सम्पन्न स्थानीय निर्वाचन २०७९ मा सर्वाधिक चर्चामा रहेको काठमाडौं महानगरपालिकाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले राजनीतिक दल तथा दलीय सिण्डिकेट उम्मेदवार सबैलाई लौरो लगाएर आआफ्ना तपसिलका स्थानमा बस्न बाध्य बनाएका छन् ।
काठमाडौं महानगरपालिकाका जनताले यस्तो जनादेश दिएपछि बालेन अहिले मेयरको कार्यकारी ओहदामा पाँच वर्षका लागि रहनुका साथै जनताको सेवा गर्ने अवसर चुम्न पुगेका छन् । लगत्तै उनी महानगरपालिकाको फोहर व्यवस्थापनको प्राथमिक एजेण्डा कार्यान्वयनका लागि सिसडोल र बञ्चरे डाँडाको अध्ययन अवलोकन गर्न पुगेका छन् ।
उनले आफ्नो कार्यकाल प्रभावकारी रुपमा सम्पन्न गर्ने वचन दिएका छन् । र, त्यसैमा दत्तचित्त पनि देखिएका छन् । यो महानगरवासीका लागि सकारात्मक कुरा हो । यससँगै राजनीतिक वृत्तमा बालेनको उदयलाई लिएर विभिन्न अडकलबाजी र तर्क/वितर्क पनि चलिरहेका छन् । राजनीतिक दलहरु आफ्नो मृत्युको घण्टी बजिरहेको त होइन भनी सतर्क हुन पनि थालेका छन् ।
‘बिर्सिएको’ लौरो वा ‘नयाँ’ लौरो ? :
आमजिज्ञासा त यसो पनि उठ्ने गरेको छ कि बालेनको विजयको झण्डा फहराउने लौरो राजनीतिक दलहरुले ‘बिर्सिएको’ लौरो हो वा बालेको आफ्नै ‘नयाँ’ लौरो ? यसले बालेनको कार्यकालको केही समयको माग गर्दछ । किनकि यो फरक छुट्याउन व्यवहार हेर्नुपर्छ ।
यदि यो ‘खोलो तर्यो, लौरो बिर्सियो’ भने झैं राजनीतिक दलले ‘बिर्सिएको’ लौरो हो भने र त्यसैलाई नै बालेनले उठाएका हुन् भने यसले यो व्यवस्था र प्रणालीमा सहयोग पुर्याउने छ । होइन, उनकै ‘नयाँ’ लौरो हो भने यसले यो व्यवस्था र प्रणालीमा बदलाव ल्याउने सानो तर गम्भीर मोड खडा गर्ने छ ।
विचारविहीनताको सिण्डिकेटविरुद्ध लौरो ! :
बालेनको लौरोले राजनीतक दल र विशेष गरी सत्ताधारी राजनीतिक दलहरुको विचारविहीन गठबन्धनलाई थातेमाम्ले पारेको छ । सिण्डिकेट ठाउँका ठाउँ ढलेको छ । ‘गठबन्धन’ पनि काम लागेको छैन र ‘गाँठबन्धन’ पनि सफल हुन पाएको छैन ।
राजनीतिक दल भनिने गठबन्धन र प्रतिपक्षीको भन्दा बालेनको लौरोले बोकेको एजेण्डा जनताका लागि पाच्य र स्वीकार्य भएको छ । राजनीतिक दलले विचार छोड्ने र स्वतन्त्रले विचार ल्याउने आश्चर्यको कुरा भएको छ । सिण्डिकेटमाथि लौरोले मर्ममै प्रहार गरेको देखिन्छ ।
वैचारिक प्रतिस्पर्धाको अन्त्यसँगै उदाएको लौरो :
बालेन शाहको लौरो राजनीतिक दलहरुमा विचारहीन, रङ्गहीन र निर्दलीयताको अभिव्यक्तिसँगै उदाएको छ । पुराना, थोत्रा र झर्कोलाग्ने ‘दलीय’ कर्मकाण्डी घोषणापत्र र प्रतिबद्धताका बीचमा बालेनको लौरोले केही नयाँ कुरा र सहारा बोकेर आएको जनताले देख्नु दलीय व्यवस्था चरम सङ्कटमा पर्दै गएको स्पष्ट बुझिन्छ ।
यसलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘बालेन शाहको जितले मूलधारका दललाई बदलिन सन्देश दिएको’ रुपमा अर्थ्याएका पनि छन् । उनले ‘जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको’ स्वीकार गर्दै ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’ भनी ठोकुवा गरेका छन् ।
बालेनको विजयलाई एक ‘जबर्जस्त सकारात्मक दबाब’ स्वीकार गर्ने महामन्त्री शर्माले ‘बालेनको विजय दलहरुको पराजय मात्रै होइन, उनी (बालेन) प्रति जनताको आशा र विश्वासको जित पनि हो’ भनेका छन् । यो बाध्यात्मक स्वीकारोक्ति सबै दलका नेता र प्रवृत्तिको पनि हो, चाहे त्यो अमूक अमूक नेताहरुबाट अभिव्यक्त होस् कि नहोस् !
चुनाव चिह्न मोहको अन्त्यगर्दै आएको लौरो :
यतिसम्म ‘हाम्रो रुख’, ‘हाम्रो सूर्य’, ‘हाम्रो हँसिया हथौडा’ र अरु अरु पनि भन्दै आएका राजनीतिक दलहरुको चिह्नप्रतिको ‘प्याटेन्ट राइट’ अबका दिनमा सकिदै र हराउँदै गएको खुल्ला सङ्केत आइसकेको छ ।
अबका दिनमा रुख, सूर्य वा हँसिया हथौडा वा ती सबैको दलीय आवरणमा हुने गरेका ‘निर्दलीय’ सिण्डिकेट जनताका लागि र सधैँका लागि स्वीकार्य छैनन् । पार्टी र चिह्न होइन, त्यसको विकल्पमा व्यक्ति र एजेण्डा पछ्याउन थालिसकेका छन् जनताले !
विसङ्तिपूर्ण प्रहसनको विकल्पमा लौरो ! :
नेपाली गाउँघरमा भनाइ छ, एकजना सामन्तले आफू मर्दाका बखत गाउँलेहरु जम्मा गरेर ‘मैले बाँच्दासम्म तिमीहरुलाई निकै दुःख दिए, म मरेपछि मेरो मुखमा किलो गाडिदिनू, नत्र म स्वर्ग जान नपाउने भए’ भनेर गोहीको आँशु चुहाउँदै प्राण त्याग गरेछ ।
सोझा गाउँलेहरुले सामन्तको पार्थिव मुखमा बाँसको किलो गाडिदिए छन् । यो खबर प्रहरी प्रशासन कहाँ पुगेपछि उक्त सामन्त मारेको अभियोगमा सारा गाउँलेहरुलाई बीस वर्षको जेल सजायका लागि कारागार चलान गरिएछ ।
आफू मरिसकेर पनि जनतालाई दुःख दिन नछाड्ने सामन्तको सिको गर्दै विचारमा हराइसकेका दलहरुले सिण्डिकेटको पार्थिव शरीर खडा गरी जनतालाई भोटरुपी किलो ठोक्न पठाएको कम्तिमा काठमाडौं, धनगढी, धरानलगायतका केही महत्वपूर्ण ठाउँका जनताले समयमै बोध गरिसकेका छन् ।
उनीहरुको उन्नत चेतनाले स्वतन्त्र नै सही भन्दै विकल्प रोज्न सुरु गरिसकेको छ । स्वतन्त्र उम्मेदवारको चयन आफैमा राजनीतिक दलहरुको अप्रजातान्त्रिक र असङ्गतिपूर्ण प्रहसनको धज्जी उडाइ हो ।
साथै, यो नयाँ विकल्पको खोजी र प्रयोग पनि हो । बरु दुःखको कुरो त के हो भने कुनै पनि राजनीतिक दलले नयाँ विकल्पसहित जनतासामु उभिने क्षमता र हैसियत प्रदर्शन र अनुमोदन गर्न सकेनन् ।
दलीय व्यवस्थाको विकल्प ‘स्वतन्त्र’ सोच वा प्रतिनिधि हुन सक्दैन :
दलहरुको असक्षमताका कारण यी सबै कुरा वर्तमान राजनीतिक परिदृष्यमा देखा परे पनि दलीय व्यवस्थाको विकल्प ‘स्वतन्त्र’ हुन सक्दैन । राज्य व्यवस्था स्वीकार र अंगीकार गरिएको तात्कालिक प्रणाली अनुसार चल्छ । यसले वैकल्पिक विचारका साथै सिंगो राजनीतिक सेट र स्वरुपको माग गर्दछ ।
तर राजनीतिक दलहरुको असक्षमता, निरंकुशता र मनोमानीको धज्जी उडाउन र विकल्पको खोजी गर्न तथा प्रेरित र प्रोत्साहित गर्न भने यस्ता राजनीतिक परिघटनाले बेला बेलामा उज्यालो अवश्यै प्रदान गर्दछन् ।