• मंसिर ११ २०८१, मंगलवार

चुनाव आयो र गयो पनि !

जेष्ठ २ २०७९, सोमबार

हल्लैहल्लामा चुनाव आयो र गयो पनि । कसैलाई दसैँ आए जस्तो भयो कसैलाई पूर्ण शोक । स्याङ्जा शोकमा डुब्यो, अन्यत्र पनि धेरै देखियो बेहोसी पना । दललाई लोप्पा खुवाउँदै काठमाडौँ उठ्दैछ लठी लिएर, यो संकेत देशकै लागि हो ।

के दिए दलले, परनिर्भरताको अर्थतन्त्र, भारतले गहूँ निकासीमा रोक लगाया । यहाँ सुख्खा रोटी खाने अवस्था अब के होला, तेल त भान्छामा छैन, हुँदाहुँदा भुटान पनि यो देशको निर्यातक मुलुक भएछ । आजैको खवब हो, भूटानसँगको व्यापार घाटा निर्यातको भन्दा तेब्बर रहेछ ।

यो देशलाई हरिकंगाल बनाए दलहरुले र भोट हालेर आएको रातमा बिउँझन नपाई पेट्रोल र डिजेलले उपभोक्तालाई लोप्वा खुवाइदियो । ताकेर बसेको रहेछ, मौका आएपछि हिर्काइहाल्ने त्यो पनि पुर्पुरो सेक्ने गरी । श्रीलंकाका नेताहरुको घर अग्नि दहनमा परेको छ, खान नपाएपछि मान्छेले गति छोड्छ ।

ठूला सपना देखाइयो यहाँ, देशबासीको आँसु पुछ्ने कोही भएन । शक्तिको लागि मतपेटिका लुट्ने, आगजनी गर्ने निर्लज्ज हर्कत् देखियो अहिलेको चुनावमा । पदमा पुग्न कत्रो चटारो । छोरी र बुहारी नै आउनु पर्ने कत्रो आशा त्यो पनि लगातार, देश बिर्ता नै पाए जस्तो ।

गणतन्त्र दिवस आउँदैछ, महँगा हेलिकप्टरले देशैभरि सयर गरे । भीख मागेको विदेशी पैसाले यहाँ भ्यूटावरले गरिवीको चित्र कोर्दैछ, हेर्दैछ, समृद्धि रे । देशका युवा विदेसिएका छन् र उनले भने धेरैलाई टेलिफोन गरे यसपालि लौरोतिर है, सयौैं यस्ता फोन आएको त  आफैले सुनेको हो ।

अविकसित देशमा भनिन्छ, नोट र भोट उस्तै हुन्छ, तर यहाँ नोट पाउमा राखेको फुपूलाई हो अरुलाई होइन भन्ने गरिन्छ । देशमा प्रजातन्त्र मात्रै आएन, लोकतन्त्र संघीयता र गणतन्त्र समेत आयो र त देश परनिर्भर छ । देशमा सुको उत्पादन छैन, अनि विश्वमा के घटना घट्छ त्यसको प्रभाव परिहाल्छ ।

पछिल्लो समय खाने तेल किन्न नसकिएको अवस्था छ, यहाँ मात्रै होइन भारतमा पनि । ग्याँसको पछिल्लो मूल्य सूची र पेट्रोलियम पदार्थको अवस्था, आपूर्ति, त्यसको मूल्य, त्यसले पार्ने दैनन्दिन प्रभाव हेर्दा जीउ मात्रै हल्लन्न, भूकम्पले हल्लाए  झैं देशै हल्लन्छ ।

भोट दिने समय आइरहँदा रोजगारीको समय नआउने, मन नलागे नो भोटको प्रणाली राख्न भनी अदालतले आदेश दिएको ६ वर्ष पूरा भएछ तर अत्तो पत्तो छैन । फ्रान्सको शैलीमा यहाँ १८ वर्ष पुगेकै भोलिपल्ट भोट हाल्न पाइने भएको छ तर बेरोजगार भए त्यसको सुनुवाइ कतै हुन्न र खाडीमा भासिन्छन् नेपालीहरु ।

खोजी गरेमा विदेश नभासिएको घर परिवार छैन देशमा । पछिल्लो समय लोकतन्त्रले ल्याएको उपलब्धि भनेकै वैदेशिक ऋणको वृद्धि, व्यापार घाटा, विप्रेषणको अर्थ प्रणाली, चरम महँगी, विदेशी मुद्राको सञ्चिति कम, कामै नभएर कार्यालय बन्द र कुशासन हो । स्थानीय सरकारले कोरोनाकालमा कतै सेवा प्रवाह गरेन । कोरोनाको चौथो भेरियन्ट दक्षिण अफ्रिका, छिमेकी चीन र भारत अनि अमेरिकामा पनि निस्किसक्यो ।

फुत्तै यहाँ आइपुग्न लाग्दा देशमा हजारौँका संख्याका उम्मेदवारहरुलाई सिटमा राख्न चुनाव भयो, र गठबन्धन त मरिहत्ते गरेर लागेको छ,  आफ्नो प्यानललाई जिताउन । बरु आप्mनो दलको चिन्हमा भोट हाल्नु पर्दैन केन्द्रमा भएको तालमेल नछोड्नू, जसरी भए पनि जिताउनू, दायाँ बायाँ गरे केन्द्रले कारबाही गर्नेछ, यस्तो ऊर्दी जारी भएको छ ।

सत्ता ढाल्ने साँचो लिएर बसेकालाई चित्त नदुखाउनू, दलको वास्ता गर्नु पर्दैन भनेको छ केन्द्रले, त्यही ह्वीप अनुसार चुनावमा लाइन बस्नु पर्ने भएको छ देशैभरि । भरतपुर, पोखरा, रोल्पा, डडेल्धुराको प्रसंग अर्कै छ, जिल्ला हाँक्न नसक्नेले देश कसरी हाँक्लान् ? मत परिणाम इलाम र डडेल्धुराको गन्यापले नेतृत्वको विश्वास नभएको पुष्टि भइसकेको छ ।

पहिले  आफूले जनकारबाही गरे अब जनताले नेतालाई कारबाही गरे भने के हुन्छ देशमा ? बागी र स्वतन्त्र उम्मेदवारको संख्या बढ्नु भनेको बहुदलीय व्यवस्थाको विकल्प खोजेको होइन र ?

उत्तर कोरियामा यस्तै खालको चुनाव हुन्छ । सन् २०१५ मा त्यहाँ स्थानीय चुनाव हुँदा ९९ दशमलव ७ प्रतिशतको मतदान भएको थियो । तर मतदातालाई स्वेच्छाले भोट दिने अधिकार हुन्न त्यहाँ । सत्तारुढ दलले जहाँ हाल्नु भन्छ त्यहीँ हाल्ने हो । असहमति जनाउन पाइन्छ तर त्यस्तो मत छुट्टै बाकसमा राख्नु पर्छ ।

यस अर्थमा व्यवहारतः सत्तारुढ दलमै शतप्रतिशत मत जान्छ, फरक मतको खासै गणना हुन्न । तर यहाँ लोकतन्त्र छ भनिन्छ, स्वेच्छाले मत हाल्न पाउने अबवस्था छैन । चुनावको एपिसेन्टर बनेको चितवनको भरतपुरले यसपालि ठूलै खैलाबैला ल्याएको छ । परिणाम के हुन्छ केही समय कुर्नै पर्नेछ । यद्यपि यसपालिको मतपत्र अलि कडा छ, चपाउन नसकिने गरी तयार भएको छ भनेका छन् चुनाव आयुक्तले ।

त्यसो त यसपालि आचार संहितामा पनि अलि कडाइ देखिएको छ र पनि यो देशमा भक्ति भने दलकै गर्नु पर्छ । दलभक्तिमा लाग्दालाग्दै पनि अदालतलाई बेखवर बनाइयो । राष्ट्र बैंकमा बोलचालै छैन रे मुद्धा उल्ट्याइदियो अदालतले भनेर । यता प्रहरीमा त्यस्तै छ, सिट तानातान नगरी सफेद काम त हुन पाए पो ! दलभक्ति मात्रै गरेर भएन, गुटभक्ति पनि चाहियो देशलाई, सबैलाई ।

बजारमा सुनिन्छ, देशमा राजनीतिकरण र अपराधिकरण एउटै भयो, देश दलमा होइन दलदलमा फस्यो । हिलोमा फस्यो, आहालमा डुब्यो, उत्रने सिप छैन अब । देशबासी ऋणले थिचिए, करले किचिए, गाउँका पसल पनि आन्तरिक उत्पादनका सामान होइन बहुराष्ट्रिय कम्पनीका सामान पाइन्छन् ।

थोरै समयमा विदेशीले रज्गज् गर्न सफल भए न असंलग्न रह्यो देश न छिमेकी रिझियो न सिमाना सुरक्षित नै । भोक प्यासले सताइएको एउटा नेपालीको पुर्पुरोमा जन्मदै ६० हजारको ऋण लाग्यो, संघीयता पाल्न खेतमा डोजर चल्यो, बारी बगायो ।

गठबन्धन भन्नु दल विहीनता हो र सत्ताको स्वाद हो, अप्राकृतिक मिलन हो । समुद्र मथनमा देव र दानवको मिल्ती भयो, प्राप्तिमा कुरो मिलेन, घमासान युद्ध भयो, अब यो गठबन्धन सहजै भइरहला या देउबवाजीलाई थप चुनौती आउला हेर्न बाँकी छ । उनलाई आउने चुनौती भनेको आम नेपालीले नै व्यहोर्नु पर्ने हुन्छ ।

देश कृषि प्रधान हो, तर जिडिपीमा कृषिको योगदान भारी मात्रामा घटेको छ । त्यसको अनुपात सेवा क्षेत्र र औद्योगिक उत्पादनमा वृद्धि भएको छैन । रोजी रोटीका लागि विदेसिनु परेको छ, औद्योगिक उत्पादन स्थलमा लोडसेडिङ शुरु भएको छ । यहाँसम्म कि सबैजसो कलाकार मात्रै होइन व्यापारीलाई पनि सत्ताकै मोह छ र दलको टिकट लिँदै दलभक्ति गर्दैछन् ।

कर्मचारी प्रहरी, सेना, राजदूत, प्राज्ञ, प्राध्यापक, व्यापारी, उद्यमी, शिक्षक सबै दलको मात्र काम गर्ने हो भने देशको काम कसले गर्ने ? विदेशतिर स्थानीय चुनावको यति ठूलो प्रचार प्रसार नै हुन्न । सत्ता ढलपल हुने चुनाव पनि होइन यो, विकासको अवधारणा दिन सक्नेले चुनाव जित्छ, ५ वर्ष काम गर्छ, स्थनीयहरुसँग हिमचिम् बढाएर ।

यहाँ अनौठो देखियो, एजेण्डा केही नपाएर महिनावारी हुँदा विदा पाउने एजेण्डा लाजैमर्नु भयो यहाँ । कसैले अधुरा काम पूरा गर्ने भने तर मोनोरेल, मेट्रोरेल ग्याँस पाइप लाइन कमसेकम भनेको सुनिएको छैन । मिठा मसलाहरु दलहरुले बाँडे धेरै, ती कुनै मसलाले काम गरेको छैन ।

तीन दशकपछि झुल्केको मेलम्चीको सर्वत पानी कति दिन बाँडिने हो थाहा छैन । यो पनि अहिले कतै खोलाबाढी बगेको देखिन्छ कतै लाइन जोडेकै छैन, जमिनमुनिको लेदो पानीमा बाँचिरहेका धेरै छौँ हामी, १५ दिनमा, त्यो पनि आउँदैन । विज्ञ छन् होला देशमा तर विज्ञकै लापरबाहीले होला पुल छिटो भत्कने, सडक छिटो सोत्तर हुने, ढल सधैँ जाम हुने, खानेपानीको पाइपमा पानी नआउने ।

नेतृत्वको लापरबाही नातावाद र कृपावादमा अडेको संसार स्वच्छ भएन कतै पनि । देशमा किड्नी विरामी, तोते बोली र कुम हल्लाउन मात्रै सिपालु नेता छन्, काम भनेको दिनरात छोरी, बुहारीलाई पद र प्रतिष्ठा, जनता भोकै, प्रदूषणको र महँगीको मार, पानीको अभाव, कर तिर्नै नसकिने अबस्था, बजार असहज धेरै समस्या छन् देशमा । चारैतिर कोरोना उठ्न लागेको छ चुनाव नभनिएको भए लकडाउनको बेला भइसकेको अबवस्था छ, आधाआधी समय त सार्वजनिक विदा भनिसक्या छ, सामान किन्न डलर भएन रे ।

कृषि उत्पादन बढाउने भनियो, घट्यो । रासायनिक मल, बीऊ, सिँचाइ, बजार राम्रो उपलब्ध हुन सकेन ।  फुलमालादेखि तरकारी खाद्यान्न, भनौँ नाना, छाना र खानाका सबै सामान विदेशले पठाइदिनु पर्ने हामी श्रम नगरी, लगानी बिनाको राजनैतिक उद्यम मात्र गरेर खाने भएका छौँ र त देशमा बजेटभन्दा ठूलो आकारको व्यापार घाटा छ ।

भारतमा स्थानीय चुनाव दलको आधारमा हुन्न । यहाँका नेताहरु धेरै भारतबाटै प्रशिक्षित छन् तर दलको हिसाबमा लाद्न खोज्छन् । गैरदलीय आधारमा त्यहाँ उम्मेदवारले चुनाव जित्छ, स्वतन्त्र भएर स्थानीय तहको सञ्चालन गर्न सक्छ । उसलाई विकासको बाहकको रुपमा हेरिन्छ । विकास कुनै दल विशेषलाई होइन सबैलाई चाहिन्छ । हामीकहाँ त्यस्तो अवथा हुन सकेन ।

अर्को कुरा कुनै उम्मेदवार वा दललाई मतदान गर्न मन परेन भने नो भोटको प्रणाली ल्याउन यहाँ ढिलो भइसकेको छ । दलले दिएको उम्मेदवारलाई मतदाताले जसरी भए पनि भोटिङ गर्ने पर्ने अवस्था छ र भोटर स्वतन्त्र छैन । हालसम्म स्थानीय सरकारले डोजरे असारे विकास गरेको छ । जसको बेरुजु अत्यासलाग्दो छ ।

विज्ञ र अनुभवीहरुको कमी छ, सबै पदका भोका छन्, सिटमा नपुगेसम्म भाषण राम्रो गर्ने, सिटमा पुगिसकेपछि जनताको माग सम्बोधन नगर्ने भएका छन् । स्थानीय तह खासगरी कोरोनाकालमा बेखबर हुँदा अभिभावक गुमाएको परिवेशमा बाँचे नेपालीहरु, उपचार पाएनन्, एम्बुलेन्स, अक्सिजन, अस्पताल, खाद्यान्न पाएनन् ।

ढोकाबन्दीमा रहे स्थानीय प्रतिनिधिहरु । बजारको हाहाकार, ग्याँस, पानी, खाद्यान्न, औषधिमूलो नपाएर अकालमा ज्यान गयो । भनियो आइसोलेशन कक्ष, एम्बुलेन्सहरुको तयारी तर सबै ती गफ मात्रै भए । एजेण्डाहरुमा स्वैरकल्पना गरियो । सर्वहाराको नेतृत्व गर्ने अनि दर्जनौँ सुरक्षाकर्मी र दर्जन सवारी साधनमा सयर गर्ने अनि छोरीकै लागि पद लिइरहने तर  आफ्ना  कार्यकर्ताहरु खाडीमा जानु पर्ने अवस्था छ ।

कसैले  आफ्नै दल स्थीर राख्न सकेनन्,  आफ्नै कारणले  आफ्नै दल चिराचिरा पार्ने देशलाई कसरी हाँक्ने होला ? खासगरी अहिलेको चुनावमा बागी र स्वतन्त्रको संख्या धेरै देखिएकाले बहुदलीय व्यवस्थाप्रतिको नैराश्यता र विकल्पको खोजी भएको छ ।

साग्रमा भन्नु पर्दा कुनै राजा महाराजाहरुले फलानो चिन्हमा भोट हाल्नु भन्दैमा त्यो दासत्वको मानसिकतामा भोट हाल्नु पर्ने हुन्न । भोट हाल्ने प्रक्रिया गोप्य हुन्छ, मतदाताले स्वतन्त्र भएर  आफ्नै  विवेक प्रयोग गरी भोट हाल्न सक्छ, कसैको पेवा भइरहनु पर्दैन । जनता  बुझ्ने  भइसकेका छन् ।