• मंसिर १२ २०८१, बुधबार

चुनावको बेला जम्मा भएको फोहोर कहिले उठ्छ स्थानीय सरकार ?

जेष्ठ ६ २०७९, शुक्रबार

घोराही, ४ जेठ । प्लाष्टिकका बोत्तलले घोराही–१४ सभाहल आसपासका घर अगाडिका नालाहरु छलापुर भरिएका छन् । अशोकका बुटाहरुमा बोत्तल खात लागेका देखिन्छन् । घरबेटीले बढारेर खेरबटुल पार्छन् । हुरर्र हुरर्र लाग्ने बेला बखतको हुरीले गुरुरुरु उडाएर घरमै लैजान्छ ।

गत बैशाख ३० गते स्थानीय तहका लागि भएको मतदान पछि साँझ सात बजेदेखि नै त्यहाँ मतपेटिका भित्रिन थालेका थिए । भोलिपल्ट विहानदेखि मतगणना शुरु भयो । यो क्रम विहीवार विहान घोराहीको मेयरमा नरुलाल चौधरी, उपमेयरमा हुमाकुमारी डिसीलाई विजयी घोषण गर्दै सकियो ।

शुरु देखि अन्तहुँदा सम्मको फोहोरमा सरकारले चासो दिएन । यस अवधिमा रातभरी पनि मानिसहरु हाँस्दै बोल्दै बिताए । मतगणना चलिरहँदा दिउँसो सँधै भिडभाड हुन्थ्यो । नेपाली सेना र नेपाल प्रहरीले डोरी लगाएर निश्चि क्षेत्र छुट्याईदिएको थियो । प्रवेश गर्न नदिएको बाहेक सबै क्षेत्रमा पानीका बोत्तलको रास लागेको छ ।

जहाँ जहाँ बसेर मानिसहरुले मत परिणाम पर्खे त्यहाँ डंगुर छ । ‘हाम्रो त यो पेटी भरी पनि बोत्तलै बोत्तल बनाईदिए’ गायत्री हस्पिटलका कोषाध्यक्ष लोकेन्द्र रोकाले भन्नुभयो, ‘एकै ठाउँमा राखिदिनुस् जथभावी नफाल्नुस् भन्दा उल्टो झगडा गर्न खोजे ।’

उहाँका अनुसार दलका नेता तथा कार्यकर्ताले टेरेनन् । ठूला बडाको औगात देखाउँदै उल्टो थर्काउने सम्म गर्थे । तर, फोहोर व्यवस्थापनमा चासो दिएनन् । शुरुका दिन देखि नै बोरा भएपनि त्यस क्षेत्रमा डस्टबिनका रुपमा राख्नु पर्दथ्यो । घोराही उपमहानगरपालिकाले नियमित उठाउने व्यवस्था मिलाउनु पर्दथ्यो । निर्वाचन खर्चमा पनि फोहोर व्यवस्थापनको शिर्षक हुनुपर्दथ्यो ।

बालमैत्री नगर तथा खुला दिसामुक्त क्षेत्रमा सरकारले नै सार्वजनिक स्थलमा फोहोर फाल्यो । सरकारको यति ठूलो कार्यक्रममा नागरिकका घरआँगनमा फोहोर थुपारेर दुःख दिनु गलत हो । हदैसम्मको दण्डनीय सवाल हो । तर सरकारी कर्मचारीलाई सरकारी काममा भएका यस्ता काममा कसले कार्वाही गर्ने ?

‘यो फोहोर कहिले उठ्छ लेखिदिनुस् त’ सभाहल नजिकैको चोकका एक व्यवसायीले आफ्नो अगाडिको प्लाष्टिकजन्य फोहोरको थुप्रो देखाउँदै भन्नुभयो, ‘यो भोलाका खोल कसले उठाउने हो ?’ उहाँका अनुसार सबैभन्दा धेरै पानी खाएका बोत्तल छन् । त्यसपछि मसिना मसिना भोलाका खोस्टा देखिन्छन् । सुर्ति, चाउचाउ, चिप्स, कुर्मुरे लगायत अनेक खालका फोहोरले वातावरणलाई घिनलाग्दो बनाएको छ ।

‘दिनमै धेरै पटक बढार्नु परेको छ’ सिद्धार्थ एग्रो सेन्टरका सञ्चालक मुना रेग्मीले भन्नुभयो, ‘कमसेकम त्यो थुप्रो उठाएपछि उडाएर त ल्यान्नथ्यो ।’ उहाँका अनुसार सफा गर्यो । अलिबेरका उत्तिकै थुप्रिन्छ । हावाले गुडाउँदै ल्याउँछ । सवारी साधने चेप्टिएका बोत्तल उछिट्याउँछन् । बोरामा जम्मा गरेको पनि नगरपालिकाले लगेको छैन । त्यो पनि उडाइदिन्छ ।

कि त केही भाँडा डस्टबिनको रुपमा राख्नु पर्दथ्यो । कि त दैनिक बढार्ने व्यवस्था मिलाउनु पर्ने हो । सरकारले मुख्य बजारको बिचमै यत्रो फोहोर गर्नु हुन्नथ्यो । सार्वजनिक स्थलमा गरिएको फोहोर बढार्न लगाउने हो भने एक ठाउँको पनि महिनौ लाग्ने घोराही उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले बताउनुभयो । उहाँले आमसभा, मतदान केन्द्र, मतगणना स्थल लगायत जमघट हुने स्थलको फोहोर सम्बन्धित आयोजकले जम्मा गरीदिए मात्रै सजिलो हुने बताउनुभयो ।

चुनाव अघि शहिद मञ्चको फोहोर सेनाका टेनरले उठाउँदा ५० बोरा भएको थियो । यसैगरी भाइरल रोडमा सरसफाइ गर्दा ६० बोरा फोहोर निस्किएको हो । त्यहाँ घोराही उपमहानगरपालिकाका कर्मचारीले बढार्न लागेको भए महिना दिनसम्म टिप्नु पर्दथ्यो । उनीहरु बिहान नियमित फोहोर उठाउने रुटमा गाडी लिएर जान्छन् । कतिपय ठाउँमा दिउँसो पनि जानुपर्छ ।

बचेको केही सरसफाई कर्मचारीले उठाउने हो । यसैगरी सभाहल क्षेत्रमा शुक्रवार दिउँसो मात्र केही कर्मचारी पठाउन सक्ने प्रमुख अधिकारीको भनाई छ । बढार्न पठाउने प्रशसत कर्मचारी उपमहानगरपालिकासँग छैनन् । जसले फोहोर गर्छ उसले उठाउने र सरसफाई गाडी मगाउने हो भने मात्रै छरितो सेवा दिन सकिन्छ ।

नागरिकले दुर्गन्ध बढेको गुनासो गरेका छन् । सरकारी कामकै शिलशिलामा फोहोर जम्मा भएको छ । फोहोर गर्नेलाई कार्वाही गर्ने सरकारी निकाय आफैले डंगुर लगाएको छ । यसले नीति नियम एकातिर व्यवहार अर्कोतिर भएको पुष्टि भएको छ । नागरिकहरुले सरकार आफैले फोहोर बढाउँछ भन्न थालेका छन् ।