेत्र’ एशियामा रच्न र फत्ते गर्न चाहन्छन् । यसले पहिलो त तेस्रो विश्व युद्धले निम्त्याउन सक्ने भौतिक तथा मानवीय महाविनासबाट अमेरिका र युरोपलाई बचाउन चाहन्छन् । दोस्रो, एशियामा युद्ध लडेर विश्व अतिमहाशक्ति र महाशक्तिका रुपमा उदाइरहेका चीन, रसिया, जापान, भारत आदिलाई उक्त प्रगति गर्न र विश्व महाशक्ति हुनबाट रोक्न चाहन्छन् ।

अमेरिका, युरोपलगायत पश्चिमा शक्तिले यसका लागि उपयुक्त ठानी ‘टार्गेट’ गरेका देशहरुमा मंगोलिया, ताइवान र नेपाल पहिलो प्राथमिकतामा परेका देखिन्छन् । मंगोलिया, ताइवान र नेपाल हाल एन्डो–प्यासिफिक रणनीति अन्तर्गतको एमसीसी कार्यान्वयन गरिरहेका देशहरु हुन् ।

तर तत्कालका लागि मंगोलिया र ताइवान भने छिमेकी देश चीन तथा रसिया विरोधी अमेरिकी ‘टेन्सन’ थेग्न नसक्ने भन्दै केही सन्तुलित रणनीति अख्तियारीमा लाग्न थालेपछि अमेरिका नेपालमा बढी केन्द्रित हुँदै गइरहेको छ ।

देउवा सरकारको लाचारीले नेपाल अहिले आएर चीन, भारत र रसियालगायतका देशहरुको गम्भीर निगरानीमा छ । तेस्रो विश्व युद्धको चर्चा भइरहँदाका बखत विश्व इतिहासमा निकै खतरापूर्ण भूरणनीतिक चपेटामा नेपाल परिसकेको छ । नेपालबाटै विश्व युद्ध होला वा नहोला त्यो हेर्न भने बाँकी छ ।

अहिले भने तेस्रो विश्व युद्धको चर्चासँगै जोडिएर आइरहेको जल्दोबल्दो ‘इस्यु’ बनेको छ, युक्रेन युद्ध । रसियद्वारा युक्रेन युद्ध वास्तवमा एशियामा हुनसक्ने संभावित तेस्रो विश्व युद्धको सिमाना र ‘टार्गेट’ सारिएको घटना साबित हुन थालेको छ । राजनीतिक विश्लेषक स्वीकार गर्दछन कि मंगोलिया र ताइवानमाथि टेकेर अमेरिकाले गर्न सक्ने एशियामाथिको हमलाको ‘महाकाल’ युक्रेन रहेको युरोपीय सीमानामा सारिएको हो ।

यदि त्यसो हो भने अब युक्रेन युद्ध तेस्रो विश्वका लागि ‘इनिङ’ हुन्छ वा ‘भेन्टिलेसन’ ? यसको ठोस जवाफ पाउन केही समय कुर्नै पर्छ । यदि अमेरिका र युरोपीय महाशक्ति देशहरु (मूलतः अमेरिका) ले एशिया (मूलतः चीन) लाई अति महाशक्तिका रुपमा शान्तिपूर्ण उदय हुन दिन स्वीकार गर्दछन् भने युक्रेन युद्ध तेस्रो विश्व युद्धका लागि ‘भेन्टिलेसन’ पनि हुन सक्छ ।

अर्थात्, युक्रेन युद्धले संभावित तेस्रो विश्वयुद्धमा होमिन तयार रहेका विश्वका महाशक्तिहरुको आपसी ‘टेन्सन’को निकास वा भेन्टिलेसन प्रदान गर्न सक्छ । होइन, कुनै पनि मूल्यमा लडाइँ चाहन्छन् भने युक्रेन युद्ध तेस्रो विश्व युद्धको ‘इनिङ’ हुने छ ।

त्यो भनेको युक्रेन युद्धलाई लिएर दुई ध्रुवमा बाँडिएको विश्व पहिले एउटाले अर्को पक्षमाथि आक्रमण गर्ने र अर्को पक्षले त्यसपछि मात्र पहिलो पक्षमाथि कुटनीतिक दबाबसहित प्रतिकार र प्रत्याक्रमण गर्ने देखिन्छ । यो अवस्था क्रिकेट खेलमा झैँ दुईपक्ष बीच हुने ‘बलिङ’ र ‘ब्याटिङ’को जस्तो हुने संभावना धेरै रहेको छ । यस अर्थमा युक्रेन युद्ध संभावित तेस्रो विश्व युद्धको ‘इनिङ’ नै हुन जाने संभावना प्रवल बनेर देखा परेको छ ।