• मंसिर १२ २०८१, बुधबार

हाल सुंगुर-बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिवर कसरी रोकथाम गर्ने ?

जेष्ठ १० २०७९, मंगलवार

१. परिचय :

अफ्रिकन स्वाइन फिवर
(African Swine Fever – ASF  घरपालुवा सुंगुुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक बंगुरको महामारी सरुवा रोग हो । यो रोग सर्वप्रथम सन १९२१ मा अफ्रिकी मुलक केन्यामा देखापरेको थियो । विगतमा अफ्रिका महादेशमा मात्र सिमित थियो ।

अफ्रिकी मुलुक बाहिर यो रोग युरोपको पोर्चुगलमा सन १९५७ मा पहिलो पटक देखा परेको थियो । यो रोग सन् १९६० देखि १९७० को दशकसम्म युरोपेली मुलुकको लागि निकै चुनौतिपूर्ण रहिरहयो ।

यो रोग सन् २००७ मा जर्जिया हुँदै रसिया, लिथुवानिया, बेल्जियम, हंगेरी र केही युरोपेली मुलुकमा पुन : देखापरेको थियो । यो रोग सन २०१८ मा चीनमा देखा परेपछि एसियन मुलुकहरु हुँदै छिमेकी मुलुक भारत र भुटानमा समेत देखापरि सकेको छ । यो रोग नेपालमा पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको छ ।

२. रोगका कारक :

यो रोग  Asfarviridae  परिवारको  DNA भाइरसको कारणले हुन्छ ।

३. रोग सर्ने माध्यम :

क) संक्रमित सुंगुर बंगुर बीच प्रत्यक्ष सम्पर्कबाट,
ख) रोगी बंगुरको र्याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट,
ग) बिरामी बंगुरको वसारपसार वा किनबेच गर्दा,
घ) संक्रमण खोरमा काम गर्ने कामदार,
संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि ।

४. रोगका मुख्य मुख्य लक्षणहरु :

बंगुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने,
शरीरमा निला डामहरु देखा पर्ने,
कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने,
नाकबाट फिँज निकाल्ने,
यो रोग संक्रमित सुंगुर बंगुरलाई उच्च ज्वरो( १०४ देखि १०७ डिग्री फरेनहाइट) आउने,
कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने,
झोक्राउने र दानापानी खान छोड्ने,
बान्ता गर्ने, छेर्ने, छटपटाउने, चाल धरमराउने, तुहिने जस्ता लक्षणहरु सहितको बथानमा एकै पटक १०० प्रतिशत सुँगुर र बंगुर मर्ने ।

५. उपचार :

यो रोगको उपचार छैन ।

६. रोग रोकथामको लागि जैविक सुरक्षा

व्यवस्थापन :

जैविक सुरक्षा  Biosecurity भन्नाले जीवनको रक्षा गर्नुलाई जनाउदँछ । जैविक सुरक्षामा रोगका कारक तत्वहरुलाई पशुपन्छीबाट र पशुपन्छीहरुलाई रोगका कारक तत्वहरुबाट टाढा राख्न गरिने व्यवस्थापनलाई जनाउँदछ ।

पशुपन्छीहरुलाई रोगबाट जोगाउने तथा रोकथाम गर्नको लागि अपनाइने उत्तम उपाय नै जैविक सुरक्षा हो । जैविक सुरक्षामा पशुपन्छीलाई अलग राख्ने, ओसार पसार तथा आवतजावतमा नियन्त्रण गर्ने र सरसफाईमा ध्यान दिनु नै मुख्य कार्य हुन । यसको लागि शुन्य लगानीमा कार्य गर्न सकिन्छ ।यसको लागि निम्न लिखित कुराहरु अवलम्वन गर्नु पर्दछ ।

जस्तैः बंगुरलाई अलग राख्ने  Isolation,
रोग लागेका बंगुरलाई तुरुन्तै बथानबाट छुट्याएर अलग राख्ने,
बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने,
बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधैं फार्ममा रहेका बंगुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने,
एक फार्म देखि अर्को फार्मको दुरी २०० मिटर, ग्रामीण बंगुर फार्म देखि फार्मसम्मको दुरी ४० मिटर, पशुपन्छी हाटबजार वा प्रशोधन कारखाना सम्मको दुरी ५०० मिटर, फार्म हाउस देखि फार्म गेटसम्मको दुरी, एउटै फार्मका सेड देखि सेड सम्मको दुरी र गाई भैसी बाख्रा अरु पशुहरुको फार्मको दुरी १० मिटर र मल लगायत फोहर थुपार्ने दुरी १०० मिटर फरकमा हुनु पर्छ ।
शंकास्पद बंगुरको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गराउने र रोग प्रमाणित भएमा सो खोरमा भएका बंगुरहरुलाई मानवीय तरिकाले नष्ट गर्ने,
मरेका बंगुरहरुलाई गहिरो खाडलमा पुरी चुना छर्कने,
घरपालुवा बंगुर सुंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने,
बिरामी र मरेको बंगुरलाई खोरबाट तुरुन्तै हटाउने र रोग नफैलिने किसिमले नष्ट गरेको हुनु पर्छ ।
फोहरलाई अलग्गै पुर्ने कम्पोष्ट बनाउने बायोग्याँसमा राख्ने वा जलाएर नष्ट गर्ने
ओसार पसार तथा आवतजावतमा नियन्त्रण गर्ने  Traffic control,

फार्म फेन्सिङ भएको हुनु पर्ने र भित्र जाने गेटमा ‘भित्र पस्न सख्त मनाही छ’ भनी लेखिएको हुनुपर्छ ।
बंगुरको खोरमा अनावश्यक मानिसको आवत जावत रोक्नुपर्छ ।
आगन्तुकले फार्म भित्र जानुपर्दा अनुमति लिएर मात्र जान पाउने व्यवस्था मिलाउनु पर्छ ।
फार्म परिसरको मुख्य प्रवेशद्वार एउटा मात्रै हुनु पर्ने र बाहिर निस्कन अर्को ढोका पछाडि राख्ने व्यवस्था मिलाउनु पर्छ ।
फार्मको गेटमा पालेको व्यवस्था हुनुपर्छ ।
फार्म परिसर भित्र मुसा र किरा नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको हुनुपर्नेछ । बंगुरको दाना राख्ने कोठामा जंगली जनावर, चरा तथा अन्य जनावर पस्न नसक्ने हुनुपर्छ ।
फार्ममा आगन्तुको अनावश्य प्रवेशमा रोक लगाउनु पर्नेछ ।
आगन्तुकहरुलाई बंगुरसँग सोझै सम्पर्क आउन दिनु हुँदैन ।
फार्ममा आगन्तुकहरुको पूर्ण विवरण सहितको अभिलेख राख्ने गर्नुपर्छ ।
सरसफाईमा ध्यान दिन Sanitation,
बंगुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाई गरी चुना, फिनायल, फर्मालिन, ब्लिचिङ्ग पाउडर आदिले निःसंक्रमण गर्नुपर्छ ।
सुँगुर बंगुरलाई होटल रेष्टुरेन्टबाट निस्कने फोहर खानेकुरा खुवाउने गरेको भए तत्काल बन्द गर्नुपर्छ ।
फार्म भौगोलिक दृष्टिकोणबाट उपयुक्त हुने ठाउँ रोग निवारण गर्न सकिने गरी घनावस्ति भन्दा टाढा हुनु पर्छ । खोरमा हावाको वहने दिशालाई समेत दृष्टिगत गरिएको हुनुपर्छ । वातावरणीय हिसाबबाट उपयुक्त हुने स्थानमा खोर बनाउनु पर्छ ।
एउटा बंगुर समूहलाई  Age Group अर्को समूहसँग मिसाउनु हुँदैन ।
दाना राख्ने घर सफा र निःसंक्रमण गर्न सकिने खालको हुनुपर्छ ।
प्रत्येक बंगुर फार्म भित्र आगन्तुक र कर्मचारीलाई कपडा बदल्ने कोठा र स्नान कक्षको व्यवस्था हुनुपर्छ ।
खोरलाई दैनिक नियमितरुपमा सफा गर्नु पर्दछ, तत्पश्चात सफा गरी निःसंक्रमण गर्ने व्यवस्था गर्नु पर्छ । जिवाणु विषाणु ढुसी भए नभएको बारे समय समयमा अधिकारिक प्रयोगशालाबाट प्रमाणित गर्नुपर्छ ।
फार्ममा पूर्ण स्वस्थ्य तथा रोग प्रतिरोधात्मक उपाय अपनाएको फार्मबाट बंगुरका पाठापाठी तथा माऊ एवम् बीर खरिद गर्नु पर्नेछ ।साथै उक्त फार्म संक्रामक रोगबाट मुक्त भएको आधिकारिक निकायबाट प्रमाणित गरिएको हुनुपर्छ ।
दाना सफा र सुरक्षित ठाउँमा भण्डारण गरिएको हुनुपर्छ । दानामा पनि संक्रामक रोग मुक्त भए नभएको समय समयमा आधिकारिक निकायबाट परीक्षण गरी राखेको प्रमाण राख्नुपर्छ ।
फार्ममा प्रयोग गरिने पानी पिउन योग्य हुनुपर्छ ।
फार्मबाट निस्केको फोहरलाई सुरक्षित साथ नष्ट गर्नुपर्छ ।
फर्म भित्र प्रवेश गर्ने द्वारमा Foot bath राख्ने र दैनिक वा प्रत्येक २/२ दिनमा Foot bath बदल्ने गर्नुपर्छ ।
फार्म भित्र  Wheel dip  गरेर मात्र फार्मको गाडी प्रवेश गराउनु पर्छ ।
फार्ममा चेन्ज रुम, फुटवाथ, रबर बुट, एप्रोनको व्यवस्था मिलाउनु पर्छ ।
फुट डिप हरेक खोरको अगाडि राख्ने व्यवस्था मिलाउनु पर्छ ।
फार्मको ढोका सधैं बन्द राखी नियमित रुपमा निःसंक्रमण गर्नुपर्छ ।
खोरको वरिपरि पानी जम्ने ठाउँ हुनु हुदैन ।
बंगुरको खोर घुलो धुवा तथा प्रदुषण मुक्त हुनु पर्छ ।
फार्मबाट निस्किएको फोहर पानी पुनः प्रयोग गर्नु हुँदैन ।
फार्ममा राम्रो ढलको व्यवस्था मिलाउनु पर्छ ।
फार्ममा कार्यरत व्यक्तिहरुको लागि शौचालय तथा पटक पटक साबुन पानीले हात धुने उचित व्यवस्था मिलाउनु पर्छ ।

अन्य व्यवस्थापन

विश्वासिलो फार्मबाट मात्र बंगुरका पाठापाठी ल्याउने,
बंगुर फार्ममा खोप तालिका राख्ने र सोही अनुसार नियमित रुपमा खोप लगाउने र अभिलेख राख्ने ।
प्रत्येक खोरमा रोग नियन्त्रणका लागि  All–in, all–out को सिद्धान्त अपनाउनु पर्छ ।
खोप तालिका, रोग निदान र उपचारको विवरण तथा अभिलेख नियमित रुपमा राखेको हुनु पर्छ र उक्त अभिलेख माग गरेको अवस्थामा भेटेरिनरी निरीक्षकलाई उपलब्ध गराउनु पर्छ ।
फार्ममा दैनिक अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्छ । फार्म अभिलेखमा उल्लेखित तालिकाहरु अनिवार्य रुपमा अभिलेख राख्नु पर्नेछ ।
फार्ममा कार्यरत व्यक्तिहरुलाई तालिम पश्चात मात्र काममा लगाउने व्यवस्था मिलाउनु पर्छ ।
फार्मलाई स्थानीय तह वा घरेलु तथा साना उद्योग कार्यालय वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्ने लगायतका कानूनी प्रावधान पुरा गरी फार्म सञ्चालन गर्नु पर्दछ ।
पशुकल्याणका ५ वटा आधारमूत सिद्धान्तको पालना गर्नु पर्दछ ।

(३) निष्कर्ष :

अफ्रिकन स्वाइन फिवर रोग African Swine Fever – ASF  पशुबाट मानिसमा नसर्ने रोग हो ।यो रोगले बंगुर सुंगुर १०० प्रतिशत मृत्यु हुने अति घातक महामारी रोग हो । यो रोग नेपालको लागि नयाँ भएको यहाँका बंगुरपालन व्यवसायी तथा सरोकारवालाहरुको लागि चुनौति थपिएको छ ।

ठूला व्यवसायिक फार्महरु रोग नियन्त्रण गर्नको लागि सचेत भएपनि साना बंगुरपालकहरुलाई अझै पनि बंगुरलाई फोहर आहारा, फोहर ठाँउ, फोहर पिउने पानी, मरेको सिनो कुखुरा तथा हाँस आदि पकाएर खान दिने, खोला किनारमा खुल्ला रुपमा पाल्ने पद्धतिमा अविलम्व परिवर्तन गर्नु जरुरी छ । बंगुरलाई फोहर खानेकुरा खुवाएर पाल्ने कार्यलाई निरुत्साहित गर्नु पर्दछ ।

बंगुरपालनमा असल पालन अभ्यास  Good Husbandry Practice–GHP लाई अवलम्वन गर्नु पर्दछ । बंगुरपालन एक विज्ञान हो यसलाई वैज्ञानिक ढंगले पालन गर्न सकेपछि मात्र फाइदा लिन सकिन्छ भन्नेकुरा सधैं हेक्का राख्नु जरुरी छ । सहरी क्षेत्रमा बंगुरपालनमा प्रयोग हुने आहारा होटल तथा रेष्टुरेन्टमा खेर गएका फोहर खानेकुराहरु नै बढी प्रयोग हुने गरेको पाइन्छ ।

होटल रेष्टुरेन्टबाट निस्कने फोहर खानेकुरा खुवाउने गरेको भए तत्काल बन्द गर्नु पर्छ । जैविक सुरक्षा  Biosecurity विधिलाई कडाइका साथ अवलम्वन गर्न सकेमा रोग भित्रिन सक्दैन र हालसम्म यस रोग विरुद्ध खोप तथा औषधि बनिनसकेको अवस्थामा बंगुर तथा सुंगुर फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ अवलम्वन गर्नु अपरिहर्य छ ।

यो रोग छिमेकी मुलुक चीन र भारतमा समेत देखापरिसकेको हुँदा पशु क्वारेन्टाइन चेक पोष्टहरुलाई अझै व्यवस्थित गरी निगरानी बढाउन जरुरी छ । मुलुक भित्र कुनै ठाउँमा रोग देखापरेको शंका लाग्ने वित्तिकै नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाइन चेक पोष्ट, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला लगायतका पशु सेवाका निकायमा यथासिघ्र जानकारी गराउनु हामी सबै नागरिकहरुको कर्तव्य हो ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु नै बेस  “Prevention is better than cure” भनाईको अक्षरस पालना गर्दा रोग रोकथाम गर्न सकिन्छ । Risk Management का आधारभूत पक्षहरुमा केन्द्रित हुँदै रोग नियन्त्रण तथा रोकथामको लागि संघ, प्रदेश र स्थानीय तह बीचको कुशल समन्वय र सहकार्य हुनु पनि त्यतिकै आवश्यक रहेको छ ।

जैविक सुरक्षा अपनाउदा रोग फार्ममा भित्रिन पाउदैन । रोगको फैलावट कम हुन्छ । उपचार खर्च कम हुनेभएकोले कृषकहरुको आर्थिक नोक्सानी हुनबाट जोगाउन सकिन्छ । रोगको संक्रमणबाट आफ्ना पशुपन्छीलाई बचाउने क्रियाकलापहरुको एकिकृत व्यवस्थापन नै जैविक सुरक्षा व्यवस्थापन  Biosecurity Management हो । जैविक सुरक्षामा पन्छीलाई अलग राख्ने, ओसार पसार तथा आवतजावतमा नियन्त्रण गर्ने र सरसफाईमा ध्यान दिनु नै मुख्य कार्य हुन ।

जैविक सुरक्षा विना कुनै पनि रोग नियन्त्रण गर्न सकिदैन कतिपय क्रियाकलापहरु शुन्य लगानीमा सम्पादन गर्न सकिन्छ । ठूलाठूला महामारी नियन्त्रणमा जैविक सुरक्षा नै रोग नियन्त्रणको लागि उत्तम विकल्प रहेको कुरामा दुईमत छैन । अफ्रिकन स्वाइन फिवर विरुद्ध हालसम्म खोप तथा औषधि पत्ता नलागेकोले यो रोग नियन्त्रणको लागि सस्तो र प्रभावकारी विधि भएकोले अफ्रिकन स्वाइन फिवर रोग नियन्त्रणको लागि सर्वोतम उपाय जैविक सुरक्षा व्यवस्थापनलाई मान्न सकिन्छ ।
अफ्रिकन स्वाइन फिवर रोग बारेमा व्यापक जनचेतना जगाऔं !
बंगुर फार्ममा जैविक सुरक्षा अवलम्वन गरी पशु धन जोगाऔं !

सन्दर्भ ग्रन्थहरु
-नाथ, बासुदेव (२०७८) पन्छीपालन आधारभूत ज्ञान, गुडविल प्रकाशक तथा वितरक कलंकी, काठमाडौं, नेपाल
-बंगुरपालन पुस्तिका (२०७४-२०७५) केन्द्रीय बंगुर कुखुरा प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर ।
-कृषि तथा पशुपन्छी डायरी २०७९, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर
-झा,डा. विजयकान्त (असार २०७०) बर्ड फ्लु, भेटनरी चौमासिक जुनोसिस विशेषाङ्क भाग १, वर्ष १२, अंक १, पृष्ठ ३८–५३ ।

(लेखक बासुदेव नाथ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)